पाकिस्तानले चीनसँग किन किन्दैछ मिसाइलदेखि ड्रोनसम्म ? | Khabarhub Khabarhub

एसिया

पाकिस्तानले चीनसँग किन किन्दैछ मिसाइलदेखि ड्रोनसम्म ?

भारतले अमेरिका र फ्रान्स गुहार्दा रूस हेरेको हेर्‍यै


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा गएको अप्रिल २२ मा चरमपन्थी हमला भयो । उक्त हमलाको दोष दिँदै भारतले ‘जानी दुश्मन’ पाकिस्तानविरुद्ध मे ७ मा त हवाई हमला नै गर्‍यो । मे १० सम्म चलेको जमिनी र हवाई लडाइँ अमेरिकी पहलपछि तत्काललाई थामिएको छ, तर पाकिस्तानले प्रयोग गरेका चिनियाँ हतियारको चर्चा व्यापक भइरहेको छ ।

जतिखेर भारत र पाकिस्तान भिड्दै थिए, त्यतिखेर चीनको पुँजी बजारमा चिनियाँ रक्षा कम्पनीका शेयरको भाउ तीव्र गतिले बढ्यो । अझ; पाकिस्तानलाई हतियार र लडाकू विमान उपलब्ध गराएका कम्पनीको शेयर मूल्यमा त उछाल नै आयो ।

भारतसँगको चार दिने लडाइँमा पाकिस्तानले प्रयोग गरेको जे-१० लडाकु विमान बनाएको कम्पनी एविक चेङ्दु एअरक्राफ्ट कर्पोरेशन यिनै कम्पनीमध्ये एक थियो । यो कम्पनीको शेयर मूल्यमा उछाल आउनुको कारण पाकिस्तानको एउटा दाबी थियो । भारतले फ्रान्सबाट महँगो मूल्यमा किनेका राफेल लडाकु विमान आफूले चिनियाँ जे-१० लडाकु जेटबाट आक्रमण गरी खसालेको पाकिस्तानले दाबी गरेको छ ।

७ मे का दिन नै पाकिस्तानले भारतीय लडाकु जेट खसालेका खबर छ्याप्छ्याप्ती भएको थियो । ती खबरमा पाकिस्तानमा हवाई आक्रमण गर्न उडेका तीन राफेलसहित कम्तिमा पाँच लडाकु विमान चिनियाँ फाइटरप्लेनबाट मिसाइल दागेर पाकिस्तानले खसालिदिएको दाबी थियो ।

७ मे मै पाकिस्तानी विदेशमन्त्री इसहाक डारले संसद्‌मा यस्तो दाबी गरेका थिए । तर, भारतले हालसम्म पाकिस्तानको त्यस्तो दाबीबारे स्पष्ट प्रतिक्रिया दिएको छैन । आफ्ना लडाकु विमान चिनियाँ हतियार प्रयोग गरी झारिदिएको पाकिस्तानी दाबीलाई पनि स्वीकारिसकेको छैन ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि आफनो देशमा बनेको लडाकु विमान र मिसाइलले भारतीय लडाकु विमान खसालिदिएको पाकिस्तानी दाबीबारे एकीन जवाफ दिएनन् । उनले आफूलाई सोबारे थाहा नभएको बताए ।

चीनले भलै यस कुरा नकारिरहेको छ, तर लडाईंका क्रममा आफूले दिएका हतियारको उपयोग र प्रभावकारिताबारे पक्कै नजर राखेकै थियो । युद्ध क्षेत्रमा आफ्ना हतियार पश्चिमा हतियारविरुद्ध कसरी प्रभावकारी हुनसक्ला भनी चीनले पक्कै नियालेको छ ।

ब्लूमबर्ग इन्टिलेजेन्सका रक्षा विश्लेषक एरिक झूले भनेका छन्‌, ‘अधिकांश आधुनिक घरेलु ढङ्गले विकास गरिएका चिनियाा हतियार अहिलेसम्म युद्धमा परीक्षण गरिएको छैन । तर पाकिस्तानले आफूलाई आवश्यक अधिकांश हतियार चीनबाटै खरिद गरेको छ । चीनले पनि भारतसँग युद्ध भएका बेला आफ्ना हतियार निर्यातयोग्य भए/नभएको परीक्षण हुन भन्दै पाकिस्तानलाई उपलब्ध गराइरहेको छ ।’

हतियारमा चीननिर्भर पाकिस्तान

चीनले पछिल्लो चार दशकयता कुनै ठूलो युद्ध लडेको छैन । तर, यस दौरान पनि चीनले राष्ट्रपति सी जीनफिङ नेतृत्वमा आफ्नो सेनालाई थप बलियो बनाइरहेको छ । अत्याधुनिक हतियार विकासमा पनि चीनले कुनै कसर बाँकी राखेको छैन ।

आफूले बनाएका हतियार चीनले पाकिस्तानलाई पनि दिइरहेको छ । स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूट (सीपरी)ले सङ्कलन गरेको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्ष (सन् २०२०-२४) पाकिस्तानले आयातितमध्ये ८१ प्रतिशत हतियार चीनबाट लगेको छ ।

सन्‌ २०१५-१९ मा भन्दा सन्‌ २०२०-२४ मा पाकिस्तानले हतियार आयात ६१ प्रतिशतले बढाएको छ । चीनबाट पाकिस्तानले आधुनिक लडाकु विमान, रडार र वायु रक्षा प्रणाली (एअर डिफेन्स सिस्टम) भित्र्याइरहेको छ । पाकिस्तानमै बनाइएका केही हतियार निर्माणमा पनि चीनको भूमिका छ । पाकिस्तान निर्मित यस्ता हतियार कि चिनियाँ कम्पनीले नै बनाएका हुन्, या त चिनियाँ प्रविधि प्रयोग भएका छन्‌ ।

अर्कातर्फ पाकिस्तानको सामरिक प्रतिद्वन्द्वी र दुस्मन छिमेकी भारत संसारकै सबैभन्दा ठूलो हतियार आयातक देश हो । यद्यपी; सन्‌ २०१५-१९ र २०२०-२४ बीच तुलना गर्दा भारतले विदेशबाट गर्ने हतियार आयात ९.३ प्रतिशतले घटेको छ ।

पछिल्लो पाँच वर्षमा भारतमा हतियार आयातको सबैभन्दा ठूलो हिस्सा (३६ प्रतिशत) रूसबाट भएको छ । रूसबाट भएको यस्तो आयात २०१५-१९ अवधिमा ५५ प्रतिशत र २०१०-१४ अवधिमा ७२ प्रतिशत थियो । यो आकडा हेर्दा भारतले रूसबाट हतियार खरिदको मात्रा घटाइरहेको छ । रूसको हिस्सा घट्दै गर्दा फ्रान्सेली हतियार निर्माताहरूले भारतको सामरिक खरिदमा अहिलेसम्मकै सबैभन्दा ठूलो हिस्सा (२८ प्रतिशत) हात पारेका छन्‌ ।

सिपरी आर्म्स ट्रान्सफर प्रोग्रामका वरिष्ठ शोधकर्ता सीमन वेजमिन भन्छन्‌, ‘सन्‌ २०२०-२४ मा एसिया र ओसिनिया विश्वमै सबैभन्दा ठूलो हतियार आयातक क्षेत्र बनेको छ । सन्‌ १९९० को दशकको सुरुदेखि नै यस्तो आयातले निरन्तरता पाइरहेको छ । यी अधिकांश खरिदको कारण चीनसँग यो क्षेत्रका मुलुकले खतरा महसुस गर्नु नै हो ।’

पाकिस्तानसँग भएका चिनियाँ हतियार

सन्‌ १९६५ को भारत-पाकिस्तान युद्धपछि पाकिस्तान र चीनबीच रक्षा सहयोग आदानप्रदान सुरु भएको हो । उक्त युद्धमा आफ्ना हतियार प्रयोग गर्न अमेरिकाले प्रतिबन्ध लगाउँदा पाकिस्तान चीनतर्फ अपेक्षित हुन बाध्य भएको थियो ।

उक्त युद्धमा चीनले पाकिस्तानलाई लडाकू जेट, युद्धक ट्याङ्क र तोप लगायत हतियार उपलब्ध गराएको थियो । एसियाको जटिल सामरिक क्षेत्रका यी दुई देशलाई दीर्घकालीन सम्बन्ध कायम गराउन सोही सहयोगको प्रमुख भूमिका थियो ।

शीतयुद्ध (१०४७-१९८९) पछि त दुई देशबीच थप प्रगाढ सम्बन्ध बन्यो, जब चीनले पाकिस्तानलाई हतियार उपलब्ध गराउने मामिलामा अमेरिकाको स्थान लियो ।

दुई देशबीच सन्‌ १९६३ मा चीन-पाकिस्तान सम्झौता भएको थियो । सोही सम्झौतामार्फत दुई देशले सीमा विवाद समाधान गरेका थिए र सन्‌ १९६६ देखि सैन्य सहायता आदानप्रदान नै सुरु भएको थियो । चिनियाँ हतियारको एक ठूलो हिस्सा अहिले पाकिस्तानमै पुगेको छ ।

फाइटर जेट – पाकिस्तानले चिनियाँ जे-१०सी र जेएफ-१७ थन्डर फाइटर जेट (लडाकु जहाज) प्रयोग गर्ने गरेको छ । जे-१०सी चिनियाँ कम्पनी चेङ्दू एअरक्राफ्ट कर्पोरेशनले बनाएको हो भने जेएफ-१७ थन्डर फाइटर प्लेन दुबै देश मिलेर तयार गरेका हुन्‌ ।

मिसाइल – पाकिस्तानसँग चार दिनसम्म चलेको हानाहानपछि सोमबार भारतीय सेनाले पत्रकार सम्मेलनमा चिनियाँ मिसाइल पीएल-१५ को सम्भावित अवशेष देखाएको थियो । पाकिस्तानले प्रहार गरेको उक्त मिसाइलले लक्ष्यमा भेदन गर्नुअघि नै आफूहरूले झारिदिएको भारतीय सेनाको दाबी थियो ।

पीएल-१५ एक चिनियाँ मिसाइल हो, जसको प्रयोग हाल पाकिस्तानले गरिरहेको छ । चीनको एभिएसन इन्डस्ट्री कर्पोरेशन (एवीआइसी)ले विकास गरेको पीएल-१५ लामो दूरीसम्म भेद गर्न सक्ने रडार गाइडेड एअर टु एअर मिसाइल हो ।

ड्रोन – रक्षा क्षेत्रमा आफ्नो आवश्यकता पूरा गर्न पाकिस्तानले चीन र टर्कीबाट आधुनिक प्रविधि सुसज्जित ड्रोन खरिद गरको छ । चीनले पाकिस्तानलाई सीएच-४ र विङलूङ्ग ड्रोन बेचेको छ भने टर्कीले बयारकतार टीबी२ र अकिन्ची ड्रोन बिक्री गरेको छ ।

एअर डिफेन्स सिस्टम – पाकिस्तानसँग अहिलेहाल चीनमै बनेका एचक्यू-९, एचक्यू-१६ र एफएन-१६ जस्ता एअर डिफेन्स सिस्टम (हवाई प्रतिरक्षा प्रणाली) छ । यी मध्ये एचक्यू-९ लाई पाकिस्तानले सन्‌ २०१२ मा आफ्नो हतियारको सूचीमा सामेल गरेको थियो । यो सिस्टमको क्षमता रूसनिर्मित एस-३०० प्रतिरक्षा प्रणाली बराबर भएको दाबी गरिन्छ ।

यस बाहेक पनि पाकिस्तानले चीनसँग हङ्गोर क्याटागोरीको आठ पनडुब्बी (सबमरिन) उपलब्ध गराउन सन्‌ २०१५ मा एक सम्झौता गरेको थियो । दुबै देश मिलेर अल-खालिद ट्याङ्क पनि बनाएका छन्‌, जो अहिलेहाल पाकिस्तानको प्रमुख युद्धक ट्याङ्क हो ।

रक्षा मामिलाका जानकार भारतीय नागरिक राहुल बेदी भन्छन्‌, ‘चीन-पाकिस्तान सम्बन्ध दशकौँ पुरानो हो । समयसँगै यो सम्बन्ध थप बलियो भइरहेको छ । चीनले कैयनपटक पाकिस्तानलाई आफ्नो जुम्ल्याहा भाइ भनिसकेको छ । हालैको लडाईंमा पाकिस्तानले चीनको पीएल-१५ मिसाइल उपयोग गरेको छ । यो मिसाइल बराबरको क्षमता भएको अर्को मिसाइल कैयन पश्चिमी देशसँग छैन । रक्षा मामिलामा मात्र होइन, चीनको वन बेल्ट वन रोड परियोजना र ग्वादर बन्दरगाह परियोजना पनि पाकिस्तानका लागि निकै महत्वपूर्ण छ ।’

भारत-पाकिस्तान सङ्घर्षमा चीन

सन्‌ १९४७ मा स्वतन्त्र भएयता भारत र पाकिस्तान कश्मीर मामिलामा तीनपटक युद्ध लडिसकेका छन्‌ । शीत युद्धका दौरान सोभियत सङ्घले भारतलाई समर्थन गर्थ्यो, जब कि अमेरिका र चीन पाकिस्तानका पक्षमा खडा हुन्थे ।

गुट निरपेक्षताको आफ्नो परम्परागत नीति विपरीत अहिलेहाल भारत अमेरिकाको नजिक देखिन्छ, किनकी एसियामा चीनको दबदबा रोक्न भारतलाई आफ्नो पक्षमा राख्नु नै अमेरिकाले फाइदाजनक देखेको छ ।

भारतले अमेरिका, फ्रान्स र इजरायल समेत अन्य सहयोगीहरूबाट हतियार खरिदलाई तीव्रता दिएको छ । रक्षा खरिदमा रूसमाथिको निर्भरता घटाउँदै आइरहेको छ ।

अब्जर्भर रिसर्च फाउन्डेशनका उपाध्यक्ष प्राध्यापक हर्ष वी. पन्त हालैको भारत-पाकिस्तान द्वन्द्वलाई अमेरिका-चीन शक्ति सन्तुलनको नजरबाट पनि विश्लेषण गर्नुपर्ने बताउँछन्‌ ।

उनी लेख्छन्‌, ‘भारत-पाकिस्तान पछिल्लो टकरावलाई अमेरिका-चीन शक्ति सन्तुलनको चश्माबाट पनि हेर्नुपर्छ । युद्धविरामका लागि अमेरिकी प्रयासलाई हेर्दा उसले भारतलाई हिन्द प्रशान्त क्षेत्रमा एक रणनीतिक साझेदारका साथै महत्वपूर्ण व्यापार साझेदारका रूपमा पनि हेरिरहेको बुझिन्छ । यसैकारण अमेरिका यो चाहँदैन कि भारत आफ्नो ऊर्जा, संशाधन र समय पाकिस्तानलाई लिएर बर्बाद नगरोस्‌ !’

यसबीच चीनले पाकिस्तानलाई समर्थन गरेको देखिएको र चिनियाँ हतियार प्रयोगमात्र नभइ सार्वजनिक विज्ञप्तिमार्फत नै पाकिस्तानलाई समर्थन गरेको देखिएको पन्त उल्लेख गर्छन्‌ ।

चीनले भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य हमलाप्रति खेद व्यक्त गरेको थियो । उसले शान्ति र संयम कायम राख्न आह्वान पनि गरेको थियो । पछिल्लो सङ्घर्षअघि चीनका विदेशमन्त्री वाङ यीले पाकिस्तानी समकक्षीलाई फोन गरी समर्थन व्यक्त गरेका थिए ।

(बीबीसी हिन्दीको कलेक्टिभ न्युजरूमबाट प्रकाशित सामग्री अनुवाद गरिएको ।)

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ४ : ४६ बजे

भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ

काठमाडौं – बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट आफ्नो क्षेत्रलाई

गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका

उभौलीको रौनक : टोलटोलमा साकेला सिली

भोजपुर – वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक

५५ वर्षको उमेरमा नागरिकता

बाजुरा – बाजुराको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा