गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत | Khabarhub Khabarhub

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु ३४ लाख ७० हजार मूल्यमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । यहाँ उत्पादित कृषिउपज समयमा बजारसम्म पुर्‍याउन नसक्दा किसानहरूले ठूलो आर्थिक समस्या भोग्दै आएका छन् ।

उक्त एम्बुलेन्स पालिकाले सहकारीलाई सञ्चालनका लागि जिम्मा दिएको जनाइएको छ । सहकारीले किसानद्वारा उत्पादित तरकारी खरिद गर्ने र बजारसम्म पुर्‍याउने जनाएको छ । यसरी खरिद गरी बिक्री गरेपछि किसानको खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले जानकारी दिए । 

कृषि एम्बुलेन्स सञ्चालन भएसँगै किसानहरूले उत्पादित सामग्री सहज रूपमा बजारसम्म पुर्‍याउन सजिलो हुने भएको छ । यसले कृषकलाई प्रोत्साहन गर्नुका साथै उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताए। उत्पादित कृषिउपज सोझै कृषकबाट उपभोक्तासम्म पुग्ने र कृषकले पनि उचित मूल्य पाउने भएपछि उत्साहित भएका उनले उल्लेख गरे। 

कृषि एम्बुलेन्स सञ्चालन गर्नका लागि पालिकास्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र प्रत्येक वडामा उपसमिति गठन गरिएको छ । साथै प्रत्येक वडाको टोलटोलमा संकलन केन्द्र राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए। यसरी संकलन गरिएका तरकारी कृषिउपज बिक्री केन्द्र बुटवलमा लैजाने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

गाउँपालिकाले कृषिउपज बिक्रीका लागि बुटवलमा २८ नम्बर सटर भाडामा लिएको छ । कृषिउपज बिक्री केन्द्र बुटवलले सहकारीलाई सहुलियत दरमा सटर उपलब्ध गराउँदै आएको छ । गत वर्ष उक्त सटरबाट एक सय टन तरकारी बिक्री भएको थियो । पालिकामा व्यावसायिक रूपमा सागसब्जीखेती गर्ने कृषकहरू बढेकाले यस पटक दुई सय टन तरकारी बिक्री गर्ने लक्ष्य राखिएको पालिकाका अध्यक्ष पाण्डेले बताए। 

पालिकाले उत्पादनको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ । दश १० क्विन्टलसम्म तरकारी उत्पादन गरेर सहकारीमार्फत बिक्री गरेमा प्रतिकिलो दुई र दश क्विन्टलभन्दा माथि प्रतिकिलो तीन अनुदान उपलब्ध गराउँदै आइएको अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार पालिकाले गत वर्ष एक लाख ५० हजार उत्पादनको आधारमा कृषकलाई अनुदानबापतको रकम उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ०० बजे

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गाजामा तुरुन्त युद्ध रोक्न ट्रम्पको आग्रह, राष्ट्रसंघमा अरू के भने ?

न्यूयोर्क– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा

मुग्लिन-नारायणघाट सडक : पहिरो हटाउन बुधबार दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं – मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने

ला लिगा : रियल म्याड्रिडको सानदार जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच