नेपाल वायुसेवा निगमको वासलात : ऋण तिर्दैमा सकिन्छ अर्बौं आम्दानी | Khabarhub Khabarhub

नेपाल वायुसेवा निगमको वासलात : ऋण तिर्दैमा सकिन्छ अर्बौं आम्दानी



काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लामो समयदेखि राम्रो व्यावसायिक क्षमता प्रदर्शन गर्न सकेको छैन । सरकारकै अन्य केही संस्थानहरू नाफामा चलिरहँदा नेवानि भने लगातार घाटामा चलिरहेको छ ।

वि.सं. २०१५ असार १७ स्थापना भएको निगम पछिल्लो समयमा व्यावसायिक असक्षमताका कारण आलोचनाको केन्द्र बन्दै आएको छ ।

दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र दुईवटा ट्वीनअटरसहित ६ वटा विमान सञ्चालन गर्दै आएको निगमको आम्दानीभन्दा खर्च धेरै छ । अर्थात्, नाफाको दिशातर्फ उन्मुख हुनेभन्दा निगम वर्षेनि घाटामा चलिरहेको छ । यद्यपि, अघिल्ला दुई वर्षको तथ्यांकले निगमले वार्षिक अर्बौं घाटालाई घटाउन सफल भएको देखिन्छ ।


निरन्तर घाटा

निगमले हालसम्म आर्थिक वर्ष ०७९/८० सम्मको मात्रै पूर्ण लेखापरीक्षण सम्पन्न गरेको छ । उक्त लेखापरीक्षणअनुसार निगम आर्थिक वर्ष ०७८/७९ मा एक अर्ब ७१ करोड १२ लाख १७ हजार ६८८ रुपैयाँ घाटामा थियो । त्यसको पछिल्लो आर्थिक वर्ष ०७९/८० सम्म आइपुग्दा निगमले वार्षिक घाटामा एक अर्ब चार करोड बढीले कटौती गरेर ६६ करोड ५३ लाख १४ हजार ४३ रुपैयाँमा र्झान सफल भयो ।

निगमले आर्थिक वर्ष ०८०/८१ मा २० अर्ब ५० करोड रुपैयाँ कूल आय हुने अनुमान गरेको छ । त्यस अवधिमा निगमले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडानबाट १४ अर्ब १९ करोड ५७ लाख र ग्राउन्ड ह्यान्डलिङबाट पाँच अर्ब ४९ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

निगमको आम्दानीतर्फ टिकट, कार्गो र एक्सेस ब्यागेजको हिस्सा सबैभन्दा धेरै ७३ प्रतिशत छ, २७ प्रतिशत ग्राउन्ड ह्याडलिङको आम्दानी छ ।

तथ्यांकअनुसार ०८० असार मसान्तसम्म निगमको सञ्चित नोक्सानी १५ अर्ब ६२ करोड थियो, उता दीर्घकालीन कर्जा ५२ अर्ब पुगेको थियो ।

१४६६ कर्मचारी, पाइलट ७९ जना

निगममा आ.व. ०८१/८२ को अन्तिमसम्म एक हजार चार सय ६६ जना कर्मचारीले काम गर्दै आएका छन् । स्वीकृत दरबन्दी दुई हजार तीन सय ६९ भएकोमा नौ सय १० जना कर्मचारीको दरबन्दी खाली रहेको निगमले जनाएको छ ।

निगमले खबरहबलाई उपलब्ध गराएको तथ्यांकअनुसार आठ सय ५५ जना कर्मचारी स्थायी छन् भने तीन सय ३६ कर्मचारीले कन्ट्रयाक्ट दरबन्दीका छन् । त्यस्तै, निगममा दुई सय ७५ कर्मचारी मासिक ज्यालादारीका छन् ।

ती कर्मचारीमध्ये ७९ जना पाइलट छन् । जसमध्ये ६० जना स्थायी र १९ जनाले कन्ट्रयाक्ट दरबन्दीमा काम गर्ने निगमले जनाएको छ । साथै, एक सय ६८ जना कर्मचारीले क्याबिन क्रुमा काम गर्ने गरेकोमा एकजना बाहेक सबै कर्मचारीले कन्ट्रयाक्टमा छन् ।

निगमका अनुसार गत आवमा मात्रै ३० जना कर्मचारीले राजीनामा दिए भने ५६ जना अवकासमा गए ।

चार वर्षमा आठ अर्ब ऋण भुक्तानी
निगमले पछिल्लो चार वर्षको अवधिमा झण्डै आठ अर्ब रुपैयाँ ऋण भुक्तानीमा खर्च गरेको छ । खबरहबलाई उपलब्ध तथ्यांकअनुसार निगमले आव ०७८/७९ देखि ०८१/८२ सम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई सात अर्ब ९२ करोड १४ लाख ६३ हजार तीन सय ७४ रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

जसमध्ये निगमले ए ३३० र ए ३२० एयरबस खरिदका लागि कर्मचारी सञ्चय कोषबाट लिएको ऋणबापत कोषलाई गत आवको असार मसान्तसम्म एक अर्ब ७० करोड र चार अर्ब ४२ करोड १४ लाख ६३ हजार तीन सय ७४ रुपैयाँ बुझाएको छ ।

त्यस्तै, निगमले ए ३३० एयरबस खरिदकै लागि नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये गत आवको असार मसान्तसम्म एक अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ । उक्त ऋण भुक्तानीपछि दुई कोषलाई निगमले ४७ अर्ब पाँच करोड बढी भुक्तानी गर्न बाँकी छ । जसको ब्याजदर औसतमा झण्डै १० प्रतिशत भन्दा बढी छ ।

ऋण स्वाप प्रक्रियामा निगम, दुई आवेदन

निगमले ऋणको ब्याजदर उच्च भएपछि सस्तोमा रुपान्तरण गर्न प्रक्रिया अगाडि बढाएको छ । झण्डै एक वर्षदेखि अन्तर्राष्ट्रिय सहुलियत ऋणका लागि गरेको आह्वानमा दुई कम्पनीले आवेदन दिएका निगमका प्रवक्ता सुवास डाँगीले बताएका छन् । उनका अनुसार ती आवेदनको मूल्यांकन टुंगोमा पुगिसकेको छैन ।

अहिलेको तुलनामा ५ प्रतिशत कम ब्याजदरको सहुलियत ऋण लिन सके वार्षिक १६ करोड बढी, ४ प्रतिशत ब्याजदरमा लिन सके ६३ करोड बढी र २ प्रतिशतमा लिन सके वार्षिक डेढ अर्ब बढी बचत हुन सक्ने अनुमान निगमले गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ११ : ५६ बजे

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी