तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात   | Khabarhub Khabarhub

तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात  


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको शैलुङ गाउँपालिका भित्रका स्थानीय कृषक तरकारी तथा आलुखेतीमा लागेका छन् । यहाँका कृषकको आम्दानीको मुख्य स्रोत तरकारी खेती बन्न थालेको छ । तरकारी खेतीबाट यहाँका स्थानीयले लाखौँ आम्दानी गर्दै आएका छन् ।

बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले पछिल्ला वर्षहरूमा यहाँका स्थानीय किसानले परम्परागत खेतीलाई भन्दा छोटो समयमै आम्दानी लिन सक्ने व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् ।

घट्दो जनसंख्या र बढ्दो तरकारी उत्पादनले यहाँको ढुङ्गे, बोत्ले, नागी, कालापानी, झोर मनगाउँ, भुरुङ्गा, काडे, शैलुङ्गेश्वर, भैसे लगायतका स्थानीय कृषकको आयआर्जन तथा आम्दानीको भरपर्दो स्रोत तरकारी खेती बन्न पुगेको छ ।

शैलुङ ढुङ्गेकी माया तामाङ यति बेला तरकारी लगाउन व्यस्त छिन् । दुई वर्ष अघिसम्म काठमाडौंमा ज्यामी काम गर्दै आएकी उनी अहिले गाउँ फर्केर तरकारी खेतीमा लागेकी छन् । 

तरकारीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘दिनभर ज्यालादारीमा काम गर्दा परिवारको छाक टार्न समस्या हुन्थ्यो । तर अहिले त्यस्तो छैन एक सिजनमा काउली, बन्दाकोबी गाजर र आलुबाट एक लाखसम्म आम्दानी हुने गरेको छ ।’, उनले भनिन् ।

शैलुङ ढुङ्गेका दर्जनौँ किसान हिजोआज तरकारी रोप्न व्यस्त छन् । शैलुङको तरकारी काठमाडौंमासमेत निर्यात हुँदा बजारको समस्या नरहेको यहाँका तरकारी कृषक सुनाउँछन् । 

‘तरकारी रोप्ने बित्तिकै ठेकेदार तरकारीको मूल्य तोक्न बारीमै आउने गर्छन् ।’, बोत्लेकी स्थानीय हरिमाया खड्काले भनिन् । उनले दुई रोपनीमा तरकारी लगाएकी छन् । उनको बारीमा गाजर, फुलकाउली, बन्दा, मुला रोप्ने समय सुरु भएको छ ।

तरकारीले जीविकोपार्जनसँगै राम्रो बचत समेत हुने गरेको उनको भनाइ छ । गत वर्ष ८०/९० हजारको काउली र बन्दा बिक्री गरेकी खड्काले यस वर्ष काउली-बन्दासँगै मुला र गाजर पनि लगाएकी छन् । शैलुङ ढुङ्गेका अर्को स्थानीय साइला तामाङले पनि तरकारीबाट राम्रो आम्दानी लिँदै आएका छन् ।

तामाङले यस वर्ष तरकारीबाट ३ लाख ५० हजार तरकारीबाट आम्दानी लिने अनुमान गरेका छन् । अहिले मुला ,काउली र गाजरका बिरुवा उनको बारीमा हुर्किरहेका छन् । बाझो पाखो र भिरालो बारीमा लगाएको काउली राम्रो उत्पादन हुने गरेको तामाङ बताउँछन् । 

शैलुङको ढुङ्गेबाट वार्षिक ५ करोड भन्दा बढीको तरकारी काठमाडौं निर्यात हुने गरेको छ।गाउँपालिकाको बिउ विजन बाहेक अन्य सहयोग बिनै यहाँ किसानले करोडौँको तरकारी उत्पादन गर्दै आएको स्थानीय बोत्लेका मकरबहादुर शाक्यले बताए ।

उनका अनुसार शैलुङका विभिन्न गाउँबाट मौसमी तथा बेमौसमी सिजनमा ५०/६० करोड हाराहारीको तरकारी काठमाडौं निर्यात हुन्छ । आलु वार्षिक ४०/५० करोडको उत्पादन तथा बिक्री हुने गरेको छ ।

यता गाउँपालिका सँग उत्पादन र बिक्रीको तथ्याङ्क नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । प्राविधिक गङ्गामाया जिरेलका अनुसार वार्षिक अनुमानित ६० करोड बराबरको तरकारी सिधै काठमाडौं कालिमाटीमा निर्यात हुने गरेको पाइएको छ । 

धेरै खेती हुने र किसानले सिधै ठेकेदारलाई दिने हुँदा पालिकासँग यकिन उत्पादन संख्या र तथ्याङ्क नरहेको र फिल्ड भिजिट गर्दा सामान्य एक जना किसानले १लाख ५० हजार देखि १२ लाखसम्म तरकारीबाट आम्दानी गर्ने गरेको उनले बताइन् ।

गत वर्ष गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा काउली, मुला, बन्दा, गाजरको बिउ वितरण गरे पनि किसानले मागे जति बिउ पुर्‍याउन नसकेको उनको गुनासो छ । 

उनले भनिन्, ‘एक किसान -५/७ केजी सम्म काउलीको बिउको दल राख्ने गर्छन् । हामीले दिने भनेको एक कृषक बराबर आधा केजी देखि दुई केजीसम्म मात्रै बिउ हो । उहाँहरूले दुई रोपनी देखी ८० रोपनीमा तरकारी लगाउनु हुन्छ ।’ यस वर्ष भने उक्त कार्यक्रम बजेट अभावमा गर्न नसकेको प्राविधिक जिरेल बताउँछिन् ।

यता गाउँपालिका अध्यक्ष रिमालबावु श्रेष्ठले पनि पालिकाबाट वार्षिक ५५/६० करोडको तरकारी र ४० करोड बराबरको आलु निर्यात हुने गरेको बताए । 

पालिकाले वार्षिक तथ्याङ्क नराखे पनि शैलुङ क्षेत्रबाट ४० करोड बराबरको आलु मुडे तथा काठमाडौं निर्यात हुने गरेको उनले सुनाए । तरकारी पनि सो भन्दा बढी निर्यात हुने गरेको श्रेष्ठले सुनाए ।

गत वर्ष स्थानीयले ठेकेदारमार्फत ५०/५५ करोड माथिको तरकारी विभिन्न सिजनमा निर्यात गरेका थिए । शैलुङमा उत्पादित तरकारी तथा आलुलाई पालिकाले थप प्रवर्द्धन गर्न खोजे पनि बजेट अभावले नसकेको पालिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

स्थानीय सरकारसँग सीमित स्रोत र बजेट हुन्छ खै कसरी कृषिमा लगानी गर्नु ?उनले भने,उत्पादन राम्रो छ तर पालिकाले सोचेजस्तो कृषि र किसान हितमा काम गर्न सकिरहेको छैन ।

‘माथिल्लो निकायबाट आउने बजेट कर्मचारीको तलब र शिक्षा, स्वास्थ्य, पूर्वाधार क्षेत्रको आवश्यकता पुरा गर्दै सकिन्छ,’ श्रेष्ठले भने । शैलुङ झोरगाउँ, मनगाउँ, कालापानी, बोत्ले, नागी, ढुङ्गेलगायतका गाउँ तरकारीखेती उत्पादनका हिसाबले पकेट गाउँ हुन् । 

यहाँका यी गाउँमाबाट हजारौँ टन तरकारी तथा आलु उत्पादन हुँदै आएको छ । वर्षभरीलाई खान र खर्च पुग्ने गरी यहाँका स्थानीयले तरकारी लगाउने गर्छन् । यति धेरै उत्पादन र तरकारी निर्यात हुँदा पनि स्थानीय सरकारले प्रदेश तथा केन्द्र सरकारबाट सहयोग पाउन नसकेको पालिका अध्यक्ष श्रेष्ठको दुखेसो छ । 

प्रदेशबाट आएका साझेदार कार्यक्रमले सबै किसानलाई समेट्न सकिँदैन उनले भने,खेती प्रवर्द्धनको लागि हामीसँग प्राप्त बजेट हुन्न । किसान आफैँले लगानी गरेर करोडौँको आलु तथा तरकारी फलाउँदै आउनु भएको छ । 

गत वर्ष कृषि तथा पशु प्रवर्द्धन कार्यक्रम करिब साढे एक करोड बजेट विनियोजन गरिएको थियो।यस वर्ष पनि बजेट विनियोजन त गरेको छु तर त्यतिले सबैलाई समेट्न सकिँदैन उनले भने । मुख्यगरी शैलुङको वडा नम्बर-१,२,३,६ र ८ मा राम्रो तरकारी तथा आलुखेती हुँदै आएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : २९ बजे

राधाकृष्ण रथयात्रा मुलुकको गौरव : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश

सूर्यदर्शनको बचत हिनामिना : रविसहितको मुद्दामा सकिएन सुनुवाइ, अर्को बिहीबार बाँकी बहस हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध दायर