काठमाडौं– एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ । शहीद गंगालाल अस्पतालका काडियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले देश छोडेको हल्लाले अब नागरिक नेपाल बस्नै नसक्ने भाष्य सिर्जना भएको छ । मुठ्ठीभरका लागि मात्रै यो देश स्वर्ग रहेको बाँकीले सविस्तार पलायन बाहेक विकल्प नभएको देखाएको छ ।
डा. रामेशले बुधबार सञ्जालमा देश छोडेको स्टाटस लेखे – ‘उनले लेखेका थिए, ‘र, म तपाईँको खुच्चिङ रमाइरहेछु । एक्कासि सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ । र म सो बेला शायद सर्जन नहुँला । सरी कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम ।’
डा. कोइरालाले सामाजिक सञ्जालमार्फत कार्यकारी निर्देशक डा. रवि मल्ललाई सम्बोधन गरी सार्वजनिक पत्रमा गंगालाल राष्ट्रिय हृदय केन्द्रको सबै जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका छन् ।
उनको स्टाटसलाई लिएर नेता, समाजसेवी, डाक्टर, शिक्षक लगायत आम नागरिकले विशेष चासोको रूपमा टिप्पणी गरेका छन् । २५ वर्ष गंगालाल अस्पतालमा सेवा गरेका व्यक्तिसमेत विदेश पलायन हुने स्थिति सामान्य होइन भन्ने धेरैको तर्क छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लेख्छन्, ‘गङ्गालाल हृदय रोग केन्द्रका अब्बल चिकित्सक रामेश कोइराला र म एकै निर्वाचन क्षेत्रका हुँ । हाम्रो खास भेटघाट र कुराकानी थिएन । मलाई थाहा छ उनी मसँग उति सकारात्मक थिएनन् । यद्यपि एक अब्बल चिकित्सकका रूपमा उनीप्रति मेरो सधैं सम्मान थियो ।
अचानक उनको अमेरिका पलायनको समाचारले दुःखी भएको छु । केही गर्न सक्ने, केही गर्छु भन्नेहरूले देश छोड्ने क्रम कहिलेसम्म चलिराख्ने होला ?
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रविन्द्र मिश्रले डा. रामेश आफ्नो कटु आलोचक भए पनि एक दक्ष चिकित्सक विदेश पलायन भएको कुराले खुसी हुन नसकेको लेख्छन्, ‘अत्यन्तै दुखी छु । डा. रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा कहिल्यै मिलेन । मार्ग परिवर्तन गर्नुअघि पनि मिलेन । उनी मलाई अधिकांश स्थितिमा शुरूदेखि नै अति तुच्छतापूर्वक खेदिरहने थोरै बौद्धिक मध्येका एक थिए ।
स्थिति यतिसम्म अपाच्य भयो कि मैले उनलाई ट्विटरमा ब्लक गरिदिएँ र तत्काल उनले पनि मलाई ब्लक गरिदिए । तर आज उनले गङ्गालाल र देश छोडेर गएकोमा अत्यन्तै दुखी छु । हण्डर–ठक्कर सहेर, सरकारी अस्पतालमा सरकारी तलब खाएर, विदेश गएको भए महिना मैँ दशौँ लाख कमाउने अवसर छाडेर उनी जत्तिको मानिस जसरी नेपाल बसेका थिए, र उनले जेजस्तो सेवा दिएका थिए, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन । म तपाईँलाई नमन गर्छु ।
देशको वर्तमानको पीडा र भविष्यमा आउने अझ गम्भीर अवस्था कसले बुझिदिने ? गत चार वर्षमा (२०२१–२०२५) मा ८ हजार ६२४ नयाँ डाक्टरहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता भए । तीमध्ये ६ हजार ३६८ जनाले विदेश जाने हेतुले गुड स्याण्डिङ सर्टिफिकेट प्राप्त गरे ।
उनले लेखेका छन्, ‘रामेशजी, एकबारको जिन्दगी हो । तपाईँले असाधारण स्तरको सार्वजनिक सेवा गरिसक्नुभएको छ । जे पाउनु भएन, त्यसका लागि पश्चताप गर्नु पर्दैन । वास्तवमा यो स्थिति आउनमा तपाईहरूजस्ताको चरम राजनीतिक आग्रह त्यत्तिकै जिम्मेवार छ । जहाँ रहनु हुन्छ, जे गर्नु हुन्छ खुशी र सुखी रहनोस् । धेरै धेरै शुभकामना व्यक्त गर्दछु । अत्यन्तै दुखी । यस्तै हुने हो भने देश के होला ? नमरी बाँचे कालले साँचे कुनै दिन तपाईँको तुच्छताका बारे बसेर गफ गर्दै हाँसौँला ।’
त्यसैगरी पूर्व मुख्यसचिव विमल कोइरालाले दक्ष र क्षमतावान् नागरिकलाई राज्यले उपेक्षा गरेको लेख्छन्, ‘रामेश कोइराला ख्यातिप्राप्त डाक्टर मात्र होइन, स्वास्थ्य क्षेत्रको हस्ती नै हो । उनलाई योग्यताका आधारमा सम्मान गरिनु पथ्र्यो । राज्य चुक्दै गयो । राम्रा र कुशल मानिसहरूमा निराशा बढ्न नदिन राज्यले सचेततापूर्वक सोच्नुपर्छ । रामेश भाइ, जीवनका यी उतारचढाव लाई यथार्थताका कसिमा राखी मूल्यांकन गर। तिमिले गरेको योगदान कसैले मेटाउन खोजेपनी सक्दैन ।’
हास्य कलाकार मनोज गजुरेल पनि उनी नेपाल फर्किने आशा जीवितै रहेको आशा राख्दै लेख्छन्, ‘मुटु दुख्ने समाचार । डा. रामेश कोइरालाको ‘राजीनामा’सँग यो यथार्थ कति मेल खान्छ कुन्नि तर सरकारी संस्थाहरूमा पेशागत दक्षताभन्दा राजनैतिक प्रभाव, दबाब र भागबन्डाले काम गर्दछ, यो देशको तितो यथार्थ हो ।
राजीनामाको कारण निजी वा राजनैतिक, जे भए पनि देशकालागि उहाँहरूजस्ता प्रतिभा निष्क्रिय बस्नु निकै दुःखद कुरा हो । आशा गरौँ, उहाँ चाँडै सेवामा फर्किनुहुनेछ ।’
डा. कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । तर, सरकारले उनलाई प्रतिष्ठानको जिम्मेवारी नदिएका कारण असन्तुष्ट भएर राजीनामा दिएको बुझिएको छ ।
कतिपयले नियुक्ति नपाएर अमेरिका भासिएको भाष्यले नियुक्ति पाएकाहरूलाई अयोग्य भन्न मिल्छ ? भनेर सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । पत्रकार खगेन्द्र भण्डारी लेख्छन्, ‘नियुक्ति पाउनुभएन, त्यही भएर देश छोड्नुभयो रे ? यो कस्तो भाष्य हो ? अनि नियुक्ति पाएकाहरू सबै अयोग्य हुन् ?
कुनै नियुक्तिका पछाडि नदौडी देशभित्रै सेवा गरिरहेकाहरू सबै खत्तम ? दाइभाउजूतिर औँला देखाएर आफ्नो पदीय गरिमा र हैसियतको धुलिसात नबनाइस्यो आदरणीय व्यक्तित्वहरू । जय होस्, शुभ होस् ।’
सेतोपाटीले परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले उनलाई दुई पटकसम्म उपकुलपति हुन रोकेका कारणले अपमानित भएर कोइरालाले देश छोड्न बाध्य भएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका थिए ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर भागबण्डामा डा. कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा आफूलाई ढुक्क मानेको स्थिति थियो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि कोइरालाको नियुक्तिको लागि लबिङ गरिरहेका थिए । तर अन्तिममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ नियुक्त भए ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने गरेको सरकारी तथ्यांकसहित कान्तिपुरले समाचार लेखेको छ । नियुक्तिमा हुने दलीय भागबन्डाले चिकित्सक पलायन दर अझ बढाउने सक्ने समाचारको तात्पर्य देखिन्छ ।
डा. रामेश चिकित्सक, लेखक, वकिल, साहित्यकार र समाजसेवी बहुआयामिक व्यक्तित्व हुन् । वरिष्ठ मुटु सर्जनका रूपमा उनले ६ हजार बढीको शल्यक्रिया गरेका छन् । उनी नेपालमा दक्ष मुटु सर्जनका रूपमा चिरपरिचित हुन् ।
विश्व कुख्यात चाल्र्स शोभराजको मुटुको जटिल शल्यक्रिया गरेपछि उनले सामाजिक सञ्जाल टुइटरमा ‘चाल्र्स शोभराजको मुटु रहेछ’ भन्दै ट्वीट गरेका थिए । उनले ‘चाल्र्स शोभराजःइनसाइड द हर्ट अफ द बिकिनी किलर’ पुस्तक पनि लेखे । डा. कोइरालाले ‘आमाको मुटु’ र ‘कोपिला आश्रम’ नामक उपन्यास लेखेका छन् ।
प्रतिक्रिया