बहुप्रतिक्षित ट्रम्प–पुटिन भेटवार्ता : अलास्का नै किन ? | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय

बहुप्रतिक्षित ट्रम्प–पुटिन भेटवार्ता : अलास्का नै किन ?

रुस-अमेरिकाबीच कौडीको भाउमा किनबेच भएको भूगोल



काठमाडौं– क्यानाडाको यूकोन टेरिटोरीबाट पश्चिमतर्फ उत्तरी प्रशान्त महासागरको तटमा अमेरिकाको अलास्का राज्य पर्छ । संयुक्त राज्यको मुख्य भूमिसँग दुईवटा राज्य सीधै जोडिएका छैनन् । त्यसमध्ये अलास्का पनि एक हो । यही अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बहुप्रतिक्षित वार्ताको ‘भेन्यु’ तय भएको छ ।

हवाइ राज्य प्रशान्त महासागमा केही टापु समूह मिलेर बनेको छ भने यो अलास्का राज्यलाई चाहिँ मुख्यभूमिबाट क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तले छुट्याएको छ ।

अलास्काको पश्चिममा बेरिङ स्ट्रेट र बेरिङ सागर पर्दछ । सन् १७२८ मा डेनिस मूलका रुसी खोजकर्ता भिटस बेरिङले यो जलक्षेत्रको खोज गरेका थिए । अलास्कादेखि पश्चिमको समुद्र र स्टे«टको नाम उनै बेरिङसँग जोडेर राखिएको हो । बेरिङ स्ट्रेटभन्दा अझ पश्चिममा रुसी महासङ्घको चुकोत्का स्वायत्त क्षेत्रअन्तर्गत चुकोत्स्की प्रायद्विप पर्दछ ।

हुन पनि १८ औँ शताब्दीसम्म रुसी जारशाहीले साइबेरिया भनिने एशियाको विशाल उत्तरी भूखण्ड आफ्नो अधिनमा लिएको थियो । १७२८ मा बेरिङले साइबेरिया पारी अलास्काको खोज गरेका थिए । त्यसपछि रुसी जारशाहीको प्रतिनिधित्व गर्दै ग्रिओर्गी शालिखोभले सन् १७८४ मा पहिलो पटक अलास्कामा रुसी बस्ती बसालेका थिए । विस्तारै रुसले उत्तरी अमेरिकाका पश्चिमी तटमा पनि अरु केही बस्ती बसाल्यो ।

सुदूर उत्तरमा आर्कटिक वृत्त नजिक पर्ने यस क्षेत्रमा कठोर जाडो हुन्छ । त्यसैले यहाँ बसोबास गर्ने जनावरको रौँ ज्यादै बाक्लो हुन्छ । त्यसबेला एशिया र युरोपमा महङ्गा पहिरन बनाउन जनावरको रौँको माग उच्च हुन्थ्यो । सोही रौँको व्यवसाय गर्नका लागि रुसले अलास्का र आसपास बस्ती बिस्तार गरेको थियो ।

तर, अलास्कामा रुसी बस्ती लामो समय टिक्न सकेन । रुसी सत्ताको केन्द्र पूर्वी युरोपतर्फ पर्छ । त्यसबेला रुसी शासकका लागि पूर्वी युरोपबाट विशाल भूभाग पार गरेर अलास्का पुग्न र त्यहाँ आफ्नो शासन सञ्चालन गर्न व्यवहारिक हिसाबले ज्यादै असहज थियो । अझ हिउँदको समयमा त पूर्वी युरोपबाट अलास्का पुग्न असम्भवप्रायः नै हुन्थ्यो ।

१९ औँ शताब्दीको मध्यतिर उत्तरी अमेरिकाको पश्चिमी भूभागमा आ–आफ्नो प्रभाव स्थापित गर्न अमेरिका र बेलायतबीच एक किसिमको होडबाजी चलिरहेको थियो । दुबै शक्ति एक–अर्कालाई पछि पार्दै उत्तर अमेरिकाको प्रशान्त तटमा आफ्नो प्रभाव जमाउन चाहन्थे । यसै अनुसार संयुक्त राज्य अमेरिकाले सन् १८४८ मा ओरेगन क्षेत्रमा आफ्नो प्रभाव कायम गर्न सफल भएको थियो ।

त्यसपछि सन् १८५० मा क्यालिफोर्नियालाई राज्यको मान्यता दिइयो । त्यसैगरी, सन् १८५३ मा संयुक्त राज्यले वाशिंटन क्षेत्र स्थापना गर्‍यो । यसबाट बेलायत सतर्क भयो र सन् १८५८ मा हाल क्यानाडामा पर्ने ब्रिटिश कोलम्बियालाई औपचारिक रुपमा आफ्नो उपनिवेश घोषणा गर्‍यो । यही ब्रिटिश कोलम्बियाको पश्चिमी सीमा रुसको मातहत रहेको अलास्कासँग जोडिन्थ्यो ।

कौडीको भाउमा किनबेच

१९ औँ शताब्दीमा रुस र बेलायत कट्टर दुश्मन थिए । मध्य एशियामा दुई शक्तिबीच ‘ग्रेट गेम’ भनिने भूराजनीतिक प्रतिस्पर्धा चलिरहेको थियो भने सन् १८५० को दशकको मध्यतिर अटोमन साम्राज्य र फ्रान्ससँग मिलेर बेलायतले रुसी जारशाहीलाई क्रिमियन युद्धमा पराजित गरेको थियो । यस्तो अवस्थामा उत्तरी अमेरिकास्थित आफ्नो उपनिवेशको साँधसम्म बेलायतको पहुँच पुग्नु रुसका लागि टाउको दुखाइको विषय थियो । कुन बेला बेलायतले अलास्कामाथि आक्रमण गर्ला भन्ने रुसी जारशाहीलाई चिन्ता भइरहन्थ्यो । सैन्य बलका भरमा बेलायतले लैजानुभन्दा बरु अमेरिकालाई अलास्का बेच्न पाए हुन्थ्यो भन्ने जारशाहीको मत थियो ।

संयुक्त राज्य अमेरिकामा यसबेला चर्को राजनीतिक अस्थीरता र ध्रुवीकरणको समय थियो । दासता र राज्यको अधिकारका विषयलाई लिएर संयुक्त राज्य अमेरिकामा सन् १८६१ मा गृहयुद्ध छेडियो । यो युद्ध सन् १८६५ मा सकियो । गृहयुद्धबाट भर्खरै उठ्ने क्रममा रहेको संयुक्त राज्य अमेरिकाका लागि आफ्नो मुलुकमा भूभाग थप्ने चाहना हुनु स्वभाविकै थियो ।

सन् १८६० को दशकको उत्तरार्धतिर अलास्का खरिदबिक्री गर्ने विषयमा रुस र संयुक्त राज्य अमेरिकाको स्वार्थ मिल्न गयो । त्यसअघि पनि १९ औँ शताब्दीको शुरुतिर अमेरिकाले फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टसँग लुइजियाना खरिद गरिसकेको थियो । १८६७ मा संयुक्त राज्य अमेरिकाले रुसबाट कौडीको भाउमा अलास्का खरिद गर्‍यो ।

त्यसबेला सारा अलास्का बिक्री गरेबापत रुसले संयुक्त राज्य अमेरिकाबाट ७२ लाख डलर प्राप्त गरेको थियो । यो भनेको एक एकड जमिनका लागि केबल २ सेन्ट हो । त्यसको झण्डै एक शताब्दीपछि सन् १९५९ मा शीतयुद्धका बेला अमेरिकी राष्ट्रपति ड्वाइट डी. आइजनहावरले औपचारिक रुपमा अलास्कालाई राज्यको मान्यता दिएका थिए ।

शान्त अलास्का

अलास्कालाई रुससँग छुट्याउने बेरिङ स्ट्रेट हिउँदमा जम्दछ । यस विशाल समुद्री क्षेत्रमा बरफ जमेर ठोस हुन्छ । बरफ जम्ने कारणले हरेक वर्ष केही महिनाकै लागि भएपनि रुस र अमेरिका सँधियार छिमेकी बन्न पुग्छन् । उसो त प्रागऐतिहासिक कालमा बेरिङ क्षेत्र भएर चेतानशील मानव अर्थात् होमो सेपियन्सहरु एशियाबाट अमेरिकी महादेश प्रवेश गरेको विश्वास गरिन्छ । बेरिङ क्षेत्रको बाटो भएर पुगेका आदिम मानवहरुले अमेरिकी महादेशमा आदिवासी सँस्कृतिको विकास गरेको जानकारहरु बताउँछन्।

यही ऐतहासिक महत्व बोकेको अलास्कामा अहिले भने गर्मी मौसम चलिरहेको छ । काफल पाक्ने सिजन छ । फुर्सदको समय बिताउन मान्छेहरु, शिकार खेल्न, डुङ्गा खियाउन र माछा मार्न जान्छन् । हुन पनि यो बेला अलास्काको जङ्गलमा भालु र नदी खोलामा सामन माछाहरु प्रचुर मात्रामा पाइन्छ ।

मध्य दक्षिण अलास्काको कुक खाडीको किनारमा राज्यको सबैभन्दा ठूलो शहर एन्कोराज अवस्थित छ । यो शहरलाई चुघाचको जङ्गल र पहाडले घेरेको छ । कम जनसङ्ख्या भएकाले यो शहर शान्त छ । यहाँ बस्ने मानिसहरुको जीवन सरल छ ।

त्याहिंसा, अपराध कमै हुन्छ । उनीहरु सुरक्षित महसुस गर्छन् । अहिले एन्कोराजमा चहलपहल बढेको छ ।

एन्कोराजमा चहलपहल बढ्नुको कारण हो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको बहुप्रतीक्षित शिखर वार्ता । यी दुई नेताबीच स्थानीय समयअनुसार शुक्रबार भेटवार्ता हुने तय भएको छ । दुई नेताबीच ४५ महिनादेखि युक्रेनमा जारी युद्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

कसको स्वार्थ के ?

शिखर वार्तापछि हाल कब्जामा रहेका युक्रेनी भूमि ट्रम्पले रुसलाई पो दिने हुन् कि भन्ने डर साझेदार मुलुकहरुलाई छ । युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्तो सम्झौता आफ्ना लागि अस्वीकार्य हुने स्पष्ट पारिसकेका छन् । स्काई न्यूजका मस्को संवाददाता इभोर बेनेट पुटिनका लागि युक्रेनमा स्पष्ट जीत अत्यावश्यक रहेको जिकिर गर्छन् । पुटिनले यस शिखर वार्ताबाट हाल युक्रेनमा कब्जा गरेका सबै भूमिसँगै युक्रेनको स्थायी तटस्थता र युक्रेनको सैन्य सीमितताको पनि अपेक्षा गरेको हाल अलास्कामा रहेका बेनेटको भनाइ छ ।

यस किसिमको सम्झौताले नै युक्रेनमा सबैभन्दा छिटो शान्ति कायम हुनेबारे पुटिनले ट्रम्पलाई ‘कन्भिन्स’ गर्ने प्रयास गर्नेछन् । यसको बदलामा पुटिनले ट्रम्पलाई अमेरिकी व्यवसायी र लगानीकर्ताका लागि रुसी बजार खुला गर्न तयार हुने शर्त अघि सार्न सक्छन् । अमेरिका–रुस सम्बन्ध सुधार भए अमेरिकीहरुलाई रुसमा व्यापार गर्न दिनेबारे हाल मस्कोमा चर्चा चलिरहेको बेनेटले बताएका छन् ।

यस शिखर वार्तालाई युक्रेनीहरुले भने निकै भयको नजरले हेरिरहेका छन् । स्काई न्यूजका अन्तर्राष्ट्रिय मामिला सम्पादक डोमिनिक वागहर्नका अनुसार अलास्कामा शिखर वार्ताका लागि बोलाएर ट्रम्पले अन्तर्राष्ट्रिय स्तरमा पुटिनको महत्व बढाइदिएको युक्रेनीहरुको धारणा छ । छलफल वा सौदाबाजीअघि युद्धविराम र आफ्नो मुलुकको सुरक्षा ग्यारेन्टी हुनुपर्ने युक्रेनी दृष्टिकोण छ ।

युक्रेनीहरु यदी त्यसो नभएमा पुटिनले चाहेको बेला फेरि रुसले आक्रमण गर्नसक्ने जोखिम देख्छन् । त्यसैगरी, युक्रेनलाई युद्धबाट क्षतविक्षत भएको आफ्नो मुलुकको पुनःनिर्माणका लागि सहयोग पनि चाहिएको हुनसक्छ ।

ट्रम्पका लागि पनि यो शिखर वार्ताले ठूलो महत्व राख्छ । रुस–युक्रेन युद्ध अन्त्य गर्ने बाचासहित राष्ट्रपति बनेका ट्रम्पका लागि पुटिनसँगको शिखर वार्ता महत्वपूर्ण हुनेछ । ट्रम्प र समर्थकका लागि उनी ज्याद्रै ठूला सौदाबाज हुन् । उनी जोसँग पनि जस्तोसुकै लेनदेन गरेर आफ्नो स्वार्थ पूरा गर्न सक्छन् ।

कतिपयको मतमा चाहिँ पुटिनसँगको वार्तामा ट्रम्पको ध्यान युक्रेनमा शान्ति स्थापना गर्ने भन्दा पनि रुससँग सम्बन्ध सुधार गरेर नाफा कमाउनु हुनेछ ।

अलास्का नै किन ?

६ वर्षपछि हुन लागेको ट्रम्प पुटिन शिखर वार्ताको तयारीका लागि सुरक्षा, कूटनीतिक, साजसज्जा इत्यादीको बन्दोबस्त गर्न मुख्यभूमि अमेरिकाबाट अधिकारीहरु एन्कोराज आएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तरपूर्वी एन्कोराजमा रहेको सैन्य आधार क्षेत्रमा दुई नेताबी भेटवार्ता हुने सङ्केत गरेको छ ।

अलास्कामा नै शिखर वार्ता गर्न पुटिन र ट्रम्प किन राजी भए भन्ने विषयमा धेरै कोणबाट विश्लेषण भइरहेका छन् । पहिलो कुरा त तत्कालीन रुसी जारशाहीले संयुक्त राज्य अमेरिकालाई बिक्री गरेको भूमिमा आयोजना हुने शिखर वार्ताले उच्च साङ्केतिक महत्व राख्ने जानकारहरु बताउँछन् ।

त्यसबाहेक अलास्का रुसको राजधानी मस्को र अमेरिकाको राजधानी वाशिङ्टन डीसीबाट समान दुरीमा पर्छ । शीतयुद्धका बेला अमेरिकाका लागि कूटनीतिज्ञका रुपमा काम गरेका बिल कोर्टनी भौगोलिक कारणले गर्दा नै दुई नेताहरु अलास्कामा शिखर वार्ता गर्न सहमत भएको बताउँछन् । ‘अलास्काले तपाईँलाई मस्को वा वाशिङ्टनबाट झण्डै आधा बाटोमा पर्ने मौका दिन्छ ।’ उनले रेडियो फ्रि एशिया/रेडियो लिबर्टीलाई भनेका छन्, ‘पुटिन र ट्रम्प दुबैले तुलनात्मक रुपमा समान यात्रा गर्नेछन् ।’
कतिपय भने अलास्कालाई शिखर वार्ताको आयोजनास्थल तोकिनु पुटिनका लागि जीत भएको धारणा राख्छन् ।

न्यूहेभन विश्वविद्यालयका गृहभूमि सुरक्षा र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी प्राध्यापक म्याथ्यु स्मिड्टका अनुसार यसले पुटिनका लागि सूक्ष्म तर महत्वपूर्ण जीतको सङ्केत गर्छ । उनका अनुसार कुनै समय अमेरिकालाई बिक्री गरेको भूमिमा शिखर वार्ताको आयोजना हुनुलाई रुसी मिडियाले खुबै प्रचार गरिरहेका छन् । अलास्का राज्यले चाहेको खण्डमा ठूला शक्ति मुलुकहरु भूमिको आदान प्रदान गर्न पनि तयार हुन्छन् भन्ने सङ्केत गर्ने उनको दाबी छ ।

अर्कोतर्फ कतिपय जानकारले अलास्कामा शिखर वार्ता हुनुलाई सुरक्षासँग पनि जोडेका छन् । अलास्काको जनसङ्ख्या ७ लाख ३० हजार आसपास छ । यस अनुसार जनसङ्ख्याका आधारमा अलास्का अमेरिकाका ५० मध्ये ४८ औँ ठूलो राज्य हो ।

न्कोराजकै जनसङ्ख्या पनि केबल अढाई लाख हाराहारीमा छ । यसले विश्वका दुई शक्तिशाली नेताहरुको सुरक्षा गर्न अधिकारीहरुलाई सहज हुने अलास्का फेयरब्याङ्क्स विश्वविद्यालयमा आर्कटिक सुरक्षा विषयका प्राध्यापक ट्रोय बोउफर्डले बताएका छन् ।

उनका अनुसार यो शहरमा बन्दोबस्तीको प्रबन्ध चुस्त छ । यहाँ रहेको एल्मेन्ड्रफ–रिचर्डसन संयुक्त आधार शिविरमा अमेरिकी स्थल सेना र वायुसेनाका हजारौँ सैनिक तैनाथ छन् । ‘एन्कोराजका सबै बाटो, सडक र भवन बन्द गर्न कुनै समस्या छैन ।’ बोउफर्डले भनेका छन् ।

अमेरिकामा पुटिन ज्यादै अलोकप्रिय छन् । पिउ रिसर्चले गत जुन महिनामा सार्वजनिक गरेको सर्वेक्षणका अनुसार पुटिनले विश्व मामिलामा असल काम गर्छन् भन्नेमा अमेरिकाका ८४ प्रतिशत जनता विश्वास गर्दैनन् । त्यसबाहेक पुटिनलाई अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले पनि पक्राउ पुर्जी जारी गरेको छ । यसअनुसार आफ्नो देशमा पाइला टेक्नेबित्तिकै आईसीसीका सदस्यले पुटिनलाई पक्राउ गर्नुपर्ने प्रावधान छ । तर, अमेरिका आईसीसीको सदस्य होइन । यसले गर्दा पनि पुटिनलाई तेस्रो मुलुकभन्दा अमेरिकी भूमिमै शिखर वार्ता गर्न सहज भएको बताइन्छ ।

शिखर वार्ताका लागि अलास्काको छनौट गर्नुको अर्को कारण चाहिँ प्रदर्शनको जोखिम कम हुनु हो । अमेरिकी राजधानी वाशिङ्टन डीसी आसपास करोडौँ मानिसहरु बस्छन् । यस्तो हुँदा डीसीमा शिखर वार्ता गर्दा लाखौँ मानिसहरु पुटिनविरुद्ध सडकमा उत्रिने जोखिम हुन्छ । तर, अलास्का मुख्यभूमि अमेरिकाबाट धेरै टाढा छ । मुख्यभूमिमा बसोबास गर्ने अमेरिकीले अलास्का पुग्न क्यानाडाको बाटो भएर हजारौँ माइलको यात्रा गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, मुख्यभूमिबाट अलास्कासम्म पुग्ने हवाईजहाजको टिकट पनि अन्य ठाउँको भन्दा महङ्गो पर्न जान्छ । कतिपय अवस्थामा त मुख्यभूमिबाट अलास्का जाने टिकट पाउने मुश्किल पर्छ । एक साताअघि सूचना दिएर अलास्कामा शिखर वार्ता आयोजना गर्दा यो सब झन्झट हुँदैन ।

बोउफर्डका अनुसार एन्कोराजमा पुटिनविरुद्ध युक्रेनको झण्डासहित सानो प्रदर्शन हुने तयारी चलिरहेको छ । यद्यपि सानो स्तरको प्रदर्शनले कुनै फरक नपर्ने जानकारहरु बताउँछन् ।

अमेरिका र रुसबीचको सम्बन्धको हिसाबमा अलास्का निकै महत्वपूर्ण भूमि हो । दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीविरुद्धको लडाईँमा सहयोग गर्न अमेरिकाले ८ हजारभन्दा धेरै जहाज तत्कालीन सोभियत सङ्घमा पठाएको थियो । ‘ल्याण्ड लिज’ कार्यक्रमअन्तर्गत सोभियत पाइलटले अलास्काको नोम बन्दरगाहबाट अमेरिकामा निर्मित हवाइ जहाज आफ्नो मुलुकतर्फ लगेका थिए ।

तर, दोस्रो विश्वयुद्धलगत्तै सोभियत सङ्घ र अमेरिकाबीचको सम्बन्ध बिग्रियो । दुई मुलुकबीचको सम्बन्ध शीतयुद्धमा परिणत भयो । सुदूरपूर्वी क्षेत्रमा सोभियत सङ्घको प्रभाव रोक्न अमेरिकाले अलास्कामा व्यापक सैन्य पूर्वाधारको विकास गर्‍यो । सोभियत सङ्घ पतन भएको पनि साढे तीन दशक पुग्न लागेको छ । तर पनि अलास्कामा अझै शीतयुद्धको सङ्केत भेटिन्छ । अलास्कामा अमेरिकाले लडाकु विमान, रडार प्रणालीजस्ता सैन्य पूर्वाधार परिचालन गर्दै आएको छ ।

अलास्कामा अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षा सञ्जालको पनि स्थापना गरेको छ । यसबाट अमेरिकाले उत्तर कोरियाजस्ता मुलुकबाट प्रहार हुने क्षेप्यास्त्रको पहिचान गर्न र आवश्यक परे जवाफ समेत दिन सक्छ ।

आर्कटिक क्षेत्रमा उसैपनि प्रचुर मात्रामा खनिज र अन्य प्राकृतिक स्रोत रहेको विश्वास गरिन्छ । पछिल्लो समय विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रको बरफ पग्लिने क्रम बढेको छ । बरफ पग्लिँदा आर्कटिक क्षेत्रमा नयाँ समुद्री मार्ग खुल्ने र यसबाट पृथ्वीको उत्तरी क्षेत्रमा पारवहनका लागि सहज अपेक्षा गरिएको छ । ट्रम्प–पुटिन शिखर वार्तामा यो पनि चासोको विषय हुनेछ ।

अलास्कालाई शिखर वार्ताको आयोजनास्थल छनौट गर्नुले दुई देशबीच कायम सम्बन्धको सङ्केत गर्ने रुसका वरिष्ठ विदेश नीति सल्लाहकार युरी उशाकोभले बताएका छन् । उनका अनुसार ‘प्रतिकात्मक ठेगाना भएकाले’ अलास्काले दुबै मुलुकको साझा आर्कटिक सीमाको प्रतिनिधित्व गर्दछ । ‘रुस र संयुक्त राज्य निकट सँधियार छिमेकी हुन् ।’ उशाकोभलाई उद्धृत गर्दै रेडियो फ्रि एशिया/रेडियो लिबर्टीले उल्लेख गरेको छ, ‘यस शिखर वार्ताले शान्तितर्फ कुनै यथार्थ प्रगति हासिल गर्ला नगर्ला, तर अलास्काका लागि, यो विश्वव्यापी चर्चाको विषय हो ।’

साम्राज्यवादको पुरानो स्मृति

अहिले अलास्का रुसी साम्राज्यवादको पुरानो स्मृति बनिसकेको छ । केही विज्ञहरूका लागि अलास्कामा भएको शिखर सम्मेलनले शीतयुद्धको समयमा सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीच सम्बन्ध सुधारको सम्झना जगाएको छ ।

‘यो शास्त्रीय रूपमा आयोजित शिखर सम्मेलन हो, डिटेन्टको युगजस्तै’ रुसी राजनीतिक वैज्ञानिक फ्योदोर लुक्यानोभले एएफपीलाई भनेका छन्, ‘यसको प्रतीकात्मक महत्व मध्यस्थकर्ताहरूको अनुपस्थिति हो । शक्तिहरू भन्नुपर्दा, आफ्ना लागि आफैँ निर्णय गर्छन्, चीन अलास्कासँग नजिक छैन र युरोप सक्दो टाढा छ ।’

‘रूसका लागि अलास्का विस्तारको शिखरको प्रतीक हो’, कार्नेगी रुस युरेसिया केन्द्रका वरिष्ठ फेलो अलेक्जान्डर बाउनोभले केन्द्रको वेबसाइटमा भनेका छन्, ‘यो रूसको महादेशीय साम्राज्यले युरोपका अरु साम्राज्यहरूजस्तै समुद्र पार गर्न सफल भएको एक मात्र समय थियो ।’

हालका वर्षहरूमा रुसमा अलास्कालाई बिक्री गरिएको मूल्य र लेनदेनको कानूनी वैधताका विषयमा बहस चल्ने गरेको छ । रूसमा युक्रेनमा जारी युद्धबीच सन् २०२२ जुलाईमै पनि अमेरिकासँग तनाव बढेपछि अलास्काको मुद्दा फेरि उठेको थियो ।
रुसी संसद्को तल्लो सदन डुमाका सभामुख व्याचेस्लाभ भोलोडिनले ‘फिर्ता गर्नुपर्ने भूमि’ को संज्ञा दिँदै अलास्कालाई ‘विवादित क्षेत्र’ भनेका थिए । यद्यपि रूसले औपचारिक रुपमा अलास्कालाई फिर्ता गर्नुपर्ने माग राखेको छैन ।

सन् २०१४ मा पेन्सन पकाएर अवकाश लिएका एक जना सर्वसाधारणले पुटिनलाई अलास्काका बारेमा सोधेका थिए । यसबारे पुटिनले दिएको जवाफ बडो रोचक छ । जवाफमा पुटिनले भनेका थिए, ‘मेरा प्रिय, तपाईंलाई अलास्का किन चाहियो ? त्यो क्षेत्र धेरै चिसो छ ।’

तैपनि, अलास्कालाई पुनः दाबी गर्नेबारे रुसी सामाजिक सञ्जालमा व्यापक रूपमा मिमहरु फैलिरहेका हुन्छन् । सामाजिक सञ्जालमा बारम्बार देखिने एउटा रोचक सामग्रीमा दाबी गरिएको छ– ‘अलास्का गुमाएकामा हाम्रो आत्माले दुःख भोग्यो, किनभने यो हाम्रो भालुहरू बस्ने ठाउँ हो ।’

पुटिनलाई ल्युबे नामक रक ब्याण्ड खुब मन पर्छ । यही ब्याण्डले सन् १९९० को दशकमा एउटा गीत निकालेको थियो । ल्युबेको गीतमा भनिएको छ– ‘बकवास गर्न छोड, अमेरिका… र हाम्रो अलास्का भूमि फिर्ता देऊ ।’

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ०१ बजे

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय

एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ

साँझपख बदलिन्छ धरानको भानुचोक

धरान– बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि

महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा