पदाधिकारीमा ओलीले समेटेनन् ४० वर्षमुनिका युवा « Khabarhub

पदाधिकारीमा ओलीले समेटेनन् ४० वर्षमुनिका युवा



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्यानलको नाम टुंगो लगाएका छन् ।

ओलीले टिम बनाउँदा छ जना सचिवमा नयाँ अनुहार समेटेका छन् । तर त्यहाँ एकजना पनि युवा समेटिएका छैनन् ।

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि पार्टीलाई सुदृढ र सबल बनाउन युवा समावेश गर्ने भन्दै ओलीले आइतबार बसेको बन्दसत्रबाट विधान संशोधन गरेका थिए।

तर संशोधन गरेर बनाइएको विधानअनुसार नेताहरूको नाम सार्वजनिक भइरहँदा ओली टीमबाट कुनै पनि युवा अनुहार पदाधिकारीमा देखिएका छैनन् ।

‘युवालाई टिम राख्न सकिएन। हामीले जोड गरेका थियौँ तर पुरानाका कारण मिलेन’, ओलीका विश्वासिला पात्रमध्ये एक महेश बर्तौला भन्छन, ‘४० वर्षमुनिका युवा टिममा राख्न सकिएन, ४० वर्षमाथिका मात्रै युवा नेताहरू मात्रै हुनुहुन्छ।’

लामो संवाद र छलफलपछि अध्यक्ष ओलीले आफ्नो प्यानलको नाम टुंग्याए पनि उपाध्यक्षमा उपमहासचिव प्रदीप ज्ञवालीले बस्न मानिरहेका छैनन् ।

ज्ञवाली गुण्डुबाट उठेर हिँडेपछि उनलाई मनाउने काम भइरहेको छ। एमालेको एघारौँ महाधिवेशनका लागि महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ।

ओलीले उपाध्यक्षमा पाँचजनाको नाम टुङ्गो लगाइसकेका छन्। जसमा पुराना अनुहार रामबहादुर थापा बादल, विष्णु पौडेल, गुरु बराल दोहोरिएका छन् ।
उपाध्यक्षका लागि नयाँ अनुहार पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली हुन् । पृथ्वी सुब्बा गुरुङ यस अगाडि एमालेको उपमहासचिव थिए। यस्तै ज्ञवाली पनि उपमहासचिव थिए तर उनी उपाध्यक्षमा दोहोरिन नचाहेकाले उनको नाम फेरबदल हुन सक्ने सम्भावना छ ।

यस्तै उपमहासचिवमा पनि लेखराज भट्टलाई लगिएको छ। भानुभक्त ढकाललाई सचिवमा झारिएको छ। उपमहासचिवमा यसअगाडिका सचिव रघुवीर महासेठ र यस अगाडिका उपमहासचिव विष्णु रिमाल पनि परेका छन्।

नौजना सचिवमध्ये ओलीले छ जना नयाँ अनुहारका सचिव ल्याउँदा युवा पुस्ता समेट्न नसकेको देखिन्छ। युवाका रुपमा रहेकी रामकुमारी झाँक्री पनि यो टीममा परिनन् ।

ओलीले सचिवमा केही युवा अनुहार ल्याउन खोजे पनि टीममा समस्या भएकाले उनले ल्याउन सकेनन् । युवा अनुहारमा पदमगिरीको नाम अगाडि आए पनि ओलीले त्यहाँबाट मुख्यमन्त्री खगराज अगाडिलाई अगाडि सारेका छन्।

यस्तै विद्या भण्डारीका विश्वासिला पात्र मानिएका पूर्व कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राई पनि ओलीको टिमबाट सचिवमा उठ्ने भएका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विश्वासिला पात्र उनी एघारौं महाधिवेशनमा ओलीको पक्षमा खुलेका हुन्।

यस्तै ओलीले आफ्ना समूहका झापाली नेता हिक्मत कार्कीलाई पनि सचिवमा ल्याएका छन्। कार्की कोशीमा ओलीका सबैभन्दा विश्वासिला पात्रका रूपमा छन्। झापामा उनले ओलीका विभिन्न गतिविधिहरूमा नजिक बसेर सहयोग गर्दै आएका हुन् ।

यस्तै परिआउँदा सुरक्षा दस्तासमेत खडा गर्न सक्ने महेश बस्नेतलाई पनि ओलीले सचिवमा ल्याएका छन्। बस्नेत युवामा लोकप्रिय नेता हुन् अहिले गुण्डुमा पनि ओलीको बसोबास बस्नेतले नै मिलाएका छन्।

ओलीलाई पनि आउँदा जुनसुकै जिम्मेवारी बहन गर्न सक्ने बस्नेतलाई उनले सचिवालयमा ल्याएर थप सुरक्षित हुन चाहेको देखिन्छ। यस्तै कर्णालीका मुख्यमन्त्री यामलाल कडेल पनि ओलीको प्यानलबाट नयाँ अनुहारका सचिव हुन् ।

ओलीले आफ्ना पक्षका नेता राजन भट्टराईलाई पनि सचिवमा ल्याएका छन्। छ जना नयाँ अनुहारका सचिव ल्याउँदा पनि युवा नल्याएका कारण धेरै युवाहरू उनीसँग चिडिएको पनि देखिन्छ।

‘युवा अनुहार नपर्नाले केही संशय भने देखिन्छ ईश्वर पोखरेल प्यानलमा युवा अनुहार आउने भएकाले हाम्रो प्यानल कमजोर हुन्छ कि भन्ने पनि छ’, ओली पक्षका एक नेता भन्छन, ‘महासचिवमा पनि दरो उम्मेदवार बन्नुभएको छैन टिम यसपाल कमजोरै देखिएको छ।’

हुन त ओलीले महिला उपाध्यक्ष नबनाएको विषयमा पनि हल्ला खल्ला सुनिन्छ। पार्टीमा अरियाललाई महिला उपाध्यक्ष बनाउन निकै नेताहरूले चुनौती दिएका थिए तर उनले नेता व्यवस्थापन गर्न नसकेर अरियाललाई सचिवमै दोहोर्‍याएका छन् ।

सचिवमा दोहोरिन खोजेकी अर्यालले पार्टीले जुनसुकै जिम्मेवारी लिएपनि आफू बहन गर्न तयार भएको बताएकी थिइन् । यता नेता विशाल भट्टराई पनि सचिवालयमा आउन चाहेका थिए तर ओलीले उनलाई पठाएका छैनन् ।

एमाले नेताहरू ओलीले बनाएको टिम कम्फर्टेबल भएको बताइरहेका छन्। महेश बस्नेत, शेरधन राई लगायतका नेताहरूले जित्ने अनुमान छ ।

कोशीका मुख्यमन्त्री तथा एमालेमा सचिवको उम्मेदवार कार्की पनि पार्टीमा लामो समय अनुभव र संगठनमा काम गरेका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १ : ४८ बजे

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा