भाइरल हुन खोज्दा आशिका पुगिन् प्रहरीको खोरमा | Khabarhub Khabarhub

भाइरल हुन खोज्दा आशिका पुगिन् प्रहरीको खोरमा

को हुन् आशिका ? सामाजिक सञ्जालमा थरीथरीका प्रतिक्रिया



यतिबेला नेपाली समाज ‘मास फ्रस्टेसन’ बाट गुज्रिरहेको छ । सामाजिक, आर्थिक र राजनीतिक हरेक क्षेत्रमा नागरिक चरम निराशाबीच छन् । एउटा सानो कामका लागि कर्मचारीले हप्तौँ झुलाउँछन्, घुसबिना सकेसम्म कामै गर्दैनन् ।

नागरिकको करमा राजनीतिज्ञको रजाइँ छ । सत्तामा भएकाहरू पनि चुनावी घोषण पत्र भुलेर बरालिएका छन् । राज्यको सम्पत्ति दोहनकै लागि राजनीतिमा प्रवेश गर्नेको संख्या कम छैन । नागरिकले राज्यको अनुभूति गर्न कठिन भएको छ । नागरिकले आधारभूत आवश्यकता पूरा गर्न पनि छटपटिनु परेको छ ।

सार्वजनिक र नीजि क्षेत्रमा नागरिक खुलेआम ठगिँदा बोल्दिने कोही छैन । जनगुनासोलाई राज्यका निकायले यथाशीघ्र सम्बोधन गर्दैनन् । यातायात विभागले सवारी चालक अनुमति पत्र प्रिन्ट गर्नै वर्षौं लगाउँछ । मालपोत र भूमिसुधारमा घुसबिना काम लिन मुश्किल पर्छ । राज्य र तिनका निकायका यस्ता बेथितिविरुद्ध मूलधारका सञ्चारमाध्यम पनि सशक्त रुपमा बोल्दैनन् ।

नेपाललाई शासकले होइन पशुपतिनाथको कृपाले चलाइरहेको भन्न बाध्य छन् नागरिक । त्यहीकारण समाज अहिले आफ्नो पीडाबारे बोलिदिने भगवानको खोजीमा छ । यही अवस्थाको फाइदा लिँदै सानातिना समस्या समाधानका लागिसमेत समाजका सदस्य भाइरल म्यानको खोजीमा लाग्छन् । सामाजिक सञ्जालको बढ्दो प्रभावले अहिले बोल मौका कोही न कोही ‘भगवान’ जन्माइरहन्छ । तिनै भगवान्लाई केही क्षणमै यही समाजले राक्षसीकरण गरिदिन्छ ।

सञ्चारमाध्यम पनि आफ्नो धर्म निर्वाहमा प्रतिबद्ध देखिँदैनन् । एकपक्षीय र एकपाखे विचार र समाचारले समाजलाई गलत दिशातिर लैजाँदैछ । पत्रकारिताको पनि आचारसंहिता छ तर वाक स्वतन्त्रताका नाममा अराजकता पनि बढिरहेको छ ।


अहिले कस्तोसम्म भएको छ भने एउटा क्यामेरा बोकेपछि जोकोही पत्रकार भएका छन् । पत्रकार आचारसंहिता ख्याल नगरी दौडिनेका कारण पत्रकारिताको धर्म मर्दै गएको छ । ‘सामाजिक जवाफदेहिता’ को दायित्व भुलिँदैछ । भाषामा सभ्यता छैन । देखाउन हुने–नहुने दृश्य समाजमा फैलिरहेका छन् ।

यसले समाजमा पर्ने असरको ख्याल छैन । धेरैभन्दा धेरै भ्युज बटुलेर पैसा कमाउन एउटा जमात तल्लिन छ । भाइरल पात्रलाई पछिल्लो समय युटुबरले बोकेर झनै भाइरल बनाइरहेका छन् ।

यस्ता भाइरल कन्टेन्टले अशिक्षित र अर्धशिक्षित जमतालाई पछि लगाइरहेको छ । पछिल्लो समय ‘भाइरल’ हुने रहरमा सामाजिक सञ्जालमा अनेखालका समाजसेवी र सामाजिक अभियन्ता देखिन थालेका छन् । तुरुन्तै चर्चा र ताली पाउने लोभले सामाजिक मर्यादा, कानुनी मापदण्ड र नैतिक आचरण सबै बिर्साइरहेको छ ।

पशुपतिमा प्रहरीलाई औ‍ंलो देखाउँदै आशिका ।

आशिकाका अनेक किस्सा

लोकप्रियताको भोकले गाँजेका बेला वास्तविक परिवर्तनको चाहना छायामा छ । भाइरल म्यानहरूआफूलाई ठूला समाजसेवी वा समाज सुधारक ठान्छन् । यिनैमध्येकी एक पात्र हुन्– आशिका तामाङ ।

उनका तनाव पनि अनेक थिए । कुनै बेला दशैंमा खसी काट्दा उसको परिवारको अवस्था हेर्नुपर्ने । खसीका साना बच्चा छन् भनेर उनी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै धर्धरी रुन्थिन् । उक्त भिडियोपछि ‘खसिनी दिदी’ उपनाम पाइन् ।

त्यसबेला धेरैले हाँसी मजाक गरे पनि सामाजिक सञ्जालमा फलोअर्स बढाइन् ।उनले विभिन्न सार्वजनिक निकाय, पार्क, मन्दिर, पुल र होटल क्षेत्रका बेथितिविरुद्ध बोल्दै आएकी छन् । उनलाई चर्चा र विवादमा ल्याउन केही ‘युट्युब’हरू पछि लागेका छन् । तिनैले उनलाई झ्न झन् विवादमा पारेर हिरासतसम्म पुर्‍याए ।

यो पनि-

आशिका तामाङलाई रिहाइको माग गर्दै उच्च अदालतमा रिट

अहिले पशुपति क्षेत्र विकास कोषमा करारका कर्मचारी धर्नामा छन् । कोषले शोषण गरेको भन्दै उनीहरूले धर्ना दिएका हुन् । उनीहरूकै समर्थनमा आशिका केही सहयोगीसहित पशुपति घेर्न पुगिन् । शान्ति सुरक्षाका लागि भन्देै कोषले कार्यालयको मूलगेटमा ताला हालेको छ । त्यतिले मात्रै नपुगेर प्रहरी पनि तैनाथ गरिएको छ । तर करारका कर्मचारी ताला फोडेर भित्र जान चाहन्छन् । तिनै कर्मचारीको समर्थनमा पशुपति पुगेकी आशिकाले प्रहरीसँग भनाभन मात्रै गरिनन्, होच्याउँदै हप्कीदप्कीसमेत गरिन् ।

प्रहरीले करारका कर्मचारी र आशिकालाई भित्र जानबाट रोक्छन् । त्यसपछि आशिका मुखमा आएजति प्रहरीलाई गालीको बर्षा गर्छिन् । उनले एकजना प्रहरीलाई ‘बुढो भएर पनि बुद्धि नआएको’ भनेर तुच्छ टिप्पणी गरेकी छन् । अर्की महिला प्रहरीलाई सई सा’व नभई असई भनेकी छन् । अंग्रेजीमा ‘आई आक्स यू, हुँ आई एम ? भन्दै रवाफ देखाएकी छन् ।

अर्को सबैभन्दा धेरै चर्चित काण्ड हो– पुलमुनि केही युवाले पिसाव गर्दै गरेको दृश्य । एकजना पुरुष काठमाडौंको एक पुलमुनि पिसाव फेरिरहेका थिए । त्यहीबेला उनी ढाडमा धाप मार्दै यो पिसाब फेर्ने ठाउँ हो ? यहाँ मुत्ने हो ? लाजशरम नभएको भनेर थर्काउँछिन् । फोहोर गरेको भन्दै तिनै व्यक्तिका अगाडि उनी उल्टी गर्न खोज्छिन् ।


त्रिभुवन विमानस्थलमा लिइने पार्किङ शुल्कको आशिकाले विरोध गरिन् । त्यहाँ न्यूनतम् पार्किङ शुल्क एक घण्टाको ४० रुपैयाँ छ । घण्टाका हिसाबले शुल्क उठाएकोमा उनले विरोध गरिन्, शुल्क उठाउनेसँग झन्डै हात हालाहालमै उत्रिइन् । जनताको करबाट निर्मित एअरपोर्टमा पार्किङ शुल्क लिन नहुने जिकिर उनको थियो ।

विमानस्थलबाट पार्किङ शुल्क उठाउने निर्णय २०७८ सालमा मन्त्रिपरिषद्ले गरेको थियो । त्यस्तै, आशिकाले एअरपोर्टभित्र एक लिटरभन्दा कम पानीलाई एक सय रुपैयाँमा बेचेकोमा पनि विरोध जनाइन् ।

सूर्यविनायक नगरपालिकास्थित सागाँमा बडेमानको भगावन् शिवको मूर्ति छ । उक्त मूर्तिमा जाने झोलुङ्गे पुलमा लिइने शुल्कको विरोध गरिन् । तर, त्यो पुल आवश्यकता भन्दा मनोरञ्जनका लागि थियो । स्थानीयलाई निःशुल्क भनिएको पुलमा अन्तबाट आउनेलाई २० रुपैयाँ उठाइनु लुट भएको उनले जिकिर गरिन् ।

त्यसैगरी, दक्षिणकाली मन्दिरमा भक्तजनसँग लिइएको शुल्कको पनि आशिकाले विरोध गरिन् । मन्दिरजस्तो पवित्रस्थलमा ठगी हुनु दुर्भाग्य रहेको उनको जिकिर छ । भक्तजनले गाडी पार्किङको २५ देखि १२५ सम्म शुल्क उठाइएको छ । मन्दिरमा पाँच र दश रुपैयाँभन्दा बढी उठाउनु भगवानको नाममा लुट्नु हो भन्ने उनको जिकिर थियो । उनका यी क्रियाकलापमा सामाजिक सञ्जाल समर्थन र विरोध दुवैतिर उत्रियो ।

साँगाको पुल देखाउँदै आशिका ।


सामाजिक सञ्जालमा थरीथरीका प्रतिक्रिया

समाजशास्त्री निर्मला ढकाल लेख्छिन्– मान या नमान, आशिका तामाङ नयाँ भेरिएन्ट कि रवि लामिछाने हुन् । यो तन्नम् देशमा नाम र दाम कमाउने यो छिटो, छरितो र पपुलर बाटो हो । नियम, कानुनको यो बाटोमा अर्थ राख्दैन ।

अर्का पत्रकार दुर्गा पंगेनी लेख्छन् – युरोपमा प्रहरीसँग अतिआवश्यक अवस्था या निश्चित तोकिएको काम पर्दाबाहेक दोहोरो संवाद गर्न सम्भव हुँदैन । सरकारी कर्मचारीसँग भेट्ने त परको कुरा, एपोइन्टमेन्टबिना सरकारी अफिसमा छिर्नसमेत पाइँदैन ।

कतिपय बैंकमा समेत एपोइन्टमेन्ट नलिई गए फर्काइदिन्छन् । यस्तो ठाउँमा बसेर नेपाल गएकी आशिका दिदीले सरकारी कर्मचारीलाई थर्काउन पाउँछिन् । प्रहरीलाई माझी औँलो देखाउन पाउँछिन् । अनि हामी वाह ! आशिका दिदी वाह ! गर्छौँ । क्या बात ! दिदी क्या बात ! भन्छौँ । स्वर्गै होइन त हाम्रो देश ?

फेसबुकमा कृष्ण गिरी लेख्छन्– यदि कोही मान्छे क्यामेरा तेस्र्याउँदै कसैलाई धम्क्याएको भिडियो सञ्जालमा राख्छ भने अर्को दिनदेखि उसलाई भगवानको दर्जा दिइन्छ । शासकहरूले हरितन्नम बनाएको हुँदा संस्कार, पद्धति र न्याय हराएको देशका हामी भेडा जनता ।

आशिकाको समर्थनमा प्रकाश थापा लेख्छन्– तिमीहरू आफू पनि जीवनमा केही नगर्ने, अरुले केही परिवर्तन गर्न खोजे जलेर मर्ने । सूर्य गोतामे लेख्छन्– देशको प्रधानमन्त्रीदेखि आशिका तामाङको शैली एउटै हो ।

पुलमुनि पिशाव फेर्न नमिल्ने सूचना देखाउँदै आशिका।

को हुन् आशिका ?

आशिकाको जन्म धादिङको मलेखुमा भएको हो । आर्थिकरुपमा कमजोर भए पनि पढाइमा अब्बल थिइन् । पढ्नैपर्छ भन्ने मनोबलले ८ वर्षदेखि अर्काको घरमा काम गर्दै पढिन् । एक संस्थाको छात्रावृत्तिमा नर्सिङ पढिन् । नर्स पढेपछि रोजगारका लािग जर्मल गइन्, उतैका नागरिकसँग विवाह गरिन् । हाल उनका दुई सन्तान छन् ।

फेसबुकमा उनका १५ लाख फलोअर्स छन् । परोपकारका लागि उनले आफ्नै नाममा फाउन्डेसन खोलेर नेपालमा सरसफाइलगायत सामाजिक कार्य गर्दै आएकी छन् । कसैसँग सहयोग उठाएर समाजसेवी नबनेको दाबी गर्छिन् ।


यसबीचमा आशिकाले ‘सुश्री’ नामक फिल्मसमेत बनाइन् । चल्तीका हिरो आर्यन सिग्देललाई लिएर निर्माण गरेको फिल्मले बक्स अफिसमा पानीसम्म भन्न पाएन । आर्यनसँगको जोडीलाई दर्शकले रुचाएनन् ।

यो पनि-

मलेखुकी काली : फिल्ममा फ्लप, युट्युबमा लोकप्रिय !

आशिकालाई पक्राउ गर्न पुगेको प्रहरी


नियमन कसरी ?

नेपाल प्रेस काउन्सिलका बरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनाल कानुनको अभावमा युटुबलाई नियमन गर्न गाह्रो भएको बताउछन् । भन्छन्, ‘यसको नियमन राज्यले गर्ने हो । कानुन बनाउन यत्तिका सांसद् छन् । विभिन्न विषयमा समितिमा छलफल भइरहेको छ । तर खै त ? युट्युब तथा पत्रकार आचारसंहिताको पालना नगर्ने मिडियाका लागि कानुन ?’

कसैलाई कारबाही गर्न स्पष्ट कानुन चाहिने खनालको भनाइ छ । ‘त्यसको अभावमा काउन्सिलले कति नियमन गर्न सक्छ ? आफ्नो क्षेत्राधिकारभित्र नियम गरिरहेकै छ । तर उचित कानुन अभावमा नियमन फितलो भएको छ’, उनले थपे, ‘उजुरी आउँदा युटुब च्यानललाई कारबाही गरेको छ । आफ्नो दायराभित्र नपरेकालाई प्रहरीमा बुझाएको छ ।’

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ८ : २४ बजे

क्षमापूजा गरेर सुरु भयो गहना पोखरी पुनःनिर्माण (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं महानगरपालिका–५ मा अवस्थित ऐतिहासिक गहना पोखरीमा पुनर्निर्माण कार्य

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी

च्याङ्ग्रा पालनबाट वार्षिक पाँच लाख आम्दानी

मुस्ताङ – हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो एक

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– काठमाडौंको तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब

राष्ट्रिय झन्डा ओढेर जेन-जीका नाममा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता समातिए

पोखरा- गत भदौ २४ गते भएको जेन-जीहरूको आन्दोलनका क्रममा राष्ट्रिय