आमा गुमाएका प्रकाश दमाईले पाएनन् मलामी : रमिते छिमेकीमा देखिएन मानवता | Khabarhub Khabarhub

आमा गुमाएका प्रकाश दमाईले पाएनन् मलामी : रमिते छिमेकीमा देखिएन मानवता

ट्याक्टरमा शव लाने तयारी


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी – भनिन्छ, ‘छिमेकी मर्दाका मलामी, जिउँदाका जन्ती हुन्।’ समाजमा बस्नेका लागि सबैभन्दा नजिकका आफन्त भनेकै छिमेकी हुन्। तर बैतडीको सिगास गाउँपालिका-१ आङडेगाडाका प्रकाश दमाई (टेलर) लाई छिमेकी काम लागेनन्। प्रकाशका लागि छिमेकी मलामीसम्म बन्न सकेनन्। आमा गुमाएको शोक र पीडामा छटपटाएका प्रकाशका लागि छिमेकीले मनको घाउँमा साथको मलहम लगाउने होइन नुन र चुक छर्किने काम गरे।

प्रकाशकी आमा माना दमाईको शव दुई दिनदेखि आँगनमा छ। औपचारिकताका लागि खबर सोध्न, आमाको शव हेर्न र साक्षी बन्न छिमेकी पुगे तर, मलामी बन्न तयार भएनन्। आङडेगाडामा अरु झन्डै ६५-७० घरधुरी बसोबास गर्छन् । यो गाउँमा दलित र गैरदलित सबै बस्छन्। तर प्रकाश एक्लो दमाई परिवार भएकै कारण छिमेकीले आमाको शव उठाउन साथ दिएनन्। देख्दा छिमेकी देखिए तर कुनै पनि छिमेकी मानाको मलामी हुन तयार भएनन्। प्रकाशका लागि समस्या पर्दा कोही आफ्नो भएनन्। कुनै पनि छिमेकीले मानवता नै देखाएनन्।

प्रकाशकी आमा माना दमाईको शव दुई दिनदेखि आँगनमा छ। औपचारिकताका लागि खबर सोध्न, आमाको शव हेर्न र साक्षी बन्न छिमेकी पुगे तर, मलामी बन्न तयार भएनन्।

प्रकाश गाउँमै रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । उनले पढाउँदा दमाई जातले छेकेन। तर आमा मर्दा उनी एक्लो भएका छन्। मलामी भएर गइदिने मान्छे भेट्टाएनन्। उनी आमा गुमाउँदाको शोकलाई रोकेर समाजलाई पश्न गर्दैछन्– मर्दा पनि साथ नदिने छिमेकी के चाहियो ?

शनिबार बिहान ११ बजेतिर प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भएको हो। मानाको मृत्युको खबर गाउँभर पुग्यो। गाउँले उपस्थित पनि भए, तर उनको शव उठाएर मलामी जान कोही तयार भएनन्। आइतबार बिहानसम्म आमाको शव आँगनमै छ। परिवारमा बुवा जयराम, श्रीमती र चार सन्तान छन्। गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, नेपाली, लोहारको पनि बसोबास छ। उनीहरुले समेत दमाईको शव छुन र बोक्न मानेनन्।

आइतबार बिहानसम्म आमाको शव आँगनमै छ। परिवारमा बुवा जयराम, श्रीमती र चार सन्तान छन्। गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, नेपाली, लोहारको पनि बसोबास छ। उनीहरुले समेत दमाईको शव छुन र बोक्न मानेनन्।

प्रकाशका बाजे ३५ वर्ष वर्षअघि बैतडीकै भूमेश्वर गाविस (हाल पाटन नगरपालिका)बाट बसाइँसराइ गरेर सिगास आएका हुन्। गाउँका सबै समुदाय र जातका बालबालिकाको भविष्य निर्माणका लागि दलितको छोरा प्रकाशको शैक्षिक योगदान सर्वस्वीकार्य छ। तर आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पु-याउन प्रकाशलाई साथ दिने छिमेकी कोही भएनन्। प्रकाशले गाउँमा कोही शव उठाउन तयार नभएपछि कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट काकाका छोरा बोलाए। जो आइतबार मात्रै घटनास्थलमा पुग्नेछन्। महेन्द्रनगरबाट आफन्त श्याम टेलर र दिनेश टेलर तथा दोधाराचाँदनीबाट नवीन टेलर र गोपाल टेलर गाउँ पुगेपछि दाजुभाइ मिलेपछि शव उठ्नेछ।

कुसंस्कारमा अल्झिएका रमिते छिमेकी

छिमेकीले नै जातकै कारण शव बोकेर मलामी हुन नसकिएको स्वीकार गरेका छन्। ‘दलित समुदाय नै तयार नभएको बेला, गैरदलित समुदायले मनाही गर्ने नै भयो’, नाम नभन्ने शर्तमा एक स्थानीयले भने।

गाउँमा गैरदलितले दलितको शव नछुने र मलामी पनि नजाने अभ्यास रही आएको देखिन्छ। दलितभित्र पनि अन्य जातिले दमाई जातिको शव नछुने कथित चलन कायमै रहेको यो घटनाबाट प्रमाणित भएको देखिन्छ। आफूलाई पर्दा पनि दमाई जातिलाई शव छुन नदिने गरेको प्रकाशको परिवारको दाबी छ।

यता वडाध्यक्ष रामचन्द्र ऐरीले जातीय विभेदकै कारण शव नउठेको हो कि होइन भन्नेबारे आफूलाई जानकारी नभएको बताए। तर, दमाई परिवारले गाडीको व्यवस्थापन गरिदिन आग्रह गरेकाले त्यसको व्यवस्थापन गर्न लागिएको ऐरीको भनाइ छ। वडामा शव वाहन छैन। छिमेकी पाटन नगरपालिकाबाट ल्याउने तयारी भएको वडाध्यक्ष ऐरीको भनाइ छ।

मलामी नपाएपछि प्रकाशले गाडीमा हालेर घाटसम्म पु-याउने प्रयत्न शनिबार दिउँसैदेखि गरेका थिए। दिनभर गाडी पाएनन्। साँझ ८ बजेतिर एउटा ट्रयाक्टर भाडामा पाएको र त्यसैमा लिने तयारीमा प्रकाश छन्। आफन्त पुगेपछि आइतबार नै आमाको दाहसंस्कारको तयारी प्रकाशको परिवारले गरिसकेको पत्रकार लोकेश साउदले बताए। ‘शव उठाउने कुरामा समस्या देखिएकै छ। तर स्थानीय सरकार सबैको मिलोमतोमा शव उठाउने तयारी भइसकेको छ’, उनले भने।

मलामी नपाएपछि प्रकाशले गाडीमा हालेर घाटसम्म शव लाने प्रयास शनिबार दिउँसैदेखि गरेका थिए। दिनभर गाडी पाएनन्। आइतबार आफन्त पुगेपछि आमाको दाहसंस्कार गर्ने तयारी प्रकाशको परिवारले गरेको छ ।

बसाइँ सरेर प्रकाशको परिवार यहाँ आएपछि उनको घरमा मृत्युको घटना भएको यो पहिलो हो। बुबाआमाले बालिघरे प्रथामा गाउँमा कपडा सिलाउँदै आएकामा प्रकाश भने स्थानीय विद्यालयमा निजी स्रोतबाट जागिर खाइरहेका छन्।

सुदूरका पहाडी जिल्लामा अझै जातीय विभेद कायमै छ। अधिकांश गाउँमा दलितको शव गैरदलितले नछुने र गैरदलितको शव पनि दलितलाई छुन नदिने चलन छ। यस्ता घटनामा अरू सहयोग भने आदानप्रदान हुन्छन्, तर शव छुँदैनन्। दलित समुदायभित्रकै अन्य जातका मानिसले पनि एक अर्का थरका मानिसको मृत्यु भएपछि शव नछुने गरेको पाइन्छ।

प्रकाशको साथमा गाउँलेहरू रातभर शव कुर्न शोक परेको घरमा उपस्थित भए। तर शव छुन तयार भएनन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : ३३ बजे

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन

अमर बान्तुका पाँच म्यूजिक भिडियो एकसाथ सार्वजनिक

काठमाडौं – स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो

आठ दलीय मोर्चाको निष्कर्ष : ‘नो केबलकार’ आन्दोलनमा प्रहरीले अत्यधिक दमन गर्‍यो

काठमाडौं – मधेशवादी राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर