इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ? | Khabarhub Khabarhub

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

तेल अभिभको बंकरबाट नेपाली भन्छन्– स्वदेश फर्कनुपर्छ होला


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई, जूनेली रातमा बिस्कुन सुकाई !

इरान र इजरायलबीच युद्ध प्रारम्भ भइसकेको छ । नेपाल सरकारको दाबीअनुसार इरानमा १२ जनामात्रै नेपाली छन् ।

इजरायलमा भने ५ हजार ५ सय नेपालीहरु कार्यरत छन् । सरकारले नेपालीहरुको अवस्था सामान्य रहेको तर्क गरे पनि त्यहाँ रहेका नेपालीहरु भने स्थिति असामान्य बनिसकेको बताउँछन् ।

इजरायल र इरानको द्वन्द्वका कारण नेपाल सरकारमाथि चुनौती खडा भएको छ, ती देशमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै उद्धार गर्ने या प्रेस वक्तव्य जारी गरेर ढुक्क भई बस्ने ?

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा साढे ५ हजारमात्रै नेपाली इजरायलमा कार्यरत रहेको जनाइएको छ । मन्त्रालयका अनुसार इरानमा १२ जनामात्रै नेपाली बसोबास गर्दै आएका छन् ।

‘हाल इजरायलमा करिव ५,५०० र इरानमा करिव १२ जना नेपालीहरु रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको थियो, ‘इजरायल र इरानबीच विकशित उक्त घट्नाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

मन्त्रालयले इजरायल र इरानबीच विकसित पछिल्लो घट्नाक्रमका बारेमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेल अभिभ (इजरायल) र दोहा (कतार) स्थित नेपाली राजदूतहरुलाई टेलिफोन गरेर नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी थिइन् ।

मन्त्रालयका अनुसार उनले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न पनि निर्देशन दिएकी छन् ।

यसैवीच, नेपालका लागि इजरालयका राजदूत शमुलिक एरी बासले सोमबार परराष्ट्रमन्त्री आरजू राणासँग भेटवार्ता गरेका छन् ।
इरान र इजरायलयबीच लडाइँ चर्किएका बेला इजरायली राजदूतले मन्त्री राणासँग भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा ‘नेपाल र इजरालयबीचको द्वीपक्षीय सम्बन्धमा छलफल भएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

करिब दुई वर्ष पहिले हमासले इजरालयमा गरेको आक्रमणका बेला अपहरणमा परेका नेपाली नागरिक विपीन जोशी अहिलेसम्म बेपत्ता छन् । अहिले फेरि इजरायलका विभिन्न शहरमा कार्यरत हजारौं नेपालीहरु युद्धको मारमा पर्न सक्ने खतरा बढेको छ ।

नेपालले इजरायल र इरानवीचको द्वन्द्वमा आफ्नो पोजिसन अहिलेसम्म स्पष्ट पारेको छैन । दुबै देशसँग नेपालको द्वौत्य सम्बन्ध रहँदै आएको छ । इरानी आक्रमणका कारण इजरायलमा रहेका नेपालीहरु ज्ञासमा बाँच्न बाध्य छन् ।

यसै सन्दर्भमा हामीले इजरायलको तेल अभिभमा रहेका एक नेपालीसँग त्यहाँको अवस्थाबारे कुराकानी गर्‍यौं ।

विगत २० वर्षदेखि इजरायलमा बस्दै आएका सुनसरीको तरहराका सुनील श्रेष्ठलाई हामीले फेसबुक म्यासेन्जरमा सन्देश (म्यासेज) लेख्यौं– ‘सर नमस्कार, कत्तिको व्यस्त हुनुहुन्छ कुन्नि । कुरो गर्नु थियो ।’

सोमबार बिहान ११ बजेर २१ मिनेट जाँदा उनलाई सन्देश पठाइएको थियो । आधा घण्टासम्म पनि म्यासेजको ‘रिप्लाई’ (प्रतिउत्तर) आएन ।

मध्यान्ह १२ बजेर ४ मिनेट जाँदा म्यासेन्जरबाट ‘अडियो कल’ गर्दा पनि ‘रिसिभ’ भएन ।

दुई देशबीचको समयान्तर २ घण्टा ४५ मिनेट रहेको छ । नेपालमा दिउँसो १२ बजेर ५ मिनेट जाँदा इजरायलमा बिहान ९ बजेर २० मिनेट भएको थियो ।

मध्यान्ह १२ बजेर १० मिनेटमा फेरि अडियो कल गर्दा रिसिभ भएन । तर, तत्कालै उतैबाट फोन आयो ।

सुनीलले भने, ‘म अहिले नानी(छोरी)सँग बंकरमा छु । नसोचेको अवस्था छ यहाँ । बाहिर साइरन बज्दै छ । म पछि सम्पर्क गर्छु नि है ? कल उतैबाट काटियो ।

सुनीलले इजरायलबाट १५ मिनेटपछि म्यासेन्जरमा फेरि फोन गरे । उनले अहिले इजरायलमा अवस्था असामान्य रहेको बताए ।

‘स्थिति सोचेजस्तो छैन । तर, पनि यहाँको सुरक्षा सिस्टमलाई विश्वास गरेर हामी नेपालीहरू बसिरहेका छौँ,’ उनले भने ।

इजरायलमा ‘केयर गिभर’ को काम गर्दै आएकाहरू घरभित्रै हुने भएकाले उनीहरू घरमै बसिरहेका छन् । परिवारसहित बस्ने नेपालीहरूको प्राइभेट काम हुन्छ । आफ्नै अपार्टमेन्टमा बस्ने हो,’ सुनीलले भने, ‘अपार्टमेन्टमा बंकर दह्रो हुनेहरू त्यहीँ बस्छन् । दह्रो नहुनेहरू पब्लिक सेन्टरको बंकरमा गएर बस्छन् ।’

उनका अनुसार ती बंकरहरू सरकारले नै बनाएको हुन्छ । ‘म पनि अहिले स्कुलको पब्लिक बंकरमा बसिरहेको छु । म बस्दै आएको घरको बंकर मलाई उचित लागेको थिएन,’ उनले भने, ‘मेरो परिवार नै यतै आएर बसिरहेका छौँ । यहाँबाट म बस्ने घर मात्र ५ मिनेटको दूरीमा छ । म तेल अभिभमै हो बस्ने । यसलाई इजरायलको पेन्टागन भन्छन्, रक्षा मन्त्रालय नजिकै छ ।’

इरानसँगको युद्ध बढ्दै गए नेपाली नागरिक इजरायलमा बस्नु उपयुक्त नहुने सुनीलको विश्लेषण छ । ‘युद्ध बढ्दै गएको अवस्थामा यता बस्नु उचित हुन्न । पहिलाको युद्ध भनेको कुनै एउटा समूहसँग मात्र थियो । हमास, हिजबुल्लाह भनेका समूहहरु हुन् । तर, अहिलेको युद्ध त अर्को देशसँग छ,’ उनको भनाइ छ, ‘इरानसँग युद्ध बढ्दै गयो भने नेपाल आउनैपर्छ होला ।’

इरानको आक्रमणबाट आइतबारसम्म पाँच जना इजरायलीको मृत्यु भएको छ । यो संख्या दैनिकरुपमा बढिरहेको छ । आक्रमणमा परी ९२ जना घाइते भएका छन् ।

इजरायली इमरजेन्सी सर्भिसका अनुसार अहिलेसम्म इरानको आक्रमणबाट मारिनेको संख्या १९ पुगेको छ ।

गत शुक्रबारदेखि इरान र इजरायलले एक–अर्काको देशमा आक्रमण सुरु गरेका हुन् ।

इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबारदेखि अहिलेसम्म इजरायली आक्रमणबाट २२४ जनाको मृत्यु भइसकेको जनाएको छ ।

तेल अभिभमा रहेका सुनीलले त्यहाँको अवस्थाबारे यसरी वर्णन गरे–

म विगत २० वर्षदेखि इजरायलमा बस्दै आएको छु । इजरायलमा छ/सात हजारभन्दा बढी नै नेपालीहरू छन् । युद्ध बढ्दै गयो भने नेपाल आउनै पर्छ होला । बस्न नसक्ने स्थिति भयो भने त को नेपाली यतै बस्छु भन्ला र ?

नेपाली दूतावासले पनि यहाँको होम कमान्डको आदेश मान्नु भन्ने हो । दूतावासले भन्नुभन्दा पहिले नै होम कमान्डको आदेशमा सबै कुरो आइसकेको हुन्छ । दूतावासले सूचना निकाल्ने, सकेको पहल गर्ने, जानकारी दिने, अनावश्यक भीडभाड नगर्नू, नियमको पालना गर्नू भन्ने सम्झाउने हो । दूतावासले अप्ठ्यारो पर्दा सम्पर्क गर्नू भनेको छ ।

अहिलेसम्म कसैलाई परेको छैन । पर्दा के हुन्छ, अहिले केही भन्न सकिन्न । अहिलेसम्म सहयोग गर्छु नै भन्नुभएको छ दूतावासबाट र एनआरएनएका अध्यक्षले ।

अस्ति इरानले तेल अभिभमा आक्रमण गरेको स्थानमा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । झण्डै ३० जनाको अवस्था अज्ञात भनिएको छ । उनीहरूलाई भेटाउन सकिएको छैन । दुई सय जना घाइते भएका छन् । यो नै इजरायलमा भएको सबैभन्दा ठूलो मानवीय क्षति हो ।

यो पनि-

नेपालीहरू अहिलेसम्म त सुरक्षित नै छन् । मानवीय क्षति भएको सुनिएको छैन । नेपाल फर्किने कतिपयको इच्छा हुन पनि सक्ला । युद्ध बढ्दै गएको अवस्थामा यता बस्नु उचित हुन्न । पहिलाको युद्ध भनेको कुनै एउटा समूहसँग थियो । जस्तो हामस, हिजबुल्लाह भनेका समूह थिए । तर, अहिलेको युद्ध त अर्को देशसँग छ ।

स्थिति सोचेजस्तो छैन । तर पनि यहाँको सुरक्षा सिस्टमलाई विश्वास गरेर हामी नेपालीहरू बसिरहेका छौँ । कतिपय केयर गिभरको काम गर्नेहरू घरमा हुने भएकाले उनीहरू घरमै बसिरहेका छन् । परिवारसहित बस्ने नेपालीहरूको प्राइभेट काम हुन्छ । आफ्नै अपार्टमेन्टमा बस्ने हो । अपार्टमेन्टमा बंकर दह्रो हुनेहरू त्यही बस्छन् । दह्रो नहुनेहरू पब्लिक सेन्टरको बंकरमा गएर बस्छन् । ती बंकरहरू सरकारले नै बनाएको हुन्छ ।

म पनि अहिले स्कुलको पब्लिक बंकरमा बसिरहेको छु । मलाई म बस्दै आएको घरको बैंकर उचित लगेको थिएन । मेरो परिवार नै यतै आएर बसिरहेका छौँ । यहाँबाट म बस्ने घर मात्र ५ मिनेटको दूरीमा छ । म तेल अभिभमै हो बस्ने । यसलाई इजरायलको पेन्टागन भन्छन् नि, रक्षा मन्त्रालय नजिकै छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ०२ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल