सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन | Khabarhub Khabarhub

सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र चीनले सम्बन्ध सुधारको पहल थालेका छन् । सम्बन्ध सुधारको प्रयासस्वरुप भारतीय विदेशमन्त्री एस जयशङ्कर चीन पुगेका छन् ।

चीन भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । चीनमा रहँदा उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङ, उपराष्ट्रपति हान झेङ, समकक्षी वाङ यीलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

शाङ्घाई सहयोग संगठनको विदेशमन्त्रीहरुको सम्मेलनमा सहभागी हुन जयशङ्कर चीन भ्रमणमा छन् । सन् २०२० मा गलवान सीमाक्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच भएको झडपपछि पहिलो पटक भारतीय विदेशमन्त्री चीन पुगेका हुन् ।

गलवान झडपपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । दुई मुलुकले अझै पनि एक अर्कालाई अविश्वास, आशंका र असमझदारीको दृष्टिकोणले हेर्ने गरेको विश्लेषण गरिन्छ ।

आफ्नो परम्परागत प्रभाव क्षेत्र दक्षिण एशियामा चीनले आफ्नो उपस्थिती बढाउँदै गएकोमा भारत असन्तुष्ट छ । उता अमेरिका नेतृत्वको सुरक्षा साझेदारी क्वाड, इण्डो प्याशिफिक सैन्य संरचनामा भारतको उपस्थितीलाई चीनले पनि शंकाको दृष्टिले हेर्ने गरेको छ ।

त्यसबाहेक दुई देशबीच सीमा विवाद, तिब्बत मामिला, व्यापार असन्तुलनजस्ता विषय पनि कायमै छन् । गत मे महिनामा भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा चीनले पाकिस्तानलाई सहयोग गरेको खुलासा भएको थियो ।

उक्त अपरेशनका क्रममा चीनले पाकिस्तानलाई प्रत्यक्ष सहयोग गरेको भारतीय पक्षको आरोप छ । अपरेशन सिन्दुरपछि विकसित घटनाक्रम पनि भारतले चाहेजस्तो छैन ।

हाल चीनले पाकिस्तान र बंगलादेशलाई साथमा लिएर दक्षिण एशियाली मुलुकहरुको नयाँ संगठन स्थापनाको पहल गरिरहेको समाचार आएको छ । विगत एक दशकदेखि मृतप्रायः रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई विस्थापन गरेर चीनको पहलमा नयाँ संगठन बनोस् भन्ने भारतले चाहेको छैन ।

अपरेशन सिन्दुरपछि दुवै मुलुकका अधिकारीले द्विपक्षीय भ्रमणलाई बढाएका छन् । भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको केही सातापछि चिनियाँ उपविदेशमन्त्री सुन विडोङले भारत भ्रमण गरेका थिए । त्यसबाहेक गत महिनामात्रै भारतका रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि चीनको भ्रमण गरेका थिए । त्यसैको पछिल्लो कडीका रुपमा जयशङ्करको चीन भ्रमणलाई हेरिएको छ ।

दुई मुलुकले गत वर्ष पनि सम्बन्ध सुधारको प्रयास गरेका थिए । गत वर्षको अक्टोबर महिनामा रुसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

सो भेटवार्तापछि दुई मुलुकबीच सम्बन्ध सुध्रिने अपेक्षा गरिएको थियो । त्यसबेला कैलाश मानसरोवर यात्रा खुला गर्ने र दुई मुलुकबीच हवाई सेवा सुचारु गर्ने विषयमा सहमती भएको समाचार सार्वजनिक भएको थियो ।

हाल चीन भ्रमणमा रहेका विदेशमन्त्री जयशङ्करले ‘भिन्नताले विवादको रुपमा लिन नहुने’ टिप्पणी गरेका छन् । इण्डियन एक्सप्रेसका अनुसार विदेशमन्त्री जयशङ्करले ‘प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत गर्न नहुने’ समेत उल्लेख गरेका छन् । उनले आपसी विवाद समाधानका लागि मिलेर काम गर्नुपर्ने समेत बताएका छन् ।

भारतले आतंकवादविरुद्ध शून्य सहनशीलताको अपेक्षा गर्ने पनि बताएका छन् । त्यसबाहेक विदेशमन्त्री जयशङ्करले व्यापारमा कायम व्यवधान हटाउने विषयमा पनि चासो दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनले जनस्तरको सम्पर्क बढाउने विषयलाई पनि चिनियाँ अधिकारीसमक्ष उठान गरेको जनाइएको छ ।

जवाफमा चिनियाँ समकक्षी वाङ यीले भारत र चीनबीचको सम्बन्ध असल छिमेकी र मैत्रीपूर्ण हुनुपर्ने बताएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सत्तारुढ कम्युनिष्ट पार्टीका केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहेका यीले यसका लागि आपसी सम्मान र विश्वसनीयता, शान्तिपूर्ण सहअस्तित्व, समान विकास र ‘विन–विन’ साझेदारीमा आधारित हुनुपर्ने बताएका छन् ।

उनले भौगोलिक रुपमा नजिकै रहेका पूर्वका दुई सभ्यता र उदीयमान अर्थतन्त्रबीचको सम्बन्धलाई सद्भाव र आपसी सफलताले निर्धारित गर्ने टिप्पणी गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध कुनै तेस्रो पक्षलाई हानि गर्ने किसिमका हुन नहुने पनि स्पष्ट पारेका छन् । उनले भारतसँग सम्बन्ध सुधारका लागि चीन तयार रहेको पनि उल्लेख गरेको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : ४६ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना