काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस लेनदेनमा मुछिएर राजीनामा दिएको एक दिन नबित्दै भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकास मन्त्री बलाराम अधिकारीसम्बन्धी अडियो बाहिरएको छ ।
११ मिनेट ४६ सेकेन्डको उक्त अडियोमा अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ । यो घुस लेनदेनको व्यवस्थापन मन्त्री अधिकारीका छोरा मनोजले गरेको पनि दाबी उक्त अडियोमा गरिएको छ । तर यो अडियोको सत्यापन परीक्षण भने भइसकेको छैन।
कुनै मन्त्रालय या सरकारी कार्यालयभित्रै बसेर गरिएको उक्त संवादमा मन्त्री अधिकारीलाई झोलामा हालेर ३२ लाख रूपैयाँ दिएको दाबी गरिएको छ । उक्त अडियोमा मन्त्री अधिकारीलाई रातो या हरियो झोलामा हालेर ३२ लाख रुपैयाँ सरकारी निवासमै बुझाएको भनिएको छ ।
दुईदेखि तीनजना मानिस संवादमा रहेको उक्त अडियोमा मन्त्री अधिकारीले पोखरा महानगरपालिकास्थित १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने शर्तमा ३२ लाख रुपैयाँ घुस लिएको उल्लेख गरिएको छ ।
उक्त अडियोमा बोलिरहेका एकजना बिचौलियाले मन्त्री अधिकारीका छोरा मनोजले नै विदेशबाट फर्किएर घुसको रकम संकलन गरिरहेको दाबी गरिएको छ । अधिकारी यसअघि न्यूजील्याण्डमा बस्ने गरेको पनि अडियोमा भनिएको छ । बुवा मन्त्री भएपछि उनी त्यहाँबाट घुस संकलनको काम गरिरहेको पनि अडियोमा उल्लेख छ ।
निवर्तमान सामान्य प्रशासनमन्त्री गुप्ताले नै ७८ लाख घुस प्रकरणमा मन्त्री अधिकारीले पैसा लिइसकेकाले अब उनले त्यो काम नगर्ने भनेका थिए ।
बुधबार सार्वजनिक उक्त अडियोमा मंगलबार पदबाट राजीनामा दिएमा एमाले सांसदसमेत रहेका गुप्ता, बहालवाला मन्त्री अधिकारी, उनका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव अर्जुन पोखरेल र भूमि व्यवस्था तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई मुछिएको छ। उनीहरू सबैजना उक्त जग्गा व्यक्तिको नाममा दर्ता गराउन रचिएको घुस लेनदेनको चक्रमा जोडिएका/मुछिएका छन् ।
बुधबार सार्वजनिक अडियो अनुसारको घुस
भूमि व्यवस्थामन्त्री बलाराम अधिकारी : ३२ लाख रुपैयाँ
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता : ३५ लाख रुपैयाँ
तत्कालीन सचिव अर्जुन पोखरेल : ५ लाख रुपैयाँ
अडियोअनुसार पोखराको उक्त जग्गा व्यक्तिको नाममा लैजानका लागि यी तीनजनालाई दिइएको ७२ लाख रुपैयाँ घुसबाहेक थप खर्च पनि भएको छ । यो घुससहित बिचौलियाले उक्त जग्गा व्यक्तिको नाममा लैजानका लागि एक करोड ५० लाख रुपैयाँ खर्च गरेको विवरण बिचौलियाहरूको उक्त संवादमा सुन्न सकिन्छ ।
बुधबार सार्वजनिक अडियोमा यसअघि सामान्य प्रशासन मन्त्री गुप्ता जोडिएको कास्कीस्थित भूमि आयोगको कुरा पनि सुन्न सकिन्छ । भूमि आयोग कास्कीका अध्यक्ष खेमबहादुर पुनको नियुक्ति पक्का गराउन पनि मन्त्रीसँगै कुरा भएको प्रसंग यसमा छ ।
अडियोमा बोलिरहेका सम्भावित बिचौलियामध्ये एकले मन्त्री अधिकारीसँग हालसालै भएको भेटबारे पनि चर्चा गरेका छन् । त्यहाँ उनले आफूलाई मन्त्री अधिकारीले ‘पहिला किन नआएको सुजन भाइ’ भनेको कुरा छ । त्यसैगरी उनै भूमि आयोग कास्कीका अध्यक्ष ‘खेम पुनको नाममा अडान लिएको हो भने म गर्थेँ नि !’ भनेर अधिकारीले दिएको आश्वासनसहितको अभिव्यक्तिबारे पनि अडियोमा प्रष्टैसँग चर्चा गरिएको छ ।
उक्त अडियोमा चौतर्फी दबाब र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राजीनामा दिएका मन्त्री गुप्ताबारे पनि सुन्न पाइन्छ । उनीबारेको प्रसंगसहित उनकै आवाज पनि अडियोमा छ । गुप्ताले यो अडियोमा घुस डिलमा सचिवले तगारोको काम गरिदिएको कुरा पनि बोलेका छन् ।
नयाँ सचिव ल्याए पनि उसले आफूलाई समस्या पारिरहेको कुरा अडियोमा गुप्ताले बोलका छन् । उनले ‘ऊ (सचिव) पहिलेको भन्दा पनि बाप (बाउ)’ छ भनेको सुन्न सकिन्छ । तर आफूले त्यो सचिवलाई भगवान् पशुपतिनाथ र छोराको कस्सम खुवाएर आफ्नोअनुकुलमा राखिरहेको पनि गुप्ताले बोलेका छन् ।
यो पौने १२ मिनेटको अडियोमा अझै अघि बढेर पोखराको जग्गा व्यक्तिको नाममा लैजाने प्रयोजनका लागि घुस दिनेसँग उनको काम र समस्या आफ्नै भएको भनेर आश्वस्त पारेको पनि सुन्न पाइन्छ। उक्त जग्गा व्यक्तिको नाममा लैजान ती व्यक्ति पोखराबाट आइरहेका बेला गुप्ताले संवाद गरेको अडियोमा बुझ्न सकिन्छ । उनले ती व्यक्तिलाई ‘तपाईंको समस्या मेरै समस्या त हो नि !’ भनेर फकाएका छन् ।
यो अडियोमा कास्की मालपोतका प्रमुख रामचन्द्र अधिकारीको सरूवा र थमौतीको प्रसंग पनि रहेको छ। उक्त जग्गा व्यक्तिको नाममा ल्याउनका लागि निर्णायक भूमिकामा रहेका अधिकारीको सरूवा ठूलै मिहिनेत गरेर मिलाइएको चर्चा अडियोमा गरिएको छ ।
बिचौलियाका रुपमा देखिएका आर्यन शर्मा र प्रकाश दाहालसहितले मन्त्री अधिकारीका छोरामार्फत् रामचन्द्रको सरुवा मिलाएको अडियोमा सुन्न पाइन्छ । रामचन्द्रको सरूवा मिलाएपछि उक्त जग्गा आफूहरूले चाहेअनुसार ल्याउन सकिने कुरामा उनीहरू आश्वस्त रहेको अडियोमा सुनिन्छ ।
सार्वजनिक भएको अडियोले मंगलबार राजीनामा दिएका गुप्तापछि मन्त्री अधिकारी र उनको परिवार गम्भीर भ्रष्टाचारमा संलग्न रहेको आरोपलाई पुष्टि गर्ने आधार दिएको छ । गुप्तालाई जस्तै अब प्रधानमन्त्री ओलीले यस प्रसंगमा अधिकारीबारे कस्तो कदम चाल्छन् हेर्न बाँकी छ ।
गुप्ताको घुस प्रकरण
२७ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा जोडिएको अडियो बाहिरिएको थियो । गुप्ता स्वयम्ले उक्त अडियो आफ्नो भएको स्वकारेका थिए । त्यसपछि उनले मंगलबार राजीनामा दिए।
गुप्ताले उक्त घुस लेनदेन प्रकरणमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई पनि मुछेका थिए ।
कास्की मालपोत कार्यालयको हाकिमका लागि उक्त घुसको डिल भएको थियो । त्यसैगरि भूमि आयोग जिल्ला अध्यक्षमा पनि लेनदेनको सेटिङ भएको खुलेको थियो ।
यी दुई प्रयोजनका लागि ७८ लाख रुपैयाँ घुसको डिल भएको खुलेको थियो । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा घुस प्रकरणलाई लिएर सांसदहरूले सरकारलाई घेरेका थिए ।
उक्त अडिओमा मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यलय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासन मन्त्री गुप्ताले विचौलियासँग ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाखसहित ७८ लाख घुस डिल गरेको कुरा सांसदहरूले उठाएका थिए । चौतर्फी दबाबपछि गुप्ताले पद छाडेका थिए ।
प्रतिक्रिया