पाँच लाख जनसंख्या भएको देशमा स्वतन्त्रतापछिकै ठूलो उत्सव | Khabarhub Khabarhub

केप भर्डेको विश्वकप यात्रा

पाँच लाख जनसंख्या भएको देशमा स्वतन्त्रतापछिकै ठूलो उत्सव

डायस्पोराबाट ल्याएका खेलाडीले दिएको सफलता


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

प्राइया, केप भर्डे – अफ्रिकी महादेशबाट सन् २०२६ विश्वकप छनोट अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा केप भर्डेको ऐतिहासिक जित संसारभर चर्चामा छ ।

केप भर्डेले पहिलो पटक विश्वकपमा स्थान बनाएपछि प्राइयाको शान्त सहर यतिबेला उत्सवमय बनेको छ। सामान्यतया सुस्त गतिमा चल्ने राजधानी यही सोमबार आफ्नो टोलीको समर्थनमा एकत्रित भयो, जहाँ स्थानीय प्रशासनले आफ्नो टीमको खेलको दिन बिदा दिएको थियो।

देशका राष्ट्रपति जोसे मारिया नेभेस पनि दर्शकदीर्घामा उत्सवमा सहभागी थिए। खेल सकिएलगत्तै उनले केप भर्डेको सन् २०२६ विश्वकप टिकट लेखिएको ब्यानर फहराए। स्वतन्त्रताको प्रतीकसँग तुलना गर्दै उनले पनि यो उपलब्धिलाई राष्ट्रिय गौरवको रूपमा वर्णन गरे।

त्यो क्षण मैदानमा पनि खुशीको माहोल थियो। राष्ट्रिय टोलीका प्राविधिक निर्देशक रुई कोस्टा पनि त्यसमा सहभागी थिए। उनी यसै वर्ष फेब्रुअरीमा नियुक्त भएका थिए र दशकभन्दा बढी समय इङ्ल्यान्डमा फुटबलमा कार्यरत थिए। ‘म आफ्ना देशका लागि गर्वित छु,’ उनले भने, ‘हाम्रो प्रशिक्षक उत्कृष्ट छन्, खेलाडीहरू उत्कृष्ट छन्, र भविष्य उज्यालो छ।’

‘हाम्रो स्वतन्त्रता दिवस र सन् १९९१ जनवरी १३ मा पहिलो बहुदलीय निर्वाचन हुँदा राष्ट्रिय एकताको प्रतीक हुन्,’ राज्य प्रोटोकल निर्देशक जोसे मारिया सिल्भाले भने, ‘अब यो विश्वकप छनोट हाम्रो इतिहासको तेस्रो निर्णायक क्षणका रूपमा दर्ज हुनेछ।’

केप भर्डेले विश्वकप यात्रा तय गरेपछि जम्मा भएको भीडमा निलो, रातो र सेतो रंगको विस्फोट भयो । मैदान छेउमा खेलाडी र प्रशिक्षक टोली एकअर्कालाई अँगाल्दै रोए। वर्षौँदेखि बुनेको योजना सफल बनेको थियो।

एटलान्टिक महासागरका टापुहरूमा फैलिएको करिब पाँच लाख जनसंख्या भएको सानो देश केप भर्डे, जसले पोर्चुगलको उपनिवेशको रूपमा इतिहास व्यतित गरेको थियो, पहिलोपटक विश्वकपमा पुगेको थियो।

‘हाम्रा जनतालाई यो खुशी दिन पाउनु निकै ठूलो कुरा हो,’ मुख्य प्रशिक्षक बुबिस्ताले भने, ‘यो हाम्रो स्वतन्त्रताको ५०औं वार्षिकोत्सवमा थपिएको विशेष क्षण हो।’

राजधानी प्राइयाका धेरै बासिन्दाले भनेका छन्- विश्वकपको छनोट केप भर्डेमा स्वतन्त्रतापछि भएको सबैभन्दा ठूलो घटना हो। सायद यही कारणले उत्सव यति विशाल बन्यो।

एस्वातिनीमाथि ३–० को जितपछि राष्ट्रिय स्टेडियममा हजारौं समर्थकहरू घण्टौँसम्म बसेर गीत, नाच र उत्सवमा रमाइरहे। झन्डा ओढेका र ‘विश्वकप क्वालिफाइड’ लेखिएका टी–सर्ट लगाएका खेलाडीहरूले मैदानको एक फन्को लगाए, जसले धेरैलाई आँसु झार्न बाध्य बनायो । विशेष गरी विदेशमै जन्मिएर हुर्किएका ती खेलाडी अर्कै खुसी दियो ।

‘साँचो कुरा भन्नु भनेको म युरोपमा खेलेको छु, एमएलएसमा जितेको छु, तर आफ्नै देशका लागि खेल्दा अनुभूति अर्कै हुन्छ,’ अमेरिकाको क्लब कोलम्बस क्रूका डिफेन्डर स्टिभन मोरेराले भने, ‘यो भावना शब्दमा व्यक्त गर्न सकिन्न । यहाँको जोश, माया, उत्साह अद्भुत छ। यो टोली परिवारजस्तो हो। हामी गोल गरेपछि एकअर्कासँग नाच्ने हाम्रा हाउभाउले नै त्यसलाई देखाउँछ’, उनले भने ।

डबलिनमा जन्मिएका र केप भर्डेली बुबा र आयरिस आमा भएका श्यामरोक रोभर्सका रबर्टो ‘पिको’ लोपेस भने दर्शकदीर्घामा आफ्ना बुबालाई खोज्दै थिए। ‘राहत, खुसी, गर्व, सबै भावना एकसाथ आएका छन्। हामीले गर्‍यौँ, र अब कसैले पनि त्यो हामीबाट खोस्न सक्दैन,’ उनले भने।

खेलअघि नै सहर उत्साहित र उल्लासमय थियो। झ्याल, बार्दली, बार र कारमा केप भर्डेका झन्डा फहराइएका थिए।

करिब १५ हजार दर्शकहरू सन् २०१४ मा चीनको सहयोगमा बनेको नेशनल स्टेडियमतर्फ शान्त र व्यवस्थित रूपमा पुगेका थिए। खेल सुरू नहुँदासम्म शान्त वातावरण रहे पनि रेफ्रीले सिट्ठी बजाएसँगै भीडको उत्साह फाट्यो।

पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ सुरू भएको तीन मिनेटमै डायलोन रोचा लिभ्रामेन्टोले गरेको गोलले स्टेडियमलाई उत्सवमा बदलिदियो।

उनले क्यामरूनविरुद्धको जितपछि जस्तै फेरि आफ्नो हातको घडीतर्फ इशारा गर्दै ‘अब विश्वकपको समय हो’ भन्ने सन्देश दिए। त्यसपछि विली सेमेडो र स्टोपिराका गोलहरूले उत्सवलाई झनै रंग थप्यो ।

खेलाडीहरूको होटल अगाडि पनि हजारौँ समर्थकहरू जम्मा भए। उनीहरू बाल्कनीबाट आफ्ना नायकहरूलाई हेर्न आतुर थिए। भीड यति ठूलो भयो कि ट्राफिक नियन्त्रण गर्न प्रहरीले कठिनाइ भोग्नुपर्‍यो, तर कसैलाई त्यसको पर्वाह थिएन।

‘म खेलभरि चिच्याएँ, अब मेरो आवाज बसेको छ, तर म धेरै खुशी छु,’ प्राइयाका बासिन्दा जोसे भिएराले भने।

सहर नीलो रंगमा रङ्गिएको थियो — झन्डा, जर्सी र ब्यानरहरू सर्वत्र। सडकमा ढोलको तालमा साम्बा र रगे धुन गुञ्जिरहेका थिए, कारका हर्नहरू उत्सवको तालमा मिसिएका थिए।

‘म अत्यन्त खुशी छु,’ ट्याक्सी चालक माक्सिमो गोम्स भन्छन्। ‘राष्ट्रपतिले भनेझैं, यो वास्तवमै स्वतन्त्रतापछि भएको सबैभन्दा ठूलो घटना हो।’

यो सफलता केप भर्डे र विश्वभरका तिनका सन्तानहरूको सामूहिक उपलब्धि हो। देशभन्दा बाहिर बसोबास गर्ने केप भर्डेलीको संख्या देशभित्रका जनसंख्याभन्दा बढी छ । पछिल्ला दुई खेलका लागि बोलाइएका २५ खेलाडीमध्ये १४ जना डायस्पोराका थिए।

दोहोरो नागरिकता भएका खेलाडी भर्ना गर्ने प्रक्रिया सन् २००२ तिर सुरू भएको थियो । जुनबेला पहिलो विश्वकप छनोटमा केप भर्डे प्रारम्भिक चरणमै बाहिरिएको थियो।

त्यसबेला पोर्चुगलमा खेलेका स्ट्राइकर लिटोले यो पहल थालेका थिए। ‘उनै पहिलो खेलाडीमध्ये एक थिए, जसले विदेशमा खेले पनि केप भर्डेलाई रोजे,’ फुटबल महासंघ (एफसीएफ) का उपाध्यक्ष इनासियो कार्वाल्हो भन्छन्।

त्यसपछि यो सञ्जाल पोर्चुगलबाट फ्रान्स र नेदरल्यान्ड्ससम्म फैलियो। नेदरल्यान्ड्सको रोटरडाम शहरमा करिब २३ हजार केप भर्डेली मूलका मानिस बस्छन् । जहाँबाट अहिलेको टोलीका ६ खेलाडी आएका छन्, जसमा लिभ्रामेन्टो पनि पर्छन्, जो छनोटमा चार गोलसहित शीर्ष स्कोरर बने।

इतिहासका कठिन समयमा दुर्लभ स्रोत, सुख्खा र रोजगारीको अभावले चिनिएको देश हो यो । यसबाट धेरै केप भर्डेलीहरू अमेरिका र युरोपतर्फ आप्रवासनमा गए । अब ती डायस्पोरा सन्तानहरूले आफ्ना पूर्वजको भूमिमा गौरव फर्काइदिएका छन्।

‘हाम्रा हजुरबुवा र आमाबुवाले हाम्रो भविष्यका लागि विदेश गए, दोहोरो काम गरे। आज उनीहरूको त्यागको प्रतिफल यही हो,’ लिभ्रामेन्टो भन्छन्।

यी विदेशी जन्मिएका खेलाडीलाई स्थानीय टोलीसँग एकीकृत गर्न प्रशिक्षक पेद्रो लिटाओ ब्रितो ‘बुबिस्ता’ ले राष्ट्रिय पहिचानलाई जोड दिए।

स्थानीय लिगमा करिब २००–३०० युरो तलबमा खेलेर करियर सुरू गरेका चर्चित खेलाडी भित्रबाट उनले टिमको आत्मा बनाएका छन्।

‘विभिन्न सोच र जीवनशैली भएका खेलाडीबीच एकता कायम गर्न उनीहरूको विशिष्टतालाई सम्मान गर्नुपर्छ,’ बुबिस्ता भन्छन्। उनले टोलीमा क्रियोल भाषा बोल्न अनिवार्य गरेका छन्।

‘कसैले अंग्रेजी बोल्थे, अहिले सबै क्रियोल सिकेका छन्। म अन्य भाषा बोल्न अनुमति दिन्नँ, ताकि हाम्रो पहिचान सुरक्षित रहोस्’, उनले भने ।

सीमित स्रोतका बाबजुद एफसीएफको व्यावसायिकता पनि बढ्दै गएको छ। फिफाको सहयोगमा संस्था सुदृढ भएको छ।

फिफा अफ्रिकाका सदस्य संघ निर्देशक गेल्सन फर्नान्डेस हुन् । जो केप भर्डेमै जन्मिएका पूर्व स्विस खेलाडी हुन् । उनी भन्छन्, ‘त्यो बेला हाम्रो संघ तयार थिएन, तर अहिले एफसीएफ आफैँ व्यवस्थित र सक्षम भएको छ।’

एफसीएफले वित्तीय सहयोगका कारण महँगा अवे खेलहरू सम्भव बनाएको छ। उदाहरणका लागि लिबियासँगको खेल यात्रामा करिब ४ लाख अमेरिकी डलर खर्च भएको थियो।

अब विश्वकप समूह चरणमा पुगेसँगै एफसीएफले करिब १०.५ मिलियन डलर पाउनेछ, जसले डायस्पोराका नयाँ प्रतिभा पहिचानका लागि स्थायी स्काउटिङ प्रणाली बनाउने लक्ष्यमा सहयोग पुर्‍याउनेछ।

अन्ततः बुबिस्ता र उनको टोलीको सपना अब ठूलो भएको छ । एक दिन पेरिस सेन्ट जर्मेन र पोर्चुगलका स्टार नुनो मेन्डेसजस्ता खेलाडीले आफ्नो पूर्वजहरूको झन्डा केवल उत्सवका लागि होइन, मैदानमै प्रतिनिधित्व गर्न सकून्।

परिवर्तनको भावना

एस्वातिनीमाथिको जितपछि भएको यो उत्सव केप भर्डेको स्वतन्त्रताको ५०औँ वर्षगाँठ मनाएको १०० दिनपछि आएको हो। अब यो देश सम्भावित रूपमा आफ्ना पूर्वउपनिवेशक पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ । जुन टोलीमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसजस्ता स्टार खेलाडी छन्।

‘अब विश्वले हाम्रो झन्डा चिन्छ,’ प्राइयाका होटल व्यवसायी सिड्नी एलियस भन्छन्, ‘पहिले हामी विश्वकपमा पोर्तुगललाई समर्थन गर्थ्यौं, यो पटक आफ्नै देशका लागि जयजयकार गर्नेछौँ। हाम्रा खेलाडीहरू आफ्ना आदर्शसँगै मैदानमा उत्रिनेछन्, योभन्दा गर्वको कुरा के हुन सक्छ।’

प्राविधिक निर्देशक कोस्टाले विश्वकप छनोटले देशमै सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। ‘अफ्रिकाका धेरै देशहरूमा विश्वकप छनोटपछि ठूलो परिवर्तन आएको छ,’ उनले हाँस्दै भने, ‘म सेनेगलका अलीउ सिसेसँग कुरा गरेको थिएँ । यसले सबै कुरा बदलिदियो। मलाई लाग्छ, केप भर्डेमा पनि त्यही हुनेछ, वास्तवमा, परिवर्तन सुरु भइसकेको छ।’

आइसल्यान्डपछि विश्वकपका लागि छनोट हुने दोस्रो सानो देश बनेको केप भर्डेको यो उपलब्धि भविष्यमा अझ ठूलो सफलता दिलाउने सम्भावना छ। अफ्रिकन कप अफ नेशन्स जित्ने दीर्घकालीन लक्ष्य राखेको यो सानो एटलान्टिक देश अहिले विश्व फुटबलमा ठूलो छाल उठाइरहेको छ।

स्रोत सामग्री : बीबीसी, गार्जिनय र डेली मेल फुटबल

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : २० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण