थारु समुदायले वरघर (भलमन्सा) छान्दै « Khabarhub

थारु समुदायले वरघर (भलमन्सा) छान्दै


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– थारु गाउँमा वरघर (भलमन्सा) छनोट सुरु भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारु समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारु समुदायमा पुस्तौँदेखि चल्दै आएको छ ।

वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारु समुदायले धार्मिक कार्यको तान्त्रिक विधिबाट कार्य गर्ने गुरूवा, गुरूवाको सहायक केसौका, चिरक्या र गाउँमा खबर गर्ने चौकीदारको चयन गरिरहेका छन् । 

प्रत्येक वर्ष थारु समुदायका प्रत्येक गाउँमा वरघर चयनको कार्य हुने गरेको छ ।

‘राम्रो कार्य गर्ने वरघरले अर्को वर्ष पनि गाउँको नेतृत्व गर्ने मौका पाउँछन्’, कृष्णपुर नगरपालिका–२ का सोभ खुनाले भने, ‘गाउँलेले पुरानोको कामलाई मन नपराए अर्को वरघर (भलमन्सा) चयन गर्छन् ।’ 

गाउँका बासिन्दाको सल्लाहमा वरघर चयन हुने गरेको उनले बताए।  उनका अनुसार वरघरिया भनेको थारु समुदायको नेतृत्वकर्ता हो । थारु समाजमा वडघरियालाई उच्च सम्मानका साथ हेरिन्छ । समुदायले चुनेको वरघरियाले सिङ्गो थारु गाउँको नेतृत्व गरेको हुन्छ । वरघरियाले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कला, संस्कृतिको जर्गेनाको कार्य सम्पादन गर्दै आएका छन् ।

जनप्रतिनिधिले वरघरियाको सल्लाहमै गाउँको विकासका लागि योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्दै आएका छन् । ‘जनसहभागिता जुटाउन र गाउँले भेला गर्न  वरघरियालाई गुहार्नुपर्ने पुरानै चलन हो’, शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘वरघरिया भएका गाउँमा विकास निर्माण गर्न निकै सहज हुन्छ ।’

बजेटको मुख नताकेर जनश्रमदान जुटाएर विकास निर्माणका कार्य विगतमा हुँदै आएकामा हाल त्यस कार्यमा भने कमी आएको उनी बताउँछन् । विकास निर्माण ज्याला मजदुरीमै गराउन थालिएपछि श्रमदान गर्ने कार्यमा कमी आएको उनको भनाइ छ ।

दुई दिनअघि मात्र वरघरमा चयन भएका कृष्णपुर नगरपालिका–२ वाणीका धनबहादुर चौधरी गाउँको रीतिथिति बसाल्ने कार्यका लागि जिम्मेवारी दिएकाले निष्पक्ष तरिकाले कार्य गर्ने बताउँछन् । 

विकास निर्माणदेखि देवीदेवताको पूजा गर्ने, चाडपर्वमा नृत्य टोलीको व्यवस्था गर्ने, अंशवण्डा गर्ने, गाउँमा हुने विवाहको चाँजोपाँजो खटनपटनको कार्य गर्न योजना बनाएर लागू गर्ने उनले बताए।

थारु समुदायमा वरघरले गरेको निर्णय मान्नुपर्ने परम्परा छ । वरघरिया, गुरूवा, केसौका, चिरक्या र चौकिदारलाई गाउँको कार्य गरेबापत निश्चित रूपमा धान, गहुँलगायत अन्न गाउँका प्रत्येकका घरबाट उठाएर तिरो दिन्छन् । अहिले नगद रकम उठाएर दिने चलन पनि छ । यो प्रथा थारु समुदायको बसोबास रहेको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा प्रचलनमा छ ।

केही स्थानीय तहले नगरसभाबाट कानुन पारित गरेर यस प्रथालाई व्यवस्थित बनाउने कार्य गरेका छन् । गाउँको सामूहिक कार्यको योजना वरघरले बनाउँछन् भने वर्षभरि गरिने घरको योजना घरको मुखियाले बनाउने गर्छन् । माघीको पहिलो हप्ताभित्र घरका सबै जना बसेर घर व्यवहारबारे छलफल गर्ने गरिन्छ । 

जसमा खेतमा कुन बाली लगाउने, उमेर पुगेका घरका युवायुवतीको विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहुमहार्जनको व्यवहार कसले गर्नेलगायत योजना पर्छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : २७ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ