गाउँभरी नै व्यावसायिक किबीखेतीमा « Khabarhub

गाउँभरी नै व्यावसायिक किबीखेतीमा


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन् । वडा नं १ सिरकोटको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा लागेको हो । 

मकैलगायत बाली लगाउँदा लागत बढी, उत्पादन र आम्दानी कम भएकाले किसान किबीखेतीमा लागेका हुन् । अहिले किबीको बजार राम्रो भएकाले किसानलाई व्यावसायिक खेतीमा लाग्न प्रेरित गरेको स्थानीय बताउँछन् । सिरकोटका १८ परिवारका नागरिकले अहिले २५० रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेका छन् । त्यसमा छ हजार ४०० बिरुवा लगाइएको छ ।

स्थानीय लक्ष्मीपति न्यौपानेले आफ्नो बारीमा २०७७ सालमा एक हजार ४०० बिरुवा लगाए । पहिलो उत्पादनका रुपमा गत वर्ष उनले दुई लाख ५० हजारको किबी बिक्री गरे । यस वर्ष रु सात लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए।

‘गत वर्ष बिक्रीको सुरुको वर्ष थियो, यस वर्ष ४५ क्विन्टल फल्ने अनुमान छ’, न्यौपानेले भने, ‘बिक्रीबाट प्राप्त भएको आम्दानीले घरखर्च राम्रै चलेको छ ।’

रोजगारीको सिलसिलामा २०६१ सालमा भारत गएका उनी दुई वर्ष बसेर स्वदेश फर्किए । अहिले स्थानीय देउराली माध्यमिक विद्यालयमा अध्यापनसमेत गराउने उनले किबीका साथै एक हजार ४०० सुन्तलाका बिरुवा लगाएका छन् । सोही गाउँमा गगन तरामुका ९०० तथा चन्द्रकला पाण्डेका ८०० किबीका बिरुवा छन् । 

गत वर्ष सिरकोटबाट मात्रै रु १० लाखको किबी निर्यात भएको छ । स्थानीय बजारमा फुटकर प्रतिकिलो ३०० र थोकमा प्रतिकिलो २०० मा बिक्री हुन्छ । औसत प्रतिकिलो २५० मा स्थानीय बजारका साथसाथै बुटबल, भैरहवासम्म पनि किबी बिक्री हुने गरेको उन्नतशील कृषि तथा फलफूल कृषक समूहका अध्यक्षसमेत रहेका पदमपाणि पाण्डेले जानकारी दिए। किबीका बिरुवा २०७७ सालमा दोलखाबाट प्रतिबिरुवा रु ३०० मा खरिद गरिएको थियो । पछि कालीगण्डकी गाउँपालिकाले पनि बिरुवामा अनुदान दिएको थियो । 

सिरकोटमा यस वर्ष सबै किसानको गरी रु २० लाखको किबी बिक्री हुने अपेक्षा गरिएको छ । किबीले सामान्यतया लगाएको कम्तीमा चार वर्षदेखि अधिकतम ३५ वर्षसम्म फल दिने गर्दछ । त्यसले गर्दा किसानलाई बिरुवा लगाइरहने झन्झट हुँदैन । 

‘यस वर्ष उत्पादन राम्रो छ, हामीले पनि पालिकाका तर्फबाट सक्दो सहयोग गरेका छौँ’, गाउँपालिका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले भने, ‘किसानलाई बिरुवा, मल, बजारलगायत क्षेत्रमा हामी सहयोग गर्छौं ।’

 उनले सिरकोटलाई किबीको नमुना गाउँको विकास गर्ने लक्ष्य पालिकाले लिएकाले किसानको समस्यामा पालिकासँगै रहने बताए।  

किबीखेतीमा आकर्षित भएका किसानलाई राज्यकातर्फबाट राम्रो सहयोग मिलेको छ । सिँचाइका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुई वटा पोखरी निर्माण गरेको छ । सिरकोट किबीखेती पोखरी जल पुर्नभरव योजनाबाट चालु आर्थिक वर्षमा सिँचाइ विकास डिभिजन कार्यालयले ७५ घनमिटरका ६५ हजार लिटर पानी अट्ने पोखरी निर्माण गरेको हो । आकाशे पानी र खेर गएको पानी पोखरीमा जम्मा हुनेछ भने खडेरीका बेला पोखरीबाट सिँचाइ हुनेछ । 

१० लाखमा निर्माण भएका पोखरीबाट किसानलाई धेरै राहत मिलेको छ । 

‘कृषिजन्य सामग्रीको उत्पादन बढाउने लक्ष्य हो’, कार्यालय प्रमुख भरत सापकोटाले भने, ‘कार्यालयका तर्फबाट जिल्लाभर कुलो, पोखरी लगायतका क्षेत्रमा काम गरिरहेका छौँ ।’

उनले सिरकोटका किसानको लोभलाग्दो मेहनत भएको पनि बताए। त्यसैगरी कृषि ज्ञान केन्द्रले पनि दुई वटा पोखरी बनाएको छ भने किबीका लागि आवश्यक पिल्लरमा अनुदान दिएको छ । त्यसैगरी गाउँपालिकाले पनि अहिलेसम्म दुई हजार ५०० बिरुवा अनुदानमा उपलब्ध गराएको छ ।

हुमाकान्त पोखरेल/रासस

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार