एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव, तीन उपाध्यक्षसहित ११ पदाधिकारी राखिने « Khabarhub

एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव, तीन उपाध्यक्षसहित ११ पदाधिकारी राखिने


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव अघि बढेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारी मात्रै राख्ने गरी उक्त प्रस्ताव गरेका हुन ।

अहिले एमालेमा रहेका १९ जना पदाधिकारीलाई घटाएर ११ जना मात्रै राख्ने गरि विधान संशोधन प्रस्ताव उपाध्यक्ष पौडेलले बैठकमा राखेका एकजना पदाधिकारीले खबहबलाई जानकारी दिएका छन् ।

पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा एकजना अध्यक्ष , तीनजना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव र पाँचजना सचिव रहने प्रस्ताव गरिएको छ । बैठकमा १९९ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ।

उक्त प्रस्तावलाई लिएर वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो धारणा राखेका छन् । त्यसैगरि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि यसबारेमा बोलेकी छन् । पौडेलको उक्त प्रस्तावलाई लिएर पार्टीका अरू पदाधिकारीले पनि बोलिरहेका छन् ।

एमालेले जनसंगठनहरूमा जस्तै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारीसहित बैठकमा प्रस्ताव लगेको हो । एमालेका एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार हाल ईश्वर पोखरेलले जिम्मेवारी लिइरहेको वरिष्ठ उपाध्यक्ष पद भदौ २०-२० मा हुने विधान महाधिवेशनबाट हटाउने गरि प्रस्ताव राखिएको हो ।

बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले विधान संशोधनको प्रस्तावका खाका प्रस्तुत गरेका छन् । उता अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिवले शंकर पोखरेलले विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको सांगठनिक प्रतिवेदनको खाका पेश गर्ने तयारी छ ।

पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्ने निर्णय एमालेले यसअघि नै गरिसकेको छ । गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीको कडा शब्दमा आलोचना गरेका थिए ।

संयोगवश, उनले ओलीको आलोचना गरेको एक महिना पनि नबित्दै एमालेले जनसंगठनमा पनि वरिष्ठ उपाध्यक्ष नराखिएकाले अब पार्टीमा पनि त्यही कार्यान्वयनको योजना ल्याउन लागेको हो ।

विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । तीनवटै प्रस्तावलाई बिहीबारको सचिवालय बैठकबाट अघि बढाएर एमालेले पोलिटब्युरो र केन्द्रीय कमिटीबाट पास गर्दै विधान महाधिवेशनमा लैजानेछ ।

सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए। यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो । त्यसको तीन दिनपछि भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पोखरेलले ओलीलाई घेरेका थिए ।

पोखरेलले गरेको आलोचना सेलाउन नपाउँदै आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीको सनराइज हलमा हुने विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी एमालेले गरेको हो ।

यदि ७० वर्षे उमेर हद हटेको अवस्थामा एघारौँ महाधिवेशनमा पनि वरिष्ठ उपाध्यक्षमा पोखरेल दोहोरिन सक्ने करिब निश्चित छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूलाई सहयोगभन्दा धेरै आलोचना र चुनौती दिएपछि ओलीले उक्त पद हटाएर अब उपाध्यक्ष मात्रै राख्ने योजना ल्याएका हुन् ।

एमाले वर्तमान १९ पदाधिकारी

नेकपा एमालेको २०७८ मंसिरमा भएको १०औँ महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारी तय गरेको थियो । जसमा अध्यक्ष केपी शर्मा ओलीसहित १९ जना पदाधिकारी थिए ।

महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र ७ जना सचिव तय गरेको थियो ।  

महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ (हाल निधन भइसकेको) लाई चयन गरेको थियो ।

महासचिवमा शंकर पोखरेल आएका थिए । तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल चयन भएका थिए ।  

उता सात सचिवमा टोपबहादुर रायमाझी (हाल जेलमा), रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई चयन गरेको थियो।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ३४ बजे

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी