कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा « Khabarhub

कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा




शिशुहरूको चित्कारले निद्रा खुलेपछि
वयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछि
केही त सम्झाऊ छोरालाई भनी
निस्केकी छिन् चिहानबाट-
नेतान्याहुकी आमा

हिँडेकी छिन् खोज्दै आफ्नो छोरा, जसलाई सिँचेकी थिइन् स्नेहधाराले,
कष्टसँग पढाएकी थिइन्
प्रेमको भाषा/ सहानुभूतिको पाठ

देखेपछि
आफ्नो छिमेकीको आँगनमा
सहरमा/गाउँमा र चोकहरूमा
छरिएका क्षतविक्षत कलिला काया‌हरू
घरका कौसी र बार्दलीमा झुण्डिएका दुर्गन्धित लासका लहरहरू
भोकले व्याकुल मुहारहरू
प्यासले काकाकुल आँतहरू,
रित्तिएका काखहरू/एक्लिएका शिशुहरू मानिसबिनाका घरहरू/घरबिनाका मानिसहरु

भन्न लागिन् उनी –
म नेतान्याहुकी आमा हुँ !
मलाई लज्जा छ तिम्री आमा हुनुमा
नेतान्याहु, म तिम्रो पाखण्डीपनप्रति
घृणा र भत्सर्ना गर्दछु ।

तिम्री आमा हुनुको पीडा र लज्जामा विस्मित म आफैँलाई प्रश्न गर्दैछु-
मैले पिलाएको दूधमा
मिसिएको थियो र हिटलरको क्रूरता ?
कसरी जन्मिन सक्छ
आमाको पवित्र कोखबाट यति अपराधी सन्तान ?
छोएर आफ्नो पाठेघर म कसम खाएर भन्छु-
तिम्रो सपना‌मा म आइरहन्छु
हो, म बारम्बार आउँछु तिम्रो सपनामा !
तिमीलाई ऐँठन नहुँदासम्म समाउँछु तिम्रो गर्धन
फुटाउँछु सारा क्रोधले बनेका तिम्रा दृष्टिहरू ।

म फेरि सोध्न चाहन्छु तिमीलाई-
किन, किन सुनिरहेका छैनौ आमाहरूको क्रन्दन ?
किन नदेखेझैँ गर्दैछौ शिशु आँसुहरू ?
किन धस्दैछौ छुरा भोका पेटहरूमा ?
किन कोर्दैछौ मानिसको रगतले सीमाहरू ?

नेतान्याहु ! म तिम्री आमा हुँ
नेतान्याहु ! म तिम्रो मात्र आमा होइन
तिमीले जसलाई विरोधी भनिरहेका छौ
म त तिनीहरूको पनि आमा हुँ
नेतान्याहु ! म त सारा जगतको आमा हुँ ।

तिमीलाई छुट छैन- मानिसहरू मार्न
तिमीलाई छुट छैन- मानिसका बस्तिहरू जलाउन
तिमीलाई छुट छैन- प्यालेस्टिनीहरूको विभत्स चित्कारहरूमा रमाउन ।

नेतान्याहु !
तिमीलाई यो पनि छुट छैन कि म तिम्री आमा हुँ भन्न ।

हिजोआज नेतान्याहुकी आमा आफ्नै फरिया च्यातेर पुछिरहेकी भेटिन्छिन् प्यालेस्टाइनका सडकमा,
त्यहाँका खण्डहरमा,
नेतान्याहुले प्यालेस्टिनीहरूको रगतले कोरेका विभत्स चित्रहरू
पखालिरहेकी भेटिन्छिन् – आफ्नो आँसुले
नेतान्याहुले मानव इतिहासमा लगाएको कालो दाग।

अब आफ्नी आमालाई कहिल्यै भेट्ने छैन नेतान्याहुले उनको चिहानमा,
कहिल्यै श्रद्धाञ्जली दिन पाउने छैन –
किनकि युद्ध चलुन्जेल
उसकी आमाको आत्मा भौंतारिरहने छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : १३ बजे

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

 काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र

टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा– गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस