शिशुहरूको चित्कारले निद्रा खुलेपछि
वयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछि
केही त सम्झाऊ छोरालाई भनी
निस्केकी छिन् चिहानबाट-
नेतान्याहुकी आमा
हिँडेकी छिन् खोज्दै आफ्नो छोरा, जसलाई सिँचेकी थिइन् स्नेहधाराले,
कष्टसँग पढाएकी थिइन्
प्रेमको भाषा/ सहानुभूतिको पाठ
देखेपछि
आफ्नो छिमेकीको आँगनमा
सहरमा/गाउँमा र चोकहरूमा
छरिएका क्षतविक्षत कलिला कायाहरू
घरका कौसी र बार्दलीमा झुण्डिएका दुर्गन्धित लासका लहरहरू
भोकले व्याकुल मुहारहरू
प्यासले काकाकुल आँतहरू,
रित्तिएका काखहरू/एक्लिएका शिशुहरू मानिसबिनाका घरहरू/घरबिनाका मानिसहरु
भन्न लागिन् उनी –
म नेतान्याहुकी आमा हुँ !
मलाई लज्जा छ तिम्री आमा हुनुमा
नेतान्याहु, म तिम्रो पाखण्डीपनप्रति
घृणा र भत्सर्ना गर्दछु ।
तिम्री आमा हुनुको पीडा र लज्जामा विस्मित म आफैँलाई प्रश्न गर्दैछु-
मैले पिलाएको दूधमा
मिसिएको थियो र हिटलरको क्रूरता ?
कसरी जन्मिन सक्छ
आमाको पवित्र कोखबाट यति अपराधी सन्तान ?
छोएर आफ्नो पाठेघर म कसम खाएर भन्छु-
तिम्रो सपनामा म आइरहन्छु
हो, म बारम्बार आउँछु तिम्रो सपनामा !
तिमीलाई ऐँठन नहुँदासम्म समाउँछु तिम्रो गर्धन
फुटाउँछु सारा क्रोधले बनेका तिम्रा दृष्टिहरू ।
म फेरि सोध्न चाहन्छु तिमीलाई-
किन, किन सुनिरहेका छैनौ आमाहरूको क्रन्दन ?
किन नदेखेझैँ गर्दैछौ शिशु आँसुहरू ?
किन धस्दैछौ छुरा भोका पेटहरूमा ?
किन कोर्दैछौ मानिसको रगतले सीमाहरू ?
नेतान्याहु ! म तिम्री आमा हुँ
नेतान्याहु ! म तिम्रो मात्र आमा होइन
तिमीले जसलाई विरोधी भनिरहेका छौ
म त तिनीहरूको पनि आमा हुँ
नेतान्याहु ! म त सारा जगतको आमा हुँ ।
तिमीलाई छुट छैन- मानिसहरू मार्न
तिमीलाई छुट छैन- मानिसका बस्तिहरू जलाउन
तिमीलाई छुट छैन- प्यालेस्टिनीहरूको विभत्स चित्कारहरूमा रमाउन ।
नेतान्याहु !
तिमीलाई यो पनि छुट छैन कि म तिम्री आमा हुँ भन्न ।
हिजोआज नेतान्याहुकी आमा आफ्नै फरिया च्यातेर पुछिरहेकी भेटिन्छिन् प्यालेस्टाइनका सडकमा,
त्यहाँका खण्डहरमा,
नेतान्याहुले प्यालेस्टिनीहरूको रगतले कोरेका विभत्स चित्रहरू
पखालिरहेकी भेटिन्छिन् – आफ्नो आँसुले
नेतान्याहुले मानव इतिहासमा लगाएको कालो दाग।
अब आफ्नी आमालाई कहिल्यै भेट्ने छैन नेतान्याहुले उनको चिहानमा,
कहिल्यै श्रद्धाञ्जली दिन पाउने छैन –
किनकि युद्ध चलुन्जेल
उसकी आमाको आत्मा भौंतारिरहने छ ।
प्रतिक्रिया