पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता | Khabarhub Khabarhub

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बाबर (पाकिस्तान)- उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् ।

हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् ।

“बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ”, खट्टकले भने । उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् ।

सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए ।

“भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ”, उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भने । उनका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा राहत कार्यमा खटिएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी जिल्ला बुनेरमा शुक्रबार आरी घोप्टे मनसुनी वर्षा भएपछि आकस्मिक बाढी र पहिरो आएको थियो ।

आपत्कालीन सेवाका प्रवक्ता मोहम्मद सोहेलका अनुसार क्षतिग्रस्त सडकहरू मध्ये आधाभन्दा बढी खोलिएपछि दुर्गम गाउँसम्म सवारीसाधन र भारी मेसिनरी पुग्न थालेका छन् । प्रहरी र उद्धारकर्मीहरू ढुङ्गा–माटो पन्छाउँदै ध्वस्त घरका भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

सबैभन्दा ठूलो दुर्घटना कादर नगर गाउँमा भएको छ । त्यहाँ विवाहको पूर्वसन्ध्यामा बाढीको पानी घरमा पस्दा एउटै परिवारका २४ जनाको ज्यान गएको छ । परिवारका प्रमुख उमर खान भने घरबाहिर भएकाले बाँच्न सफल भए । उनका चार आफन्त अझै बेपत्ता छन् ।

प्रान्तीय मुख्यमन्त्री अली अमिन गन्धापुरले शनिबार बुनेर पुगेर मृतकका परिवारलाई २० लाख रुपैयाँ (करिब सात हजार दुई सय डलर) सहयोग दिने घोषणा गरेका छन् । उनले पाल, खाना र सफा पिउने पानीको व्यवस्था गरी पानीजन्य रोग फैलिन नदिन पहल भइरहेको पनि बताए ।

प्रधानमन्त्री शाहबाज सरिफले राहत कार्य प्रत्यक्ष निगरानी गरिरहेको र तत्काल सहायताको वितरण, फसेकाहरूको उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्र बनाउन निर्देशन दिएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।

विपद् व्यवस्थापन प्राधिकरणले अगस्ट १७ देखि १९ सम्म थप बाढी र पहिरोको चेतावनी दिँदै स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ । यस वर्ष जुन २६ देखि शुरु भएको मनसुनमा हालसम्म छ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

सन् २०२२ मा पाकिस्तानमा आएको कीर्तिमानी मनसुनी वर्षाले करिब एक हजार सात सय जनाको ज्यान लिएको थियो र लाखौँ घर ध्वस्त पारेको थियो । हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा विशेष गरी उत्तरपश्चिमी पहाडी क्षेत्रका गाउँहरू आकस्मिक बाढी र पहिरोको जोखिममा पर्छन् ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियामा यस्ता चरम मौसमी घटनाहरू अझै धेरै र गम्भीर बन्दै गएका छन् ।

यसैबीच, भारत प्रशासित काश्मीरमा पनि भारी वर्षापछि आकस्मिक बाढी आएको छ । कठुआ जिल्लामा कम्तीमा सात जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

किश्तवार जिल्लाको दुर्गम चोसिती गाउँमा तीन दिनअघि आएको बाढीपछि उद्धार टोलीले अझै खोजी कार्य जारी राखेको छ । यस घटनामा कम्तीमा ६० जनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये करिब ५० जनाको अवस्था गम्भीर छ ।

बाढी वार्षिक हिन्दू तीर्थयात्रा भइरहेका बेला आएको थियो । अधिकारीहरूले तीन सयभन्दा बढीलाई उद्धार गरेका छन् भने करिब चार हजार तीर्थयात्रीलाई सुरक्षित स्थानमा सारिएको छ ।

-रासस/एपी/एएफपी

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ०८ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका