काठमाडौं- पछिल्लो समय भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन र विभिन्न संस्थाका अध्ययन अनुसार विश्वका ५० देखि ८० प्रतिशत मानिसमा भिटामिन डीको स्तर अपर्याप्त रहेको पाइन्छ ।
यो समस्या विकसित र विकासशील दुवै देशहरूमा छ । उत्तर युरोप, मध्य पूर्व, दक्षिण एशिया, अमेरिका, अफ्रिका सबै क्षेत्रमा बसोबास गर्ने निसहरुमा यसको कमी देखिएको छ ।
नेपालको कुरा गर्ने हो भने अस्पतालमा हड्डीसम्बन्धी समस्या लिएर आउने ६० प्रतिशत बढी बिरामीहरुमा यसको कमी पाइने गरेको चिकित्सक बताउँछन् । उपचारका लागि आउने बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म प्रायः सबै उमेरका बिरामीहरुमा भिटामिन डीको कमी पाइन्छ ।
भिटामिन डीको कमीले शारीरिक मात्रै नभएर मानसिक स्वास्थ्यमा पनि त्यत्तिकै ठूलो असर हुने चिकित्सकको भनाइ छ । भिटामिन डीको कमी के कारणले हुन्छ ? भिटामिन डी कमीले के कस्ता स्वास्थ्य समस्याहरु देखिन्छन् ? भिटामिन डी कसरी जाँच गरिन्छ ? यिनै विषयमा वीर अस्पतालका जनरल फिजिशियन डा. मिलन खड्कासँग गरिएको कुराकानी-
पछिल्लो समय धेरै मानिसमा भिटामिन डी कमी भएको भनिन्छ । भिटामिन डी को कमी के कारणले हुन्छ ?
भिटामिन डीको मुख्य स्रोत भनेको सूर्यको किरण हो । त्यसैले भिटामिन डी कमी हुनुको पहिलो कारण जति समय हामी सूर्यको किरणमा बस्नुपर्ने हो, त्यति समय नबसेर हो ।
भिटामिन डी प्राकृतिक रूपमा धेरै खाद्य पदार्थमा कम मात्रामा पाइन्छ । यदि माछा (जस्तै सामन, सार्डिन, ट्युना), अण्डाको पहेंलो भाग, दूग्धजन्य पदार्थ मिलाइएको खाना खाइएन भने पनि कमी हुन सक्छ ।
त्यस्तै, गाढा छालामा मेलानिन बढी हुन्छ, जसले सूर्यको किरणबाट भिटामिन डी बन्ने क्षमता घटाउँछ । त्यसैले गाढा छाला भएका वा कालो छाला भएका मानिसहरूमा पनि भिटामिन डी कमी हुन्छ ।
उमेर बढेसँगै छालाले भिटामिन डी बनाउन सक्ने क्षमता घट्दै जान्छ भने धेरैजसो समय घरभित्र बसिरहने, ढाकिएको कपडा लगाउने, सूर्यको प्रकाश नपुग्ने ठाउँमा बस्ने व्यक्तिहरुमा पनि भिटामिन डी कमी हुन्छ ।
त्यस्तै अर्को कारण भनेको दीर्घकालिन रोगहरु जस्तै सुगर, प्रेसर, क्यान्सर, मिर्गौलाको रोग भएका व्यक्ति तथा केही कोलेस्टोरोल घटाउने केही औषधिहरुले भिटामिन डीको स्तर घटाउन सक्छन् ।
भिटामिन डी को कमीले के कस्ता स्वास्थ्य समस्याहरु देखिन्छन् ?
भिटामिन डीको कमीले शरीरमा धेरै प्रकारका स्वास्थ्य समस्या निम्त्याउँछ त्यसमध्ये मुख्य भनेको हड्डी र मांसपेशीसम्बन्धी समस्या हो । जसका कारण मांशपेशी दुख्ने, मसलहरु लुलो भएको जस्तो हुने, सामान्य चोटपटक लाग्दा पनि हड्डीहरु भाँचिने लगायतका समस्याहरु देखिन्छन् ।
त्यो बाहेक मुटुरोग, रोगप्रतिरोधात्मक क्षमता घटाउने, थाइराइडको समस्या बढाउने काम पनि भिटामिन डी को कमिले हुने गर्दछ । त्यस्तै भिटामिन डीले प्रतिरक्षा प्रणाली सशक्त बनाउँछ । यसको कमी हुँदा रुघाखोकी, संक्रमण, फ्लू बारम्बार लाग्ने, छालामा संक्रमण वा सूजन बढ्ने लगायतका समस्या पनि देखिने गर्दछन् ।
भिटामिन डी कमी भएको कसरी थाहा पाउने ? लक्षणहरु के कस्ता देखिन्छन् ?
भिटामिन डी कमी हुँदा यस्तै लक्षण देखिन्छ भन्ने हुँदैन । कहिलेकाहीँ शरीर दुखेको, गलेको, झमझम गरेको, टाउको दुखेको, खुट्टा बाउँडिने जस्ता लक्षणहरु देखिन्छ । तर जाँच गर्दा रोग केही देखिएन भने भिटामिन डी को कमीले हो कि भनेर शंका गर्न सकिन्छ ।
भिटामिन डी कसरी जाँच गरिन्छ ?
भिटामिन डी को जाँच भनेको एउटा भिटामिन डी लेबल हुन्छ । खासमा यसका विभिन्न लेबलहरु हुन्छन् । हाम्रोमा धेरैले गर्ने भनेको एक्टिभ भिटामिन डी जसलाई १२५ हाइड्रोक्सीभिटामिन डी टेस्ट भनिन्छ । हामीले टेष्ट गर्नुपर्ने भनेको खासमा टोटल भिटामिन डी हो । जसमा भिटामिन डी का विभिन्न रुपहरु र त्यसको अवस्थाबारे थाहा पाउन सकिन्छ । तर त्यसको लागि छुट्टै ल्याब पनि चाहिने र एकदमै महँगो हुने भएकाले त्यति गरिदैन ।
अहिले हाम्रोमा गरिने जाँचबाट भिटामिन डी को लेबल एकदमै कम भएको मात्रै थाहा पाउन सकिन्छ । भिटामिन डी को विभिन्न स्तर हुन्छ । जस्तै ३० देखि १०० न्यानोग्राम पर एमएल हुँदा सामान्य मानिन्छ । हाम्रो स्वास्थ्यका लागि यति हुनु राम्रो हो । त्यस्तै २० देखि २९ न्यानोग्राम पर एमएल हुनु भनेको पनि अपार्याप्त मानिन्छ भने २० भन्दा कम भयो भने स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छन् । यो बाहेक अन्य जाँचहरु जस्तै क्याल्सियमको लेवल, फस्फोरसको लेवल जाँच गरेर पनि भिटामिन डी को अवस्था पत्ता लगाउन सकिन्छ ।
प्रायजसो बिहानको घामबाट मात्रै भिटामिन डी पाइन्छ भनिन्छ । दिउँसोको घामबाट नपाउने हो ?
पहिले पहिले बिहान ८ देखि १० बजेको घामबाट भिटामिन डी पाइन्छ भनिन्थ्यो । तर बिहान ८ देखि दिउँसो ३ बजेसम्मको समयमा जतिबेला बस्दा पनि सूर्यको प्रकाशबाट आउने भिटामिन डी को लेबल एउटै हो । त्यसैले बिहानकै समयमा मात्रै घाममा बस्दा भिटामिन डी पाइन्छ भन्नु गलत हो ।
कस्ता खानेकुराहरुबाट भिटामिन डी प्राप्त हुन्छ ?
भिटामिन डी युक्त खानेकुराहरुमा प्रायजसो सबैले प्रयोग गर्ने अण्डाको पहेँलो भाग, दूध तथा दूधजन्य परिकारहरु, माछाका विभिन्न प्रजातिहरुमा पाइन्छ भने बजारमा पाइने विभिन्न खाद्यका सामाग्रीहरुमा पनि भिटामिन डी मिसाइएको पाइन्छ ।
भिटामिन डी कै कारण स्वास्थ्यमा समस्या लिएर कुन उमेर समूहका बिरामीहरु धेरै आउने गर्दछन् ?
भिटामिन डी का कारण इम्युनिटी कमजोर भएर विभिन्न संक्रामक रोगहरुको संक्रमणको समस्या लिएर आउने बिरामीहरुमा बालबालिका, युवादेखि लिएर सबै उमेर समूहका मानिसहरु आउने गर्दछन् ।
त्यस्तै क्यान्सर, मधुमेह लगायतका दीर्घरोगको समस्या भएका बिरामीहरुमा पनि भिटामिन डी कमी भएको पाइन्छ ।
भिटामिन डी ले मानसिक स्वास्थ्यमा पनि असर गर्ने हो ?
मानसिक स्वास्थ्यको लागि पनि भिटामिन डी आवश्यक मानिन्छ । जसको कमीले मानिसहरुमा विभिन्न किसिमका नकारात्मक सोचहरु आउने, साइकोसिस हुने, डिप्रेसन, एञ्जाईटी, लगायतका मानसिक समस्या निम्त्याउने विभिन्न अध्ययनहरुबाट प्रमाणित भएको छ ।
भिडामिन डी कमी हुन नदिन के गर्ने ?
यसबाट बच्ने मुख्य उपाय सूर्यको प्रकाशमा बस्नु नै हो । थोरै भएपनि समय लिएर लामो बाहुला भएको लुगा नलगाई हातखुट्टाहरुबाट सूर्यको किरण छालाभित्र पस्न दिनुपर्छ । त्यस्तै सन्सक्रिमहरुको प्रयोग धेरै नगर्ने जस्तै एसपीएस १५ भन्दा माथिको सन्सक्रिमहरु लगाएर घाममा बसे पनि हाम्रो शरीरले भिटामिन डी प्राप्त गर्नै सक्दैन ।
त्यस्तै दिनभर भित्रै बसेर काम नगर्ने बेला बेलामा बाहिर निस्किने, भिटामिन डी युक्त खानेकुराहरु खाने र यदि स्वास्थ्यमा समस्या नै देखिएको छ भने पछिल्लो समय विभिन्न किसिमका औषधीहरु पनि पाइन्छ । त्यसको प्रयोग गर्न सकिन्छ ।













प्रतिक्रिया