अधिक तरलताको लाभ लिइहालौँ, अब ब्याजदर बढ्छ | Khabarhub Khabarhub

आइएसएसआर नीति बहस

अधिक तरलताको लाभ लिइहालौँ, अब ब्याजदर बढ्छ



जलविद्युत, पर्यटन र कृषि क्षेत्रका सरोकारवालाहरूले उठाउनुभएका विषयलाई म केही कोणबाट हेर्न चाहन्छु । पहिलो – अहिले नेपालको अर्थतन्त्रको एक्स्टर्नल सेक्टर (वाह्य क्षेत्र) बलियो छ । १६ अर्ब ७६ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिती छ । यो रकमले १४.६ महिनालाई आवश्यक वस्तु तथा सेवा आयात गर्न पुग्छ ।

तर, रेमिट्यान्सको वृद्धिदर दोहोरोबाट एकल प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको पाँचौँ महिना (पुस) मा त रेमिट्यान्स वृद्धिदर चार प्रतिशतमात्रै रहेको छ । पर्यटन क्षेत्रलाई हेर्दा पर्यटकको सङ्ख्या र उनीहरूले गर्ने खर्च बढिरहेको छ ।

पर्यटनबापत हुने हाम्रो खर्च पनि त्यत्तिकै छ । त्यसैले सेवा क्षेत्रमा देखिएको जुन किसिमको घाटा छ, रेमिट्यान्स जसरी घटिरहेको छ – यसले केही सङ्केत गरेको छ । हामीले बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य रकम (तरलता)को कुरा गरिरहेका छौँ । अहिले जसरी निजी र सार्वजनिक क्षेत्रले लगानी बढाउन तरलता उपलब्धताको लाभ जसरी लिन सक्छन् – यो अवस्था धेरै लामो समयसम्म रहने देखिँदैन । यद्यपी; केन्द्रीय बैंकले तीन खर्ब रुपैयाँ हाराहारीमा हरेक दिन रकम उठाइरहेको अवस्था छ ।

यहाँ अर्को द्विविधा पनि पनि हुने गरेको छ । बजारबाट उठाएको रकममा किन केन्द्रीय बैंकले तीन प्रतिशत ब्याज तिरेको भन्ने प्रश्न गर्ने गरिन्छ । चार वर्षअघि वि.सं. २०७७ जब राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयनमा ल्याउनुअघि निक्षेपको दर एक प्रतिशतभन्दा पनि तल झरेको थियो । अहिले निक्षेपको दर तीन प्रतिशतभन्दा तल आउन पाएको छैन । त्यसैले, बचतकर्तालाई मर्का नपरोस् भनेरै राष्ट्र बैंकले ब्याजदर करिडोर व्यवस्था कार्यान्वयन गरिरहेको अवस्था छ ।

उत्पादन र निर्माणलाई अर्थतन्त्रको वास्तविक क्षेत्र भनिन्छ । ऊर्जा, पर्यटन र कृषि क्षेत्रको विकासबारे चिन्ता र चासो व्यक्त भइरहेको छ । स्वाभाविक रूपमा नेपालको तुलनात्मक लाभ भएका, हामीले अन्तरराष्ट्रिय बजारबाटै प्रतिष्पर्धात्मक लाभ लिन सक्ने क्षेत्र उदाउँदो सूचना–प्रविधिसहित यीनै तीन क्षेत्र हुन् । घरेलु उद्योगले हामीलाई भरथेग गर्न सक्छ ।

त्यसैले केन्द्रीय बैंकले यी क्षेत्रको विकासमा केही नीतिगत व्यवस्था गरेको छ । ऊर्जा क्षेत्रमा बैंकहरूको कम्तिमा १० प्रतिशत कर्जा लगानी हुनुपर्ने प्रावधान छ । अहिले करिब ८.४ प्रतिशत लगानी भएको देखिएको छ । दुई करोड रुपैयाँसम्मका साना घरेलु लघु उद्योगहरूमा बैंकले १५ प्रतिशत कर्जा लगानी गर्नुपर्छ । यस्ता उद्योगमा पनि करिब १०.८ प्रतिशतजति कर्जा प्रवाह भएको छ । कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत हिस्सा प्रवाह गर्नुपर्ने भनिएको छ, १३ प्रतिशत पुगेको छ । बैंक/वित्तीय संस्थाहरूले वि.सं. २०८४ असारभित्र यी सबै लक्ष्य भेट्नुपर्छ ।

नेपालको अर्थतन्त्रमा अहिले एक किसिमले म्याक्रोइकोनोमिक ब्यालेन्स (समष्टिगत आर्थिक सन्तुलन) हुन सकेको छैन । यसो हुनुमा मुख्य दुई कारण छन् । एउटा –२०७३/०७४ देखि लगातार तीन आर्थिक वर्षमा हाम्रो आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि रह्यो । त्यो सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिलाई चार कुराले हाँकेको थियो ।

पोस्ट अर्थक्वेक रिकन्स्ट्रक्सन (भूकम्पोत्तर पुनःनिर्माण) पहिलो आधार थियो । अन्तरराष्ट्रिय बजार अनुकूल अवस्थामा थियो । विश्वव्यापी मुद्रास्फीति नियन्त्रित र अर्थतन्त्र राम्रो भएको, भूराजनीतिक तनाव नभएको अवस्था थियो । त्यतिखेर नेपालले पनि सङ्घीयता प्रभावकारी कार्यान्वयन गरिरहेको थियो । गाउँ गाउँमा स्रोत जान थालेको थियो, स्रोत परिचालन बढेको थियो । आर्थिक वृद्धि र रोजगारी सृजनामा सहयोग पुर्‍याएको थियो ।

ती तीन आर्थिक वर्षमा ठूला पूर्वाधार परियोजनामा काम भइरहेको थियो । पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाजस्ता ठूला परियोजना बनाउने क्रम जारी थियो । तर, त्यसपछिका वर्षमा आर्थिक वृद्धिदर बढ्ने खालका अवसर हामीले पाएका छैनौँ । जाजरकोट भूकम्पोत्तर पुनःनिर्माण र असोज दोस्रो साता चलेको बाढीपहिरोपछि हुनुपर्ने पुनःनिर्माणमै हामी पछि परेका छौँ । पुनःनिर्माण थाल्नेबित्तिकै समष्टिगत माग बढ्न थाल्छ । त्यो मागले बैंकिङ क्षेत्रको सङ्कटग्रस्त सम्पत्तिलाई पनि घटाउन सहयोग गर्छ ।

अहिले त पूँजीगत खर्च बढाउन निकै राम्रो अवसर छ । अमेरिकामा १० वर्षे बण्डको ब्याजदर चार प्रतिशत छ । १५/२० दिन अघिसम्म हाम्रो नेपालमा पनि सरकारको १० वर्षे बण्डको ब्याजदर ४.२ प्रतिशत रहेको अवस्था थियो । नेपाल र अमेरिकीमा पुँजीको लागत एकै स्तरमा हुनु भनेको गजबको अवसर हो । तर, त्यो अवसर विस्तारै केही महिनापछि नहुन सक्छ ।

म केही दिन अघिको मात्रै उदाहरण दिन्छु । सरकारले गत बुधबार बण्डबाट १० अर्ब रुपैयाँ उठाउन खोजिरहेको थियो । त्यसको ब्याजदर ५.४९ प्रतिशत कायम भएको छ । एक महिनाअघि त्यसको ब्याजदर ४.३ प्रतिशतजति थियो । त्यसैले अबका दिनमा अहिले झैँ तरलता फालाफाल हुँदैन । यो सुविधा धेरै लामो समयसम्म रहँदैन ।

अहिलेको आवश्यकता धितो व्यवस्थापन गर्ने, लगानीको क्षेत्रमा देखिएको निराशा घटाउने, निष्क्रिय कर्जा (एनपीएल) घटाउने हो । आर्थिक गतिविधि बढाउनु नै यी सबै समस्याको समाधान हो । अर्थतन्त्रको वास्तविक क्षेत्रमा जुन दबाब देखिएको छ – त्यसलाई व्यवस्थापन गर्न आर्थिक क्रियाकलाप बढाउने नै हो ।

उल्लेखित काम तबमात्रै हुन्छ – जब सरकारले बजेट खर्च बढाउँछ । हामीले गरेको अध्ययन र भारतमा भएको काम हेर्दा पूँजीगत खर्चको गुणात्मक असर साढे दुई गुणा हुन्छ । त्यसैले, बैंकिङ क्षेत्रमा देखिएको दबाब समेतलाई कम गर्न समग्र अर्थतन्त्रलाई नै हेर्नुपर्ने हुन्छ ।

वित्तीय क्षेत्रले बचत परिचालन र जोखिम हस्तान्तरण लगायत काम गर्छ । मैले अमेरिकामा फाइनान्स एण्ड डेभलपमेन्ट पढ्दा एकजना प्राध्यापक हुनुहुन्थ्यो । उहाँले विश्व बैंक निर्देशकका रूपमा २० वर्ष काम गर्नुभएको थियो । त्यसपछि उहाँ हामीले पढ्ने विद्यालयमा पढाउन आउनुभएको थियो । उहाँले पढाउँदा भन्नुभएको थियो – वित्तीय क्षेत्रले अर्थतन्त्रलाई पुर्‍याउने योगदान ‘टोटल फ्याक्टर प्रोडक्टिभिटी’बाट आउँछ ।

यसो भन्नुको अर्थ हो – राम्रा र बलिया संस्था बन्नुपर्‍यो । बैंक भएरमात्रै हुँदैन, बैंकसँगै अन्य संस्थागत सुधार हुनुपर्छ । जस्तो कि – किसानले उत्पादन गरेपछि फसलको बजारीकरण सुनिश्चितता महत्वपूर्ण छ । ऊर्जा क्षेत्रमा विद्युत प्रवाह गर्ने ट्रान्समिसन लाइन समयमै बनाउनुपर्छ । पर्यटन क्षेत्रमा लगानीको सुरक्षाको कुरा होला ।

हाम्रो आवश्यकता संस्थागत सुदृढीकरण हो । हाम्रा संस्थाहरूलाई बलिया बनाउने कुरा सबैभन्दा महत्वपूर्ण हो । अर्थतन्त्र सुदृढ या कमजोर बनाउने भन्नेमा सरकारी र निजी लगायत सबैखाले संस्थाको भूमिका हुन्छ । अब हामी ‘स्पेशलाइज बैंकिङ’मा जानुपर्ने हो कि होइन ? पुनःविचार गर्नुपर्छ । कुनै समयमा कृषि क्षेत्रका लागि भनी कृषि विकास बैंक खोल्यौँ । औद्योगिक क्षेत्र विकासका लागि आद्यौगिक विकास निगम भन्यौँ । सोही मोडालिटीमा हामीले फेरि पुनःविचार गर्नुपर्ने हो कि !

अर्को महत्वपूर्ण सवाल स्रोत केन्द्रीकरणको हो । कतै थोरै मानिसकहाँ नै भएभरको स्रोत केन्द्रित त भइरहेको छैन ? हरेक सर्वेक्षणले पनि यस्तो भइरहेको देखाएको छ । त्यसैले अर्थतन्त्रमा स्रोतको वितरणलाई कसरी न्यायसङ्गत बनाउने ? यसतर्फ हेर्नुपर्छ । खुला बजार अर्थतन्त्रमा सबैलाई बराबर स्रोत दिन सम्भव नहोला । तर प्रभावकारिता सँगसँगै ‘इक्विटी मेन्टेन’ गर्नु अर्को महत्वपूर्ण मामिला हो ।

भिडियोः

वाह्य बसाइँसराइलाई पनि हामीले अर्थतन्त्रसँग जोडेर हेर्नुपर्छ । देशभित्रै पनि पहाडबाट तराईतिर र गाउँबाट शहरतिर आन्तरिक बसाइँसराइ बढिरहेको छ । यसबाट परेको असर व्यवस्थापन गर्नुपर्छ । हामीले यसतर्फ ध्यान दिएर काम गर्‍यौँ भने मानिसहरूमा सकारात्मक अपेक्षा बढ्न सक्छ । हामीले मौद्रिक नीतिका कुरा गर्छौँ । त्यसको सबैभन्दा महत्वपूर्ण ‘च्यानल’ नै सकारात्मक अपेक्षा हो । सकारात्मक अपेक्षा बढ्न थाल्दा वित्त र निजी क्षेत्र दुबैबाट अर्थतन्त्रमा माग बढ्छ । त्यसो हुनासाथ अहिले देखिएका तनाव घट्न थाल्छन् ।

अन्त्यमा म पुनः जोड दिन चाहन्छु कि सार्वजनिक र निजी क्षेत्रले लगानी गर्न अहिले नै सबैभन्दा राम्रो अवसर हो । यो अवसर अबको पाँच/सात वर्षसम्म नआउन सक्छ । किनकी हामीले अहिले एकल अङ्कको ब्याजदर जो अहिले देखिरहेका छौँ, सरकारले सस्तो ब्याजदरमा ऋण पाइरहेको छ, बैंकिङ क्षेत्रमा अधिक तरलताको अवस्था छ । यो अवस्था सधैँका लागि रहँदैन । त्यसैले, निजी र सरकारी क्षेत्रले समन्वय गरी यो अवसरको अधिकतम सदुपयोग गर्नुपर्छ, अधिकतम लाभ लिनुपर्छ ।

(इन्स्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबले बिहीबार संयुक्त रूपमा आयोजना गरेको ‘बैंकिङ र वित्तीय सरोकार : जलविद्युत, कृषि र पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा डा. भट्टले राखेका विचारको सम्पादित अंश ।)

यो पनि –

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ०४ बजे

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ