हटारुले बस्ती बसाएको तेलपानीमा वञ्चित विकास (तस्बिरहरू) « Khabarhub

हटारुले बस्ती बसाएको तेलपानीमा वञ्चित विकास (तस्बिरहरू)

मध्यवर्तीमा सकस झेल्दै, सडक कुर्दै स्थानीय


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कुनै बेला यो हटारुको बाटो थियो । सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानी गाउँ हुँदै विगतमा अछाम, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लाका बासिन्दाहरू बर्दियाको राजापुर र भुरेगाउँसम्म हाट भर्न हिँड्थे ।

यही बाटो भएर आवतजावत गर्नेहरू वि.सं. २०२२ तिर तेलपानी गाउँमा घर नै बनाएर बस्न थाले । मानिसहरूको आवातजावत धेरै हुने भएकाले त्यतिबेला व्यापार–व्यवसाय पनि राम्रै हुन्थ्यो ।

अहिले हाट जाने चलन हरायो । गाउँ–गाउँमा सडक पुगेपछि हाटबजार पनि गाउँमै पुगे । गाउँमा हाटबजार पुगेपछि तेलपानी गाउँको रङ्ग पनि हरायो ।

शिक्षा, स्वास्थ्य र सडकले राम्रोसँग नछोएको गाउँ अहिले उजाड र खाली छ । विगतमा गाउँमा खेतीपाती गर्दै आएका मानिसहरू पनि गाउँ छोडेर बसाइँ हिँडिरहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि पर्ने भएकाले जङ्गली जनावरको आतङ्क छँदैछ । गाउँमा स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवासम्मको पहुँच नहुँदा तेलपानी गाउँमा बस्ती छाड्नेहरू पनि बढ्दैछन् ।

यहाँबाट सुर्खेत जाने गाडी पाउने ठाउँसम्म पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ । बर्दिया जाने गाडी भेट्न थप एक घण्टा हिँड्नुपर्छ ।

तेलपानीमा बाँकी रहेका स्थानीय अहिले औषधी उपचारदेखि नुनतेल किन्नका लागि प्रायः बर्दियातिरै जाने गरेका छन् ।

कक्षा आठसम्म अध्ययन गराइने विद्यालय भए पनि गाउँको स्कूलमा विद्यार्थी निकै कम छन् । अधिकांश विद्यार्थीहरू अध्ययन निम्ति शहरबजारमै बस्ने गरेका छन् ।

गाउँमा खेतीपाती गर्नका लागि वृद्धवृद्धामात्रै बस्ने गरेका सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानीका लक्ष्मणकुमार बडुवालले बताए ।

‘यो गाउँमा पहिला ११५ घरपरिवार थिए, अहिले ८५ परिवारमात्रै बाँकी छन्,’ उनले भने, ‘गाउँमा त वृद्धवृद्धामात्रै बस्ने गरेका छन् ।’

आलुखेती गर्दैछन् गाउँले

लगाएको बालीनाली बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले नष्ट गर्ने भएका कारण यहाँका स्थानीयबासी आलुखेतीतर्फ लागेका छन् ।

वर्षायाममा बँदेल र बाँदर लगायतका वन्यजन्तुले बालीनाली सखाप बनाउने गरेको तेलपानीका स्थानीय देवीराम ओलीले बताए ।

‘हामीले केही वर्षयता आलुखेती गर्दै आएका छौँ,’ उनले भने, ‘विगतमा भन्दा अहिलेहाल आलुखेतीबाट केही राम्रो आम्दानी लिन थालेका छौँ ।’

तेलपानी गाउँको बस्ती पातलो हुँदै जानुमा वन्यजन्तुले बालीनाली सखाप पार्नु नै मुख्य कारण थियो । तर, अहिलेहाल भने तेलपानीमा आलुखेती राम्रो हुने गरेको स्थानीय लक्ष्मणकुमार बडुवालले बताए ।

‘तै पनि बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले कहिलेकाहीँ खेतीबालीमा क्षति पुर्‍याउने गर्छन्’, बडुवालले भने, ‘आलुखेतीमा चाहिँ बन्यजन्तुले खासै क्षति पुर्‍याएका छैनन् ।’

आलु उत्पादनका हिसाबले तेलपानीमा ठूलो सम्भावना रहेको, तर यहाँ उत्पादन हुने आलुले उचित मूल्यसहित बजार पाउन नसकेको स्थानीय टीका बिकले बताए ।

वन्यजन्तुबाट कृषि र पशुधन जोगाउनै गाह्रो

तेलपानी मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले जङ्गली जनावरले किसानका गाईवस्तु तथा बालीनाली खाइदिने गरेका छन् । समय–समयमा बाघ र चितुवाले सताउने गरेको छ । गत कात्तिकमा मात्रै ३० वटा बाख्रा चितुवाले खाएको स्थानीय गङ्गादेवी रखालले बताइन् ।

वन्यजन्तुले स्थानीयको बालीनाली तथा वन्यजन्तु खाइदिँदा बर्दिया राष्ट्रिय निकुञ्जले राहत दिने गरेको छ । पशुवस्तुको मूल्यभन्दा निकुञ्जले दिने राहत निकै कम हुने हुनाले आफूहरूलाई नोक्सान पर्ने गरेको गङ्गादेवीले दुःखेसो पोखिन् ।

‘२५ हजारदेखि ३० हजार रुपैयाा मूल्य पर्ने पशुवस्तुको राहत मूल्य आठ हजारदेखि १० हजार रुपैयाँमात्रै पाइन्छ,’ उनले भने, ‘बालीनाली जति सखाप पारे पनि चार/पाँच हजार रुपैयाँसम्म हात लाग्छ, तर आफ्नो हजारौँ रुपैयाँ नोक्सान भएको हुन्छ ।’

विगतमा वर्षहरूमा खासै क्षति नगरे पनि बस्तीमा मानव बसोबास घट्दै जाँदा घरघरमै बाघ तथा चितुवा आउने गरेका उनले बताइन् ।

सडक कुर्दै स्थानीयबासी

तेलपानी विकास नहुनुमा सडक पनि मूल कारण रहेको छ ।

पाँच दशकअघि चिट्ठीपत्र पुर्‍याउन खनिएको भुरीगाउँ–तेलपानी सडक सुदूरपश्चिम र कर्णाली प्रदेशको लाइफलाइनका रूपमा विस्तार हुने भनिएको थियो ।

भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ ।

आर्थिक वर्ष २०७६/७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई योजनामा समेटेको छ, तर निर्माण प्रगति निराशाजनक छ ।

२०७६/७७ मा दुई खण्डमा विभाजन गरी सडक निर्माण ठेक्का लगाइएको थियो । २०७८ फागुन ८ गतेसम्मको म्याद तोकिए पनि काम अघि बढेन ।

यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

२०८० मंसिर १३ गतेसम्ममा काम पूरा गर्ने सर्त भए पनि हालसम्म ७०० मिटर सडकमात्रै कालोपत्रे भएको छ ।

मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकखण्डअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका– २ को रानीघाटस्थित भेरी नदीमाथि निर्माण गर्दागर्दैको पुल १२ वर्षदेखि अलपत्र अवस्थामा छ ।

२८ पुस २०७२ मा पुल निर्माण सम्पन्न गर्नेगरी ६ असार २०६९ मा पप्पु कन्स्ट्रक्सन/मल्ल जेभीसँग १४ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनीहरूले यो पुल अझैसम्म तयार पारेका छैनन् । नेपालको निर्माण क्षेत्रमै सबैभन्दा बदनाम पप्पु कन्स्ट्रक्सनको हातमा ठेक्का परेको यो पुल कहिलेसम्म निर्माण भइसक्ने हो, कुनै टुङ्गो छैन ।

हाल रानीघाटदेखि तेलपानीसम्म ट्याक्टर त चल्ने गरेका छन्, तर आवागमन सहज छैन । यो सडकमा सामान ढुवानी गर्दा १२ हजार रुपैयाँसम्म भाडा तिर्नुपर्ने बाध्यता छ ।

सडक नहुँदा स्थानीय कृषि उत्पादन बोकेर सुर्खेत र बर्दियासम्म लैजानुपर्ने बाध्यतामा आफूहरू रहेको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ०४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट