हङकङ– हङकङ सरकारले हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष टंक रानालाई राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार (मेन्टर)को रूपमा नियुक्त गरेको छ ।
दुई दिनअघि रानालाई हङकङको सुरक्षा सचिवालय र गृह तथा युवा मामिला विभाग (मन्त्रालय) ले याय चि मोङमा आयोजित एक समारोहमा राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकारको रूपमा नियुक्त गरेको हो । राना करिब तीन दशकदेखि हङकङ बस्दै आएका छन् ।
विभिन्न समयमा नेपाल र हङकङमा दिएको योगदान, सामाजिक सेवा र चिनिया भाषा प्रशिक्षण सफल भएपछि रानालाई हङकङ सरकारले सल्लाहकारमा नियुक्त गरेको हो । उनलाई याउ चि मोङका जिल्ला प्रमुख एडवार्ड यु ले नियुक्ति पत्र प्रदान गरेका थिए ।
रानाले कोभिड–१९ चर्किएको बेला हङकङमा मास्क नपाएपछि नेपालबाट मगाएर हङकङमा हजारौँलाई निःशुल्क वितरण गरेका थिए ।

दोस्रो लहरमा नेपालमा अक्सिजन कन्सन्ट्रेटरको माग धेरै भएको बेला २ सय ५० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर पूर्वको ताप्लेजुङको विकट ओलाङ्चुङ गोलादेखि पश्चिमको महाकालीको लिपुलेक, लिम्पियाधुरासम्म वितरण गरेका थिए ।
हङकङ सरकारबाट आफू राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकारको रूपमा नियुक्ति पाउँदा थप जिम्मेवारी र दायित्वबोध भएको रानाले बताए ।
उनले खबरहबसंग भने, ‘यो नियुक्ति मेरो लागि ‘सरप्राइज’ जस्तै भयो । हङकङमा बस्ने कमै मात्र अल्पसंख्यक समुदायले यस्ता नियुक्ति पाउने गरेका छन् ।’
हङकङ सरकारको केयर टिममा समेत आबद्ध उनले सामुदायिक सुरक्षा शिक्षामा योगदान पुर्याउन पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको र आधिकारिक रूपमा जिम्मेवारी पाएकाले प्रतिबद्ध भएर समाजमा जागरूकता प्रवर्द्धन गर्न, लचिलोपन बढाउन र हङकङमा बस्ने नेपाली समाज र चिनिया समाजबीको सम्बन्धलाई प्रगाढ बनाउन लाग्न थप प्रेरित गरेको बताए ।
उनले आफूलाई जिम्मेवारी सुम्पने हङकङ सरकार, विशिष्ट अधिकारीहरू र एडवर्ड युलाई हार्दिक धन्यवाद दिँदै सुरक्षित र उज्ज्वल भविष्य निर्माण गर्न सँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको बताए । उनी दर्जन बढी परोपकारी संस्थामा सक्रिय रहँदै आएका छन् । उनले भने, ‘मैले कर्मथलोको रूपमा हङकङलाई रोजेपनि हङकङ सरकारको कानून र परम्परालाई सम्मान र पालना गर्दै नेपालीको प्रतिनिधित्व गरेको छु ।’
एक साता अघि मात्र राना हङकङको याउमा तेई काइफोङ संघले आफ्नो ७५औँ वार्षिकोत्सव मनाएको अवसरमा संघको सञ्चालक समितिमा सम्मानित सदस्यका रूपमा मनोनीत गरेको थियो ।

राना हङकङमा चिनिया उद्योगी व्यावसायीहरुसँगको सहकार्यमा व्यापार व्यवसाय पनि गर्दै आएका छन् । याउमा तेई काइफोङ संघ हङकङको पुरानो र प्रतिष्ठित सामाजिक संस्था मानिन्छ । उक्त संस्थाले हङकङमा बसोबास गर्ने अल्पसंख्या जातीहरू मध्ये नेपाली समुदायको तर्फबाट मनोनीत गरेको हो ।
हङकङका सरकारी निकायका अवकाश प्राप्त अग्रजहरू, त्यहाँका धनाढ्य कम्पनीका सञ्चालकहरू बोर्ड अफ डाइरेक्टरका रूपमा रहने गरेका छन् । रानालाई यसअघि नेपाल सरकारबाट सामाजिक सेवा पदक प्राप्त गरेका छन् भने हङकङ सरकारले एक्टिभ कमेण्डेसन सर्भिस अवार्डबाट सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया