पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा सामान्य विवादका कारण मतदान सुरु हुन सकेको छैन । अखिल छैटौँका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोष्ठक छुटेपछि मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।
अखिल (छैटौँ) का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग नै हुने चेतावनी दिएका छन् । अहिले मतपत्रमा आफ्नो संगठनको अध्यक्षको उम्मेदवारलाई भोट गर्ने कोस्ट नराखीकन मतपत्र छापेकोले गर्दा गम्भीर ध्यानाकर्षण भएको उनले विज्ञप्तिमा भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ , ‘यस देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा विगत लामो समय देखि करिब १६ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचनमा हाम्रो सक्रिय संगठन उत्साहजनक रूपमा लागेको र उम्मेदवारी समेत दर्ता गरेको तर निर्वाचन आयोगका अध्यक्षको उम्मेदवारलाई निर्वाचन समितिको बैठकमा नै दलित समुदायलाई आँच पुग्ने अभिव्यक्ति दिएको र अहिले मतपत्रमा उक्त अध्यक्षको उम्मेदवारलाई भोट गर्ने कोस्ट नराखीकन मतपत्र छापेकोले गर्दा हाम्रो संगठनको ध्यान आकर्षण भएको छ ।’
यसैगरी अध्यक्षका स्वतन्त्र उम्मेदवार कमल सुवेदीले पनि विज्ञप्ति जारी गरी क्याम्पस प्रशासनलाई यथाशीघ्र स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा तुरुन्त निर्वाचन गर्न अपिल गरेका छन् ।
बिहान ८ बजेबाट हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन क्याम्पस प्रशासनको लापरबाहीको कारण हुन नसकेको उनले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यो लापरबाही सुन्दा प्राविधिक त्रुटि बुझिए पनि क्याम्पस प्रशासनको स्वतन्त्र उम्मेदवारले जित्ने लगभग निश्चित भइसके पछाडि गरिएको सुनियोजित षडयन्त्र हो ।’
पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा समेत चुनावी प्रक्रिया सहज रूपमा अगाडि बढेको छैन । क्याम्पसको होस्टेलमा रहेका विद्यार्थीले मतदान गरे पनि बाहिरका विद्यार्थीलाई गेटबाट पस्न रोक लगाइएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन गरेका कारण विद्यार्थीहरू गेटभित्र पस्न पाएका छैनन् ।
नेपाल विद्यार्थी संघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस ( डब्लुआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृष्ण्जंग कार्की र राजीव अधिकारीले सोमबार बेलुकीबाट अनसन थालेका हुन् ।
नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उम्मेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो ।
निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए । तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनसन शुरू गरिएको अनसनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियु निर्वाचन हुन नसक्ने उनीहरूको अडान छ ।
आज त्रिभुवन विश्वविद्यालय आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदै छ । पृना र डब्लुआरसी बाहेक पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, विन्दवासिनी संस्कृत विद्यापीठ र जनप्रिय क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्ने थियो । तर विद्यापीठ र जनप्रिय क्याम्पसको निर्वाचन स्थगित भइसकेको छ ।
राष्ट्रिय स्तरका नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनलाई धेरैले चासो र चिन्ता लिएका छन् । यहाँको स्ववियु चुनावलाई विद्यार्थी राजनीति मात्र नभई राष्ट्रिय राजनीति निर्माणको आधारशिलाका रूपमा समेत हेरिएको छ । मंगलबार उम्मेदवारी दर्ता समयमा पार्टीका जिल्ला तहका नेताहरू पृथ्वीनारायण क्याम्पसमा देखिएका थिए ।
अझ १६ वर्षसम्म हुन नसकेको चुनाव हुने माहौल बन्दा विद्यार्थीहरू उत्साहित देखिएका थिए । यसअघि २०६५ सालमा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट रश्मि आचार्य स्ववियु सभापति चुनिएका थिए । त्यसयता पृथ्वी नारायण क्याम्पसमा चुनाव हुन सकेको छैन ।
पृना क्याम्पसको स्ववियु कमान्डर बन्नका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने २ जना स्वतन्त्र रूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् ।
एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्याशी छन् ।
समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवारहरु पनि चुनावी मैदानमा छन् । क्याम्पस प्रशासनले चैत ५ गते हुने निर्वाचनका लागि तयारी तीव्र बनाएको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सबै संगठनलाई मिलाएर मतदान सुरु गरिने बताएका छन् ।
क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेको उनले बताए । क्याम्पसले निर्वाचन दिन आज पोखरा १ र ११ जोड्ने झोलुंगे पुल पनि बन्द गर्ने सूचना प्रकाशित गरेको छ ।
यसअघि उम्मेदवारहरूको सँगको संयुक्त बैठकका क्रममा दलित समुदायप्रति लक्षित शब्दप्रति पृथ्वीनारायण क्याम्पसका निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले माफी मागेका छन् । चैत १ गते विज्ञप्ति प्रकाशित गरी अधिकृत पोखरेलले माफी मागेका हुन् ।
उनले सोही दिन स्ववियु निर्वाचन समिति पृथ्वीनारायण क्याम्पस पोखरा र स्ववियु निर्वाचन २०८१ को प्रयोजनका लागि उम्मेदवारी दर्ता गरेका संघ, संघठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरूसँगको संयुक्त बैठकमा अभिव्यक्ति राख्ने क्रममा दलित समुदायप्रति ठेस पुग्ने शब्द उच्चारण गरेका थिए । त्यस शब्दप्रति आलोचना र विरोध पनि गरिएको थियो ।
अन्जानमा उच्चारण भएको शब्दले दलित समुदायप्रति ठेस पुगेको भन्दै उनले माफी मागेका हुन् । अबका दिनमा यस प्रकारको अभिव्यक्ति नआउने प्रतिविद्धतासमेत उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया