सुनसरी– धरान उपमहानगरपालिका–६ स्थित पाचकन्या जंगलमा गत चैत २५ गते दिउँसो स्थानीय बासिन्दाहरूले एक महिलाको शव देखेर प्रहरीलाई जानकारी दिए।
प्रहरीले शव देखेर सूचना जारी गर्यो, ‘जंगलमा भेटिएको शव अन्दाजी ३०-३२ वर्ष उमेरको मंगोलियन महिला जस्तो देखिने वर्णको, नाकमा नत्था, कानमा टप लगाएको, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी महिलाको शवको हातमा बोलानो ब्राण्डको घडी र सेतो बाला लगाएकी, सेतो खैरो कलरको जुत्ता लगाएकी महिला चिनेमा प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला ।’

प्रहरीले सामाजिक सञ्जालमा तस्बिर राखेर सनाखत गर्ने आफन्तको पर्खाइमा रहेको बेला तीन दिनपछि उनी धनकुटाको महालक्ष्मी नगरपालिका–१ माइती भएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी भएको पहिचान खुल्यो ।
शवको प्रारम्भिक जाँच गर्दा आत्महत्या नभएर हत्या भएको आशंका गर्दै प्रहरी थप अनुसन्धानमा जुट्यो । चुनकुमारीको माइती पक्षले चैत २८ गते साँझ धरानमा किटानी जाहेरी दिए ।
जाहेरीमा हत्यारा खोजेर कारवाही माग गरिएको थियो । माइती पक्षले वैदेशिक रोजगारीमा दक्षिणकोरिया रहेका चुनकुमारीका ३१ वर्षीय श्रीमान् प्रेम बुढाथोकीलाई झिकाउनुपर्ने मागसमेत राखे । माइती पक्षले जाहेरी दिएपछि शव पोष्टमार्टम गर्ने बाटो खुल्यो । चैत २९ गते मात्रै चुनकुमारीको शवको पोष्टमार्टम भयो ।

डिभोर्स नदिँदा पतिकै निर्देशनमा हत्या
पति प्रेमकै सल्लाहअनुसार चुनकुमारी इटहरी उपमहानगरपालिकाको हलगडामा कोठाभाडा बस्दै आएकी थिइन् । उनले साथमा नाबालक छोरालाई राखेर पढाइरहेकी थिइन् ।
प्रहरीकाअनुसार कोरियामा रहेका पति प्रेम र चुनकुमारीबीच पारिवारिक विवाद र असनतुष्टि थियो । पति-पत्नीबीचको सम्बन्धमा धरार आएर तनाव बढ्दै गएको थियो । त्यसपछि प्रेमले डिभोर्स मागे । चुनकुमारीले नदिने अडान लिइन् ।
चुनकुमारीले डिभोर्स नदिने भएपछि प्रेमले नै हत्याको योजना बनाएर परिवारका अन्य सदस्यलाई त्यहीअनुसार काम गर्न निर्देशन दिएको रहस्य खुलेको छ ।
प्रहरीले चुनकुमारी हत्या प्रकरणमा कोरियामा रहेका प्रेमसहित परिवारकै ६ जना संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
हत्या आरोपमा पक्राउ परेका ६ जनामध्ये मृतकका पति प्रेमलाई कोरियाबाट आएलगत्तै प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइसकेको छ ।
पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार धनकुटाको महालक्ष्मी नगरपालिका-२ बस्ने प्रेमबहादुर बुढाथोकी, मोरङको पथरी शनिश्चरे नगरपालिका– ३ संगमचोक बस्ने २९ वर्षीय ढकेन्द्र बुढाथोकी (प्रेमका सहोदर भाइ) र उनकी श्रीमती २५ वर्षीया सृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ गाउँपालिका– ७ लुमाङदिङ घर भई ७ वर्षदेखि मोरङको उर्लाबारी नगरपालिका-५ फागुटोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम (प्रेमका कान्छा ज्वाइँ), उनकी श्रीमती २८ वर्षीया डेनु गौतम र मोरङकै पथरी शनिश्चरे नगरपालिका- ३ का ४० वर्षीय केशवराज दाहाल छन् ।
हत्यामा संलग्न भारतीय नागरिक आसामको तेजपुर खकन बस्तीका ३५ वर्षीय राजु थापा मगर (प्रेमकी भाइ बुहारी सृष्टिका दाजु) फरार छन् । मगरलाई पक्राउ गरेर ल्याउन भारतीय प्रहरीसँग समन्वय र पहल भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले बताए ।
स्कुटर सिकाउने बहानामा जंगल लगेर हत्या
प्रहरीका अनुसार चुनकुमारीको शव चैत २५ गते मध्याह्न साढे १२ बजे पाचकन्या जंगलमा भेटिए पनि उनको हत्या २४ गते राति नै कुटपिट गरेर भएको अनुसन्धानबाट खुलेको छ ।
प्रेमले चुनकुमारीलाई परपुरुषसँगको सम्बन्ध भएको शंका गरेपछि दम्पतीबीचको सम्बन्ध बिग्रिँदै जघन्य हत्या हुन पुगेको प्रहरी उपरिक्षक (एसपी) सुमन तिम्सिनाले जानकारी दिए । पाँच वर्षदेखि चुनकुमारी र प्रेमबीच खटपट हुँदै आएको बयान पनि पक्राउ परेकाहरूले दिएका छन् । प्रेम गत पुसमा नेपाल आएर कोरिया फर्किएका थिए । परिवारकै मिलोमतोमा चुनकुमारीको हत्या भएको प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक तिम्सिना, कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रनाउ दुर्गा दाहाल, धरानका प्रनाउ प्रकाश जबेगु र प्रहरी निरीक्षक दिवस कुँवरले शवको सनाखत हुनासाथ अनुसन्धान गरेका थिए ।
अनुसन्धानमा सम्लग्न धरानका प्रनाउ जवेगुले भने, ‘चुनकुमारीको हत्या गर्ने पुर्वयोजना अनुसार नै मृतकको छोरालाई अघिल्लो दिन पहाड घर पठाएछन् । मृतकलाई श्रीमानले आफन्त भेट्न पठाएको जस्तो गरे । योजना वमोजिम राती जंगलमा ल्याएर कुटपिट गरी हत्या गरेको देखिएको छ ।’
घटना विवरण
हत्या गर्ने योजनाअनुसार चुनकुमारीलाई ज्वाइँ नाता पर्ने योगेन्द्रले स्कुटर सिकाउने प्रस्ताव गरे । चुनुकुमारीले फोन सम्पर्कमार्फत् कोरियामा रहेका पति प्रेमसँग स्कुटर चलाउन सिक्नेबारे अनुमतिका लागि सोधिन् । प्रेमले पनि ‘सिक्दा राम्रो हुन्छ, स्कुटर चलाउन सिक’ भनेर अनुमति दिए ।
ज्वाइँको भरोसामा उनी स्कुटर सिक्न तयार भइन् । ज्वाइँ योगेन्द्रले स्कुटर सिकाइदिने बहानामा चुनकुमारीलाई पछाडि चढाएर जंगलतिर लगे । बाटो भुलेको भन्दै झुक्याएर गौतमले चुनकुमारीलाई धरानको पाँचकन्या जङ्गलमा पुर्याए । त्यहाँ पुर्याएपछि उनले झोलाको फित्ताले घाँटीमा बाँधेर कुटपिट गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
कुटपिटका क्रममा गौतमले करङ भाँचिदिएको खुलेको छ । त्यसपछि घिस्रादै लगेर चुनकुमारीलाई रुखको फेदमा बाँधी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चुनकुमारीलाई चरम यातना दिएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा खुलेको छ ।
हत्या गराउनकै लागि आर्थिक प्रलोभन देखाएर भारतको असमबाट प्रेमकी बुहारी सृष्टिका दाजु राजु थापा मगरलाई पनि बोलाएको देखिएको छ ।
तिम्सिनाले भने, ‘अनुसन्धानको प्रारम्भिक चरणमै छौँ । हत्याका कारण अन्य पनि हुनसक्छन् । ती खुल्न बाकी छन् ।’
उनका अनुसार प्रहरीले चैत २९ गते ढकेन्द्र बुढाथोकी, उनकी श्रीमती सृष्टि बुढाथोकी, डोनु बुढाथोकी र केशवराज दाहाल उनीहरूकै घरबाट पक्राउ परेका थिए । चैत ३० गते योगेन्द्र गौतमलाई नेपाल-भारत सीमाक्षेत्र काकडभिट्टाबाट पक्राउ गरेको थियो ।
मुख्य योजनाकार मानिएका मृतकको पति प्रेमबहादुर बुढाथोकीलाई घरपरिवारसँग समन्वय गरी नेपाल झिकाइएको छ । वैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । प्रहरीले घटनामा प्रयोग भएका तीन थान मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रतिक्रिया