काठमाडौं– भदौ २४ गते जेनजी युवा पुस्ताको आह्वानमा भएको प्रतिरोध आन्दोलनको क्रममा देशैभरिका सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड भयो । तर, देशको राजधानी नै रहेको काठमाडौं महानगरपालिका र सो अन्तर्गतका कार्यालय भने झण्डै सुरक्षित रहन पुगेको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आन्दोलनको क्रममा महानगरको वडा नम्बर १३ को कार्यालय पूर्ण क्षतिग्रस्त भएको छ भने वडा नम्बर ३२ कार्यालयमा आंशिक तोडफोड मात्रै भएको छ । महानगर अन्तर्गतका अन्य सबै कार्यालयहरू पूर्ण रूपमा सुरक्षित रहेको उनले बताए ।
‘हाम्रो वडा नम्बर १३ आगलागीले भवन नै पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, वडा नम्बर ३२ भने कागजात मात्रै क्षति भएको छ’, उनले भने, ‘अन्य कार्यालयहरूमा भने कुनै क्षति भएको छैन ।’
भदौ २४ गते काठमाडौं उपत्यकामाथिको आकाश नै धुवाँमय बनेको थियो । सबै सरकारी कार्यालयहरू एक पछि अर्को गर्दै जलिरहेका थिए । साथै, त्यो दिन काठमाडौं उपत्यका भित्र रहेका मुख्य तीन राजनीतिक दलका कार्यालय र ती दलका केही नेतृत्व तहका थुप्रै व्यक्तिको घरपनि त्यो दिन जल्यो । तर, काठमाडौं महानगर भने यसरी सुरक्षित भयो कि जुन आफैँमा आश्चर्यजनक विषय बन्न पुगेको छ ।
के बालेनले नै जोगाए महानगर ?
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमा स्टाटस लेखेर वातावरण बनाउने र आन्दोलन सम्पन्न भइसकेपछि पनि स्टाटस लेखेर नै सरकार निर्माण लगायत आगामी विषयमा अभिव्यक्ति दिए ।
सो अवधिमा सार्वजनिक मञ्चमा आएर प्रत्यक्ष रूपमा उनले केही बोलेका छैनन्, साथै, आन्दोलनमा भूमिका निर्वाह पनि गरेका छैनन् ।
तर, आन्दोलनको सुरुवात र अन्त्यको चरणमा भने सामाजिक सञ्जालमा भने उनी केन्द्रमा नै रहेको देखियो । हामी नेपालीका नेतृत्वकर्ता सुदन गुरुङसँगको पुरानो सम्बन्धदेखि अहिले बनेको अन्तरिम सरकारमा उनी निकटका व्यक्ति भएको विषयले उनी यो आन्दोलनको योजनाकार समूहमा भएको धेरैले अनुमान गरेका छन् ।
जसले गर्दा नै काठमाडौं महानगर भित्रका कार्यालयहरू योजनाबद्ध रूपमा जोगाइएको हुनसक्छ । स्मरणीय छ, काठमाडौं उपत्यकाकै अन्य नगरपालिका र पालिका ध्वस्त बनाइएको छ ।
प्रतिक्रिया