अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ? | Khabarhub Khabarhub

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

विपिन अधिकारी भन्छन्- संसद्‍ बाहिरबाट निर्वाचन कानुन फेर्नु गैरकानुनी



काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अध्यादेशबाट कानुन संशोधन गरेर भएपनि विदेशमा भएका नेपाली नागरिकलाई आगामी चुनावमा मतदान गर्न दिने बताए ।

जेन-जी पुस्ताका युवाको आन्दोलनका कारण उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्वाचन गर्नेगरी सुशीला कार्कीलाई नयाँ सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद्‌ विघटन गर्दा पनि राष्ट्रपति पौडेलले आगामी निर्वाचनको मिति नै तोकेका छन् ।

तर, गृहमन्त्री ओमप्रकाश अर्यालले भने निर्वाचनलक्षित मूल विषयभन्दा बाहिर गएर विदेशमा बसेका नागरिकलाई निर्वाचनमा मतदानमा सहभागी गराउनेगरी अध्यादेश ल्याएर सो व्यवस्था गर्ने बताए ।

सर्वोच्च अदालतले पनि २०७४ चैत ७ गते विदेशमा बसेका नागरिकलाई मतदानको अवसर दिलाउनु भनी सरकारको नाममा आदेश दिएको छ । जसको लागि सरकारले अहिलेसम्म कुनै आवश्यक व्यवस्थाको लागि सुरुवात गरेको थिएन ।

अहिलेको अवस्थामा नेपालीहरू विश्वका एक सय भन्दा धेरै मुलुकमा पुगेका छन् । जबकी नेपालले २९ वटा देशमा मात्रै कूटनीतिक नियोग स्थापना गरेको छ ।

जेन-जी आन्दोलनका कारण देश अस्तव्यस्त भएको अवस्थामा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारका लागि ६ महिना पनि पूरा समय बाँकी छैन । 

अन्तरिम चुनावी सरकारले कुनै तयार नभएको अवस्थामा विदेशमा भएका नेपाली नागरिकलाई मतदान दिने व्यवस्थाका लागि अध्यादेश ल्याउने विषय कति उपयुक्त छ ? चुनावी सरकारले अध्यादेश ल्याउन मिल्छ भन्ने विषयमा खबरहबले संविधानविद् विपिन अधिकारीलाई ४ वटा प्रश्न गरेको छ।

हालको अन्तरिम चुनावी सरकारले अध्यादेश ल्याउन मिल्छ ?

मिल्छ ।

गृहमन्त्रीले अध्यादेश ल्याएर विदेशमा बसेका नागरिकलाई मतदानको व्यवस्था मिलाउने भन्नुभयो, अहिलेको संविधानले यो कल्पना गरेको देखिँदैन कि, यसबारे के भन्नुहुन्छ ?

संविधानले नमिल्ने भन्ने छैन । जहाँ–जहाँ नेपाली नागरिक मतदाता छन्, त्यहाँ–त्यहाँ यदि हामीले उनीहरूलाई भोट खसाल्ने अवसर दिन्छौँ भने त्यसले हाम्रो प्रजातन्त्रलाई बलियो बनाउँछ । तर, त्यो त इच्छा गरेर मात्रै हुने कुरा होइन ।

त्यसका लागि सामर्थ्य चाहिन्छ, स्रोत र साधन चाहिन्छ । त्यो सामथ्र्य, स्रोत र साधन हामीसँग छ कि छैन भन्ने कुरा चाहिँ धेरै महत्वपूर्ण प्रश्न हो । गृहमन्त्रीले बोल्न त बोल्नुभयो धेरै ठूलो चुनौती छ त्यसमा ।

त्यसका लागि यसपालिको चुनावबाट एउटा सुरुवात गर्न सक्नुहुन्छ ।

कुनै–कुनै क्षेत्रमा जस्तो, अरब क्षेत्रमा वा युरोपमा वा अमेरिकामा कुनै एक ठाउँमा ल हामीले अब सुरु गर्यौं अर्को पटक योजना बनाएर गर्छौं भनेर भन्नेसम्म हुनसक्छ । सबैतिर गर्नलाई त धेरै ठूलो स्रोत साधन र व्यवस्थापन चाहिन्छ । सरकारले यो छोटो अवधिमा त्यो जुटाउन सक्छ कि सक्दैन, सरकारले विचार गर्ने कुरा हो । तर, संवैधानिक रूपमा गर्न सकिन्छ । निर्वाचन आयोगले गर्न सक्छ ।

भर्खरैको घट्ना हेर्दा पनि देशैभर आगजनी र विध्वंशको तयारीबारे थाहा पाउन नसकेको राज्यसंयन्त्र भएको अवस्थामा विदेशमा मत हालेर सुरक्षित ल्याउने कुरा जोखिमपूर्ण हुँदैन ?

ब्यालेट बक्स बोकेर बाहिरबाट आउने भन्दापनि जहाँ निर्वाचन हुन्छ, त्यहीँ ठाउँमा पनि त्यो गणना गर्न सकिन्छ । हाम्रो पहुँच नभएको ठाउँमा गर्ने कुरा नै भएन, त्यो गर्ने भनेको त्यहाँ हो जहाँ हाम्रो राजदूतावास छ अथवा जहाँ हाम्रो त्यस क्षेत्रका राजदूतको उपस्थित हुन्छ । 

 धेरै अधिकारहरू राजदूतलाई ह्यान्डओभर गर्न सकिन्छ । तर, त्यो विषयको लागि हामीसँग सामथ्र्य हुनुपर्यो । यो भनेको बोलेर हैन गरेर देखाउने कुरा हो । हाम्रो जस्तो धेरै देशहरूलाई यो काम गर्न गाह्रो भएको परिस्थिति छ ।

हामीकहाँ डिजिटाइजेसन भएको भए, त्यस्तो किसिमको हाम्रो क्षमता भएको भए समस्या थिएन । तर, हामीले भौतिक रूपमा नै गर्नुपर्ने भएको भएर स्रोत र साधन धेरै चाहिन्छ । साथै, प्रविधिको कुरा पनि छ ।

चुनावी सरकारले अध्यादेश ल्याउन सम्भव छ भन्दा अध्यादेश ल्याएर प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन पनि गराउन सम्भव छ ?

सक्दैन । किनभने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्न पहिले संविधानको संरचनागत संशोधन गर्नुपर्छ । अहिलेको संरचना भनेको संसदीय प्रणालीको संरचना हो । त्यो ठाउँमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेको मिश्रित प्रणालीको संरचना हो । त्यसो हुँदा त्यसलाई संशोधन नगरी अध्यादेश ल्याएर निर्वाचन गर्ने भन्ने कुरा सम्भव छैन ।

त्यो गैरकानुनी असंवैधानिक हुन्छ । यो सरकारले संरचनात्मक परिवर्तन गर्नेगरी अध्यादेश ल्याउने सम्भावना रहँदैन । संविधानको बनोटमा संशोधन गर्न पहिले त प्रतिनिधिसभाको निर्वाचन हुनुपर्यो, त्यसपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा लगायतमा दुईतिहाइ हुनुपर्यो, जसले संविधान संशोधन गर्न सक्छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ५४ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’