सुध्रिएन नेताको बोली : ‘हेट स्पीच’को बाढी | Khabarhub Khabarhub

सुध्रिएन नेताको बोली : ‘हेट स्पीच’को बाढी

साहित्यकार भन्छन्- कविता विधाको बेइज्जती भयो !


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै व्यक्ति वा समूहलाई जाति, धर्म, लिंग, राष्ट्रियता, भाषा, लिंग वा अन्य पहिचानका आधारमा अपमान गर्ने, हिंसा भड्काउने, विभेद फैलाउने उद्देश्यले दिइने अभिव्यक्तिलाई घृणात्मक अभिव्यक्ति (हेट स्पीच) भनिन्छ । यस्तो अभिव्यक्तिलाई मानवअधिकारको उल्लंघनका रुपमा लिने गरिन्छ ।

नेपालको संविधान र कानूनअनुसार घृणात्मक अभिव्यक्तिलाई अपराध मानिन्छ । संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रत्याभूत गरे पनि संविधानको धारा १७ उपधारा २ (क) अनुसार कसैले पनि घृणात्मक वा हिंसात्मक अभिव्यक्ति दिन पाइँदैन ।

तथापि समाजमा विभिन्न प्रकारले घृणा फैलाइने गरेको पाइन्छ । जसमध्ये बोलेर, लिखित वक्तव्य प्रकाशित गरेर, लेख–रचना छपाएर, तस्बिर, चित्र, स्केच, कार्टुन, बिम्ब, अडियो, भिडियो, ध्वनि आदिका माध्यमबाट र आफैँ वा अरूलाई उपस्थित गराएर हाउभाउ र भंगीमा प्रदर्शनमार्फत् आँखा तरेर, मुख बंग्याएर, थुकेर, दाह्रा किटेर, घुरेर घृणा फैलाइन्छ । अझ सामाजिक सञ्जालको प्रयोगसँगै यस्तो ‘हेट स्पीच’ का अपराधहरु बढेका बढ्यै छन् ।

संविधानको धारा १७ उपधारा २ (क) ले घृणात्मक वा हिंसात्मक अभिव्यक्ति दिने व्यक्ति वा समुदायलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले आवश्यक ऐन–कानुन बनाउनुपर्ने भनेको छ । संविधानले भनेअनुसार यस्तो ऐन–कानुन बनाउने जिम्मेवारी जनप्रतिनिधि अर्थात सांसदहरू (विधायक) को हो ।

तर, कानून बनाउनुपर्ने विधायकहरूले नै बेला–बेला ‘हेट स्पीच’ दिँदै आएका छन् । जसको पछिल्लो उदाहरणका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका सांसद रघुजी पन्तलाई लिन सकिन्छ।

प्रधनमन्त्री ओलीले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा चैत ३ मा आयोजित ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन’मा कविताका माध्यमबाट ‘हेट स्पीच’ दिएका छन् ।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने संकल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै कविता लेखेर प्रस्तुत गरेको सचिवालयको भनाइ छ ।

सचिवालयले जेसुकै दावी गरे पनि प्रधानमन्त्री ओलीद्वारा कार्यक्रमस्थलमै रचिएको भनिएको कवितामा समेटिएका शब्दहरूले साहित्य विधालाई नै गिज्याएको छ ।

ओलीले कवितामा ‘खोजी भै रहेछ भाइमाराको, राष्ट्रिय पकेटमाराको !’ भन्ने शब्दहरु उल्लेख गरेका छन्, जुन पूर्वराजा ज्ञानेन्द्र शाहतिर राजनीतिक रुपमा लक्षित देखिन्छ ।

प्रधानमन्त्री ओलीजस्तै केही दिनअघि पूर्वप्रधानमन्त्री प्रचण्डले पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर ‘हेट स्पीच’ दिए । उनले ज्ञानेन्द्रलाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी गरे ठेगान लगाउने चेतावनी दिए ।

यो पनि-

पूर्वराजालाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै प्रचण्डको चेतावनी- धेरै चुरीफुरी गरे ठेगान लगाउँछौँ

त्यसो त केही दिनअघि प्रचण्डसँग भेट गरेका एमाले नेता अग्नि खरेलले उनलाई त्यस्ता शब्दहरु प्रयोग नगर्न सुझाएका थिए । प्रचण्डले खरेललाई ‘आवेशमा आएर बोलिहालियो’ भनेका थिए ।

तर, उनले त्यसपछि पनि सोही खालको अभिव्यक्ति दिन छाडेका छैनन् । ‘पूर्वराजाहरु वेश्यालयमा जाने गरेको’ सम्म प्रचण्डले भन्न भ्याएका छन् ।

सत्ताको नेतृत्व गरिरेको दल एमालेका सांसद रघुजी पन्तले पनि ऐन–कानुन बनाउने थलो संघीय संसदमै राजसंस्थाको वकालत गर्दै आएको दल राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई लक्षित गरेर ‘हेट स्पीच’ दिएका छन् । उनी समान हैसियतका सांसद शाहीलाई होच्याउँदै ‘तिमी’ शैलीमा अभिव्यक्ति दिन पछि परेनन् ।

‘इतिहास पढेर आउने मसँग बहस गर्ने हो भने, इतिहास पढेर आउने । जुम्लामा हा हु गरेर आएको जस्तो होइन, इतिहास पढेर आउ,’ एमाले सांसद पन्तले आफू बोल्ने क्रममा राप्रपा सांसद शाही उभिएर आपत्ति जनाउन थालेपछि चैत ३ गते बसेको प्रतिनिधि सभाको बैठकमा भनेका थिए ।

के भन्छन् बुद्धिजीवी ?

नेपालको संविधानले बहुलवादलाई अंगिकार गरे पनि नेताहरूले बहुलवादी दृष्टिकोण स्वीकार गर्न नसकेको उनीहरूले समय–समयमा दिने अभिव्यक्तिले देखाउँदै आएको छ । आफ्नो दृष्टकोणलाई असाध्यै सही ठान्ने र अरुको तर्क असाध्यै गलत मान्ने नेताहरूमा रहेको दृष्टिकोणले घृणाको अभिव्यक्ति आउने गरेको समाजशास्त्री डा. दिपेश घिमिरे बताउँछन् ।

‘नेताहरूले दिने अभिव्यक्तिमा असाध्यै धेरै समस्या छ । नेताहरूमा आफ्नो दृष्टकोणलाई असाध्यै सही र अरुको तर्क असाध्यै गलत भन्ने दृष्टिकोण छ,’ उनको भनाइ छ, ‘त्यो दृष्टिकोणमात्रै होइन कि त्यसभित्र हेट–स्पीच (घृणाको अभिव्यक्ति) पनि छ । अर्कोलाई असाध्यै होच्याइयो भने आफ्नो राजनीतिक अभिष्ट पूरा हुन्छ भन्ने पनि छ ।’

यसका पछाडि धेरै कारणहरू हुन सक्ने डा. घिमिरे बताउँछन् । ‘एउटा कारण भनेको हाम्रा नेताहरू, हाम्रो समाजमा हुकाइको पद्दति र प्रणाली कसरी अगाडि बढी रहेको छ भन्ने कुरा यसले देखाउँछ । अर्को महत्वपूर्ण कुरा हाम्रो शिक्षा पद्दति र प्रणालीमा पनि केही समस्या छन्,’ उनले भने, ‘अर्को कुरा हामी फरक प्लुरालिजम् (बहुलवाद) भन्छौँ नि, त्यो बहुलवादी दृष्टिकोण अभिव्यक्तिमा आउन सकेको छैन ।’

समाजशास्त्री घिमिरे नेपालका नेताहरूमा रहेको आफूले सोचेको कुरा नै अन्तिम सत्य हो र आफूले सोचेको कुराको फरक दृष्टिकोण र विचार हुन सक्दैन भन्ने बुझाइले ‘हेट–स्पीच’ आउने तर्क गर्छन् ।

‘सबैभन्दा ठूलो समस्या भनेको मैले जे सोच्छु यो नै अन्तिम हो र यसको फरक दृष्टिकोण वा विचारै हुन सक्दैन भन्ने किसिमको बुझाइ नेताहरूमा छ,’ उनी भन्छन्, ‘मैले सिकेको कुरा अन्तिम सत्य हो, मैले बुझेको कुरा अन्तिम सत्य हो, मभन्दा जान्ने कोही छैन भन्ने । यस्तो अभिव्यक्ति माथिका मात्रै होइन, वडा सदस्यमा जित्ने वित्तिकै म ब्रह्मज्ञानी भएँ भन्ने स्कुलिङ भइरहेको देखिन्छ । त्यो असाध्यै डरलाग्दो देख्छु ।’

फरक दृष्टिकोण, विचार, जात, धर्म, भाषा, संस्कृतिलाई निषेध गर्ने ढंगबाट भइरहेको अभ्यास नेपाल र नेपालीका लागि हितकर नभएको घिमिरेको भनाइ छ । ‘फरक दृष्टिकोण, फरक विचार, फरक जात, फरक भाषा, फरक राजनीतिक स्कुलिङ, फरक संस्कृतिलाई निषेध गर्ने किसिमको जुन अभ्यासहरू भइरहेको छ, यसले भोलिका दिनमा हामीलाई राम्रो गर्दैन,’ उनले भने ।

नेताहरूको आफूले बुझेको कुरा सत्य हो वा मबाहेक अरु कोही केही कुरा जान्दैनन्, बुझ्दैनन्, सिक्दैनन्, थाहा छैन भन्ने बुझाइ सबैभन्दा डर लाग्दो भएको विश्लेषण समाजशास्त्री घिमिरेको छ ।

‘सबैभन्दा डर लाग्दो कुरा एकलवादी दृष्टिकोण वा एकलमात्रै कुरा वा मैले बुझेको कुरा सत्य हो वा मबाहेक अरु कोही कुरा जान्दैनन्, बुझ्दैनन्, सिक्दैनन्, थाहा छैन भन्ने जुन बुझाइबाट नेताहरू अगाडि आइरहनुभएको छ,’ उनले भने ।

सामाजिक अध्येताहरू ‘हेट–स्पीच’ हत्या, हिंसा, बलात्कार, त्रास, हतियारको डर सिर्जना गर्ने भन्दा कम नहुने बताउँछन् । हत्या, आतंक, आक्रमण शारीरिक हुन्छ भने ‘हेट–स्पीच’ले मनोवैज्ञानिक अवरोध गर्दछ ।

कविता विधाको बेइज्जती भयो : युग पाठक

यसैबीच, खबरहबले ‘उर्गेनको घोडा’ उपन्यासका लेखक युग पाठकलाई प्रधानमन्त्री ओलीको कविता सुनाउँदै प्रश्न गर्‍यो , ‘तपाईलाई प्रधानमन्त्रीको कविता कस्तो लाग्यो ? मबिबि शाह, चाँदनी शाह, जी शाह, भूपालमानसिंह कार्की जस्ता शासक–प्रशासकहरुमा लेखक/साहित्यकार बन्ने भोक जाग्ने गरेको पाइन्छ, यसबारे एक साहित्यकारको हिसाबले तपाई के भन्नुहुन्छ ?’

पाठककाे प्रतिक्रिया उनकै शब्दमा-

कविता भनेर भन्दिने चलन छ । धेरैले धेरै चिजलाई कविता भनिदिन्छन् । कविता साहित्यको विशिष्ट विधाको रुप हो । कविताले दुई–चार कुराको माग गर्छ । यसको सौन्दर्यशास्त्रीय विधान हुन्छ । विधानअनुसार त्यसले दुईवटा कुराको माग गर्छ, एउटा रुप र अर्को सार ।

सारतत्वले के भन्न खोजिरहेको छ त्यसको वैचारिकता त्यसको सौन्दर्य चेतना दुवै झल्किन्छ । कसैले मान्छे गरिरहेको मेहनतमा सौन्दर्य देख्न सक्छ । कसैले होडिङ बोर्डमा सौन्दर्य देख्न सक्छ । देख्नेको दिमागमा जसरी सौन्दर्य चेत निर्माण भएको त्यसरी हुने हो ।

अर्को रुप पक्ष हुन्छ । रुप पक्षमा कविताका विभिन्न संसार भरी किसिम किसिमका रुपहरुको प्रयोग भएको छ । तर, सबै प्रयोगमा एउटा कुरा हुन्छ । त्यो भनेको त्यसको रचनात्मक केही चिज हुन्छ । प्रयोग गरेर लेखिएको कविताको रुपमा पनि त्यसको रचनात्मकताका खास कुरा हुन्छन् ।

खास प्रकारको विचार व्यक्त गर्नका लागि विभिन्न किसिमले डिजाइन गर्छन् प्रयोग गर्नेहरुले पनि । एक किसिमको छन्द विधान संसारका सबै भाषामा छँदैछ । पुरानो परम्पराको हिसाबले छन्द विधान छदैछ । छन्द विधानको एकदमै कडा नियम हुन्छ । त्यो नियम मिचियो भने छन्द मिलेन भनिन्छ । यो अंग्रेजी भाषामा पनि हुन्छ, फेन्चमा पनि हुन्छ । नेपालीम पनि छ, संस्कृतमा पनि छ।

कविताको नाममा जे पायो त्यहीलाई कविता भनिदिने, कविताको शौन्दर्य शास्त्रीय रुझन के हो भने त्यसमा गाली गलौज त कवितामा सुहाउँदै सुहाउँदैन । कुनै चिजलाई आलोचना वा व्यंग गर्नुछ भने पनि त्यसको विशिष्ट शैली हुन्छ । व्यंगभित्र पनि कोमलता हुन्छ, कवितामा ।

त्ये चिज नै छैन भने कसरी कविता भन्ने ? अथवा कविता भन्न किन परेको ? त्यसलाई मेरो भनाइ हो, भाषण हो, टिप्पणी हो भने पनि त हुन्छ नि । यो कवितामाथि अन्याय होइन कि कविता भन्ने विधाको बेइज्जती भयो । कविता भन्ने विधाको जुन विशिष्टता छ, जुन शौन्दर्य छ, शास्त्रीय परम्परा, नवीनता, सिर्जनशीलता जे जति छन्, सबैको बेइज्जती भयो

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : २६ बजे

आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत ७ गते बिहीबार चैत

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई)धैर्यताका

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल