नेता र नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली : नियत कि नियति ! | Khabarhub Khabarhub

नेता र नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली : नियत कि नियति !


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

मान्छे हुनुको अर्थ, ऊ जीवित हुनुमात्र होइन । मान्छे हुनु त, मानव सभ्यताको परिचयसहित बाँच्नु हो । मानवीय गुण र भावना देखिनु हो । मानवताको सम्मान नै स्वयम् मान्छेको परिचय हो । सिङ्गो स्वरुप हो । जन्मिएपछि ऊ बाँचेरमात्रै पूर्ण मानव हुन सक्दैन । मानव हुने गुण, पालना गर्ने नैतिक जिम्मेवारी, समाजप्रति देखाउनु पर्ने उत्तरदायी भूमिका स्वयम् व्यक्तिसँग हुन अति जरुरी छ ।

योग्यता, अध्ययन र अनुभव भएरमात्रै पनि सम्भव छैन । उसँगको संस्कार, सभ्यता र व्यवहारले ठूलो अर्थ राख्छ । विश्वविद्यालयले योग्यता दिनसक्छ, तर सभ्यता र संस्कार परिवारले नै सिकाउनु पर्छ । कुन परिवार र कुन संस्कारको मान्छे भनेर परिचय गराउने कुरा पनि उसको स्वभाव र गुणमा भर पर्छ । नैतिकता मानव सभ्यता र जीवनको अमूल्य गहना हो । जोसुकैसँग त्यो गहना नहुन सक्छ । नसुहाउन सक्छ ।

तर मान्छे भएर जन्मिसकेपछि नैतिकता र सभ्यताको गहना सबैसँग हुनै पर्छ । संसारमा कोही छैन, जसले गलत नगरेको होस् । भनिन्छ गल्ती नगर्ने पनि मान्छे होइन, गल्ती नस्वीकार्ने पनि मान्छे होइन । मान्छे त्यो हो, जसले गलत पनि गर्छ । गल्तीको स्वीकार पनि गर्छ । यसो भन्दैमा कोहीले सधैं गल्ती नै गरिरहन्छ, कोहीले गल्ती नै गर्दैन, भन्ने पनि होइन । त्यसको पनि सीमा हुन्छ । अनि नियत र आशय हुन्छ ।

कमजोरी जानेर गरियो कि, नजानेर, नियत राखेर भयो कि, अनजानमा । यो कुरा महत्त्वपूर्ण हो । खराब नियत उसको स्वभाव हो, सुधार हुँदैन । नियति उसको बाध्यता हो, क्रमिक सुधार हुन्छ । तत्काल सच्चिन र सच्याउन सकिन्छ । हाम्रो समाज यही दुई चरित्रमा बाँडिएको छ । कोही जानेर गर्छन्, कोही नजानेर वा अनजानमा । अनजानमा गर्नेहरूले सुधार्ने संकल्प गर्छन् । जानीजानी गर्नेहरू झन् अराजक र संस्कारविहीन बन्दछन् ।

समाज नियत र नैतिकताले बाँधिएको छ । त्यही नियतको विश्वासमा बाँचेको छ । तर पछिल्लो समय नियममाथि नियत हाबी भएको छ । सकारात्मकता कमै भेटिन्छ । नैतिकताको खडेरी छ । आशाभन्दा निराशा, सहजता भन्दा असहजता नै आम प्रवृत्ति हुन थालेको छ । जुन कुरा समाज विकास र समृद्धिको बाधक हो । हरेक कुरा शून्यता र शत प्रतिशत गतल वा खतम कहीँ र कहिल्यै हुँदैनन् ।

उसो त नियम नियत सुधारका लागि बनाइन्छ । नियत ठीक भए नियम चाहिँदैन, नीति आवश्यक नै पर्दैन । नियम वा देशकै संविधान नभएर पनि चलेका मुलुक पनि छन् । त्यहाँको शासन व्यवस्था राम्रो छ । जनता सन्तुष्ट छन् । उनीहरूले कहिल्यै नियमबारे प्रश्न गर्दैनन् । बरु आफ्नै नियत सुधार गर्दै जान्छन् । समाज र जिम्मेवारीप्रति इमान्दार हुन्छन् । र, भएका छन् । नियतको समस्या, नकरात्मकताको समस्या र निराशाको समस्या बढी नेपालमै देखिन्छ । त्यो पनि नेता र नेतृत्व लक्षित बढी छ ।

केही नभएको, केही नगरेको, सब सकाएको, लुटेको, खाएको यस्तै निराशा नियतजन्य देखिन्छ ।

एउटा सन्दर्भ जोडौं :-

चितवनको भरतपुरमा नवनिर्मित ६ लेनको सडक २०७७ माघ १७ गते शिलान्यास गरियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल उपस्थित भइनन् । ओलीले ठट्यौली पारामा ‘मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ ।’ भनेर ब्यङ्ग्य पनि गरे । त्यो बेला ओलीमाथि सामाजिक सञ्जालमा अरिङ्गाल शैलीमा आक्रमण भयो । गाली गरियो । नेतृत्व तहबाटै प्रहार भयो ।

त्यही सडकको बैशाख ५ गते ओलीले नै उद्घाटन गरे । मेयर रेणु दाहाल पनि सहभागी भइन् । एक अर्ब ७६ करोड रुपैयाँ लागतमा भव्य लोभलाग्दो नमुना सडक बन्यो । त्यो हुँदा पनि ओलीमाथि गाली रोकिएन । ‘बाउको बजेटले बनाएजस्तो तामझाम’ सामाजिक सञ्जालमा फेरि पनि गाली दिनेहरू नै हाबी देखिए ।

केही गर्न नसकिँदा र केही उपलब्धी नहुँदा गाली र अपमान हुने कुरा अन्यथा होइन । सहन सकिन्छ । नेता नेतृत्वले चित्त बुझाउने अवस्था हुन्छ । तर यहाँ केही हुँदा पनि, राम्रो काम थालनी गरिँदा पनि गाली नै दिने कुरा नियति होइन, यो नियत हो । गलत मनसाय हो । षडयन्त्रसहितको प्रहार हो । नैतिकताको खडेरी हो । अभाव, समस्या र निराशा दुःखी हुनु, नेतृत्वमाथि गाली पोखिनु अन्यथा होइन । केही गर्दा पनि गाली ? हामी कस्तो संस्कार र संस्कृतिको विकास गरिरहेका छौं ? कुन सभ्यता र व्यवहारलाई स्थान दिइरहेका छौं ? सोच्ने बेला भएन ?

प्रधानमन्त्रीको भ्रमण वा उपस्थिति सिङ्गो देशको प्रतिनिधित्व हो । देशका लागि गर्व हो । सम्मान हो । देशको उचाई हो । तर हामी शुभयात्रामा पनि हार्दिक श्रद्धाञ्जली लेखिरहेका छौं । यो कस्तो शिक्षा हो ? हामीले पाएको कुन नैतिक पाठ हो ? घरले सिकायो, वा स्कुलले ? वा संगत र समाजले ? ती सामाजिक प्रयोगकर्ता आफैं जानून् । गलत अरुमात्रै देख्नु मनोरोग हो । उपचार सहज सम्भव छैन । यहाँ नियत नै खराब भएपछि समाधान सहज हुने अवस्था नै देखिँदैन ।

नियति समस्याले सिर्जना भएपनि सामूहिक सवाल हो । सबैको जिम्मेवारीको विषय हो । यो समाधान गर्न सकिने कुरा हो । जसरी नियति बन्न पुग्यो । त्यसैगरी समाधान गर्न पनि सकिन्छ । तर नियत नै खराब भए, नियतमै खोट देखिए, नियत नै गलत राखे, कोही कसैले पनि समस्याको हल गर्न सक्दैनन् । न नियमले जित्छ । न नैतिकताले बाँध्छ । न मानवताको अर्थ रहन्छ ।
सबै काम सम्मान योग्य नहुन सक्छन् । तत्काल उपलब्धि नदेखिन सक्छ । काम गर्दै जाँदा बिग्रिन सक्छ । भत्किन सक्छ । भनेजस्तो रिजल्ट नभइदिन सक्छ । धोका पनि हुन सक्छ । यसो भन्दैमा के त्यो व्यक्ति पूर्ण असफल वा शत प्रतिशत गलत हो त ? उसले सच्चिन नपाउने नै हुन्छ त ? भूलवस कमजोरी भयो होला, ऊ पनि त मान्छे हो । उसँगपनि मन छ । भावना छ । ऊ पनि समाजका अरुजस्तै मान्छे हो । के नेता र कार्यकर्ताको दिमाग अलग धातुले बनेको छ र ? मन र भावना फरक छन् र ? यति त बुझ्नु पर्ने होइन् र ?

हातमा मोबाइल, जडान गरिएको इन्टरनेट सेवा, आर्जन गरेको उच्च शिक्षा र अनुभव गरेको प्रविधिको ज्ञान नेता र नेतृत्वलाई गाली दिनमै सीमित राख्ने र प्रयोग गर्ने हो ? प्रविधिले सिर्जना बढाउनु पर्ने, अनुभवले कामका लागि उर्जा दिनु पर्ने, शिक्षा र योग्यताले समाजप्रतिको जिम्मेवारी बढ्नु पर्ने र नैतिकता सिकाउनु पर्ने होइन र ?

यति अराजकशैली र संस्कारले जितको अनुभूति कसलाई देला र ? तत्कालका लागि रिस आवेश पोख्न पाइएला, तर दीर्घकालीन समस्या झन जटिल हुँदै जान्छ । के नेता र नेतृत्व तहबाट सबै काम गलत र खराब मात्रै भएका छन् ? चिया पसलदेखि उद्योगधन्दाको मालिकसम्म, सवारी चालकदेखि सत्ता सञ्चालक सबैका आआफ्नै जिम्मेवारी र काम छन् । हामी कोही पनि आफ्नो काममा जिम्मेवार छैनौँ । आफ्नो कामप्रति इमान्दार र बफादार हामी देखिँदैनौं । जानकारसमेत धेरै हुदैनौं । तर पनि आफ्नोबाहेक अरु सबैको काम जानेको जस्तो दम्भ र अहंकार पाल्छौं ।

चिया पसलले मीठो चिया पकाइ दिए, शिक्षकले राम्रो पढाई दिए, डाक्टरले उपचार गरिदिए, इञ्जिनियरले निर्माणलाई गति दिए, लेखामा कागजको बाहना नभए, हाकिमले कमिसनमा लोभ नगरे पनि समाज र हामी कहाँ पुग्थ्यौं । हामीलाई कामसँग होइन्, अरुको आलोचना, विरोधसँग मात्रै सरोकार छ । आलोचना पनि सभ्य छैन । परिवारसँग हेर्न लायक छैन । शिक्षाले दिएको ज्ञानको नै धज्जी उडाएर भर्खरका भविष्य बोकेका युवाहरूको संस्कारहीन विरोधले समाज खाडलमा जाने अवस्था देखिन्छ ।

हामीसँग ओली, देउवा, प्रचण्डहरू नै छन्, तर सी, पुटिन, मोदी र ट्रम्प कहाँबाट खोज्ने ? सकेसम्म हाम्रैलाई राम्रा बनाउने, राम्रो गर्न सहयोग गर्ने, सुझाव दिने, सबैको जिम्मेवारी बोध गराउने भूमिका हामी सबैको होला नि ? यतिसम्म कि वर्तमान अवस्थामा आधुनिक भिखारीको बिगबिगी छ । उनीहरू देशमा केही नभएजस्तो, कोही नबसेजस्तो । कङ्गाल भइसकेको जस्तो भाष्य खडा गर्दै माग्ने धन्दा चलाइरहेका छन् । राज्यले यतिको काम गरेको, गाउँहरू सुगम बनेका छन् । सुविधागाउँसँग जोडिएको छ । तर आधुनिक भिखारीहरूले मागेर दिएको सहयोगलाई वाह ! वाह ! गर्दै राज्य र नेताहरूमाथि गालीका वर्षा दिइरहेका छन् ।

नेताहरू सबै कुरामा खराब होलान र ? सबै सक्ने र केही नगर्ने उनीहरू नै हुन् त ? केही त गरेका पनि होलान् नि । ओली, देउवा, प्रचण्डहरू जसले गरे पनि सुदूरपश्चिम र सुदूरपूर्वका पहाडी गाउँमा गाडी पुग्नु र पुर्‍याउने कुरा पनि गालीकै लागि हो । ७ सय ५३ वटा पालिका भवन सय वर्षको योजनासहित बनेका छन् । पालिकामा अस्पताल बनिरहेका छन् । घरको आँगनमै आमाले बस चढ्दा त्यो पञ्चायत बिर्सिन मिल्छ होला नि ?

नेताहरूले केही गरेनन् रे, सपना देख्ने कुरामा पनि आपत्ति नै हो । अध्ययन छ । विश्लेषण छ । विचार र विवेचना गर्ने क्षमता छ भने तथ्यमा बहस गरे भो । यो ठीक यो बेठीक भने भो । फेक आइडी चलाएर गालीमात्रै गर्दा, विरोध मात्रै गर्दा के प्राप्त होला ? यो प्रष्ट छ, देश बर्बाद पार्ने नियत होइन् र ? यसलाई देशको गरिबी, अभाव र बेरोजगारीको समस्याले निम्त्याएको नियति भन्नै मिल्दैन ।

नियत प्रष्ट चिनिन्छ । सबै विदेशिएकाहरू बाध्यता बोकेर मात्रै गएका होइनन् । केही त, रहरले खुसीले पनि गएका छन् । केही अध्ययन र अनुभवका लागि पनि पुगेका छन् । केही सीप र सुरक्षाका लागि पनि बसेका छन् । विदेश जानु समस्या मात्रै हो, अभावमात्रै हो त ? यही अवसर पनि हो । हाम्रो युवा शक्ति, नेपाली युवाहरूको सीप विश्व बजारमा बिक्ने कुरा गर्वको कुरा होइन ? खुसीको विषय होइन ? नियतसहितको विरोधमात्रै कति हो ?

हालका प्रधानमन्त्री केपी शर्मा ओली खत्तम हुन् भन्ने भाष्य केही फेक आइडीवालाले निर्माण गर्न खोजिरहेका छन् । ओली काममा खत्तम कि, नियतमा, यो विषयमा पनि प्रष्ट हुनु पर्छ कि पर्दैन ? ओली नेपाली समाजलाई सपना देखाउने समकालीन नेपाली राजनीतिका नेता मध्येका प्रमुख नायक हुन् । पानी जहाजदेखि, पाइपलाइनको तेल, घरघरमा ग्याँसदेखि रेलमार्ग निर्माण यी सपना वर्तमान समयका आवश्यकता हुन् । ढिलो चाँडो बन्छन्, बनाउनै पर्छ ।

भारतीय नाकाबन्दी सामना गर्नु गलत थियो ? उत्तरी नाका खोल्नु गलत थियो ? भत्केका संरचना बनाउनु गलत थियो ? हुलाकीदेखि मध्ये पहाडी राजमार्ग बनाउने काम थाल्नु गलत थियो ? बिआरआई गर्नु गलत थियो ? त्यसमा पनि गाली किन ?

गरे, किन गरेको ? नगरे, किन नगरेको ? हुँदा, कसरी भएको ? नहुँदा, किन नभएको ? विरोधले मात्रै जीविका त चलाउन जो कोहीलाई मुस्किल पर्नु पर्ने हो । देश बनाउने कुरा नागरिक भएपछि सबैको जिम्मेवारी होइन र ?

यहाँ त राज्यभन्दा माथि माग्नेहरू छन् । उनीहरू अस्पताल बनाउँछन्, खेल मैदान बनाउँछन् । मान्छे बचाउँछन्, सबसब गर्छन् । तर नियम मान्दैनन् । आफ्नो कारोबार देखाउँदैनन् । माग्ने स्रोत भन्दैनन् । खर्चको सुनुवाई गर्दैनन् । जसरी नेता र नेतृत्वमाथि सामाजिक सञ्जालको गाली छ । त्यसरी नै उनीहरूको लुकेको धन्दामा ती नियतवालाहरूको समर्थनले राज्यको विकल्प जस्तै बनाइरहेको देखिन्छ ।

वैदेशिक रोजगार जानु बाध्यता नै भएपनि देश र नेता अनि नेतृत्वलाई गाली गरेर, विरोध गरेर, देशलाई धिक्कारेर केही चिज प्राप्त हुने हो र ? देश गरिब छ । सम्भावना कम छन् । अवसर भनेजस्तो छैन । तर पनि त्यही कारण मानव सभ्यता र संस्कार बिर्सिएर असभ्य र संस्कारविहीन शैली देखाउनै पर्ने हुन्छ र ? शहरको सुविधा लिएर आमा बुबाको खर्चमा रमाइरहेकाहरूले गाउँ फेर्केर हेर्दा केही आशा केही भरोसा र केही सुधार अवश्यै देखिने छ । सामाजिक सञ्जालमा लेखेजस्तो अभाव र समस्या सबैतिर छैन ।

सज्जन नायक शासक र सभ्य जनताको साथ भए बिग्रेकोलाई पनि सपार्छ । दुर्जन भए सप्रेकोलाई पनि बिगार्छ । बिगार्न र भत्काउन सजिलो छ । बनाउन हो, गाह्रो । अप्ठ्यारो । जो भोगिरहेका छौं हामी । ब्यहोरिरहेका छौं । अब अरु धेरै जरुरत छैन, थिएन । तर बदनियतले छोपिराख्यो । मुक्त हुन दिएन । जेलिराखेको छ । मुलुकले झेलिराखेको छ । हामी त्यसैको चपेटामा परेका छौं । उम्कन पाएका छैनौं, भन्दै गर्दा नियत सफा राखेर बहस गर्न पनि सकिन्छ नि ।

जनता व्यवस्थाको विषयलाई लिएर अहिले विभाजित छन् । प्रयोगमा छन् । दुरुपयोगमा छन् । उपयोगमा छन् । कहिले सत्ता पक्षका, कहिले विपक्षीका । कहिल्यै गणतन्त्रका त कहिल्यै राजावादीका । यो अस्थिरताको उपज हो । यसमा सुधार खोजौं । त्यो पनि सबैको साथ र सहयोगका साथ । देशमा केही नभएको मात्रै कहाँ छ र ? गाली दिएजति, गलत र खतम भएको छैन र हुने छैन ।

सेटिङमा, भ्रष्टाचारमा कमिसनमा गाली गरौं, विरोध गरौं, विधिको कुरा गरौं, सुशासन कायम गर्न लागौं । गलतलाई जोगाउन होइन, जेल पठाउने भूमिकामा सबैको समर्थन जुटाऔं । तर गर्दा पनि गाली, उठ्दा पनि गाली, बस्दा पनि गाली । राम्रो हुँदा पनि गाली, यो गलत नियत स्वयमका लागि पनि राम्रो होइन । यो गलत नियत हो । देशको नियति होइन ।

नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनेको ९ महिनाको अवधिको अवस्थालाई मात्रै हेर्दा पनि अर्थतन्त्रका सूचकहरूमा केही आशा, केही भरोसा बढेको छ । बहस तथ्यमा गर्दा मजा आउँछ । बहसले सार्थकता पनि पाउँछ । नत्र खाली समयको बर्बादी र दिमागी तनाव मात्रै बढाउनु हो ।

राजस्व सङ्कलन ५.३१ प्रतिशतले वृद्धि हुँदा चैत मसान्तसम्मको पूँजीगत खर्च ४ अर्बले बढेको छ । रेमिट्यान्स ९० अर्ब बढिरहँदा, विदेशी विनिमयको सञ्चिति ६ खर्ब १८ अर्ब छ । चालु खाता बचतमा १३ अर्ब बढी छ । मुद्रास्फीति १.०७ ले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।

यो त तथ्य हो नि । यो भावना होइन । प्रचारबाजी पनि होइन । सस्तो लोकप्रियताका लागि देखाएको तथ्याङ्क पनि होइन । यो वास्तकिवता हो । नेपालको अर्थतन्त्र सुधारको चित्र हो । यसमा पनि विरोध र गालीमात्रै । निराशा र आक्रोशमात्रै । नकारात्मक टिकाटिप्पणीबाहेक अर्को देखिँदैन ।

ठूला दुई दल मिलेर अर्थतन्त्र कमजोर बनाए, सामाजिक सञ्जाल प्रयोगकर्ताकै भाषामा लुटे, कमाए । तर उनीहरूले थाहा पाएनन्, सरकार निर्माण हुँदाका बखत अर्थतन्त्रका कैयौं परिसूचकहरू नकारात्मक थिए । तर, प्रतिकूलतालाई अनुकूलतामा बदल्न वर्तमान सरकार धेरै कुरामा सफल छ ।

अन्त्यमा चाणक्यले भनेजस्तै पानीलाई जतिसुकै तातो बनाए पनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो । हामी खुसी हुने, सकारात्मक सोच राख्ने नियत नै गलत राख्ने मनोविज्ञानभन्दा माथि उठेर एकअर्काका सहयोगी बनौं । देश बनाउन गाली कम, ताली बढी चाहिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको समूह हेर्दा यो पुस्ता भोलिको देशको नेतृत्व गर्ने पुस्ता हो । गलत नियतका साथ नकारात्मक मात्रै नबनौं । सबैको भलो यसैमा हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ३ : ०० बजे

मखनटोल आगलागी : मृतक वृद्धाको सनाखत

काठमाडौं– काठमाडौँ महानगरपालिका-२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा