खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट « Khabarhub

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।

खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेलारमहोत्सव गर्न नदिने भन्दै यहाँका युवाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

यही पुस २४ गतेदेखि खेलमैदानमा आदिवासी जनजाति महासङ्घ तनहुँले महोत्सव गर्न लागेकाले त्यसका लागि नगरपालिकाले अनुमति दिएपछि युवाहरूले महोत्सव गर्न नदिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

नगरपालिकाको ६० लाख बजेटबाट खेलमैदान सम्याउने, पानी निकासका लागि मैदानमुनि पाइप राख्ने, प्यारापिट बनाउनेलगायत काम भए पनि मेलारमहोत्सव आयोजना हुँदा खेलमैदान बिग्रने भुवन गोशलीले बताए । यहाँ मेला-महोत्सव सञ्चालन गर्ने सङ्घसंस्थालाई वैकल्पिक ठाउँको खोजी गर्न आग्रह गरिएको उनको भनाइ छ । 

जिल्लास्थित विभिन्न युवा क्लबका तर्फबाट गोशलीले नगरप्रमुख न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै पुस २४ गते खेलमैदानमा महोत्सव गर्न लागिएकामा उक्त कार्य रोकी वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिए ।

उनले भने, ‘उक्त स्थानमा मेला, महोत्सव सञ्चालन गर्दा खेलमैदानको भौतिक संरचनामा क्षति पुग्ने र खेलकुद मैदानको विकासमा नकारात्मक असर पर्ने देखिन्छ । यसलाई संरक्षण गर्ने राज्यको प्रमुख दायित्व हो ।’

नगरपालिकाका तर्फबाट खेलमैदानलाई स्तरोन्नति गर्न पटकपटक गरी ६० लाख लगानी गरिसकिएको जनाउँदै गोशलीले खेलमैदानमा महोत्सव गर्न रोक लगाउनुपर्नेमा जोड दिए ।  

स्थानीय वासु सापकोटाले युवाहरू जागरुक भएर खेलमैदान संरक्षणमा एकजुट हुनुपर्ने बताए। आफ्नो पुस्ताले खेलमैदानको अभावमा खेलका गतिविधि सञ्चलन गर्न, खेल्न नपाएको बताउँदै मैदान संरक्षण नगरे अबको पुस्ताको अवस्था त्यस्तै हुने धारणा राखे । 

सोही कारणले खेलका गतिविधि नियमित गर्न र युवा खेलाडीका लागि अवसर सृजना गर्न खेलमैदान संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

सापकोटाले भने, ‘खेलमैदानलाई खेलमैदान मात्रै बनाइनुपर्छ, आज एउटा पक्षले दबाब दिएर महोत्सव गर्ला, भोलि फेरि अर्को आउँला । अब खेलमैदानलाई राजनीति गर्ने ठाउँ बनाउन दिँदैनौँ ।’

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले आदिवासी जनजाति महासङ्घलाई अन्तिम पटकका लागि महोत्सव गर्न दिइएको जनाउँदै महोत्सवबाट प्राप्त हुने रकम खेलमैदानको स्तरोन्नतिमा खर्च गरिने जानकारी दिए । दुवै पक्षसँगको बैठक बसी सहमति निकाल्ने उनले बताए। 

नगरप्रमुख न्यौपानेले भने, ‘मैदान नबिग्रार्ने सहमतिमा आयोजक पक्षले प्रतिबद्धता जनाएकाले अन्तिम पटकका लागि भनेर निर्णय गरेका हौँ । दुवै पक्ष बसेर सहमतिको निकास निकाल्नुपर्छ ।’

युवाको माग र भावनामा आफू पनि सहमत रहेको बताउँदै उनले मेलारमहोत्सवले मैदान आसपासका सरकारी कार्यालयमा समेत असर पारेको स्वीकार गरे। 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ४८ बजे

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी