अर्थसंक्षेप : नेपालको निर्यात ३१ प्रतिशतले बढ्यो, वाणिज्य बैंकहरूको नाफा घट्यो | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेपालको निर्यात ३१ प्रतिशतले बढ्यो, वाणिज्य बैंकहरूको नाफा घट्यो


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालबाट हुने वस्तु निर्यातमा वृद्धि भएको छ । आज नेप्से झिनो अंकले बढ्यो ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । वीरगञ्ज भन्सार नाकाले ८० अर्ब राजस्व संकलन गरेको छ ।

आजका आर्थिक समाचार

उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले गत आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको देखाएको हो ।

तथ्याङ्कअनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा आयाततर्फ ७.०६ प्रतिशत र आयाततर्फ ३१.७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जब कि अघिल्लो आवको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

नेप्सेमा सामान्य सुधार

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेको छ । नेप्से ०.२६ प्रतिशतले बढ्दा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ७७ हजार ९८३ कित्ता शेयर कारोबार भएको छ ।

११८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ ।

११ वाणिज्य बैंकले नाफा बढाए, ९ बैंक घाटामा

अघिल्लो आर्थिक वर्ष (आव)को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिना अवधिमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । सार्वजनिक तथ्यांकअनुसार अघिल्लो आवको ६ महिना अवधिको तुलनामा चालु आवको ६ महिना वाणिज्य बैंकहरूको नाफामा प्रतिशतले गिरावट आएको हो ।

बैंकहरूको वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ भने एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ ।

वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा वृद्धि गर्न सफल भएको प्रभु बैंकले चालु आवको समीक्षा अवधिमा १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रूपैयाँ नाफा आर्जन गरेको छ । सो बैंकले गत वर्षको सोही अवधिमा भने ७२ करोड ३ लाख ४१ हजार रूपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

वीरगञ्ज भन्सारबाट छ महिनामा ८० अर्ब राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन गरेको छ ।

अर्थमन्त्री भन्छन्- कृषि उत्यादन र रोजगारी बढाउन बैंकहरूले लगानी गरून्

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूको कर्जा प्रवाहमा समस्या रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सवलाई सोमबार सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले बैंकहरूको निक्षेपको अनुपात बढे पनि कर्जा प्रवाह हुन नसकेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैकंहरूले लगानी गर्नुपर्नेमा जोड दिएका छन् । उनले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उद्देश्य हासिल हुन नसकेको बताए ।

माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले सोमबार आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रूपमा मनाउँदै आएको छ ।

थप एक सय ३७ सहकारी संस्थाविरुद्ध उजुरी

बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीन वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ ।

प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार राजन पोखरेलका अनुसार पछिल्लो पटक सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ पुलचोक ललितपुर, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था काठमाडौँ र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौँलाई समस्याग्रस्त घोषणा गरेको छ ।

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।

गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए ।

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान

डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ । १६ अर्बमा आयोजनाको पुनः ठेक्का आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए।

पहिलो पटक गत जेठ २० गते सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आह्वान गरिएको थियो । आयोजनामा हाई हिमालयन हाइड्रो र एजिई कम्पनीको जेभी, झोङदिङ इन्टरनेसनल, पटेल इन्जिनियरिङ, लामा कन्स्ट्रक्सनलगायत सातवटा कम्पनीले आवेदन दिएका थिए ।

उक्त ठेक्कामा कुनै पनि कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि पुस २१ गते ठेक्का रद्द गरिएको हो ।

इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका थिए ।

१५ लाख रुपैयाँको लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ । उनले भने, ‘अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजार भन्दा बढी इँटा प्रयोग भइसकेको छ ।’

उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन् । महिनामा सात हजार इँटा उत्पादन हुन्छ । एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए ।

अलैँची बिक्रीबाट २२ करोड आम्दानी

लमजुङका किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन इकाई लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।

यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ ।

त्यसैगरी, गत आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो ।

सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित

गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।

उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ०६ बजे

आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं – विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि

अमेरिकी राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– स्वर्णयुग सुरु भयो, आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ

काठमाडौं – अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले

वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति