काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले) गठजोडको वर्तमान सरकारले मुलुकको सार्वजनिक ऋण पौने दुई खर्ब रुपैयाँ बढाएको छ । गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३.३० प्रतिशतले वृद्धि भएको छ ।
नेपाल प्रहरीदेखि सरकारी वकिल कार्यालय र अदालतसम्म बैङ्किङ कसुरका हजारौं मुद्दा रहेको पाइएको छ । आज सुनको मूल्य बढ्यो ।
आजका आर्थिक समाचार :
नेपालले सात महिनामा १४ अर्बको धान र साढे ९ अर्बको मकै बेसायो, कुन कृषि उपज कति आयात ?

‘कृषिप्रधान देश’को नारा नछाडेका नेपालीले खेतबारी बाँझो राखेर चालु आर्थिक वर्षको सात महिनामा १४ अर्बको धान र साढे ९ अर्ब रुपैयाँभन्दा बढीको मकै बेसाएका छन् ।
धान र मकै नेपालका प्रमुख खाद्यबाली हुन् । देशमा वृहत् उत्पादन सम्भावना रहेका अधिकांश कृषि उपज पनि ठूलो मात्रामा आयात भएको छ ।
बैङ्किङ कसुरमा प्रहरीदेखि अदालतसम्म १६ हजारभन्दा बढी मुद्दा
नेपाल प्रहरीदेखि सरकारी वकिल कार्यालय र अदालतसम्म बैङ्किङ कसुरका हजारौं मुद्दा रहेको पाइएको छ । महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदनअनुसार प्रहरीदेखि अदालतसम्म १६ हजारभन्दा बढी बैङ्किङ कसुरका मुद्दा दर्ता, अनुसन्धान र मुद्दा प्रक्रियामा रहेको देखिएको हो ।
प्रतिवेदनअनुसार; गत वर्ष देशभरका प्रहरी कार्यालयहरूमा १३ हजार २६३ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका थिए । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोमा ६, काठमाडौं उपत्यकाभित्र सात हजार ६५६, कोशी प्रदेशमा एक हजार चारवटा, मधेश प्रदेशमा एक हजार १६, बागमती प्रदेशमा ७३८, गण्डकी प्रदेशमा एक हजार ८२, लुम्बिनी प्रदेशमा एक हजार १७८, कर्णाली प्रदेशमा २८६ र सुदूरपश्चिम प्रदेशमा २९७ बैङ्किङ कसुरका निवेदन दर्ता भएका थिए ।
१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, निर्यात ४६ प्रतिशत
गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३.३० प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात दुवै बढ्न पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबरको भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको भएको हो ।
ओली नेतृत्वको सरकारले सात महिनामा पौने दुई खर्ब सार्वजनिक ऋण थप्यो

नेपाली कांग्रेस र नेकपा (एमाले) गठजोडको वर्तमान सरकारले मुलुकको सार्वजनिक ऋण पौने दुई खर्ब रुपैयाँ बढाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ माघ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिवेदनमा उल्लेख भएअनुसार; गएकाे असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ९८ लाख रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण दायित्व माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ७९ अर्ब ९६ करोड ३४ लाख रुपैयाँले बढेको हो ।
माघ मसान्तसम्म नेपालकाे कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । हाल कायम सार्वजनिक ऋण कुल गाहर्स्थ उत्पादन (देशको अर्थतन्त्रको कुल आकार)को ४५.७७ प्रतिशत हो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० रुपैयाँले र चाँदीमा १० रुपैयाँले बढेको छ । बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।
झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ।
परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ प्रतिशत प्रगति
मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्रे गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्रे गरिएको हो ।
आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्र भएको छ । सोमा १५ दशमलव छ चार लेन र १२ दशमलव ७३ किलोमिटर दुई लेन रहेको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
५० लाख भन्दा बढीको लागतमा ‘स्वयम्भू महोत्सव’

५० लाख भन्दा बढीको लागतमा काठमाडौं महानगरपालिका वडा नम्बार- १५ ले स्वयम्भू महोत्सव गर्ने भएको छ । काठमाडौं–१५ का वडाध्यक्ष इश्वमान डङ्गोलले बिहीबार पत्रकार सम्मेलन गरेर ५० लाख रुपैयाँ भन्दा बढीको लागतमा फागुन १० गतेदेखि १७ गतेसम्म स्वयम्भू महोत्सव हुने भएको जानकारी दिए ।
अध्यक्ष डंगोलको अनुसार सुरुमा २० लाख रुपैयाँको मात्र लागत अनुमान गरिएको भए पनि पछि खर्च बढ्दै जाँदा ५० लाख रुपैयाँ भन्दा बढी पुग्ने अनुमान गरिएको बताए । ‘हामीले यो महोत्सवको लागि २० लाख रुपैयाँ विनियोजन गरेका छौँ’, वडाध्यक्ष डङ्गोलले भने, ‘तर, खर्च गर्दै जाँदा ५० लाख रुपैयाँ भन्दा बढी पुग्ने देखिएको छ ।’
प्रतिक्रिया