काठमाडौं– ललितपुरको एक अपार्टमेन्ट । सोमबार चौथो तल्लामा घण्टी बजाउँदा अपराह्न ४ बजिसकेको थियो । भित्र प्रवेश गर्दा मेडिसिटी अस्पतालका डकुमेन्ट असरल्ल देखिए ।
भर्खरै थेरापीबाट फर्किएका पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद वसन्त नेम्बाङ र श्रीमती भूमिका सुब्बा आराम कक्षमा भेटिए । वसन्तले आफूलाई संसद बैठकमा लैजान श्रीमतीसँग कर गरिरहेका थिए । भूमिका भने थेरापीपछि आराम गर्नुपर्ने भन्दै सम्झाइरहेकी थिइन् ।
सांसद नेम्बाङ विगत एक वर्षदेखि मष्तिष्काघातको समस्याबाट पीडित छन् । नर्सले जस्तै स्याहारिरहेकी श्रीमती भूमिकाका आँखा र अनुहार बिरामी श्रीमानका भन्दा कम मलिन थिएनन् ।
खबरहबको टोली पुगेपछि भूमिकाले आफूलाई सकेसम्म फ्रेस मुडमा फर्काउने यत्न गरिन् । मन जति नै रोए पनि बिरामी श्रीमानलाई हाँसेर सेवा गरिरहेकी उनले पत्रकारको टोलीलाई आराम कक्षमा स्वागत गरिन् ।
गृहजिल्ला, पाँचथरकै पत्रकार भेट्न आएपछि भूमिकाले श्रीमानलाई सोधिन्, ‘चिन्नुभयो ?’
उनले नचिनेको संकेत गर्दै मुन्टो हल्लाए । धेरै पटक नाम ठम्याउने कोसिस गरे तर सकेनन् । श्रीमतीले ज्ञा.. भनेपछि बल्ल उनले ‘नु’ भन्ने शब्द उच्चारण गरे, अनि तोते आवाजमा ‘ज्ञानु’ भने ।
बिरामी शरीर, विकासमा मन
कम्युनिस्टहरू रुसी उपन्यास ‘अग्निदीक्षा’लाई उधृत गर्दै भन्ने गर्छन्, ‘बोल्सेभिक स्पिरिटको मन र कुँजिएको शरीरबीचको अन्तरविरोध अति कष्टदायी हुन्छ ।
एमाले सांसद वसन्त नेम्बाङ पनि अहिले यस्तै पीडादायी मनोदशाबाट गुज्रिरहेका छन् । उनी राम्रोसँग बोल्न र चल्न सक्दैनन् । तर, जिल्लाको विकास–निर्माणमा उनको चेतन र अवचेतन मन डुलिरहन्छ ।

पूर्वमन्त्री वसन्तले खबरहबकर्मीसँग पूर्वी नेपालको बाटोघाटो र विकास निर्माणका बारेमा सोध्न चाहे । संवादका लागि श्रीमती सुब्बाले सहयोग गरिन् । नेम्बाङले धरान, धनकुटा, इलाम र पाँचथर जोड्ने राँके–रवि–भेडेटार सडक घुम्न मन लागेको सुनाए ।
अघिल्लोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला कालोपत्रे गर्न भन्दै यो सडकको उदघाटन भएको थियो । पछि नेम्बाङले भौतिक पूर्वाधार मन्त्री भएका बेला यो सडक निर्माण अगाडि बढाएका थिए । तर काम अहिलेसम्म निर्माणाधीन छ ।
नेम्बाङ भौतिक पूर्वाधार मन्त्री भएकै बेला सुरु भएको तमोर–कोरिडोरको बाटोको पनि हिँड्न मन भएको उनले सुनाए । उनले मध्यपहाडी लोकमार्ग यात्रा गर्ने इच्छा देखाए । खासगरी, धरानको चतराबाट फिदिमसम्म तमोर कोरिडोरमा अहिले गाडी गुडिरहेको भन्दै त्यो बाटोमा यात्रा गर्ने उनको चाहना रहेछ ।
गम्भीर रोगसँग जुधिरहेका सांसद नेम्बाङको दिमागमा आफ्नो पालामा गरिएका विकासका कामहरू सम्झनाका तरेली बनेर आइरहँदा रहेछन् । उनले पाँचथरको तुम्बेवा–कुम्मायक खानेपानी आयोजना पनि सम्झिए । त्यहाँका जनताको प्रतिवद्धता पूरा गर्ने बचन दिएको सुनाउँदै भावुक भए अनि गहभरि आँशु निकाले ।
गत असोज ११ र १२ गते आएको बाढीका कारण भत्किएको पाँचथर–ताप्लेजुङ जोड्ने हेवाखोला पुलको विषयमा पनि उनी गम्भीर देखिए । श्रीमतीलाई त्यसको फलोअप गर भनेर हातले इसारा गरे । उनले चाँडै पुल बन्छ भन्दै श्रीमानलाई थम्थम्याइन् ।
अब निको भएर फेरि सक्रिय राजनीतिमा लाग्ने कुरो गर्दा सांसद नेम्बाङले मुन्टो हल्लाएर नकारात्मक जवाफ दिए । श्रीमतीतिर हेरेर फिस्स हाँसे ।

हातले इसारा गर्दै दाहिने खुट्टा, दाहिने हात र शरीरको दाहिने पूरै भाग नचलेको र जोडले दुःखेको गुनासो सुनाए । पाँचथर जान मन भएको तर अहिले नै नसक्ने भन्दै वैशाखपछि चाहना व्यक्त गरे । जिल्लावासी र नेताहरूलाई सम्झिरहेको बताउँदै भावुक भए ।
एकैछिनमा मुस्कुराउँदै ‘चिया खानुभयो ?’ भनेर सोधे ।
श्रीमतीका अनुसार जो भेट्न आए पनि उनी ‘चिया खाजा नखाई हिँड्न नदिनू’ भन्छन् ।
पाथीभरा केवलकार विवादको विषयमा संवाद र वार्तामार्फत जानुपर्ने र सबैको भावना समेटेर सरकारले काम गर्नुपर्ने नेम्बाङको सुझाव छ । पाँचथरमा गत साल भत्किएको ‘लिम्बुवान गेट’ पनि उचित ठाउँमा निर्माण होस् भन्ने चाहना व्यक्त गरे ।
विसं २०१९ भदौ १५ गते पाँचथरमा जन्मिएका सांसद नेम्बाङ २९ वर्षको उमेरमा ०४८ सालमा पहिलो पटक सांसद निर्वाचित भएका थिए । त्यही वर्ष भूमिका सुब्बासँग बिहे भयो । सुब्बा कलाकार हुन् ।
सुब्बा र नेम्बाङको बिहे राजनीतिक परिवारमै भएको हो । छोरा प्रभातकिरण नेम्बाङ २७ वर्षका भए तर उनी राजनीतिमा आउन चाहँदैनन् । पिता बिरामी परेपछि उनको पढाइ रोकिएको छ । छोरी नोनिम विवाह गरेर अमेरिकामा छिन् । उनले विरामी पितालाई भिडियोमा मात्र देख्न पाएकी छिन् ।
जिल्लामा सधैं लोकप्रिय

पाँचथरका सांसद वसन्त नेम्बाङ २०५१, २०५६, २०७४ र २०७९ साल गरेर पाँच पटक निर्वाचित भएका छन् । ०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठन्धनलाई पछि पार्दै नेम्बाङले कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई ४६ मतको झिनो अन्तरले हराए ।
नेम्बाङ ०७६ फागुन ८ देखि ०७७ असोज २९ सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने । उनी ०७८ असारमा पुनः मन्त्री बने । नेकपा विभाजनपछि केही समय सहरी विकास मन्त्रीसमेत बने ।
जिल्लामा सधैं चुनाव जित्ने लोकप्रिय एवं पार्टीका पुराना र स्थापित नेता भएता पनि नेम्बाङ अहिलेसम्म एमालेको केन्द्रीय पदाधिकारी बन्न बाँकी छ । उनी पार्टीको केन्द्रीय सदस्य छन् । एमालेमा राम्रो सम्भावना बोकेका नेम्बाङलाई बीच बाटोमै स्वास्थ्यले नराम्रो धोका दियो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको राजनीतिक प्रेरणा र मार्गनिर्देशनमा अगाडि बढेका नेता हुन् वसन्त । निर्वाचनमा प्रायः हार नखाएका उनी रोगसँग पनि नहार्ने प्रयत्न गरिरहेका छन् । दिनको तीन–चार पटक थेरापी गरेर उनी रिकभर हुने प्रयत्नमा छन् । र, अहिले त संसदमा पनि आउन थालेका छन् ।
पार्टीको काममा ताप्लेजुङ गएका बेला ०८० माघ १७ गते नेम्बाङ अकस्मात् गम्भीर बिरामी परे । एक वर्ष बितिसक्दा पनि उनको बोली स्पष्ट खुलिसकेको छैन । शरीर पुरै तंग्रिन बाँकी छ ।
अब पूर्वमन्त्री नेम्बाङले बिरामी परेपछि गरिरहेको कष्टपूर्ण आत्मसंघर्षको कथा सुनौं, श्रीमती भूमिका सुब्बासँगको कुराकानीबाट । नेम्बाङको स्वास्थ्य अवस्थाबारे कुरा गर्दा भूमिका धेरैचोटि भक्कानिइन् । हामीले रोकिँदै–रोकिँदै प्रश्न गर्यौं ।

माननीयज्यूलाई लागेको रोग के हो ?
बिराम त ‘ब्रेन स्ट्रोक’ नै हो । स्ट्रोक भन्ने बित्तिकै प्रायः प्रेसर हाई भएर नै हुन्छ तर उहाँको प्रेसर लो थियो । मुटुका कारणले गर्दा स्ट्रोक भएको भन्नुहुन्छ डाक्टरले । उहाँले मुटुको औषधी खाइरहनुभएको थियो । ताप्लेजुङ चिसो ठाउँमा जाँदा ब्लड बाक्लो भएर पम्पिङ गर्दा नशा ब्लक भयो भन्नुहुन्छ डाक्टरहरू ।
औषधि के–के खाइरहनुभएको थियो ?
उहाँले सुगरको नियमित औषधि खानुभएको थियो । मुटुको पनि औषधि खानुभएको थियो । मुटुको खाएको ९/१० वर्ष भएको थियो । मुटुको पनि जटिल समस्या हैन । मैले पहिला पनि डा.मानबहादुर केसीसँग परामर्श गराएको हो । मस्सल अलि बाक्लो भएकाले समस्या भएको भन्नुहुन्थ्यो । प्रायः यो समस्या खेलाडीहरूको हुन्छ रे । उहाँ ब्याडमिन्टन खेल्नुहुन्थ्यो त्यो बेला जीवनजल र नुन चिनी पानी खानुहुन्थ्यो । उहाँको अलिक बढी पसिना जान्छ ।
अप्ठ्यारो समस्या नभए पनि कहिलेकाहीँ समस्या ल्याउन सक्छ भनेर डक्टरले सामान्यखालको औषधि दिनुभएको थियो । ‘कोपिलेट’ भन्ने औषधि थियो । सुगर पनि थियो । ०७५ सालबाट औषधि खानुभएको हो । उहाँसँगै मलाई पनि सुगर देखिएको थियो । ग्यास्ट्रिक खासै थिएन । प्रेसरचाहिँ लो नै थियो । सुवास नेम्बाङ बितेपछि दुईपटक हाई प्रेसर देखायो । तलको १३०, माथिकोे १४० देखाएको थियो ।
उहाँलाई सुवास नेम्बाङ बितेको दिन पनि अस्पताल भर्ना गरिएको थियो, होइन ?
हो । उहाँलाई भेट्न राति साढे १ बजेतिर अस्पताल पुगेका थियौँ । त्यहाँ घण्टा बसेपछि उहाँलाई गाह्रो भएर गंगालाल अस्पतालमा इमरजेन्सीमा लिएर गएको हो । त्यो दिन अस्पतालमै राखेका थियौँ । गत साल ताप्लेजुङमा समस्या देखिएपछि अहिले यो अवस्था आयो ।
खास ताप्लेजुङमा के भएको रहेछ ?
म सँगै थिइनँ । साथीहरूले भनेअनुसार उहाँ बिहान खाजा खाएर हिँड्नुभएको रहेछ । फुङलिङको पाथीभरा होटेलमा खाना खान बस्नुभएछ । त्यसपछि मिटिङमा जाने भनेर उठ्दा उहाँको हातबाट मोबाइल खसेछ । साथीहरूले ‘मोबाइल खस्यो’ भन्दा नसुनी अर्कोपट्टि फर्किनुभएछ । त्यसपछि अरूले मोबाइल टिपेर हातमा दिँदा समाउनुभएन । साथीहरूले यस्सो हेर्दाखेरि मुख बाङ्गिएको रहेछ । उहाँलाई ‘प्रेसरले हान्यो’ भन्दै साथीहरूले समातेर कुर्सीमा राख्नुभएछ ।
अस्पताल लगियो । गाडीसम्म आफैँ हिँडेर नै जानुभएको थियो । प्राथमिक उपचार भयो । जटिल समस्या भएपछि उहाँको शरीर पानीमा चोपलेको टिस्यु पेपरजस्तै लतक्कै भएको थियो रे । जिल्ला अस्पताल ताप्लेजुङ ल्याएपछि त उहाँ होसमा हुनुभएन । साथीहरूले मलाई फोन गर्नुभएन । किनकि, म आत्तिने मान्छे ।
तर, पीएले मलाई भन्नुभयो । जिल्ला अस्पतालमा उपचार नहुने भएपछि चार/पाँचवटा हेलिकोप्टरलाई सम्पर्क गर्दा पनि मौसम समस्याका कारण उड्न सकेनन् । ६ घण्टा त हेलिकोप्टर खोज्दैमा बित्यो । अन्तिममा मेडिसिटीका डाक्टरलाई लिएर काठमाडौंबाट हेलिकोप्टर पठाउनुपर्ने भयो ।
पुगेर हेलिकोप्टर ल्याण्ड भयो होला भनेको त खोटाङ हलेसीमा ४५ मिनेट त आकाशमै होल्ड भएछ । फर्किन खोजिरहेका बेला युवा संघका अध्यक्ष क्षितिज थेबे र एमाले नेता पुष्पज्योति ढुङ्गानाले सुनकोशी बगरतिर गएर धनकुटाको तमोर हुँदै माथि जान सकिने रुट छ भनेपछि नयाँ रुट पत्ता लगाएर बल्ल उहाँलाई उद्धार गरियो । नयाँ रुट पत्ता नलगाएको भए त अहिले के हुन्थ्यो, त्यो म सम्झन सक्दिनँ ।
काठमाडौं ल्याएपछि ‘थ्रोम्बेक्टोमी’ प्रविधिबाट उपचार गर्ने कि चिर्ने भन्नेमा अलमल भयो । डाक्टरले ‘थ्रोम्बेक्टोमी’ कथंकाल सफल भएन भने चिर्नुपर्छ भन्नुभयो । डिसिजन गर्न गाह्रो भयो । सबैको सुझावमा चिर्नुभन्दा ‘थ्रोम्बेक्टोमी’ गरियो । ८ घण्टापछि उपचार सुरु भयो ।
उहाँको शरीर मुढोजस्तो थियो । साथीहरूले माया नै मारेको भन्नुहुन्छ । मैले त केही बोल्न, हेर्न पनि सकिनँ ।
म काठमाडौं आएपछि तिमी अमेरिका जान तयार हुनु, छोरी सुत्केरी हुँदैछिन् भन्नुभएको थियो । त्यस्तो भएर आउनुभयो ।

यहाँले देख्दा होसमा हुनुहुन्नथ्यो ?
इमर्जेन्सीमा हेर्दा मुख बाङ्गिएको थियो । आँखा हेर्नुभएको थियो । म कसरी भन्नु, मलाई नै चिन्नुभएन । अहिले जिस्क्याएर अस्ति मलाई चिन्नुभयो ? भन्दा केही थाहा नै छैन भन्नुहुन्छ । मैले तपाईँलाई त्योबेला कस्तो भयो भन्दा उहाँ घुमेको जस्तो भयो भनेर औंलाले देखाउनुहुन्छ । त्यसपछि के भयो थाहा छैन भन्नुहुन्छ ।
होस कहिले आयो ?
‘थ्रोम्बेक्टोमी’ गरिसकेपछि उहाँलाई आइसीयुमा झारे । उहाँको होस आउन करिब १६/१७ घण्टा लाग्यो । आइसीयुमा झारेपछि म जाँदा चिन्नुभयो । मैले चिन्नुभयो ? भनेँ, उहाँले मुन्टो हल्लाउनुभयो ।
कस्तो अवस्था आउने रहेछ ! चिनेँ भन्नुहुन्छ होला भनेको, मुन्टो मात्र हल्लाउनुभयो । बोल्न सक्नुभएन । सुन्ने, देख्ने क्षमता थियो, बोल्ने थिएन । म त छाँगाबाट झरेजस्तै भएँ । सम्हालिन सकिनँ र बाहिर निस्केँ । बुढी हो भन्ने थाहा पाए पनि बोल्न सक्नुभएन । छोरो जाँदा पनि चिन्नुभयो तर बोल्नुभएन रे ।
मेडिसिटी अस्पतालमा कहिलेसम्म राख्नुभयो ?
एक महिना राखेपछि घर ल्याइयो । डाक्टरले ठीक छ, जति परिवारसँग नजिक भइन्छ, उति रिकभर हुन्छ भनेपछि घरमा ल्याएर राख्यौँ । त्यसपछि हामीले नियमित थेरापी गर्यौँ । अस्पतालमा पनि आइसीयुबाटै दुईवटा थेरापी सुरु भइसकेका रहेछन् । घर ल्याएपछि पनि नियमित गरायौँ ।
चीन लगेर उपचार गर्दा राम्रो हुन्छ भनेको सुनेका थियौँ । उता पनि ट्राई गरियो । तर, प्रेसर लो भएपछि हाई अल्टिचुटमा समस्या हुने बताउनुभयो । बोलीका लागि पनि चीनमा ठीक नहुने भन्नुभयो । साथीहरूले सहयोग गर्न खोज्नुभएको थियो तर स्वास्थ्यकै कारणले मिलेन । बिरामी भएको पाँच महिनापछि भारतको बैङ्लोर लगियो ।
किन ? मेडिसिटीबाटै ठीक भएन ?
मेडिसिटीका डाक्टरले जहाँ लगे पनि ७५ प्रतिशत रिकभर हुन्छ भन्नुभएको थियो । हातको अलि गाह्रो छ, खुट्टाको विस्तारै आउँछ र बोली पनि आउँछ तर पहिलाको जस्तो राम्रो हुँदैन भन्नुभएको थियो । तर, परिवारको मन, यता लाँदा पो राम्रो हो कि, उता लाँदा पो राम्रो हुने हो कि भन्ने हुनेरहेछ । यहाँ नराम्रो भएर लगेको हैन तर खोज्दै जाँदा कहाँ राम्रो गर्न सकिन्छ भन्ने हिसाबले सबै परिवारको सल्लाहमा गरियो ।
डा. नटराजले पनि त्यो सुझाव दिनुभयो । त्यो अस्पताल एसियाको टप तीनमा पर्ने रहेछ । त्यो सरकारी अस्पताल राम्रो रहेछ । एक हप्ता अस्पतालमा राखियो । औषधी सबै यताको नै चलाइयो । बाहिर अपार्टमेन्टमा राखेर थेरापीमा लगियो । छोरा पनि साथमा थिए । परिवारको निगरानीमा काम गरियो ।
त्यहाँ सबै राम्रो रहेछ । हामी विशेष मान्छे भएर मात्र हैन, मैले नेपालकै सामान्य मान्छेसँग पनि भेटेँ । सहज नै रहेछ । उहाँहरूले चिनेको कारण विशेष निगरानी गर्नुभयो होला भनेको तर सबैलाई राम्रो गरिँदो रहेछ । जति टाइम दिए पनि थेरापीमा समस्या थिएन । त्यहाँ फिजियोथेरापी, अकुपेशनल थेरापी, ब्यालेन्सी थेरापी गरियो । अकुपेशनलमा दैनिक जीवनमा के गर्ने, त्यो सिकाइयो । खाना पकाउने, हात धुने, मुख धुने सिकाइँदो रहेछ । यहाँ पनि नराम्रो भने भएको थिएन तर मेरो मन मानेन ।
दिनको तीनवटा थेरापी गरेपछि अहिले ठिक हुँदै गएको छ । एकपटक बाहिर लगेर ल्याऊँ भोलि–पर्सि त्यहाँ लगिनँ कि भन्ने हुन्थो कि भनेर लगेको हो । डाक्टरको मोटिभेसन पनि राम्रो थियो । त्यहाँ नजिकै एक्टिभ थेरापी गराए । स्वीमिङ पुलमा मनतातो पानीमा उनीहरूले एक्सरसाइज गराए । त्यसले पनि राम्रो गरायो । नेपालमा यसको प्रयोग नभएको रहेछ । दुबईमा पनि छ रे तर त्यो अलि महँगो रहेछ । भारतमा सस्तो पनि राम्रो पनि भयो ।
अहिले उहाँको अवस्था कस्तो छ ?
बोलीमा पहिलाको जस्तो रिकभर हुँदैन रे । योभन्दा राम्रो हुन्छ रे । अहिले ता–ता–तु बोल्नुहुन्छ । कति बज्यो घडी हेर ? जाने कि नजाने ? यता आऊ त ? यो चिज खाने भन्नुहुन्छ । तर, स्पष्ट बोली छैन । पहिलो उच्चारण गर्न गाह्रो छ । जति सक्दो बोलाउनु भन्नुहुन्छ डाक्टरले । बोलाइरहन्छु । तर, झर्को मान्नुहुन्छ । थेरापीमा पनि झर्को मान्नुहुन्छ । उहाँको उमेर कम भएको भए समस्या नहुने रहेछ ।
उहाँ खेल खेलिरहने मान्छे भनेर भनिन्थ्यो तर बिरामी भएपछि त्यो नहुने रहेछ । एक्सरसाइज गर्न मान्नुहुन्न । फकाउनुपर्छ । दुख्छ । पोल्छ । आँसु नै आउँछ नि ।

खाना के खानुहुन्छ ?
नर्मल नै खानुहुन्छ । कुखुरा र माछा खानुहुन्छ । मासु त छाकैपिच्छे खान खोज्नुहुन्छ । पिरो पनि खान दिन्छु ।
बिरामी स्याहार्न गाह्रो होला है ?
गाह्रो त हुन्छ तर रिकभर हुन्छ भनेर मैले कन्ट्रोल गरिरहेकी छु । राति तीन–चार पटक उठ्नुपर्छ । बिहान उठेर फलफूल खानुहुन्छ । औषधी खानुहुन्छ । साढे आठपछि थेरापी जानुहुन्छ । सुरुमा स्पिज थेरापी छ । साढे १० सम्म स्पिज गराएर त्यसपछि फिजियो गराएर घर आइपुग्दा दिउँसोको साढे १ बज्छ । २ बजेपछि आराम गरेर साढे तीन बजे उठ्नुहुन्छ ।
साँझ साढे पाँच बजे फेरि थेरापी हुन्छ । त्यसपछि लेख्न सिकाउने गरिन्छ । ८ बजे खाना खाने, औषधी खाने । त्यसपछि बेडमा बसेर ९ बजेपछि समाचार हेर्नुहुन्छ । के आयो ? इजरायल र हमास युद्धको अपडेट लिनुहुन्छ । नेपाली समाचार, टिकटक रिल्स हेर्नुहुन्छ ।
लेख्न सक्नुहुन्छ ?
लामो कुरा लेख्नुहुन्न । यो लेख्नु भनियो भने अलिअलि लेख्नुहुन्छ । पूरै लेख्नुहुन्न । देब्रेले लेख्न सिकायो भने दाहिने एक्टिभ हुँदैन भनेर लेख्न धेरै सिकाएको छैन । हस्ताक्षर गर्नुपर्छ । लेख्ने बानी भएपछि बोल्न सक्नुहुन्न भनेर हामीले धेरै लेख्न सिकाएको छैन ।
राजनीतिप्रति चासो कत्तिको राख्नुहुन्छ ?
सबै सांसद र मन्त्रीहरूको अभिव्यक्ति, देशको स्थिति पढ्नुहुन्छ । सोध्नुहुन्छ मन परेन भने ठिक भएन भनेर ‘हे’ गरेर प्रतिक्रिया दिनुहुन्छ । रियाक्सन थाहा हुन्छ । तर, केन्द्रको भन्दा पनि साथीभाइ आउँदा पाँचथर जिल्लाको बाढीको विषय हो । हेवाखोलाको बाढीले गरेको क्षति, जिल्लाका अरू सडकको अवस्थाबारे सोध्नुहुन्छ । आफू मन्त्री हुँदा गरेका कामको निरन्तरता पनि हेर्नुहुन्छ।
जिल्लाका पुलहरूको अवस्था सोध्नुहुन्छ । जिल्लावासीको बढो चासो लिनुहुन्छ । जिल्लामा विपत् हुँदा के भयो ? के गरेको छ हेर्नु भन्नुहुन्छ । असोजमा बाढी आएका बेला मलाई जानु, गएर हेर्नु भन्नुभयो । तर, मैले छाडेर जान सकिनँ । म पनि जान्छु भन्नुभयो । यो अवस्थामा कसरी लानु र । फोन गर, बुझ भन्नुहुन्छ । जिल्लामा केही भयो भने सोधेको सोधेकै । फोन गर भनेको भनेकै ।
माघ २४ गते त संसद बैठकमै जानुभएको थियो हैन ?
बेली नआएको भएर सुरुमा उहाँलाई पहिलो दिन आँट आएन, अप्ठ्यारो मान्नुभयो । अहिले त सदन जान उत्साहित हुनुहुन्छ । सोमबार थेरापी भएकाले सदन जान पाउनुभएन । थेरापीबाट आए पनि जाउँ भन्दै हुनुन्थ्यो । मैले अरूतिरै कुरा डाइभर्ट गरेँ ।
उहाँको स्वास्थ्यबारे दलका नेताले कत्तिको चासो राख्नुभयो ?
सबैले चासो राख्नुभएको छ । मान्छेहरू आउने जाने भइरहन्छ । प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति र अन्य नेताहरूले पनि भेट्नुभयो । सबै दलका नेताहरूले चासो राख्नुभएको छ । एमाले महासचिवलाई भेट्न जाने भनेको, समय मिलेको छैन ।
मंसिरमा जिल्ला जानुभएको थियो, उतै बस्छु भन्नुभएन ?
आउन मान्नुभयो । किनकि घर बस्ने भाइ पनि बिरामी थियो । काठमाडौं ल्याएको थियो । पूजा लगाएर मात्र आउने भनेका थियौँ । एक महिना मात्र बसियो । जिल्लामा साथीभाइहरू आएर भेट्नुभयो, उहाँलाई रिफ्रेस भयो ।
सबै साथीहरूलाई भेट्न आतुर हुनुहुन्थ्यो । उहाँ पनि थप उत्साहित हुनुभयो । ठिक हुँदैन भन्ने लागेको थियो, ठिक हुँदै छु भन्नुभयो । विकास निर्माणका कुरामा चासो राख्नुभयो । सडकको स्थिति के छ भनेर सोध्नुभयो र ध्यान दिएर सुन्नुभयो । सुरक्षा निकायका व्यक्तिहरूसँग पनि जिल्लाका बारेमा सोध्नुभयो । सुनेर ठिक छ भन्नुभयो । चासो त उत्तिकै हुँदोरहेछ ।
पहिलाको दैनिकी र अहिलेको दैनिकी कस्तो छ ?

उहाँ पहिला त उठेर ब्याडमिन्टन खेल्ने गर्नुहुन्थ्यो । पढ्नुहुन्थ्यो । गफ गर्नुहुन्थ्यो । अहिले त्यो छैन । सफासुग्घर गर्ने तरिका उस्तै छ । सदन जाँदा पनि लुगाहरू आफैँ छान्नुहुन्छ । अरू सबै पुरानो छ । मैले निकालेका लुगा मन परेन भने उहाँले सबै छान्नुहुन्छ । पहिला मेरो च्वाइसमा पनि लगाउनुहुन्थ्यो । अहिले यो लगाऊ ल भन्यो भने राम्रो हेर्नुहुन्छ र ल भन्नुहुन्छ । लगाउने स्टायल पनि उस्तै छ । मिलाएर, आइरन गरेर । उस्तै छ ।
पहिला दिनैपिच्छे नुहाउनुहुन्थ्यो । अहिले त्यो मिलेको छैन । नुहाएपछि खुसी भएर निस्कने, ऐन हेर्ने, कपाल कोर्ने गर्नुहुन्थ्यो । अहिले पनि उस्तै छ । उहाँको बानी परिवर्तन भएको छैन । हिँडाइ र बोलीमात्र राम्रो भए त नर्मलजस्तो लाग्छ । हात चाहिँ मुखसम्म पुर्याउनु सक्नुहुन्छ । दाहिने भागमा समस्या छ । खुट्टा पनि ८० प्रतिशतसम्म निको हुन्छ भनेको छ ।
यहाँलाई अहिले के मिस हुन्छ उहाँको पुरानो बानी ?
सदन जाँदा पनि टक्क परेर जाने । आउँदा पनि खुसी भएर आउने । अरू कुरा त त्यस्तो हुँदैन । उहाँ कहिल्यै नरिसाउने । जे कुरा पनि नढाँट्ने । घर आउँदा खुसी हुने । जस्तै पीडा हुँदा पनि बाहिरबाटै हाँस्दै आउने । ब्याडमिन्टन खेलेर आउँदा पनि कपाल मिलाउँदै, हाँस्दै बुढी यति स्कोर हानेँ भन्ने । खुसी हुने । ढोकामा आएपछि जहाँबाट आए पनि बुढी… भन्ने । यी सबै कुरा मिस हुने रहेछन् ।
अहिले कति गाह्रो हुन्छ ।………मन भक्कानिन्छ । म कति कुरा देखाउँदिनँ । मेरो सिङ्गल एजेन्डा भनेकै उहाँलाई रिकभर गराउने हो । पहिलाको जस्तै बनाउने भनेर लागेकी छु ।

धर्मप्रति पहिलाबाटै आस्था राख्ने भएको भएर कुनै कमी गरेकी छैन । हातखुट्टा के भो र उहाँको बोली मात्र केही सुधार भए हुन्छ । आर्थिक समस्याको कुरा उहाँले थाहा पाउनुभयो भने उहाँलाई तनाव हुन्छ । एउटा जग्गा छ, बेच्न खोज्दा बिकेन । दोस्रो पटक थपेर लोन लिएँ । त्यसमा हस्ताक्षर गर्दा जिन्दगीमा कहिल्यै नरोएको बुढो मैले रोएको देख्नुपर्यो ।
त्यहाँबाट त थेरापीमा जान नमान्ने, खान पनि नखाने, तनाव लिएर बस्ने भयो । अहिलेको समस्या भनेको उहाँले सोचेको कुरा र बोल्न खोजेको कुरा जोडिएको भएको छैन । लेख्न लाग्नुभयो भने पनि लेखिरहने । पढ्न दियो भने शब्द थाहा छ, उहाँलाई पढिसक्नुहुन्छ तर देखाउने औंलाचाहिँ अर्को शब्दमा हुन्छ । वाक्य भनिसके पनि हात सार्नुहुन्न । नामहरू सम्झनुहुन्न ।
के खाएको थाहा छ तर नाम भन्नुहुन्न । यो कुरा अलि पछिसम्म हुन्छ रे । थोरै उक्कायो भने भन्नुहुन्छ । जस्तै– तपाईकै नाम अघि ज्ञा………भन्यो भने …नु भन्नुभयो नि, त्यस्तै । आफैं उक्काएर चाहिँ भन्नुहुन्न । कहिले त बोल्न पनि झिँझो मान्नुहुन्छ ।
यस्तोखालको जटिल समस्याको उपचार खर्च त धेरै लाग्यो होला ?
खर्च त अकल्पनीय हुने रहेछ । सुरुमा मेडिसिटीमै दिनको १५ हजार जति लाग्थ्यो । ‘थ्रोम्बेक्टोमी’ नै महँगो हुने रहेछ । मसिनो ढंगले हिसाब त गरिएको छैन तर १ करोड ६० लाख भन्दा धेरै लागिसक्यो होला । दिनमा अहिले चारवटा थेरापी छ ।
जियोथेरापी, स्पिजथेरापी र घरमा पनि एउटा फिजियो छ, हप्तामा २ पटक न्युरोसाइप्याटिक थेरापीमा पनि लाँदैछु । अहिले पनि दिनको ५ हजार छ । हप्तामा ५० हजार नाघ्छ ।
बेङ्लोरमा चाहिँ उपचार खर्च कति लाग्यो ?
उता त आउने जाने र पर्सनल खर्च लाग्यो । अस्पताल चार्ज सस्तो नै थियो । उपचार खर्च सस्तो थियो तर खान–बस्न महँगो । अपार्टमेन्ट महँगो । पुग्न सकियो भने उपचार खर्च सस्तो । खान पनि सस्तो तर बिरामी भएकाले हामीले अपार्टमेन्ट नै लिनपथ्र्यो । नेपाली १ सयमा खान राम्रो पाउने । ६०/७० मा पनि राम्रो खान पाइने रहेछ । उता खासै खर्च भएन । नटराज आफन्त डाक्टर हुनुहुन्थ्यो, उहाँले सहयोग गर्नुभयो ।

खर्च कसरी जुटाइरहनुभएको छ ?
ऋण लिएकी छु । जग्गा राखेकी छु । सुन थियो, त्यो बेचेकी छु । छोरी र मेरो सुन थियो, सबै बेचेँ । बिहेको सुन, पुर्खाको सुन, सेयर सबै बेचेकी छु । गाडी पनि बेचियो ।
मान्छेहरू भन्छन्– मन्त्री भएको मान्छे, उपचार गर्न त के समस्या ? तर उहाँले कहिल्यै पनि गलत काममा हात हाल्नुभएन । मैले पनि यही सुझाव दिन्थेँ । इमान्दार भएर काम गरेको मान्छे भएर नै अहिलेसम्म कुनै विवाद आएका छैनन् । उहाँ स्वार्थविहीन हुनुहुन्छ । सचिवालयका साथीहरूले पनि साथ दिनुभयो ।
सरकारी सहयोग मिलेन ?
प्रधानमन्त्री पुष्पकमल दाहालले २० लाख दिने निर्णय गर्नुभएको थियो । सबै कर तिरेका बिलहरू पेस गरेँ तर सबै मिलाउँदा सरकारले १० लाख मात्र दियो । । परिवार र साथीभाइले सहयोग गर्नुभयो । छोरा कमाउने भएको छैन, भाडामा बसेका छौँ । कति गाह्रो छ । उहाँलाई निको होस्, जग्गा बेचेर पनि उपचार गर्छु भनेर लागेकी छु ।
कहिलेकाहीँ म बिरामी परें अब तिमीले राजनीति सम्हाल भन्नुहुन्न ?
हामीले त उहाँलाई छिटो निको हुनु भनेर मोटिभेसन गर्ने हो । फेरि राजनीतिमा आउनुपर्छ र जिल्लाको नेतृत्व गर्नुपर्छ भन्ने हो । त्यसो भन्दा हाँस्नुहुन्छ । अहिले पनि म कति कुरा डाइभर्ट गरिराख्छु । कहिले चाहिँ अब म सक्दिनँ होला, रिकभर हुँदैन होला भनेर हरेस खानुहुन्छ । त्यही भएर मोटिभेसन होस भनेर मैले न्यूरोसाइकोथेरापिस्टकहाँ पनि लगिरहेकी छु ।
अब मैले राजनीति गर्नुपर्ला, के गर्ने ? भनेर म सोध्छु । उहाँ हाँस्नुमात्र हुन्छ । म राजनीतिमा गएँ भने मलाई कसले हेर्ला भनेर पनि चिन्ता होला । हाउ बुढा, तपाईँले त्यत्रो वर्ष राजनीति गर्नुभयो, मैले पनि राजनीति गरेँ । बीचमा पो म हजुरलाई सहयोग गर्ने भएर ग्याप बसेको त । अब तपाई पनि यस्तो हुनुभयो, म पनि हुँदा राजनीति त शून्यमा जान्छ त के गर्ने ? छोरो पनि चासो दिँदैन भन्दा हाँस्नुहुन्छ । गरिहाल चाहिँ भन्नुहुन्न ।
तपाई पनि राजनीतिभन्दा पर हुनुहुन्न । जनसांस्कृतिक महासंघको उपाध्यक्ष भएको मान्छे, अब राजनीतिमा सक्रिय नहुने ?
मेरो राजनीति गर्ने सोच भन्दा पनि उहाँको भावना कस्तो छ भनेर बुझ्न खोजेको हो ।

छोरा त यहीँ देखिनुभयो, छोरी कहाँ हुनुहुन्छ ?
छोरी न्यूयोर्कमा छिन् । सुत्केरी हुन लागेकी थिइन् । उहाँ ताप्लेजुङबाट फर्किएपछि म जान्छु भनेर झोला तयार पारेर बसेकी थिएँ । उहाँलाई त्यस्तो भयो । छोरा यहीँ छ । उसलाई खोजिरहनुहुन्छ । छोरीकी नानी भएको थाहा पाएपछि तँ जा म बस्छु भनेर कहिले त दिक्क लगाउनुहुन्छ ।
छोरीको बिजोग भयो, जा भनेर निकै पटक भन्नुभयो । तर, म कसरी जानु र ? छोरो चीनमा पढ्दै थियो । अन्तिम सेमेस्टर थियो । जानलाई एयरपोर्ट पुगेको थियो, धन्न माथि छिरेको थिएन । बाबालाई त्यस्तो भएपछि फोन गरेर फर्काइयो । बाबाले जा भन्नुहुन्छ, मैले नजा अब भनेर छाडेको । पढाइ भनेको त्यस्तै हो ।
अहिले त छोरीकी छोरी छ । बेलुका नातिनी नदेखी सुत्न मान्नुहुन्न । भिडियो कल नगरी सुत्नुहुन्न । छोरीले पनि बाबालाई बिरामी भएपछि लाइभ देखेकी छैन । मैले नै नानी हिँड्ने भएपछि आउनु भनेँ । उहाँ पनि म निको भएपछि छोरी भेट्न जान्छु भन्नुहुन्छ ।
याे पनि…
प्रतिक्रिया