सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा हाट लागेको दिन दुनाटपरी बेच्न भ्याइनभ्याइ हुन्छ ।
सालको पात गाँसेर बनाइने दुनाटपरीको आम्दानीले उनी सन्तुष्ट छिन्। उनले भनिन्, ‘दिनदेहाडी (दैनिक ज्याला) बराबरको रकम दुनाटपरी बिक्री गरेर भइहाल्छ, सीपको सदुपयोग गर्न सकेकोमा सन्तुष्ट छु ।’
धनगढी उपमहानगरपालिकाको जाई जालीलगायतका चौधरी समुदायका महिलाहरू पछिल्ला वर्षहरूमा दुनाटपरी तयार पारी बिक्री गरेर मनग्गे आम्दानी लिइरहेका छन् । दुनाटपरी बेचेर एक महिलाले दैनिक कम्तीमा रु ५०० देखि बढीमा रु एक हजारसम्म कमाइ गर्छन् ।
धार्मिक एवं पूजाआजामा दुनाटपरीलाई शुद्ध एवं चोखो मानिन्छ । चौधरी समुदायले दुनाटपरीमा खानाका परिकार राख्न बढी प्रयोग गर्ने भएकाले पनि दुनाटपरी अतिरिक्त आम्दानीको स्रोत बन्दै गएको हो ।
चाडपर्व, मेला, महोत्सवमा दुनाटपरीको माग बढी हुने गरेको छ । ‘हाट बजार हाम्रा लागि दुना टपरी बेच्ने केन्द्र बनेकाले बजारको समस्या छैन’, अर्की महिला राममतिदेवीले भनिन्, ‘महिलाहरू घरमा त्यसै बस्नुभन्दा हाटबजारमा पुगेर कमाइ गर्न सिकेका छौँ ।’
धनगढी उपमहानगरपालिका कार्यालयले महिलालाई दुनाटपरी उत्पादन गरेर कारोबार गर्नका लागि मेसिन उपलब्ध गराए पनि मेसिनमार्फत तयार हुने दुनाटपरी ग्राहकले त्यति नरुचाउने गरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया