कैदीले किन दोहोर्‍याए अपराध, जेल प्रशासन भन्छ- ‘दुर्व्यसनीमा यस्तो समस्या देखियो’  « Khabarhub

कैदीले किन दोहोर्‍याए अपराध, जेल प्रशासन भन्छ- ‘दुर्व्यसनीमा यस्तो समस्या देखियो’ 



घटना एक

गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरे । जेन–जी आन्दोलनका क्रममा सहकारी ठगीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले पत्नीको हत्या गरेका हुन् ।

काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् । सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खुमा जेल सजाय काटिरहेका थिए । उनी जेन–जी आन्दोलनका क्रममा अन्य ७ सय कैदीसहित नख्खु कारागारबाट भागेका थिए ।

घटना दुई 

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरे । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विजय यादवअनुसार सोमबार दिउँसो कारागारबाट छुटेका मोदी गाउँपालिका–७ दराकका ५१ वर्षीय जितबहादुर विकले मध्यरातमा श्रीमती सीता विकको हत्या गरेका हुन् ।

प्रहरीकाअनुसार राति हँसियाको प्रयोग गरेर घरमै श्रीमतीको हत्या गरेको खुलेको थियो । वैवाहिक करणी मुद्दामा ५० हजार धरौटी बुझाएर छुटेका जितबहादुरले श्रीमती ५२ वर्षीया सीताको कुटपिट गरी हत्या गरेका हुन् । 

बुहारी २८ वर्षीया शोभा विकले स्थानीयमार्फत् राति २ः३० बजे प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन् । खबरलगत्तै पुगेको प्रहरीले दुई कोठा भएको एकतले पक्की घरको कोठामा उत्तानो सुनाएको अवस्थामा टाउको र अनुहारमा चोटसँगै सिरकले छोपेको अवस्थामा सीतालाई फेला पारेको थियो । 

तत्काल कुश्मा अस्पताल पुर्‍याउँदा चिकित्सकले सीतालाई मृत घोषित गर्‍यो ।  जितबहादुर जिल्ला कारागार पर्वतबाट छुटेर घर पुगेका थिए । दुर्घटना भएको घरमा जितबहादुर, श्रीमती सीतासँगै एक बुहारी एक दुई महिनाकी नातिनी गरेर चार जना थिए । जितबहादुरका तीन छोरा भने वैदेशिक रोजगारीमा छन् । 

घटना तीन 

जेन–जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले आफ्नै साथीको हत्या गरे । कारागारबाट भागेका उनले मकवानपुर घर भई हाल बालाजु मनमैजु बस्ने २५ वर्षका सुरज तामाङको हत्या गरे । 

ठमेलको बुद्धबार गल्लीमा रहेको ह्याप्पी होटेल अगाडि सुरज खुकुरी प्रहारबाट घाइते भएका थिए । उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । अनुसन्धानमा सुरज र आकाश चिनजानकै साथी भएको र उनको हत्यामा आकाश संलग्न रहेको देखिएको प्रहरीको दाबी रहेको छ ।

आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा थिए । जेन-जी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किए लगत्तै नख्खुका कैदी, बन्दीहरू समेत बाहिर निस्किएका थिए । त्यही क्रममा आकाश पनि कारागारबाट बाहिर आएका थिए ।

यी केही समाचारले कैदीबन्दी भएर वर्षौं जेल जीवन बिताउँदा उनीहरूको आपराधिक चरित्रमा सुधार नआएको प्रष्ट गर्छ । अपराधीलाई जेल हाल्नुको प्रमुख उद्देश्य भनेको पीडितको सुरक्षा गर्नु र अपराधीबाट समाजलाई सुरक्षित राख्नु हो ।  अर्को उद्देश्य भनेको उनीहरूमा पश्चात्ताप भएर बाँकी जीवनमा सुधार आओस् भन्ने हो ।  

नेपाल प्रहरीको केन्द्रीय तथ्याङकअनुसार जेन–जी आन्दोलनको क्रममा मात्रै देशभरका कारागार कैदी र बालसुधारबाट १४ हजार ५५६ जना कैदी फरार भएका थिए । जसमध्ये मंसिर २ सम्म ९ हजार ६४१ जना पक्राउ परिसकेका छन् । ४ हजार ९१५ जना अझै फरार छन् । 

त्यसैगरी प्रहरी हिरासतमा रहेका एक हजार ३२ जना फरार भएका थिए । त्यसमा १३४ जना पक्राउ परेका छन् भने ८९८ जना अझै फरार रहेका छन् । त्यसैगरी सोही आन्दोलनबाट भागेका दुई कैदी पुनः हत्यामा संलग्न भएका छन् । काभ्रे र काठमाडौंमै जबरजस्ती करणी र लागू औषध मुद्दामा कसुर सजाय काटिरहेका कैदीबन्दी पुनः हत्यामा संलग्न भएका छन् । 

कैयौँ वर्ष हिरासतमा बिताएको व्यक्ति समाजमा पुगेर पुनः अपराधमा कसरी संलग्न हुन्छ ? हिरासत र बन्दीगृह आफैँमा सहज छैन । तर वर्षौवर्ष कष्टकर सजाय भोगेर पनि कैदी किन सुध्रिँदैन ? ऊभित्रको आत्मसंयम कसरी डगमगाउँछ ? अझ परिवारको सदस्य नै कसरी उसको सिकार बन्न पुग्छ ? 

समाजमा घुलमिल हुन नसक्दा अपराधमा संलग्न : कारागार व्यवस्था विभाग

कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सजाय कटाएर कारागारबाट निस्किएकाहरूले समाजमा घुलमिल हुन नसक्दा पुनः अपराध संलग्न हुने गरेको बताएका छन् । 

खबरहबसँग कुरा गर्दै उनले भने, ‘कर्तव्य ज्यान मुद्दामा समाजमा घुलमिल हुने सन्दर्भमा अर्को अपराध गरेका छन् । अर्को परिवार र समाजबाट पनि अपहेलित भएको महसुस गरेको हुन्छ ।’

‘कारागारबाट अधिकांश सुध्रिएरै निस्कने हुन् । सबैले अपराध गर्छन् भन्ने छैन । एकाधले गरेका हुन्छन्’ न्यौपाने थप्छन्, ‘लागू औषधमा पक्राउ परेको अभियुक्तहरू प्रायजसो पुनः अपराधमा संलग्न भएको पाइन्छ । तलको कारणले छुटकारा पाइरहेको हुँदैन । पैसाको अभावमा ओसारपसारमा लाग्छ । नभए चोरीमा पनि संलग्न भएको पाइन्छ ।’

साथै, कारागारमा बसे पनि केहीलाई आफू अन्यायमा परेको महसुस हुनेले बाहिर गएर अपराध गरेको न्यौपाने बताउँछन् । भन्छन्, ‘कारागारमा मनोपरामर्श, योग, ध्यान लगायत शारीरिक क्रियाकलापमा लगाइन्छ । त्यो भनेको उनीहरूको मनोबल बढाउने उपाय हो । सुध्रने तथा राम्रो आचरण भएकालाई कानूनले पनि सजाय छुट गरेको छ ।’ 

‘उनीहरूलाई आन्तरिक प्रशासनको जिम्मेवारी दिने, जिम्मेवारी वहन गर्न सिकाउने लगायतका कार्य कारागारले गरिरहेको हुन्छ । आचरण सुधार हेरेर छुट तथा सुविधा प्रदान गरिएको हुन्छ, उनले भने, ‘कारागारबाट निस्केर पनि पुनः अपराधमा संलग्न हुने विषय सामाजिक विषय हो । यसको छुट्टै गहिरो अध्ययन हुन आवश्यक छ । सामाजिक विषयमा यस्ता पाठ्यक्रम राखेर अध्ययन गरिनु पर्छ ।’ 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ५४ बजे

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन