घटना एक
गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरे । जेन–जी आन्दोलनका क्रममा सहकारी ठगीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले पत्नीको हत्या गरेका हुन् ।
काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् । सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खुमा जेल सजाय काटिरहेका थिए । उनी जेन–जी आन्दोलनका क्रममा अन्य ७ सय कैदीसहित नख्खु कारागारबाट भागेका थिए ।
घटना दुई
जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरे । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विजय यादवअनुसार सोमबार दिउँसो कारागारबाट छुटेका मोदी गाउँपालिका–७ दराकका ५१ वर्षीय जितबहादुर विकले मध्यरातमा श्रीमती सीता विकको हत्या गरेका हुन् ।
प्रहरीकाअनुसार राति हँसियाको प्रयोग गरेर घरमै श्रीमतीको हत्या गरेको खुलेको थियो । वैवाहिक करणी मुद्दामा ५० हजार धरौटी बुझाएर छुटेका जितबहादुरले श्रीमती ५२ वर्षीया सीताको कुटपिट गरी हत्या गरेका हुन् ।
बुहारी २८ वर्षीया शोभा विकले स्थानीयमार्फत् राति २ः३० बजे प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन् । खबरलगत्तै पुगेको प्रहरीले दुई कोठा भएको एकतले पक्की घरको कोठामा उत्तानो सुनाएको अवस्थामा टाउको र अनुहारमा चोटसँगै सिरकले छोपेको अवस्थामा सीतालाई फेला पारेको थियो ।
तत्काल कुश्मा अस्पताल पुर्याउँदा चिकित्सकले सीतालाई मृत घोषित गर्यो । जितबहादुर जिल्ला कारागार पर्वतबाट छुटेर घर पुगेका थिए । दुर्घटना भएको घरमा जितबहादुर, श्रीमती सीतासँगै एक बुहारी एक दुई महिनाकी नातिनी गरेर चार जना थिए । जितबहादुरका तीन छोरा भने वैदेशिक रोजगारीमा छन् ।
घटना तीन
जेन–जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले आफ्नै साथीको हत्या गरे । कारागारबाट भागेका उनले मकवानपुर घर भई हाल बालाजु मनमैजु बस्ने २५ वर्षका सुरज तामाङको हत्या गरे ।
ठमेलको बुद्धबार गल्लीमा रहेको ह्याप्पी होटेल अगाडि सुरज खुकुरी प्रहारबाट घाइते भएका थिए । उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । अनुसन्धानमा सुरज र आकाश चिनजानकै साथी भएको र उनको हत्यामा आकाश संलग्न रहेको देखिएको प्रहरीको दाबी रहेको छ ।
आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा थिए । जेन-जी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किए लगत्तै नख्खुका कैदी, बन्दीहरू समेत बाहिर निस्किएका थिए । त्यही क्रममा आकाश पनि कारागारबाट बाहिर आएका थिए ।
यी केही समाचारले कैदीबन्दी भएर वर्षौं जेल जीवन बिताउँदा उनीहरूको आपराधिक चरित्रमा सुधार नआएको प्रष्ट गर्छ । अपराधीलाई जेल हाल्नुको प्रमुख उद्देश्य भनेको पीडितको सुरक्षा गर्नु र अपराधीबाट समाजलाई सुरक्षित राख्नु हो । अर्को उद्देश्य भनेको उनीहरूमा पश्चात्ताप भएर बाँकी जीवनमा सुधार आओस् भन्ने हो ।
नेपाल प्रहरीको केन्द्रीय तथ्याङकअनुसार जेन–जी आन्दोलनको क्रममा मात्रै देशभरका कारागार कैदी र बालसुधारबाट १४ हजार ५५६ जना कैदी फरार भएका थिए । जसमध्ये मंसिर २ सम्म ९ हजार ६४१ जना पक्राउ परिसकेका छन् । ४ हजार ९१५ जना अझै फरार छन् ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका एक हजार ३२ जना फरार भएका थिए । त्यसमा १३४ जना पक्राउ परेका छन् भने ८९८ जना अझै फरार रहेका छन् । त्यसैगरी सोही आन्दोलनबाट भागेका दुई कैदी पुनः हत्यामा संलग्न भएका छन् । काभ्रे र काठमाडौंमै जबरजस्ती करणी र लागू औषध मुद्दामा कसुर सजाय काटिरहेका कैदीबन्दी पुनः हत्यामा संलग्न भएका छन् ।
कैयौँ वर्ष हिरासतमा बिताएको व्यक्ति समाजमा पुगेर पुनः अपराधमा कसरी संलग्न हुन्छ ? हिरासत र बन्दीगृह आफैँमा सहज छैन । तर वर्षौवर्ष कष्टकर सजाय भोगेर पनि कैदी किन सुध्रिँदैन ? ऊभित्रको आत्मसंयम कसरी डगमगाउँछ ? अझ परिवारको सदस्य नै कसरी उसको सिकार बन्न पुग्छ ?
समाजमा घुलमिल हुन नसक्दा अपराधमा संलग्न : कारागार व्यवस्था विभाग
कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सजाय कटाएर कारागारबाट निस्किएकाहरूले समाजमा घुलमिल हुन नसक्दा पुनः अपराध संलग्न हुने गरेको बताएका छन् ।
खबरहबसँग कुरा गर्दै उनले भने, ‘कर्तव्य ज्यान मुद्दामा समाजमा घुलमिल हुने सन्दर्भमा अर्को अपराध गरेका छन् । अर्को परिवार र समाजबाट पनि अपहेलित भएको महसुस गरेको हुन्छ ।’
‘कारागारबाट अधिकांश सुध्रिएरै निस्कने हुन् । सबैले अपराध गर्छन् भन्ने छैन । एकाधले गरेका हुन्छन्’ न्यौपाने थप्छन्, ‘लागू औषधमा पक्राउ परेको अभियुक्तहरू प्रायजसो पुनः अपराधमा संलग्न भएको पाइन्छ । तलको कारणले छुटकारा पाइरहेको हुँदैन । पैसाको अभावमा ओसारपसारमा लाग्छ । नभए चोरीमा पनि संलग्न भएको पाइन्छ ।’
साथै, कारागारमा बसे पनि केहीलाई आफू अन्यायमा परेको महसुस हुनेले बाहिर गएर अपराध गरेको न्यौपाने बताउँछन् । भन्छन्, ‘कारागारमा मनोपरामर्श, योग, ध्यान लगायत शारीरिक क्रियाकलापमा लगाइन्छ । त्यो भनेको उनीहरूको मनोबल बढाउने उपाय हो । सुध्रने तथा राम्रो आचरण भएकालाई कानूनले पनि सजाय छुट गरेको छ ।’
‘उनीहरूलाई आन्तरिक प्रशासनको जिम्मेवारी दिने, जिम्मेवारी वहन गर्न सिकाउने लगायतका कार्य कारागारले गरिरहेको हुन्छ । आचरण सुधार हेरेर छुट तथा सुविधा प्रदान गरिएको हुन्छ, उनले भने, ‘कारागारबाट निस्केर पनि पुनः अपराधमा संलग्न हुने विषय सामाजिक विषय हो । यसको छुट्टै गहिरो अध्ययन हुन आवश्यक छ । सामाजिक विषयमा यस्ता पाठ्यक्रम राखेर अध्ययन गरिनु पर्छ ।’













प्रतिक्रिया