काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकपछि वक्तव्य निकाल्ने क्रममा गम्भीर गल्ती गरेको पाइएको छ ।
बाराको सिमरामा तनाव उत्पन्न भएपछि बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका अहिले नै मन्त्रिपरिषद्लाई सेना परिचालनको सिफारिस गर्ने निर्णय गरेको छ।
तर उक्त बैठकका निर्णयबारे जानकारी सदस्य-सचिव एवम् रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जारी गरेको वक्तव्यमै गम्भीर लापरबाही भेटिएको छ।
भेटिएका दुई गल्तीअनुसार या त यो पत्र पहिले नै तयार गरिएको थियो या त हतारमा झुक्किएर गल्ती गरियो ।
पत्रमा मिति राखिएको स्थानमै वर्ष र महिना कम्प्युटरमा टाइप गरिएको छ भने गते भने हातले लेखिएको छ।
उता पत्रको व्यहोराको सुरूमै राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठक २०८१/०८/०४ गते अर्थात् एक वर्षअघि नै बसेको भनेर उल्लेख गरिएको छ । खासमा अहिले २०८२/०८/०४ चलिरहेको छ।
प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख सहभागी राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर बैठकको निर्णय लेख्ने क्रममा सचिव अर्यालले गम्भीर त्रुटी गरेका छन् ।
सिंदरबारस्थित परिषद् सचिवालयमा बसेको यो बैठकको अध्यक्षता नै प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले गरेकी थिइन्।
बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थितिमा राष्ट्रिय सुरक्षा जोखिम, पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको परिषद् सचिवालयले जनाएको छ।
बैठकले आ.व. ०८१/८२ को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामा संशोधनसहित स्वीकृति प्रदान गर्दै संविधानको धारा २६६(३) बमोजिम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।
यसबाहेक, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन संविधानको धारा २६६(१) अनुसार नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय पनि परिषद्ले गरेको छ।














प्रतिक्रिया