पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ? « Khabarhub

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?



काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित छन् । सुन्दरताको विषयलाई लिएर उनीहरु निकै संवेदनशील रहन्छन् । त्यसमाथि पुरुषजस्तो गालामा बाक्लो रौँ पलाउँदा युवतीहरुको मनोबल खस्किएको छ । साथै, उनीहरुलाई यस समस्याले मानसिक रुपमासमेत असर गरिरहेको छ ।

नेपाली समाजमा युवतीको गाला र चेपुमा लगायत अनुहारको भागमा पुरुषको जस्तै दाह्रीजुँगा पलाउनुलाई ‘शुभसंकेत’ मान्दै आएको छ । दाह्री, कपाल आउने महिला ‘भाग्यमानी’ मान्दै आएको छ । यस्ता महिलाको जीवन ऐस, आराम र ऐश्वर्यले भरिपूर्ण हुने मान्यता छ । तर, डाक्टरको अनुसार युवतीको अनुहारको बाक्लो रौँ शुभसङ्केत नभएर समस्या भएको बताउछन् । त्यसकारण ‘रुढीवादी’ सोचलाई त्यागेर उपचारमा लाग्नुपर्ने उनीहरुको सुझाव छ ।

पुरुषको शरीरमा टेस्टेस्टोरोन नामक हार्मोन हुन्छ। टेस्टेस्टोरोनले उत्पादन गर्ने डिहाइड्रोटेस्टोस्टेरोन (डीएचटी) गालाभित्रको रौँ फोलिकलमा रसाउन थालेपछि दाह्री टुसाउँछ। किशोरवस्थासँगै पुरुषको अनुहारमा दाह्री अर्थात् कपाल आउनु प्राकृतिक हो ।

तर कतिपय अवस्थामा महिलाको शरीरमा पनि पुरुष हार्मोन अर्थात् एन्ड्रोजेन बढ्न थाल्छ । यसकारण महिलाको अनुहार र शरीरका अन्य धेरै अङ्गहरुमा कपाल बढ्न थाल्छ । अधिकांश महिलाको अनुहारमा हल्का रौँ हुन्छ नै । तर पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) रोगका कारण महिलाको अनुहारमा कपाल बढ्ने गर्छ ।

पीसीओएस हुँदा महिलाको अण्डाशय सुन्निन्छ । अण्डाशयमा सुन्निने, पानीको फोका आउने कारण महिलामा महिला हार्मोनको सन्तुलन बिग्रिन थाल्छ र तौल बढ्ने, अनुहारमा कपाल बढ्ने समस्या देखिन्छ ।यी यावत् समस्या अन्तिममा गएर गर्भधारणको योजनालाई असफल बनाउने हुन्छ ।

०००

कक्षा दशमा अध्ययनरत माया भट्टराई घरकी कान्छी छोरी हुन् । उनीभन्दा माथि एक दाइ र दुई दिदीहरु छन् । किशोरवस्था लाग्दै गर्दा मायाको हातको पाखुरा र गोडामा केटा मान्छेको जस्तै बाक्लो कपाल भरिन थाल्यो । बिस्तारै उनको गालामा पनि बाक्लो कपाल आउन थाल्यो । गालाभरी देखिएको बाक्लो कपाललाई उनकी आमाले कान्छी छोरी अरुभन्दा भाग्यमानी भएको बताइन् ।

केटीको जुँगा पलाउनु शुभ संकेत भएको आमाको कुराले माया खुसी भइन् । उनको जुँगा मात्रै नभएर छातीमा पनि केटा मान्छेको जस्तो रौं पलाएका थिए । ती सबै लक्षणहरुलाई उनको परिवारले भाग्य चम्काउने सङ्केतको रुपमा स्विकार गरेर बसे । तर मायाको रजस्वलामा अनियमितता हुन थाल्यो ।

६ महिनामा एक पटक उनको रजस्वला हुन्थ्यो । रजस्वलामा अत्यधिक रक्तश्राव र दुखाई हुन्थ्यो । उनको रक्तश्राव ९/१० दिनसम्म हुन्थ्यो । साथै, पेट दुखाई सुत्केरी व्यथा जत्तिकै पीडा भएर रुने गर्थिन् । करिब दुई वर्षदेखि यहि समस्या हुँदै गएपछि आमाले छोरीलाई अस्पताल लगिन् । डाक्टरले मायालाई पोलिस्टिक ओभरी सेण्ड्रोम भएको बताए ।

००००

त्यसैगरी, सम्झना शर्मा (नाम परिवर्तन) को अनुहारमा पुरुषको जस्तै दाह्री आयो । सुरु–सुरुमा किन केटाहरुको जस्तो कपाल पलाएको होला भन्ने चिन्ता लाग्यो । लाजले मुख खुला राखेर हिड्न पनि सकिनन् । उनले पनि दाह्री आउनुलाई शुभसंकेत हो भनेर सुनिन् । सुन्दर देखिनको लागि उनी आफ्नो दाह्री पार्लरमा गएर थ्रेडिङ गर्थिन् । तर शुभ मानिने कुराले मनमा राहत दियो ।

तर विस्तारै उनको रजस्वला हुने प्रक्रियामा समस्या आउन थाल्यो । स्वास्थ्यको हिसाबले एक किशोरी हरेक २८ दिनमा रजस्वला हुनुपर्छ । तर उनको २/४ महिनामा रजस्वला हुन थाल्यो । त्यसपछि शरिरमा केही समस्या भएको महसुस गरिन् । अस्पताल गएर पुरै शरिर चेक गरिन् । आफ्नो रजस्वला अनियमिताको कारण पत्ता लाग्यो । पीसीओएस भएको रहेछ । जसको कारण उनको अनुहारमा दाह्री पलाएको थियो ।

यी माथिका प्रतिनिधी घटनाका समस्याग्रस्त पात्रहरु हुन् । यो समस्या युवतीहरुले प्रायः लुकाएरै राखेका हुन्छन् । साथीभाइले जिस्क्याउने भयले आजकाल पार्लर गएर थ्रेडिङ गर्ने सजिलो र सस्तो उपाययुवतीहरुले अपनाइरहेका हुन्छन् । तर पीसीओएस शरिरको बाहिर भागमा देखिएपनि यसको असर शरिरको भित्री भागमा हुन्छ । जसले उनीहरुको प्रजनन् स्वास्थ्यमाथि गम्भिर असर गरिरहेको हुन्छ ।

यो समस्या वंशानुगत साथै जोकोहीलाई पनि देखिन सक्छ । नेपालमा यकिनन् यति नै संख्यामा पीसीओएसको समस्या छ भन्ने तथ्याङ छैन । तर डाक्टरको भनाइ अनुसार पछिल्लो समय युवतीहरु यस समस्या लिएर अस्पताल धाइरहेको बताउछन् ।
पीसीओएसभनेको के हो ?

पीसीओएसभनेको महिलाहरूको प्रजनन उमेरमा हुने एक सामान्य हर्मोनल विकार हो । यसमा अनियमित महिनावारी, पुरुष हर्मोन (एन्ड्रोजन) को अधिकता र अण्डाशयमा धेरै स-साना सिस्टहरू (फोलिकलहरू) बन्ने समस्या हुन्छ। यस अवस्थाले शरीरका विभिन्न भागहरूलाई प्रभावित गर्छ । विशेषगरी प्रजनन प्रणालीमा यसको प्रभाव बढी देखिन्छ ।

यसका लक्षणहरू यस प्रकार हुन्छन्

– अनियमित महिनावारी (लामो समयसम्म नहुने वा एकदम थोरै रगत आउने हुन्छ) ।
– अनुहार, छाती, पेट वा पिठ्यूँमा अतिरिक्त रौं उम्रिने हुन्छ ।
– मुहारमा दाग वा छाला चिल्लो हुने हुन्छ ।
– तौल बढ्ने वा तौल घटाउन गाह्रो हुने ।
– टाउकोको कपाल पातलो हुने वा झर्ने ।
– छालामा कालो धब्बा आउने (विशेष गरी घाँटी, काखी वा अन्य भागहरूमा) ।
– बाँझोपन (गर्भधारण गर्न समस्या) ।
– इन्सुलिन प्रतिरोधका कारण मधुमेहको जोखिम बढ्ने ।
– थकान, डिप्रेसन वा चिन्ता जस्ता मानसिक स्वास्थ्य समस्या ।

(यी लक्षणहरू व्यक्ति अनुसार फरक–फरक हुन सक्छन् )

बाँझोपन, टेस्टट्युब बेबी र प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. नुतन शर्माले केटीको दाह्रीजुँगा आउनुसमस्या हो अर्थात् रोग भएको बताउछिन् । खबरहबसँग कुरा गर्दै उनी भन्छिन्, ‘मेल र फिमेल अर्थात् महिला र पुरुष प्रकृतिले संरचना गरेको हो । उसले दुवैलाई छुट्टाछुट्टै स्वरुप दिएको छ । केटीको अनुहारलाई प्रकृतिले सफा बनाएको छ । त्यसकारण दारीजुँगाले भरिन्छ भने समस्या हो भनेर बुझ्नुपर्छ ।’

‘यसले सबैभन्दा बढी असर गर्ने भनेको महिनावारी गढबढी हुने र मोटापना बढाउने हो । जसको सीधा असर गर्भधारण योजना असफल हुने सम्भावनालाई बढाउँछ, डा. शर्मा थप्छिन्, ‘पोलिस्टिक ओभरी सेण्ड्रोम भनेको सेण्ड्रोममा मल्टिपल फिचर हो । यो विशेष युवावस्थामा हुन्छ । ओभरीजमा मल्टिपल फोलिकल धेरै भएर हुने हो । फोलिकल विकास हुँदैन । एण्ड्रोजेन बढी उत्पादन गर्छ । एण्ड्रोजेन बढी हुने कारणले अभुलेसन पनि हुँदैन । त्यसकारण महिनावारी समयमा हुँदैन । एण्ड्रोजेनको कारणले मोटोपना बढ्छ ।’

पछिल्लो समय धेरै युवती पीसीओएसको समस्याले ग्रस्त भएको डा.शर्माको भनाई छ । ‘यसको कारण भनेको जंक फुड र शारिरीक कसरतको अभाव हो । पहिले महिलाहरु शरिरको काम गर्थे । यो समस्या थिएन । अहिले शारिरीक काम गर्ने अभ्यास कम हुँदै गएपछि यस्ता समस्या पनि बढ्दै गएको छ । तीन चारमहिना देखि ६ महिनासम्म महिनावारी नहुदाँ महिलामा प्रजनन असरसँगै मानसिक असरसमेत देखा पर्छ ।’

‘पोलिस्टिक ओभरी सेण्ड्रोम दुई प्रकारको हुन्छ । एक मायल हो र अर्को सिभियर हुन्छ । मायल केसमा त्यति धेरै असर हुँदैन । खानपानमा र शारिरीक कसरतमा ध्यान दिदाँ मात्रै पुग्छ ।तर सिभियरमा ‘अभुलेसन इन्डक्सन ड्रग’नै दिनुपर्ने हुन्छ । यो मेडिसिन वा इन्जेक्सनमार्फत दिइन्छ । जसले महिनावारीको लागि अण्डा बनाउछ, उनले भनिन् ।

उपचार विधिः

– जीवनशैली परिवर्तन गर्ने
स्वस्थ आहार (कम कार्बोहाइड्रेट, अधिक फलफूल र तरकारी) सेवन गर्ने ।
– नियमित व्यायाम मार्फत तौल नियन्त्रण प्रयासमा लाग्ने ।
यसले इन्सुलिन स्तर सुधार्छ र लक्षणहरू कम गर्छ ।

प्रजनन स्वास्थ्य अधिकारको व्यवस्था

नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ । यही संवैंधानिक व्यवस्थाको कार्यान्वयनका लागि महिलाको प्रजनन अधिकारको संरक्षण गर्न प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ छ ।

त्यसैगरी, नेपालको संविधान २०७२ ले धारा ३८ महिलाको हक अन्तर्गत उपधारा २ मा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रजनन स्वास्थ्य सम्बन्धि सेवा अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : ४२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित