सुनसरी– धरान रंगशालामा बिहीबार रातीदेखि अन्तरवडास्तरीय गोधूली रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । गोधूली क्लबको यो २५ औं संस्करण हो । आफ्नो स्थापनाको रजत वर्षलाई आयोजक क्लब गोधूलीले ऐतिहासिक बनाउन रात्रिकालीन प्रतियोगिता सञ्चालन गरेको हो ।
धरानमा हालसम्म रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन भएको थिएन । धरान रंगशालामा करिव ८ लाख रुपैयाँ खर्च गरेर ४० फिट अग्लो बांसको टावर बनाएर ६ वटा फ्लडलाइटमा जडान गरिएको भएपनि टिकट काटेर दर्शकहरू रात्रिकालीन फुटबल प्रतियोगिता हेर्न आउलान् कि नआउलान् भन्ने शंका भए पनि शुक्रबार राती आयोजकलाई नै आश्चर्यचकित बनाउने गरी धराने दर्शकहरूले रंगशालामा निर्मित सात हजार दर्शक क्षमताको प्यारापिट भरिएपछि आयोजक क्लबले आफ्नो २५ औं संस्करणलाई भव्य बनाउन कुनै कसुर बाँकी राखेन ।

वडा नं १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले गोधूली रनिङ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै धरानमा पहिलोपटक रात्रिकालीन फुटबल खेलको सुरुवात भएको बताए । उनले आगामी वर्ष भाडाको नभै सरकारबाट निर्माण भएको फ्लडलाइटमा नै प्रतियोगिता हुने वातावरण बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा पनि जोड दिए ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष किसोर राईले पनि प्रदेश सरकारसँग फ्लडलाइटको माग गरेको र आगामी वर्षको बजेटमा व्यवस्थापन हुने अपेक्षा व्यक्त गरेका थिए ।
उद्घाटन खेलमा ५ नं. वडा विजयी
२५ औं गोधूली रनिङ कपको उद्घाटन खेलमा १६ नं। वडालाई २–१ गोल अन्तरले पराजित गर्दै ५ नं. वडा प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ५ नं. वडाले खेलको १७ औं मिनेटमा नै अग्रता लिएको थियो । सुजन इङनामले ५ नं. वडाका लागी पहिलो गोल गरेका थिए । त्यसको १० मिनेट बित्न नपाउँदै १६ नं। वडाका सरुन श्रेष्ठले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफको २२ औं मिनेटमा ५ नं। वडाका तिलविक्रम लावतीले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । लावतीले यस अघि वान भर्सेज वानको स्थितिमा गोल गर्न चुकेका थिए । खेलको म्यान अफ दि म्याच वडा ५ का तिलविक्रम लावती घोषित भए ।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । २ नं.वडा र ७ नं. वडाले प्रतियोगितामा सहभागिता जनाउन सकेनन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व। सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधूली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

व्यक्तिगत पुरस्कारमा बेस्ट प्लेयरले १५ हजार, हाईस्कोर ७ हजार ५ सय, बेस्ट डिफेन्डर उदीयमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डर लाई जनही ५ हजार ५ सय प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकारलाई समापनमा सुवास राई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । धरान–१८ का वडाध्यक्ष नरेन्द्र कुमार राई ‘प्रवीण’ले मातापिताको नाममा विजेता र उपविजेता पुरस्कारमा थप २५-२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।
गोधूली फुटबल प्रतियोगिता २०५० देखी सुरु भएको हो । २४औँ गोधूली रनिङ कपको विजेता वडा नम्बर १३ रहेको थियो । प्रतियोगिताको कुल अनुमानित खर्च २४ लाख १८ हजार ३३ रूपैयाँ रहेको छ ।
राखेप र एन्फाले आर्थिक सहयोग नगरेको डिएफसीको गुनासो
सुनसरी– अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण सम्पन्न भइसकेको एक महिना वितिसक्दा पनि सहयोगको बचन दिने संस्थाहरुबाट अझै रकम प्राप्त नभएको धरान फुटबल क्लबले जनाएको छ ।
आर्थिक सहयोगको वचन पाएको रकम उठेमा कुल २१ लाख ५० हजार ५० रुपैयाँ बचत हुने क्वलका अध्यक्ष प्रताप तामाङ्ले बताए । प्रतियोगिता सकिएको एकमहिना पछि आयव्यय सार्वजनिक गर्दै क्लबले विभिन्न संस्थाबाट १५ लाख रुपैयाँ उठ्न बांकी रहेको जनाएको छ ।
बुढासुव्वा गोल्डकप प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बाट ५ लाख रुपैया, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख रुपैयाँ र धरान उपमहानगरपालिकाका वडाहरूले सहयोग गर्ने भनी वचन दिएको ७ लाख रुपैयाँ उठ्न बाँकी रहेको क्वलद्धारा सार्वजनिक हिसाबमा देखाइएको छ । हाल क्वलमा कुल ६ लाख ५० हजार ५० रुपैयाँ मात्र बचत रहेको पनि हिसाब देखाइएको छ ।
अध्यक्ष प्रताप तामाङकाअनुसार उद्घाटन समारोहमा मुख्यमन्त्री, खेलकुद विकास बोर्डका सदस्य सचिव लगायतले प्रतियोगिता सञ्चालन गर्न कम्तिमा १५ लाख रुपैयाँ सहयोग गर्ने बचन दिएपनि ५ लाख रुपैयाँ मात्र प्राप्त भएको छ ।
फुटबल प्रतियोगिता सम्पन्न गर्न विदेशका शुभेच्छुकहरूको सहयोगमा निर्भर रहेको उनले बताए । उनकाअनुसार विदेशबाट यसपालि सबै भन्दा बढी पोर्चुगल बस्दै आएका अरुण राईबाट ५ लाख, धरान युके हेल्पिङ हेण्डस् बाट ४ लाख ५० हजार, धरान हङकङ मञ्चको संयोजनमा कुल ३ लाख ३७ हजार ८ सय, धरान युके समाजबाट १ लाख ७० हजार रुपैयाँ प्राप्त भएको छ । यसैगरी आय मध्ये प्रतियोगिताका संयोजक धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ, मुख्य सहप्रायोजक गोर्खा ब्रुअरी प्रालिबाट ४ लाख २५ हजार, रेडबुलबाट १ लाख १० हजार रुपैयाँ प्राप्त भएको क्लबले जनाएको छ ।
आयोजक क्लवलाई प्रतियोगिताको आय–व्यय पारदर्शी नगरेको र हिसाव किताव सार्वजनिक पनि नगरेको आरोप लाग्दै आएको थियो । नेपालकै सवैभन्दा पुरानो फुटबल प्रतियोगिता मध्ये बुढासुव्वा पनि पर्छ । ०५५ सालदेखि सञ्चालन हुदै आएको उक्त प्रतियोगिता हालसम्म पनि स्वयमसेवीहरूबाटै सञ्चालन हुँदै आएको बताए ।
उनले भने, ‘हाम्रो तितो सत्य हो कि अझसम्म पनि क्लबले भोलिन्टियर बेसिसमै प्रतियोगिता आयोजना गरिरहेका छौँ । यसरी प्रतियोगिता आयोजना गर्दा धेरै अप्ठ्यारा समस्याहरू भोग्नु परिरहेको छ ।’
रकम दिने बचन दिएका संस्थाहरुबाट नै सहयोग नपाउदा विगत बर्षमा उपाधी विजेता टिम र खेलाडीहरुलाई पुरस्कार दिन समेत गाह्रो भएको थियो ।
यो वर्षको प्रतियोगितामा उठ्न बाँकी रकम बाहेक कुल आय ६६ लाख ९९ हजार १५० रुपैयाँ भएको छ । ती मध्ये गेट टिकट र सिजनलबाट ११ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको थियो । कुल खर्च ६० लाख ४० हजार १ सय रुपैयाँ भएको छ । ती मध्ये पुरस्कार राशीमा उपाधि विजेता, उपविजेता र अन्य गरी १९ लाख रुपैयाँ, टिम व्यवस्थापनमा २२ लाख ८ हजार १ सय रुपैयाँ खर्च भएको क्लबका महासचिव नवीन राईले बताए ।
गत माघ १९ देखी २६ गते सम्म धरान रंगशालामा सम्पन्न बुढासुब्वा गोल्डकपको २५औँ संस्करण को उपाधि न्युरोड टिम एनआरटीले हात पारेको थियो ।
प्रतिक्रिया