लेनदेनमा बढ्यो अपराध, प्रहरी भन्छ- ऋण खाएर नतिर्ने चोर हो ! | Khabarhub Khabarhub

लेनदेनमा बढ्यो अपराध, प्रहरी भन्छ- ऋण खाएर नतिर्ने चोर हो !

‘चिनेकै मानिसलाई समेत ऋण दिँदा विचार गरौँ’ 



काठमाडौं– तपाईँले कहिल्यै कसैसँग ऋण लिनुभएको छ ? वा कसैलाई ऋण दिनुभएको छ कि ? आजको समयमा तपाईँलाई कसैले ऋण पत्याउँछ भने त्यो साक्षात् भगवान् सरह हो ।

लेनदेनविना मानिसको गुजारा चल्दैन । ऋणलाई नेपाली समाजमा सहयोग वा सौहार्दताका रूपमा पनि हेरिन्छ । तर, कहिलेकाहीँ यही लेनदेनको विषय ठूलो अपराधमा परिणत हुने गरेको छ ।

यस अपराधको फन्दामा कहिले ऋण दिनेहरू परेका छन् भने कहिले ऋण लिने पनि परेका छन् । विवाद ऋण फिर्ता गर्न आनाकानीबाटै सुरु हुन्छ ।

उदाहरणका लागि केही प्रतिनिधि घटना हेरौँ 

गत फागुनमा बर्दियाको ठाकुरबाबा नगरपालिकामा भिनाजुले आफ्नै सालीको हत्या गरे । एक मात्र छोरी अमेरिका गएपछि ५१ वर्षीया एकल महिला राधा बोहरा अभिभावकत्व वा सहारा हुन्छ भनेर दिदी भिनाजुको घरनजिकै एउटा सानो कटेरो भाडामा लिएर बसेकी थिइन् । 

केही वर्ष अगाडि राधाले भिनाजु शान्तबहादुर खत्रीलाई ९० हजार रुपैयाँ ऋण दिएकी थिइन् । तर पैसा पटक–पटक फिर्ता गर्न भने पनि भिनाजुले तिर्ने छाँट देखाएनन् । आफूसँग पैसा नभएको भन्दै उनले टारिरहे । लेनदेनकै कारण उनीहरूको सम्बन्ध बिग्रियो । 

बुढेसकालमा खर्च गर्न हुन्छ र औषधीउपचार गर्नुपर्छ भनेर राधाले रक्सी पारेर बेचेको पैसा जम्मा गरेकी थिइन् । दुःख गरेर आर्जन गरेको पैसा माया मार्न पनि सकिनन् । त्यसैले भिनाजुसँग आफ्नो पैसा माग्न छोडिनन् ।

केही समयपछि भिनाजुले पैसा बराबरको जग्गा दिने कुरा गरे । केही पनि नपाउनुभन्दा जग्गा लिनु उचित थियो । त्यसैले राधाले भिनाजुको प्रस्ताव स्वीकार गरिन् । 

तर, पैसाको सट्टामा दिन लागेको जग्गा विद्युतको हाइटेन्सन लाइनमुनि थियो । त्यस्तो जग्गामा खेतिपाती गर्न जोखिम हुन्छ । बिक्री पनि हुँदैन । राधाले उक्त जग्गा नलिने बताइन् र पुनः नगद नै फिर्ता गर्न आग्रह गरिन् । 

आफूले दिन लागेको जग्गा नलिएपछि साली–भिनाजुबीच फेरि विवाद बढ्यो । त्यसपछि शान्तबहादुरले ऋणको बोझबाट उम्किनका लागि सालीको हत्या गर्ने योजना बनाए । 

उमेरले ६९ वर्षका शान्तलाई एक्लै सालीको हत्या गर्न सजिलो थिएन । श्रीमतीको सहारा लिउँ बहिनी मार्ने योजनामा साथ दिने कुरै थिएन । अन्ततः उनले २४ वर्षीया बुहारीको साथ लिए र राधाको हत्या गरे । 

गाउँलेहरूका अनुसार उनी नामले मात्र शान्तबहादुर थिए, तर निकै रिसालु स्वभावका अशान्त मानिस थिए । हाल शान्तबहादुर र बुहारी उमाकुमारी थुनामा छन् ।  

फागुनकै अर्को घटना

बैतडीमा खाना खाँदै गरेका एक युवकलाई नाताले दाइ पर्नेले गोली हानी हत्या गरे । दोगडाकेदार गाउँपालिकाका २३ वर्षीय सुरेन्द्र विष्टलाई ४५ वर्षीय कर्णबहादुर विष्टले गोली हानेका हुन् । 

सुरेन्द्र सधैँ सोही होटलमा खाना खान्थे । उनी जीप चालक हुन् । बेलुका ८ बजेतिर उनी स्थानीय एउटा होटेलमा जिप पार्किङ गरेर अन्य चार जना साथीहरूसँगै बसेर खाना खाइरहेका थिए । सोही समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानेका थिए । 

प्रहरीको भनाइ अनुसार सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रुपैयाँ  ऋण लिएर तिर्न आनाकानी गरिरहेका थिए । पैसाको विषयलाई लिएर दाजुभाइबीच झगडा परिरहेको थियो । एक पटक झगडामा सुरेन्द्रले दाइ कर्णबहादुरलाई दुई झापड समेत हानेका थिए ।
 
जुन दाजुले ऋण दिएका थिए, उसैलाई झापड पर्‍यो । यसो सम्झिने हो भने पीडित दाजु थिए । ऋण पनि दिनु छ । पैसा माग्दा पिटाइ पनि खानु छ । त्यो मनोविज्ञान आफैँमा निकै उदेकलाग्दो हुन्छ । तर, यो समस्याको समाधान हत्या होइन । 

भाइको पिटाइ सहन नसकेपछि दाजुले तँलाई छोड्दिनँ भन्दै धम्की दिएका थिए । अन्ततः कर्णबहादुरले भरुवा बन्दुकले सुरेन्द्रको हत्या गरे ।

हत्यापछि फरार रहेका कर्णबहादुरलाई प्रहरीले जंगलमा समातेको थियो । उनी जंगलैजंगल सीमापारि भारत जाने तयारीमा थिए । हाल उनी थुनामा छन् । 

त्यस्तै केही वर्ष अगाडि रौतहटमा एक पुजारीको गोली हानी हत्या भयो । आर्थिक लेनदेनकै कारण श्रीराम साहलाई मन्दिर परिसरमै गोली हानिएको थियो ।  काठमाडौंमा कवाडीको काम गर्दै आएका श्रीराम साहलाई मन्दिर परिसरमै गोली हानियो । यसको मुख्य कारण  पनि लेनदेन नै थियो । 

उक्त घटनामा प्रहरीले नरेश भन्ने रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको थियो । पुजारी साहको रकम रामनरेशका बाबुले ब्याजमा लगेका थिए । उक्त रकम तिर्ने विषयमा विवाद भइरहँदा उनीहरुले पुजारीको हत्या गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको थियो । 

काठमाडौंमा कवाडीको काम गर्दै आएका श्रीरामकी छोरीको नवजात अवस्थामै मृत्यु भयो । छोरीको मृत्यु भएको केही वर्षपछि श्रीमतीको पनि मृत्यु भयो । एक्लो बनेका श्रीराम विक्षिप्त भएर गाउँ फर्किएका थिए । उनी जीवनको उत्तराद्र्धमा आफ्नै पैसा खर्च गरेर मन्दिर बनाई त्यहीँ बस्न थालेका थिए । 

शान्त स्वभावका पुजारी साहले मन्दिर निर्माण भएपछि घरमा त्यति जाँदैनथे । मन्दिरमा आएको भेटीले आफ्नो गुजारा गर्दै आएका थिए ।

लेनदेनको अपराध उच्च

सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क हेर्दा पछिल्लो समय लेनदेनका मुद्दाहरु ह्वात्तै बढेको देखिएको छ ।

एक आर्थिक वर्षमा देशभरका अदालतमा ३४ हजार ७३० वटा लेनदेनका मुद्दा परेका छ । जसमा २१ हजार २०१ मुद्दा टुङ्गिसकेका छन् भने १३ हजार ५२९ वटा लेनदेनसम्बन्धी अपराध अदालती प्रक्रियामै छन् । 

सर्वोच्च अदालतमा मात्रै एक वर्षमा ५८० वटा लेनदेनका मुद्दा परेका छन् । त्यस्तै, उच्च अदालतमा २ हजार २३६ र जिल्ला अदालतहरूमा ३१ हजार ९१४ वटा लेनदेनका मुद्दा परेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक लेनदेनमा सबैभन्दा धेरै अपराध : प्रहरी प्रवक्ता

नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्याङक अनुसार अधिकांश हत्या आर्थिक लेनदेनकै कारण हुने गरेका छन् ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा ०८१ को माघसम्म तीन सय जनाको हत्या भएको छ । अघिल्लो वर्ष ६३८ र ७९ सालमा ५२२ जनाको हत्या लेनदेनको विवादका कारण भएको प्रहरीको भनाइ छ । 

लेनदेनको अपराध सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ भने दोस्रोमा लुम्बिनी प्रदेश र तेस्रोमा मधेश प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशमा भने लेनदेनका कारण ज्यान जाने घटना न्यून देखिएको छ । 

त्यस्तै, ०८१ सालमा लेनदेनसम्बन्धी अपराधमा ७६६ जना अभियुक्त पक्राउ परेका छन् । ०८० मा ८०४ जना र ०७९ सालमा ४४१ जना पक्राउ परेका छन् । 

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) दिनेशकुमार आचार्यले सबैभन्दा धेरै अपराध आर्थिक लेनदेनमा भएको बताएका छन् । उनले खबरहबसँग कुरा गर्दै भने, ‘कर्तव्य ज्यान मुद्दामा अहिले सबैभन्दा धेरै अपराध आर्थिक लेनदेनकै कारण भएको देखिन्छ । आर्थिक लेनदेनमा द्वन्द्व बढ्दै जाँदा अपराधमा परिणत भएको छ ।’ 

उनी अगाडि भन्छन्, ‘नचिनेको मान्छेबाट हत्या हुने भनेको लुटपाट र चोरीमा संलग्न हुनेहरूले गर्ने हो । त्यसमा पनि अपराधीले आफू सुरक्षित हुदाँसम्म उसको उद्देश्य सिर्फ चोर्ने मात्रै हुन्छ । हत्या भने आफू असुरक्षित हुँदाको अवस्थामा हुने गर्छ । तर, चिनेकाबाट नै मानिसहरु अत्यधिक असुरक्षित छन् । पैसा नतिर्ने मनसाय पनि एक प्रकारको चोरी नै हो ।’

ऋण दिँदा धेरै नै होसियारी अपनाउनुपर्ने प्रवक्ता आचार्यको भनाइ छ । ‘एकापसमा सरसापटी नै नगर्नुभन्दा सामाजिक सामञ्जस्य बिग्रन्छ । असल मानवले एक अर्काको सुखदुखमा सापटी दिन्छ । ऋण लिएर कति मान्छेले पढेका छन्, व्यवसाय गरेका छन्, वैदेशिक रोजगारीमा गएका छन्,’ उनले भने, ‘तर केही मान्छे विनाउद्देश्य ऋण लिन्छन् र तिर्न चाहँदैनन् । त्यसले अपराधको रुप लिन पुग्छ ।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : २६ बजे

नाउपा र जनमतबीच अब एकता हुन्न होला

काठमाडौं- रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक हुन्

‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी

काठमाडौं– आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका जापानी मन्त्रीले माफी

गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक 

काठमाडौं– आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर

भारतीय वीरंगनालाई जंगबहादुरले लगाएको त्यो गुन

काठमाडौं– नेपाली शासकले दुःख दिँदा होस् कि देश निकाला गर्दा

राष्ट्रियसभा : विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र