काठमाडौं– निक्कै लामो रस्साकस्सीपछि काठमाडौं महानगरको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ ।
निर्दलीय उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) को नेतृत्वमा पारित भएको चौंथो बजेट हो ।
प्रमुख प्रशासकीय अधिकृत विवादले लामो समयसम्म कार्यपालिका र बजेट स्रोत तथा अनुमान समितिको बैठक बस्न नसक्दा ढिलो गरी महागरको बजेट पारित भएको हो ।
देशभरका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका सबैभन्दा ठूलो स्थानीय तह हो । यो महानगरले देशभरका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा ठूलो बजेट ल्याउने गरेको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर जितेका बालेन देशभर चर्चित मेयरको रुपमा परिचित छन् । निर्वाचित भएपछि हिसाब गर्ने हो भने पूर्वमेयर विद्या सुन्दर शाक्यले ल्याएको अन्तिम बजेट बालेनले अन्तिममा कार्यान्यवन गरेका थिए ।
बालेनले आफैँले ल्याएको तीन आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ को बजेट बजेट कार्यान्यवन गरिसकेका छन् भने चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने चरणमा छन् ।
बालेनले पहिलो आर्थिक वर्षमा २२ अर्ब ८२ करोड ५० लाख, दोस्रो आवमा २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार रुपैयाँ र तेस्रो आवमा २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँको बजेट ल्याएका थिए ।
महानगरको बजेट आर्थिक विकासअन्तर्गत कृषि, उद्योग, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, जलस्रोत तथा सिंचाइ, वन, पशुपन्छीका क्षेत्रमा विनियोजन हुने गरेको छ ।
सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, भाषा तथा संस्कृति, लैंगिक समानता, युवा तथा खेलकुद, सामाजिक सुरक्षा तथा संरक्षण शीर्षकमा बजेट विनियोजन गर्ने गरिएको छ ।
पूर्वाधार विकास अन्तर्गत यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास र उर्जा, संचार तथा सूचना प्रविधि, सम्पदा पूर्वाधार, विज्ञान तथा प्रविधि र पुनर्निर्माणअन्तर्गत बजेट विनियोजन हुने गरेको छ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रअन्तर्गत महानगरले वातावरण तथा जलवायु, विपद व्यवस्थापन, मानव संशाधन विकास, शान्ति सुव्यवस्था, कानुन तथा न्याय, शासन प्रणली, श्रम तथा रोजगारी, अनुगमन तथा मूल्यांकन र प्रशासकीय सुशासनमा बजेट विनियोजन गर्छ । त्यस्तै अर्को बजेट विनियोजन गर्ने क्षेत्र कार्यालय सञ्चालन तथा प्रशासन रहेको हुन्छ ।
बालेनले ल्याएको पहिलो बजेट ४०.२२ प्रतिशत खर्च
बालेनसहितका जनप्रतिनिधि निर्वाचित भएर आएको पहिलो बजेट अर्थात आर्थिक वर्ष २०७८/७९ को लागि २२ अर्ब ८२ करोड ५० लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।
उक्त आर्थिक वर्ष सकिँदा भने विनियोजन भएको बजेटको ४०.२२ प्रतिशत मात्र बजेट खर्च भएको थियो । अर्थात ९ अर्ब १८ करोड २३ लाख ६९ हजार रुपैयाँ पहिलो वर्ष खर्च भएको थियो ।
उक्त बजेट आर्थिक विकासमा २२ करोड ९२ लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा ४ करोड ७६ लाख ३० हजार २०१.६७ रुपैयाँ अर्थात २०.७८ प्रतिशत मात्र खर्च भएको थियो ।
त्यस्तै, सामाजिक विकासमा उक्त आर्थिक वर्षमा ३ अर्ब ९७ करोड ५० लाख २६ हजार विनियोजन भएकोमा ६१. ९४ प्रतिशत अर्थात २ अर्ब ४६ करोड २२ लाख ७१ हजार खर्च भएको थियो ।
पूर्वाधार विकासमा १३ अर्ब ७ करोड १९ लाख विनियोजन भएकोमा २८.५६ प्रतिशत मात्र खर्च भएको थियो । पूर्वाधार विकासमा उक्त आवमा ३ अर्ब ७३ करोड ३६ लाख ८ हजार ७७४.४० रुपैयाँ खर्च भएको थियो ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १ करोड ६ लाख विनियोजन भएकोमा त्यस वर्षको अन्त्यमा ४४ करोड ३६ लाख २७ हजार अर्थात २२.०६ प्रतिशत बजेट खर्च भएको महानगरले जनाएको छ ।
सोही आवमा कार्यालय सञ्चालन तथा प्रशासनिकमा ३ अर्ब ५३ करोड ८१ लाख ४३ हजार विनियोजन भए मध्ये २ अर्ब ४९ करोड ५२ लाख (७०.५२ प्रतिशत) खर्च भएको तथ्यांकले देखाएको छ ।
दोस्रो वर्ष बजेट खर्चमा उल्लेख्य वृद्धि
बालेनले आर्थिक वर्ष २०७८/७९ को बजेट खर्चमा उल्लेखनीय सुधार गरेका थिए । बालेनले उक्त आवमा ५१.०३ प्रतिशत खर्च गरेको महानगरले दिएको तथ्यांकले देखाउँछ ।
उक्त आवमा २४ अर्ब, १८ करोड ७८ लाख ८२ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको अन्त्यमा १२ अर्ब ३४ करोड ५३ लाख ११ हजार खर्च गरेका थिए ।
बालेनले ल्याएको बजेटको दोस्रो वर्ष आर्थिक विकासमा ६९ करोड ४१ लाख ४८ हजार रुपैयाँ विनियोजित रकम मध्ये २६ करोड ४५ लाख ४९ हजार (३८.११ प्रतिशत) खर्च भएको छ
त्यस्तै, सामाजिक विकासतर्फ ५ अर्ब २९ करोड ९६ लाख ७३ हजार विनियोजन हुँदा ३ अर्ब १९ करोड ७८ लाख ७१ हजार (६०.३४ प्रतिशत) खर्च भएको छ ।
साथै, पूर्वाधार विकासतर्फ ११ अर्ब ५१ करोड ६९ लाख विनियोजन हुँदा ५ अर्ब ३३ करोड ८० लाख (४६.३५ प्रतिशत) खर्च भएको देखिन्छ । महानगरले सोही आवमा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ३ अर्ब २२ करोड ५१ लाख १० हजार विनियोजन गर्दा १ अर्ब १ करोड ९३ लाख ७३ हजार (३१.६१प्रतिशत) प्रतिशत खर्च भएको छ ।
महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ३ अर्ब ४५ करोड २० लाख विनियोजन गरेको मध्ये २ अर्ब ५२ करोड ५४ लाख ७४ हजार (७३.१६ प्रतिशत) बजेट खर्च गरेको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्ष उच्च बजेट खर्च
बालेनले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कार्यकालको सर्वाधिक खर्च गरेका छन् । काठमाडौं टावर काण्डले महानगरमा धेरै समय प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म रिक्त रहँदा पनि बजेट खर्चको हिसावले अघिल्लो वर्ष बढी खर्च भएको देखिएको छ ।
तथ्यांकअनुसार गत आवमा ५२.१२ प्रतिशत खर्च भएको छ । जुन ७ वर्ष यताको कीर्तिमानी खर्च हो । आव २०७५/७६ मा महानगरको बजेट खर्च ५२.८ प्रतिशतले घटेको थियो । महानगरले गत आवमा २५ अर्ब ८६ लाख ५२ हजार बजेट ल्याएकोमा १३ अर्ब ३ करोड ६७ लाख ५५ हजार खर्च भएको थियो ।
महानगरमा गत आवमा आर्थिक विकासमा ७४ करोड ३९ लाख ८१ हजार रुपैयाँ विनियोजन भएको मध्ये २८ करोड २ लाख ७० हजार अर्थात ३७.६७ प्रतिशत बजेट खर्च भएको छ ।
सामाजिक विकासमा गत आवमा ५ अर्ब ४२ करोड ३० लाख ४८ हजार विनियोजन भएको मध्ये २ अर्ब ५९ करोड ८३ लाख ८१ हजार (४७.९१ प्रतिशत) खर्च भएको महानगरले जनाएको छ ।
साथै, पूर्वाधार विकासमा ११ अर्ब ३९ करोड ३९ लाख १७ हजार विनियोजन हुँदा ५ अर्ब ९८ करोड ४० लाख ६५ हजार (५२.५२ प्रतिशत) खर्च भएको महागरले दिएको तथ्यांकले देखाएको छ ।
महानगरले सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अर्ब २४ करोड ५२ लाख ५१ हजार विनियोजन गर्दा ९३ करोड ७२ लाख ४४ हजार (२८.८८ प्रतिशत) मात्र खर्च गरेको छ ।
त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिकमा महानगरले ४ अर्ब २० करोड २४ लाख ५२ हजार विनियोजन गर्दा ३ अर्ब २३ करोड ६७ लाख ९२ हजार (७७.०२ प्रतिशत) बजेट खर्च भएको छ ।
प्रतिक्रिया