काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि नेपाल पर्यटन बोर्डले भने अन्तर्राष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिएको छ ।
जेन-जी प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक प्रचार प्रचारका लागि बोर्डले प्रवर्द्धनका कार्यक्रमलाई अघि बढाएको हो ।
सोही क्रममा बोर्डले जेन-जी प्रदर्शनपछि पहिलो पटक यही असोज २ देखि ४ गतेसम्म बङ्गालदेशको राजधानी ढाकामा आयोजित १२औँ एसियन पर्यटन मेलामा सहभागी भई नेपाल विदेशी पर्यटक स्वागतका लागि पूर्ण रुपमा तयार रहेको सन्देश दिएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले प्रदर्शनका कारण पर्यटन क्षेत्रमा केही क्षति भए पनि ठूलो प्रभाव नपरेको उल्लेख गरे ।
‘प्रदर्शनपछि पर्यटन बजार सामान्य अवस्थामा फर्किएको छ, यो सन्देश हामीले अन्तर्राष्ट्रिय स्रोत बजारमा पुर्याउनुछ, सोही क्रममा बङ्गलादेशमा पर्यटन प्रवर्द्धन गरेका हौँ’, उनले भने ।
बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटनका अवसरमा नेपालको पर्यटन क्षेत्र विभिन्न चुनौतीबीच पनि छिटो पुनरुत्थान भइरहेको उल्लेख गरे ।
उनले नेपाल–बङ्गलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको दाबी गरे। मेलामार्फत नेपाली कम्पनीहरूले नयाँ अवसरको पहिचान, पुराना सम्बन्धलाई नवीकरण गर्दै प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा बङ्गलादेशी आगन्तुकहरूले नेपालमा भएको जेन-जी आन्दोलनपछिको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनीहरूले बङ्गलादेशमा पनि विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका थिए ।
सन् २०२४ मा नेपालमा करिब ४९ हजार बङ्गलादेशी पर्यटक आएका थिए भने सन् २०२५ को पहिलो आठ महिनामै बङ्गलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको भनाइ छ । भौगोलिक निकटता, समान जीवनशैली र बङ्गलादेशको बढ्दो आर्थिक क्षमताका कारण नेपाल उनीहरूका लागि प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बोर्डको विश्वास छ ।
मुलुकको पर्यटन प्रवर्द्धनका लागि बोर्डसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवालाले पनि पर्यटन पुनरुत्थानका लागि सक्रियता देखाएको बोर्डको बुझाइ छ ।
‘आन्तरिक गन्तव्यमा मात्रै नभई अन्तर्राष्ट्रिय पर्यटन स्रोत बजारमा पनि नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देशसहित नेपाल भ्रमणका लागि आग्रह गरिएको छ’, सिइओ जोशीले भने ।
बोर्डले आफ्नो वेबसाइटमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गरिरहेका पर्यटकहरूलाई उनीहरूको अनुभव लाइभ गरेर प्रवर्द्धनात्मक गतिविधिलाई निरन्तरता दिएको छ । बोर्डले पवित्र धार्मिक तीर्थस्थल, साहसिक गन्तव्यलगायतबाट पर्यटकको अनुभवलाई भिडियोमार्फत सार्वजनिक गरिरहेको छ ।
सिइओ जोशीका अनुसार कूटनीतिक नियोग, गैर आवासीय नेपाली सङ्घलगायत माध्यमबाट अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।
यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनलगायतसँग पनि सहकार्य गरिएको छ । रासस
प्रतिक्रिया