दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो | Khabarhub Khabarhub

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी मनाएपछि मङ्गलबार भारतको राजधानी नयाँदिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्‍याएको अधिकारीहरूले बताएका छन् ।

सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो । मङ्गलबार बिहानसम्म नयाँदिल्लीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) ३५० नाघेको थियो । जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ‘गम्भीर’ स्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ ।

सहरका धेरै भागमा दृश्यता घटेको, सडक र भवनहरू खैरो धुवाँले ढाकिएका र ऐतिहासिक स्मारकहरू समेत धमिलो रूपमा देखिन थालेका थिए । “मैले यति बाक्लो प्रदूषण पहिले कहिल्यै देखेको थिइनँ । यहाँ त देख्नै नसकिने अवस्था छ”, नयाँदिल्ली भ्रमणमा रहेका पर्यटक वेदान्त पचकन्डेले भने ।

भारतको सर्वोच्च अदालतले गत हप्ता कम प्रदूषण उत्सर्जन गर्ने ‘हरित पटाका’ को सीमित प्रयोगलाई अनुमति दिँदै दीपावलीका बेला पटाकामाथिको पूर्ण प्रतिबन्ध केही हदसम्म फुकुवा गरेको थियो ।

सङ्घीय अनुसन्धान संस्थानहरूले विकास गरेका ती हरित पटाकाहरूले साधारण पटाकाको तुलनामा करिब ३० प्रतिशत कम कण र ग्यास उत्सर्जन गर्ने बताइएको छ । अदालतले शनिबारदेखि मङ्गलबारसम्म निश्चित समयमा मात्र ती पटाका प्रयोग गर्न सकिने व्यवस्था गरेको थियो, तर विगतका वर्षहरूजस्तै यस वर्ष पनि नियम व्यापक रूपमा उल्लङ्घन भएको देखियो ।

नयाँदिल्ली र यसको वरिपरिका क्षेत्रमा तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दीपावलीको आतशबाजी, चिसो मौसम र नजिकैका राज्यहरूमा किसानहरूले खेतमा लगाएको बालीको अवशेष जलाउँदा निस्कने धुवाँ एकैसाथ मिसिँदा यी क्षेत्रहरू जाडो मौसममा विश्वकै सबैभन्दा प्रदूषित सहरहरूमा पर्ने गरेका छन् ।

राजधानीका अधिकारीहरूले प्रदूषण नियन्त्रण गर्न विभिन्न उपाय लागू गरेका छन्, जसमा निर्माण गतिविधिमा प्रतिबन्ध, डिजेल जेनेरेटरको प्रयोगमा नियन्त्रण तथा सवारी साधनमा कडा निगरानी समावेश छ । तर पर्यावरणविद्हरूले यो वार्षिक सङ्कट अन्त्य गर्नका लागि वच्छ ऊर्जा प्रवर्द्धन, सार्वजनिक यातायात सुधार र सवारी उत्सर्जन नियन्त्रण जस्ता दीर्घकालीन समाधान अनिवार्य रहेको बताएका छन् ।

हालैको एक वैज्ञानिक अध्ययनले वायु प्रदूषणको वृद्धिले भारतमा सूर्यको प्रकाशको मात्रा घटाएको चेतावनी दिएको छ । नेचर पोर्टफोलियोको जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित अध्ययन अनुसार बढ्दो औद्योगिक उत्सर्जन, बायोमास जलाउने र सवारी साधनबाट निस्कने एरोसोल कणहरूले सूर्यको किरण पृथ्वीमा पुग्ने समय घटाइरहेका छन् ।

“हामीले विशेषगरी उत्तरी भारतका बढी प्रदूषित क्षेत्रमा सूर्यको प्रकाशमा ठूलो कमी देखेका छौँ”, अध्ययनका सहलेखक तथा बनारस हिन्दू विश्वविद्यालयका वैज्ञानिक मनोज के। श्रीवास्तवले भने । उनका अनुसार, सूर्यको प्रकाशमा आएको यो कमीले भारतको सौर्य ऊर्जाको उत्पादन मात्र घटाउने नभई स्थानीय वातावरण, जनस्वास्थ्य र कृषि उत्पादकत्वमा समेत दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : १३ बजे

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक