राष्ट्रिय गानले समेत मेची-महाकालीलाई देशको सीमा ठान्छ । आम नागरिकले यही भूगोलभित्र नेपाल अटेको बुझेका छन् । महाकाली पारि दुई गाउँ छन्– दोधारा र चाँदनी । यिनीहरूको सम्बन्ध सेतु बनेको छ- महाकाली नदीमाथिको पुल ।
पुल पारिका नेपाली कुन मनोविज्ञानमा बाँचेका छन् ? सीमाना पारिको जनजीवन कस्तो छ ? महाकाली नदीको पारि अवस्थित दोधारा–चाँदनी केवल भौगोलिक नाम होइन, यो सीमामा बाँच्ने नेपालीको कथा हो। भारतका दुई प्रदेश- उत्तराखण्ड र उत्तरप्रदेशसँग जोडिएको यो नगर नेपालको भूगोलमा त पर्दछ, तर व्यवहारमा भारतीय बजार र जीवनशैलीसँग गाँसिएको छ।
महाकाली पुलपारि बसेका यहाँका बासिन्दाका लागि राष्ट्रगानमा ‘मेचीदेखि महाकालीसम्म नेपाल’ भनिए पनि, उनीहरू आफैँलाई महाकालीभन्दा पारीका नेपाली महसुस गर्छन्। यहाँ न औपचारिक नाका छ, न बजारको स्वतन्त्रता । दैनिक जीवनका साना-ठूला सबै आवश्यकता भारतबाटै पूरा गर्नुपर्छ।
दोधारा-चाँदनीको वास्तविकता सीमाको रेखाभन्दा टाढा, पहिचान र अस्तित्वको संघर्ष हो – जहाँ नागरिकता कागजमा नेपाली छ, तर दैनिकी भारतीय बजारमा निर्भर। सिमाना पारिको जीवन, चुनौती र आशाका विषयमा दोधारा–चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुसँग गरिएको कुराकानीको सम्पादित अंश :

महाकाली पारिको जनप्रतिनिधि भएर काम गर्दाको अनुभव कस्तो छ ?
सीमानापारीमा जनप्रतिनिधिको जिम्मेवारी अत्यन्त चुनौतीपूर्ण छ। हाम्रो नगरपालिका भारतसँग जोडिएको महाकाली पुलपारिको क्षेत्रमा पर्छ। यो क्षेत्र भारतका दुई प्रदेश – उत्तराखण्ड र उत्तरप्रदेशसँग सीमाना जोडिन्छ । तर दुःखको कुरा, यहाँ कुनै औपचारिक नाका छैन। त्यसैले हाम्रा नगरवासी भारतीय बजारमै निर्भर छन्। भारतीय वस्तु सस्ता छन् भने हाम्रा महँगा, जसका कारण तस्करीको समस्या बढ्दो छ।
दैनिक उपभोगका सामान -चिनी, चियापत्ती, भाँडाकुँडा, घरायसी वस्तु सबै भारतबाटै ल्याइन्छ। सीमामा निगरानी कमजोर हुँदा भारतका मानिस सजिलै नेपाल पस्छन् । हाम्रा नागरिक पनि सजिलै भारत प्रवेश गर्छन्।
दैनिक उपभोगका सामान -चिनी, चियापत्ती, भाँडाकुँडा, घरायसी वस्तु सबै भारतबाटै ल्याइन्छ। सीमामा निगरानी कमजोर हुँदा भारतका मानिस सजिलै नेपाल पस्छन् । हाम्रा नागरिक पनि सजिलै भारत प्रवेश गर्छन्। को आउँछ, के ल्याउँछ, किन आउँछ – त्यसको कुनै अभिलेख हुँदैन। यस्तो अवस्थाले सुरक्षाको जोखिम बढाएको छ। प्रहरी प्रशासन छ, तर सुधार अपेक्षित रूपमा भएको छैन।
यहाँका जनताका मुख्य आवश्यकता के के हुन् ?
यहाँका जनताका आधारभूत आवश्यकता अझै पनि पूरा हुन सकेका छैनन् । स्वच्छ खानेपानी, नियमित विद्युत् आपूर्ति, मलखाद र सिँचाइ सुविधा अभावमा छन् ।
यहाँका धेरै मानिसले गाडी र मोटरसाइकलजस्ता सवारीसाधन भारतबाटै खरिद गर्छन्। नेपाली बजार पुग्नका भन्दा भारतीय बजार नै सजिलो र नजिक विकल्प बनेको छ। त्यसैले हाम्रा नगरवासी दैनिक आवश्यकताका सामान किन्न भारतमै निर्भर छन् ।

सीमावर्ती जनताका अवसर र चुनौती के के हुन् ?
सीमावर्ती जनजीवन निकै कठिन छ। यहाँका प्रमुख पीडामध्ये एउटा भनेको भारततर्फका जंगलबाट आउने जंगली जनावरको आतंक हो । हात्तीले गाउँ पसेर घर भत्काउने, बाली नष्ट गर्ने, जनधनको क्षति पुर्याउने गर्छ। त्यो माथि भारत र नेपालको सीमामा जनावर स्वतन्त्र रूपमा आउजाउ गर्छन्, जसले थप समस्या निम्त्याएको छ।
भारतमा घाँस वा खाना नपाउँदा जंगली जनावर नेपालतिर पस्ने गर्छन्। यस्तो समस्यामा हामी कसलाई गुहार्ने भन्ने ठ्याक्कै स्पष्ट छैन। छाडा चौपाया पनि भारतबाट नेपालमा ल्याएर छोड्ने गरिएको छ, जसले कृषिमा असर गरेको छ। यी सबै चुनौतीका बाबजुद सीमावर्ती जनजीवनलाई सन्तुलनमा राख्न निरन्तर प्रयास भइरहेको छ।
प्रमुख पीडामध्ये एउटा भनेको भारततर्फका जंगलबाट आउने जंगली जनावरको आतंक हो । हात्तीले गाउँ पसेर घर भत्काउने, बाली नष्ट गर्ने, जनधनको क्षति पुर्याउने गर्छ।
सुदूरपश्चिमका धेरैजसो नागरिक रोजगारीका लागि भारत जान्छन्। दोधारा–चाँदनीका बासिन्दाको अवस्था कस्तो छ ?
हाम्रा नगरवासी पनि रोजगारीका लागि भारत नै जाने गर्छन्। यहाँ रोजगारीको अवसर सीमित छ, जसले धेरैलाई विदेशतिर धकेलेको छ। दिल्ली र बेंगलोरुजस्ता शहर मुख्य गन्तव्य हुन्। पढाइका अवसर कम भएकाले धेरैजसो युवा पढाइभन्दा बढी रोजगारीका लागि भारत जान्छन् ।
केही शिक्षित युवाले विद्यालय वा स्थानीय संस्थामा शिक्षकको रोजगारी पाएका छन् । तर त्यस्तो अवसर निकै सीमित छ । यही कारणले हाम्रो नगरका धेरैजसो परिवारका एक वा बढी सदस्य भारत वा विदेशमा रोजगारमा छन् ।
युवा पुस्ता र विद्यार्थीको भविष्य सुनिश्चित गर्न तपाईँहरूले के के पहल गर्नुभएको छ ?
हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिएका छौँ । स्वास्थ्य सेवाका लागि नयाँ अस्पताल स्थापना गरेका छौँ, जहाँ चार जना एमबीबीएस पास गरेका चिकित्सक कार्यरत छन् । शिक्षामा सुधारका लागि नयाँ क्याम्पस स्थापना गरिएको छ, विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । हरेक विद्यालयमा नियमित अनुगमन प्रणाली लागू गरिएको छ।
स्थानीय आवश्यकता अनुसार पाठ्यक्रम तयार पारिएको छ र पढाउन सुरु भइसकेको छ। हामीले एउटा विद्यालयलाई ‘नमुना स्कूल’का रूपमा स्थापना गरेका छौँ । शिक्षा गुणस्तर सुधारका लागि कक्षा ५ देखि नै बोर्ड परीक्षा सञ्चालन गर्ने कार्यविधि बनाएका छौँ । कक्षा १० र १२ का लागि अनलाइन कक्षा पनि सुरु भइसकेको छ। दोधारा–चाँदनीमा अहिले स्नातक तहसम्म पढ्ने सुविधा उपलब्ध छ ।
यातायातका दृष्टिले पनि अब यहाँका लगभग ८० प्रतिशत बाटो पक्की भइसकेका छन्। तर अझै पनि अधिकांश विद्यार्थीले १२ कक्षा पछि पढाइ रोक्ने गर्छन्, त्यसलाई परिवर्तन गर्न हामी निरन्तर प्रयासरत छौँ ।
दोधारा–चाँदनी नेपालकै भूगोलमा मात्र नभई भावना र संघर्षको सीमानामा अवस्थित क्षेत्र हो । यहाँका नागरिक अझै पनि सिमाना पारिको नेपालीपन जोगाउँदै चुनौतीबीच आशा बोकेर बाँच्छन्।
दोधारा–चाँदनी नेपालकै भूगोलमा मात्र नभई भावना र संघर्षको सिमानामा अवस्थित क्षेत्र हो । यहाँका नागरिक अझै पनि सिमाना पारिको नेपालीपन जोगाउँदै चुनौतीबीच आशा बोकेर बाँच्छन्। हामी राष्ट्रगानमा समेटिएका छाैँ तर नीतिगत रूपमा बिर्सिएका छौँ। तर पनि, हामी नेपालको नाममा गर्व गर्छौँ । किनभने हामी सिमाना पारिका नेपाली हौँ।













प्रतिक्रिया