एजेन्सी– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार बिहान लगभग ५ः३० मा विस्फोट भएको थियो भने विस्पोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उदृत गर्दै, सिन्ह्वाले जनाएको छ ।
अग्निनियन्त्रक तथा दमकलकर्मीहरूको सयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरहरूमा पुग्नबाट रोकेको पनि सिन्ह्वाले उदृत गरेको छ ।
प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरहरूको पर्खाल तथा छतहरु खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिसहरू क्षतिग्रस्त घरका बासिन्दाहरू रहेका छन् । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको तथा उनीहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उद्धार कार्य जारी रहेको उल्लेख गर्दै धेरै मानिसहरू कारखाना भित्र फसेको अनुमान गरिएको हुनाले हताहतको सङ्ख्या बढ्ने आशंका गरिएको छ ।













प्रतिक्रिया