आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी « Khabarhub

सुशीला कार्कीका सय दिन

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी



काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने हनिमुन पिरियड पार गरेको छ । उक्त समयावधिमा कार्कीले ४ पटक मन्त्रीपरिषद विस्तार गरि सकेकी छन् । चौथो पटक मंसिर २६ गते ४ मन्त्रीलाई सपथ खुवाएपछि यतिबेला कार्कीसहित १४ सदस्यीय मन्त्रीपरिषद बनेको छ ।

जबकी प्रधानमन्त्रीको सपथ लगत्तै बीबीसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा उनले ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने,’ भनेकी थिइन् ।

निर्वाचन आउन ७६ दिन मात्रै बाँकी रहँदा मन्त्रीविस्तार गरिनुलाई कतिले कामको चापका कारण भनेका छन् । कतिले कार्की आफ्नो बोलीमा पक्का नरहेको भन्दै विरोधसमेत जनाइरहेका छन् ।

यतिमात्रै होइन्, त्यही अन्तवार्तामा उनले कसको के क्षमता छ त्यो अनुसार मन्त्रालयको जिम्मेवारी दिने बताएकी थिइन् ।

योग्य व्यक्तिलाई मन्त्री बनाउने दृढता देखाएकी कार्कीको मन्त्री छनोटमा भने हरेक पटक एक न एक विवादित व्यक्ति परेकै छन् । जसकारण मन्त्री नियुक्ति गर्दै गर्दा त्यो व्यक्तिबारे सामान्य ज्ञानसमेत नराखेको भन्दै उनको आलोचनासमेत भएको छ ।

उसो त जेन–जीसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको दबाबमा मन्त्री नियुक्ति लगायतको उल्झन झेल्नुपरेकोमा कार्कीले असन्तुष्टि जनाउँदै आएकी छन् । प्रधानमन्त्री बन्दै गर्दा उनले सिमित, प्रभावकारी र पारदर्शी मन्त्रीपरिषद बनाउने प्रतिबद्धता जनाएकी थिइन् ।

त्यहीअनुसार जनअपेच्छा रहनु पनि स्वभाविक नै हो । तर सरकारको सय दिनको यात्राले ती प्रतिबद्धता व्यवहारमा नदेखिएको भन्दै जेन–जीकै आरोप छ ।

सरकारको सय दिनमा सबैभन्दा धेरै आलोचना खेपेको विषय पारदर्शिता हो । सार्वजनिक पदमा आइसकेपछि समपत्ति विवरण सार्वजनिक गर्नु यो सरकारको पहिलो जिम्मेवारी थियो । ओली, देउवा, प्रचण्ड नेतृत्वको सरकारले सम्पत्ति विवरण सार्वजनिक नगर्दा उनीहरूमाथि सुशासनको प्रश्न उठ्ने गरेको थियो ।

निर्वाचनसँगै सुशासनको जग बसाल्ने अठोटमा गठन भएको अन्तिरिम सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीले पनि उनीहरूकै पदचाप पछ्याउँदै कसैले पनि मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा ढुक्कसाथ सम्पत्ति विवरण सार्वजनिक गर्न सकेका छैनन् ।

जसकारण कार्की नेतृत्वको सरकारलाई पनि पुरानै नेतृत्वसँग तुलना गर्दै सरकारको खुला शासनको दाबी कमजोर बनेको विश्लेषण हुन थालेको छ ।

जेन–जी र सरकारबीच नै टकराव

रोचक त के छ भने, जेन–जीको पूर्ण समर्थनमै प्रधानमन्त्री बनेकी कार्की सरकार अहिले त्यही पुस्ताबाट सबैभन्दा बढी आलोचित छ ।

जेन–जी आन्दोलनपछि नेतृत्वमा पुगेका अभियन्ता सुदन गुरुङले सरकार निर्वाचनका लागि मात्रै बनेको भए सुरुमै स्पष्ट भन्नुपर्ने टिप्पणी गरेका छन् । कार्कीले जेन–जी आन्दोलनको माग पूरा नगरी निर्वाचनमा जान नमिल्ने उनको दाबी छ ।

यसका साथै, उनले गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा संयन्त्रलाई कडा निर्देशन दिन नसकेको आरोप लगाएका छन् । पटक–पटक अर्यालको राजीनामा माग्दै आएका उनी अहिले कार्कीप्रति पनि रुष्ट देखिन्छन् ।

२३ गते आन्दोलन हुँदै गर्दा हामी नेपाल भन्ने गैरसरकारी संस्थाबाट पानी बाँड्न पुगेका गुरुङ् अन्तत: आन्दोलनको नेतृत्व लिने कोही नभएपछि नेता बनेका थिए ।

अर्का जेन–जी अभियन्ता मिराजले त कार्की सरकारका १७ कमजोरी सार्वजनिक गर्दै जेन–जीका माग पूरा नभए सरकारको वैधतामाथि प्रश्न उठ्ने चेतावनी दिएका छन् । उनले जेन–जी आन्दोलनको मर्मअनुसार सर्वदलीय सरकार गठन गर्नुपर्ने माग पनि अघि सारेका छन् । भदौ २३ र २४ गते आन्दोलनमा सहभागि नै नभएका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिन्छन् ।

जेन–जी समूहले आलोचना गर्दै गर्दा सय दिने अनुभव साट्दै युवाले चाहेको भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै रहेको कार्कीले दोहोर्‍याएकी छन् ।

‘म विशेषगरी हाम्रा ‘जेन–जी’ युवालाई भन्न चाहन्छु– तपाईंहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् । सडकको आन्दोलनले प्रश्न उठाउँछ तर मतपत्रले समाधान दिन्छ । तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ,’ उनले भनेकी थिइन् ।

जेन–जी आन्दोलनसँग बढ्दो दूरीले बाँकी समय सरकारका लागि विश्वास पुनःस्थापना गर्ने कठिन परीक्षा हुने देखिन्छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ४७ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल