रास्वपाले कहिले चुन्ला संसदीय दलको नेता ? | Khabarhub Khabarhub

रास्वपाले कहिले चुन्ला संसदीय दलको नेता ?

हिउँदे अधिवेशनबारे एजेण्डागत छलफल सुरु



काठमाडौं– सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि प्रतिनिधि सभाको सदस्यबाट निलम्बित अवस्थामा छन् ।

सांसदबाटसमेत रवि निलम्बनमा परेकाले रास्वालाई संसदीय दलको नेता चयन गर्नुपर्ने बाध्यता छ । गत पुस ८ गते नै रवि प्रतिनिधिसभाको सदस्यबाट निलम्बनमा परेपछि रास्वपा दलको नेता पनि रिक्त छ । तर रास्वपाले दलको नेता खाली भएको एक महिना बितिसक्दा पनि नयाँ नेता चुन्न सकेको छैन ।

संसदीय दलका नेता लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएपछि सांसद पद स्वतः निलम्बनमा परेको अवस्था छ ।

अहिलेसम्म संसद्को हिउँदे अधिवेशन सुरु नभएकाले रास्वपालाई दलको नेता चुन्न हतार छैन । तर राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन डाकेकाले रास्वपालाई निर्णय गर्नुपर्ने दबाब छ ।

चितवन क्षेत्र नम्बर २ बाट २०८० वैशाख १० गतेका उपनिर्वाचनमा विजयी पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने निलम्बनमा परेपछि तत्कालै पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकले कार्यवाहक सभापति भने उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई तोकेको छ । संसद् अधिवेशन बस्ने भएकाले अब रास्वपालाई दलको नेता तोक्नुपर्ने बाध्यता छ । यसमा रास्वपाले छलफल गरेको छ, तर निर्णय गर्न सकेको छैन ।

रविलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरण मुद्दा लागेको छ । उक्त मुद्दामा उनी गत पुस २५ गते ६० लाख धरौटीमा छुटे पनि अन्तिम टुंगो लाग्न बाँकी छ । अहिले लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् ।

सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा यही माघ ६ गते जिल्ला अदालतमा दायर गरिएको पूरक अभियोगपत्रमा रविलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा रविविरुद्ध ४ करोडभन्दा धेरैको बिगो कायम गरिएको छ।

रविलाई काठमाडौंमा पनि मद्दा लागेको थियो । तर माघ २ गते ६० लाख धरौटीमा काठमाडौं जिल्ला अदालतबाट छुटे । यस्तै पुस २५ गते कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । कास्कीको उनको मुद्दा उच्च अदालत पुगिसकेको छ ।

यो मुद्दाको छिनोफानो जिल्ला अदालतबाट हुन बाँकी रहेकाले उनी सांसद पदमा तत्कालै फर्किने सम्भावना छैन। उता रुपन्देहीको मुद्दा काठमाडौं र कास्कीको भन्दा पेचिलो हुनसक्ने सरकारी वकिलहरू बताउँछन् ।

रास्वपा दलका उपनेता विराजभक्त श्रेष्ठ

को बन्ला दलको नेता ?

लामिछाने निलम्बनमा परेपछि रास्वपाले संसदीय दलको नेता विराजभक्त श्रेष्ठलाई बनाउन चाहेको छ । यसबारे पहिले नै निर्णय गर्न खोजे पनि श्रेष्ठले हिउँदे अधिवेशनको मिति तोकिएपछि निर्णय गर्ने सल्लाह दिएका छन् । उनलाई दलको नेता बनाउन रविको पनि ग्रीन सिग्नल छ ।

अहिले विराज उपनेता छन् । रास्वपा सांसदहरूले पनि विराजलाई दलको नेता बनाएर फरक ढंगले आवाज उठाउनुपर्ने सल्लाह दिएका थिए । विराज ०७४ सालमा बागमती प्रदेश सभामा विवेकशील साझाबाट सांसद थिए । विराज दोस्रो पटक संसद् यात्रामा छन् ।

दलको नेताबारे रास्वपा कार्यवाहक सभापति अर्यालले अहिलेलाई उपनेतालाई नै दलको नेता मानेको बताए । ‘अहिले दलको नेता चुन्नेतिर गएका छैनौँ । तत्काललाई उपनेता नै दलको नेता हो’, उपसभापति अर्यालले खबरहबलाई भने ।

रास्वपा विधामा नेताको अनुपस्थितिमा उपनेतालाई कार्यवाहक दिने व्यवस्था छ । दलको नेताका लागि विराजभक्तबाहेक सुमना श्रेष्ठ र सोविता गौतम लगायतको पनि चर्चा छ । तर विधानतः विराजलाई नै दलको नेता बनाउनुपर्ने आवाज छ । उनी नेता भए सुमना या सोवितालाई उपनेता बनाउने तयारी छ ।

सोविता कानुनकी विद्यार्थी हुन् । सुमना अध्ययनशील छिन् । संसद्मा उनको प्रस्तुति तथ्यपरक र सशक्त हुने गरेको छ । पछिल्लो समय सुमनाले आफूलाई दलको नेताका लागि अनौपचारिक लबिइङ गरिरहेकी छन् । तर, विधानतः उनलाई उपनेता बनाउने सम्भावना नरहेको रास्वपा नेताहरू बताउँछन् ।

‘सुमनाजी अब्बल हुनुहुन्छ । तर उहाँ उपनेता नभएकाले नेता बन्न विधानतः नपाउने हाम्रो तर्क हो’, एक नेताले भने, ‘सुमना या सोवितामध्ये एकजनालाई उपनेता बनाउने चर्चा छ ।’

रविले पनि पुस पहिलो साता पोखरामा कार्यवाहक सभापति डीपी र संसदीय दलको नेता विराजलाई बनाउनेबारेमा अनौपचारिक छलफल गरेका थिए ।

रास्वपामा अहिले तीन मुख्य पदमा कार्यवाहकहरू छन् । कार्यवाहक सभापतिमा अर्याल, कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्ता प्रतिभा रावल छन् । रावल १ महिनाका माघ ३ बाट कार्यवाहक भएकी हुन् ।

यसअघि कार्यवाहक प्रवक्ता मनिष झा थिए । अहिले उनी शैक्षिक बिदा र व्यक्तिगत काममा भएकाले रावललाई कार्यवाहक तोकिएको हो । यस्तै, मुकुल ढकाल निलम्बनमा परेपछि बुर्लाकोटी कार्यवाहक महामन्त्री छन् ।

फाइल तस्बिर

संसद्बारे छलफल

आगामी माघ १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनबारे रास्वपा अहिले छलफलमा छ । बुधबार बिहान सांसद र सचिवालयका नेताहरूले पार्टी कार्यालय चःमतीमा अनौपचारिक छलफल गरे । संसद् बैठकमा लाने एजेन्डा र समसामयिक विषयमा छलफल हुँदा दलको नेताको कुरा पनि उठेको छ ।

छलफलमा आगामी माघ १५ गते कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने भएकाले त्यसअघि नै दलको नेता छान्नुपर्ने आवाज बैठकमा उठेको थियो । यसबारे कार्यवाहक सभापति अर्याल, उपसभापति वाग्ले र अन्य नेताले पनि संसद् बस्नुअघि निर्णय हुने बताए ।

‘भावी दलको नेता निश्चित छ । विधान, विधि र पद्धति अनुसार जानुपर्छ । यसबारे थप छलफल गर्ने गरी बैठक सकिएको छ’, एक नेताले भने, ‘सायद माघ १५, १६ अघि नै दलको नेता टुंगिन्छ ।’

बैठकमा रास्वपाले सहकारी ठगीका नाममा सभापति लामिछानेमाथि सरकारले गरेको भनिएको प्रतिशोध, मानव अधिकारको मुद्दा र सहकारी पीडितको बचत फिर्ताबारे पनि कुरा भएको छ ।

पछिल्लो पटक सरकारले जारी गरेका ५ अध्यादेश लगायत विषयमा संसद्मा प्रस्तुत हुने रणनीतिबारे पनि छलफल भएको छ । यस्तै बैठकले प्रमुख सचेतक र सचेतकलाई अन्य विपक्षीसँग पनि छलफल गरेर सामूहिक धारणा बनाउने होमवर्क दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ७ : ५१ बजे

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति

सुर्खेत – कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व

आगलागीबाट सात लाख बढीको क्षति

बैतडी – यहाँको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा आज

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर – पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल

नागरिकको सहजताका लागि अध्यादेश : एमाले

काठमाडौं – नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा