युरोपको सर्वाधिक प्रतिष्ठित व्यवसायी फुटबल च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। शुक्रवार सार्वजनिक भएको ड्र अनुसार आम फुटबल पारखीरूले चाहेको ‘एल क्लासिको’ फाइनलको सम्भावना भने कायम नै छ।
यदि फाइनलमा प्रवेश गरेमा बार्सिलोना र रियल म्याड्रिड व्यवस्थापनका लागि मात्र होइन, क्लबका स्टारका लागि समेत यो भिडन्त रोमाञ्चक हुनसक्ने छ।
गत वर्ष रोड्रीले ‘बालोन डी ओर अवार्ड’ पाउँदा यो कुरा रियलका लागि स्वीकार्य भएन। रियलले उत्कृष्ट दाबी गरेका भिन्सियस जुनियर फिफाका उत्कृष्ट खेलाडी घोषित भए।
केलिएन एम्बाप्पेका लागि पिएसजीबाट रियल आउनुको औचित्य पुष्टि गर्नु छ। लामिल यमाल अबको नयाँ सुपर स्टार हुने या नहुने भन्ने चासो बार्सिलोनाका लागि पनि हो। यी दुवै टोलीले आफ्ना स्टार नै उत्कृष्ट भएको दाबी गरेका छन्। यसलाई पुष्टि गर्न अबको केही महिना फुटबलका लागि महत्त्वपूर्ण बन्नेछ।

अहिलेसम्म च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना रियल म्याड्रिडको भेट भएको छैन । सबै भन्दा पछिल्लो पटक यी दुई टोलीको भेट सन् २०१०/११ को सेमिफाइनलमा भएको थियो। म्याड्रिडको मैदान स्यान्टियागोमा भएको पहिलो लेगमा लियोनेल मेसीले अन्तिम १५ मिनेटमा दुई गोल गरेका थिए। नोउ क्याम्पमा भएको दोस्रो लेगमा दुवै टोलीको बिचमा १-१ गोलको बराबरी भएको थियो। सोही बराबरीले बार्सिलोनालाई फाइनलमा प्रवेश गराएको थियो। सो वर्ष उपाधि पनि म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोनाले नै जितेको थियो।
सन् २०१२ भने एल कलासिको फाइनलको नजिक च्याम्पियन्स लिग फुटबल पुगिसकेको थियो। सेमिफाइनलको नतिजा भने ठिक उल्टो आएपछि दर्शकले सोचे जस्तो फाइनल टाई तयार हुन पाएन। चेल्सीसँगको सेमिफाइनलमा धेरै समय बलमा नियन्त्रण राखे पनि बार्सिलोनाले हारको सामना गरेको थियो। यसैगरी अर्को सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डोले नै पेनाल्टी सुट आउटमा गलत प्रहार गरेपछि रियल म्याड्रिडले वायरन म्युनिखसँग हारको सामना गरेको थियो।
सन् २०१४ र २०१६ मा रियलले आफ्नै सहरको एट्लेटिको म्याड्रिडलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो। दुवै पटक एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई क्वार्टरफाइनलमा हराएको थियो। च्याम्पियन्स लिगको फाइनलमा एकै दशकका दुई टोली प्रवेश गरेको पनि त्यही दुई पटक हो। यस बीचमा सन् २०१५ मा भने रियल म्याड्रिड सेमिफाइनलमा युभेन्ट्ससँग पराजित भएको थियो।
फाइनलमा युभेन्ट्स एएसएन (मेसी, स्वारेज, नेइमार) को दबदबाको अघि फितलो साबित भएको थियो। फाइनलमा नै भेट नभए पनि रियल म्याड्रिड र बार्सिलोनाको भेट सन् २००२ मा पनि भएको थियो। त्यस भेटमा नोउक्याम्पमा नै जिनेदान जिदान र स्टिम म्याकनामानको गोलले रियलले बार्सिलोनालाई हराएको थियो।
म्याड्रिडमा भएको खेलमा भने १-१ गोलको बराबरी भएको थियो। फाइनलमा वायर लिभरकुसेनलाई हराउँदै रियलले उपाधि जितेको थियो।
पहिलो पटक सन् १९६० को सेमिफाइनलमा यी दुई टोलीको सेमिफाइनलमा भेट भएको थियो। दुवै लेगमा रियल म्याड्रिड विजयी भएको थियो। विश्व फुटबलका नाम चलेका हस्ती फ्लारेन्स पुस्कास, अलफ्रेडो डे स्टेफानो तथा पाको गेन्टोले गोल गरेका थिए।

रियल म्याड्रिड युरोपको पाँच वटा मध्य पाँच वटै उपाधि जित्न सफल भएको थियो। त्यो वर्ष स्पेनिस लिगको उपाधि पनि बार्सिलोनाले जितेको थियो। अर्को वर्ष भने पहिलो चरणमा नै रियल म्याड्रिडले बार्सिलोनासँग हारको सामना गरेको थियो। बार्सिलोना त्यो वर्ष फाइनल प्रवेश गरेको थियो। सो वर्ष बेनफिकाले बार्सिलोनालाई हराउँदै उपाधि जितेको थियो।
रियल म्याड्रिडले दोस्रो चरणमा एट्लेटिको म्याड्रिडको सामना गर्नेछ। यी दुईको खेल पनि सन् २०१४ र २०१६ पछि च्याम्पियन्स लिगमा अर्को रोमाञ्चक खेल हुनेछ। यी दुई टोली बराबर फर्ममा छन्। स्पेनिस ला लिगाको तालिकामा पनि यी दुई टोली १ अङ्कको फरकमा छन्। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५१, रियल म्याड्रिडको ५१ तथा एट्लेटिको म्याड्रिडको ५० अङ्क छ। ९ फेब्रुअरीका दिन यी दुई टोलीको बिचमा भएको स्पेनिस ला लिगाको खेलमा १–१ गोलको बराबरी भएको थियो।
दोस्रो चरणमा बार्सिलोनाले बेनफिकासँग खेल्ने छ। क्वार्टरफाइनल प्रवेश गरेमा बार्सिलोनाले डर्टमन्ड र लिलीको बिचको विजेतासँग खेल्ने छ। सेमिफाइनल प्रवेश गरेमा बार्सिलोनाको भिडन्त फियुनार्ड, इन्टर मिलान, वायरन म्युनिख र वायर लिभरकुसेनकोबीच जित्ने टोलीसँग हुने छ।
रियलले दोस्रो चरणमा सफलता पाए क्वार्टरफाइनलमा पिएसभी र आर्सनल मध्य एकसँग खेल्ने छ। सो खेलमा सफलता पाए पिएसजी, लिभरपुल ,क्लब ब्रुग र अस्टन भिल्ला मध्य एकसँग सेमिफाइनलमा खेल्ने छ।

एउटै देशका दुई टोली फाइनलको सम्भावना
यस पटक दोस्रो चरणमा स्पेन, जर्मनी र इङ्गल्यान्डका तीन टोली प्रवेश गरेका छन्। यसैगरी, फ्रान्स र नेदरल्यान्ड्सका दुई टोली समावेश छन्। जर्मनीका म्युनिख र लिभरकुसेनको भिडन्त दोस्रो चरणमा नै हुनेछ। आफ्नो खेल जित्दै गए पनि जर्मन टोलीहरूको भेट सेमिफाइनलमा हुनेछ। यस कारण जर्मनीका दुई टोली फाइनलको सम्भावना छैन।
इंग्ल्यान्डका लिभरपुल र अस्टन भिल्ला दुवैले दोस्रो चरणमा सफलता पाए क्वार्टरफाइनलमा भेट्ने छन्। सफलता पाउँदै आएमा सेमिफाइनलमा आर्सनलको भेट यी टोलीसँग हुने छ। यस कारण इंग्ल्यान्डका दुई टोली फाइनलको सम्भावना पनि छैन। फ्रान्सका पिएसजी र लिली भने आफ्नो खेलमा सफलता पाउँदै गएमा फाइनलमा भेट्ने छन्। नेदरल्यान्ड्सका पिएसभी र फियुनार्ड पनि फाइनलमा भेट हुन सक्ने छ।
पहिलो चरणमा लिभरपुल भन्दा पछि रहँदै दोस्रो स्थानमा साथ बार्सिलोना दोस्रो चरणमा प्रवेश गरेको थियो। एट्लेटिको म्याड्रिड पाँचौँ स्थानमा थियो। रियल म्याड्रिड भने ११ औँ स्थानमा रहँदै प्ले अफको सहारामा दोस्रो स्थानमा प्रवेश गरेको हो। प्ले अफमा भने अर्को शक्तिशाली क्लब म्यानचेस्टर सिटीलाई रियलले सानदार ढङ्गले हराएको थियो।

ऐतिहासिक ‘एल क्लासिको’ फाइनल त सबैको प्रतीक्षा हुन सक्छ। तर, त्यस भन्दा अघि नै एट्लेटिकोसँगको खेल रियलका लागि महत्त्वपूर्ण बन्नेछ। स्रोत : युइएफए, बिबिसी, स्पोर्टिङ न्युज
प्रतिक्रिया