यात्रा संस्मरण : ‘ट्रान्जिट’ धनगढी | Khabarhub Khabarhub

यात्रा संस्मरण : ‘ट्रान्जिट’ धनगढी



मिसन बाजुरा : धनगढीको यात्रा

सुदूरपश्चिमको राजधानी सहर हो धनगढी । धनगढी सम्झनेबित्तिकै नेपालको एक ‘ट्रान्जिट’ सहरका रुपमा स्मरण गर्छु । जो आफ्ना लागि भन्दा अरूको गन्तव्य सुनिश्चित गर्न क्रियाशील हुने गर्दछ । धनगढीलाई मैले कम्तिमा २०४० सालदेखि जान्दछु (किन, कसरी र कुन–कुन रूपमा, त्यसबारे अरू कुनै बेला छलफल गरौँला) । त्यसबेलादेखि मैले धनगढीलाई यही रूपमा जान्दै आएको छु ।

चाहे छेवैका गौरीफन्टा र पलियाकलाँ या वनवासा र टनकपुर हुँदै भारतमा रेल वा बसबाट यात्रा गर्न होस् । चाहे धनगढीबाट जहाज वा स्थलमार्गबाट सुदूरपश्चिम र नेपालका अन्य क्षेत्रको यात्रा गर्न होस्, धनगढीलाई धेरै पहिलेदेखि सम्झने गरिन्छ, जुन आजपर्यन्त जारी छ ।

मैले धनगढीलाई वि.सं २०४० देखि निरन्तर ट्रान्जिट सहरका रूपमा उपयोग गर्दै आएको छु । मैलेमात्रै होइन, मजस्ता धेरै छन् जसले धनगढीलाई यही रूपमा जान्दछन् र प्रयोग गर्दछन् । कहाँसम्म भने सुदूरपश्चिमकै मानिसका बीच यो सहर र यहाँका मानिसप्रतिको व्यवहार यस्तै छ— ट्रान्जिट सहर र आगन्तुक पाहुना । यो कुरा सम्झनुपर्ने प्रयोजन यसपटक फेरि आइपर्‍यो ।

२०७५ जेठ ७

जीविकोपार्जनसँग जोडिएको काममा केही दिनका लागि मैले सुदूरपश्चिम प्रदेशका जिल्लाको यात्रामा निस्कनु थियो । नेपालका ७७ जिल्लामध्ये यो सामग्री तयार पारुञ्जेल मैले ७२ वटा टेकिसकेको थिएँ । कर्णालीको हुम्ला र डोल्पा, गण्डकीको मनाङ र मुस्ताङ तथा सुदूरपश्चिमको बाजुराको स्पर्श गर्ने अवसर अहिलेसम्म पाएको थिइनँ ।

यसपटकको पश्चिम नेपालको यात्राका क्रममा बाजुरा पुग्ने जिल्लाको सूचीमा समावेश भयो । यससँगै मैले नेपालको ७३ औँ जिल्ला टेक्ने छु । नपुगेको जिल्लाको सङ्ख्या अब मात्रै ४ बाँकी रहनेछ । यही कारणले होला, बिहानैदेखि एक प्रकारले उद्वेलित छु । मनमा एक प्रकारको नयाँ हलचल, जिज्ञासा र उत्सुकतामिश्रित योजनाको ऊहापोह ।

यसपटकको मेरो यात्रा मिसन बाजुरा भए पनि पहिले जानुपर्ने धनगढी नै थियो । धनगढीलाई सम्झनेबित्तिकै ‘ट्रान्जिट’ शब्द मेरो मन-मस्तिष्कमा खेल्न थाल्यो ।

धनगढीमा मुख्य कार्यालय रहेको मिडिया एकाडेमी, नेपाल (सञ्चार प्रतिष्ठान, नेपाल) ले बेला-बेला प्रदेशभित्र र बाहिरका विभिन्न जिल्लामा मिडियासम्बन्धी कार्यक्रमको गर्ने गरेको छ । स्रोत व्यक्तिका रूपमा म उक्त संस्थाको कार्यक्रममा कयौँ पटक सहभागी भएको छु ।

यसपटक पनि त्यो संस्थाले सुदूरपश्चिमको बाजुरा, अछाम, डोटी र डडेलधुरामा ‘परिवर्तित शासकीय संरचनाका सन्दर्भमा मिडियाको भूमिका’ विषयमा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम गर्दै थियो । त्यसमा मलाई स्रोतव्यक्तिका रूपमा सहभागी भइदिन आग्रह आएको थियो । मैले अस्वीकार गर्ने कुरै थिएन । एक त रोजीरोटीको कुरा, अर्को नयाँ स्थानमा देशाटनको अवसर ।

यसपटक कार्यक्रम हुने अन्य जिल्लाले मलाई खासै आकर्षित गरेको होइन, तर बाजुरा भ्रमणको लोभलाई संवरण गर्न सकिनँ । मैले भ्रमण प्रस्ताव स्वीकार गरिसकेको थिएँ । बाजुराको नाम सुन्नैबित्तिकै मभित्र एक किसिमको रोमाञ्चक सञ्चार भइसकेको थियो ।

कैलालीको अत्तरिया बजार । तस्बिर : गगन अयडी

नेपालगञ्ज हुँदै धनगढीको माइक्रो यात्रा

म काठमाडौंबाट जहाजमा सवार भएर नेपालगञ्ज उत्रिएँ । अहिले धनगढीको विमानस्थल मर्मत भइरहेकाले त्यहाँको उडान प्रभावित थियो । जहाज नियमित पनि जाँदैन थिए । त्यसैले जहाजको माध्यम रोज्दा नेपालगञ्जको अवतरण बाध्यता थियो । मैले पनि यो बाध्यतालाई आत्मसात् गरेर नेपालगञ्ज उत्रिएँ ।

जहाजमा चढनु पहिला काठमाडौं विमानस्थलमा डोटीका पुराना पत्रकार मित्र गणेश जोशी (जो अहिले पत्रकारितामा खासै सक्रिय छैनन्) भेटिए । कुराकानी भयो । उनी पनि धनगढी गइरहेका थिए । उनीसँग भेट हुनु पहिला म नेपालगञ्जपछिको यात्राका लागि थोरै अन्यमनस्क भावमा थिएँ ।

सोचिरहेको थिएँ, नेपालगञ्जबाट धनगढीसम्मको चार घण्टाको यात्रा एक्लै कसरी गर्नु ? तर अब समस्या थिएन, गणेशजी जो भेटिए । नभन्दै नेपालगञ्जदेखि धनगढीसम्मको यात्रा बडो शानदार रुपमा सम्पन्न भयो । गणेशजी र म नेपालगञ्ज विमानस्थलबाट निस्किने क्रममा राँझा चौराहा पुगेर माइक्रो बस समात्यौँ । त्यसैमा हामी धनगढीका लागि सवार भयौँ । हामी सिटमा बस्नेबित्तिकै गफिन थाल्यौं । केही पत्रकारिताका कुरा । केही डोटीका कुरा र केही बाजुरासम्मको यात्राको बेलिविस्तार ।

साँच्चै कहिलेकाहीँ पुराना कुरा र स्मृति अत्यन्त उपयोगी हुन्छन् । शिक्षा ग्रहणको अवसरका साथै इतिहासको स्मृतिले मानिसलाई कुन बेला वर्तमानसँग जोडिदिन्छ, थाहै हुँदैन । हामी यस्तै–यस्तै कुरा गरिरहेका थियौँ । कर्णाली प्रदेशको गेट-वे मानिने लुम्बिनी प्रदेशको व्यापारिक नगर कोहलपुर, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र, भुरिगाउँ, डल्फिन पाइने बबई नदी (जहाँ पानीबाट उत्रिएर गोही बालुवामा बसेको देख्न सकिन्छ ।) आदि क्षेत्रहरू आउँदै छोडिँदै थिए ।

बर्दिया काटेपछि बाटोमा कर्णाली चिसापानी आयो । हिमाल र पहाड छिचोल्दै आउने कर्णाली नदी तराईमा ठोक्किने ठाउँ चिसापानी हो । यहीँबाट कर्णाली फिँजारिन्छ र अनेक भँगालोमा बाँडिदै टीकापुर, राजापुर, कोठियाघाट, सत्ती, ठाकुरद्वाराबाट अगाडि बढ्छ ।

अहिले चिसापानीबाट कर्णालीमा उत्तरयात्राका लागि र्‍याफ्टिङ सञ्चालित छ । चिसापानी बजार कर्णालको माछाका लागि प्रसिद्ध छ । यहाँका होटेलमा पाइने सबै माछा कर्णालीकै भएको दाबी कसैले गर्न सक्दैनन् । तर यो बाटो छिचोल्ने यात्रुका लागि त नाम नै काफी भन्ने शैलीमा होटेलका माछा सबै यहीँका भन्ने तिनको मनमा परेमा अस्वाभाविक मान्न मिल्दैन ।

चिसापानीबाट लम्की, बौनियाँ, पहलमानपुरलगायत ठाउँ छिचोल्दै सुदूरपश्चिमको मूल नाका अर्थात् अर्को ट्रान्जिट नगर अत्तरिया पुग्यौँ । चार घण्टाको समय कुन बेला र कसरी बित्यो पत्तै भएन । चिसापानी पार गरेको हाम्रो गाडी एकैछिनमा लम्कीबाट टीकापुर जाने बाटो छुट्टिने स्थानमा पुग्यो ।

लम्की आइपुग्दा मैले टीकापुरका साथीहरू भुवन अधिकारी, गणेश चौधरी, एकिन्द्र तिम्सिना, योगेश रावल, सम थापा, परमानन्द पाण्डे, ईश्वर साउद, दुर्गा भण्डारी, दुर्गा देवकोटा, रेशम चौधरीलगायतलाई सम्झिएँ । ती साथीहरूसँगको आत्मीय सम्बन्ध, मप्रति तिनको सम्मानपूर्ण व्यवहारबारे सहयात्री गणेशजीलाई सुनाएको थिएँ । सायद भुवन र योगेशलाई फोन गरेको पनि सम्झन्छु ।

तर धनगढी पुग्नुपर्ने माइक्रोबस मेरा लागि टीकापुर जान सम्भव थिएन । यस्तै लम्कीमा पनि साथीहरू देवानन्द, युवराज, प्रिन्स, रमेश बजगाईं र नवराज खनाललाई सम्झिएँ । यात्राको असुविधाका कारण उनीहरूसँग भेट्ने सुविधा थिएन ।

साँझ करिब सात बजिरहेको थियो । धनगढी आइपुग्यो । मेरो आजको यात्रा यहीँसम्म थियो । एक प्रकारले भन्दा धनगढी–अत्तरिया बाजुरा यात्राको ‘ट्रान्जिट’ बनेको थियो । आजको रात धनगढीमा बिताएर भोलिपल्ट अत्तरियाबाट बाजुराको औपचारिक यात्रामा निस्कियौँ ।

अत्तरिया बजारको रात्रि दृश्य । तस्बिर : गगन अयडी

पुरानो शहर नयाँ सम्बन्ध

धनगढी पुगेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम र पूर्वकेन्द्रीय सदस्य मनमोहन स्वाँरसहित आयोजक संस्थाका अध्यक्ष प्रकाशविक्रम शाहसँग भेट भयो । प्रकाशजीसँग मेरो पुरानो संगत छ । हामीबीच निकै घनिष्ठता छ । भेटघाट कमकमै हुन्छ तर हामीबीच एकार्काबारे निकै सकारात्मक धारणा रहेको म मान्दछु ।

प्रकाशजीले नेतृत्व गरेको संस्थामार्फत् मलाई काम उपलब्ध हुने गरेको छ । म उनको प्रशंसा गर्न चाहान्छु । मनमोहन स्वाँरजी पनि आयोजक संस्थासँगै जोडिएका थिए । हामीले एकछिन अलग्गै भोलिदेखिको यात्राका सम्बन्धमा छलफल गर्‍यौँ । प्रकाश नजाने भए । मनमोहनजीले यात्रामा मलाई साथ दिने निधो भयो ।

धनगढीको साँझ छिप्पिँदै जाँदा साथीहरूको उपस्थिति बाक्लो हुँदै गयो । अब मनमोहन, मीन बम, गणेश, टेकेन्द्र, हिमाल, भरत, जगत, दीर्घ, शिवराज, श्रवण, भीम, कर्ण, वीरेन्द्र, दीपेन्द्र, मीन ठकुरी, दीपक ओली आदि साथीहरू भेटिए । भेटिएकामध्ये केही बसे र केही गए ।

न चाहाँदा न चाहाँदै पनि साँझको रमझम बसाइमा सहभागी हुन करै लाग्यो । सबैको मान त राख्नै प¥यो । सत्य त के हो भने बसाइ मलाई पनि राम्रो नै लागेको थियो । तर, धेरै मनिसको प्रवृत्ति हुन्छ, समाजले खासै स्वीकार नगर्ने कुराको जिम्मेवारी स्वयम् लिन चाहाँदैनन् । सायद मेरो सन्दर्भमा पनि यही मनोग्रन्थीले काम गरिरहेको थियो । मैलमाथि पनि चर्चा गरेँ, धनगढीसँगको मेरो साइनो निकै पुरानो हो त्यसका बारेमा कुनै अरुबेला चर्चा गरौंला ।

एउटा कुरा भने सारमा भन्न चाहान्छु – यो शहर पुरानो भए पनि यहाँका मेरा सम्बन्धहरू भने नित्य नयाँ तरिकाले नयाँ स्वरुपमा स्थापित भएका छन्- भइरहेका छन् । रात्रिभोजन तिनै मित्रहरूका साथ सम्पन्न भयो । म स्थानीय उद्योग वाणिज्य संघद्वारा सञ्चालित अतिथि गृहमा रात्रिविश्रामका लागि लागेँ । साथीहरू आआफ्नो घरतिर ।

धनगढी मेरा लागि नौलो होइन । अनेकौं पटक आएको छु म यहाँ । मलाई नयाँ लाग्दैन यो शहर । सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढी, किन हो किन प्रत्येक पटक मलाई परिपक्व हुँदै गएको हो कि जस्तो लाग्छ । खासै नयाँपन नभएजस्तो पनि लाग्छ । त्यसैले घुम्ने प्रयोजन पनि खासै छैन । घुम्ने नयाँ गन्तव्य पनि त छैनन् यहाँ । धनगढीसँग म अभ्यस्त छु र धनगढी पनि मसँग अभ्यस्त छ । सायद त्यही कारण हो सम्भवतः प्रत्येक पटक हामी दुबैका बीच कुनै नव–आकर्षणको सम्बन्ध विकसित हुन सकिरहेको हुँदैन ।

धनगढी नेपालकै पुरानो मध्येको शहर हो । यो शहरसँग विशिष्ट सभ्यता र संस्कृतिको सम्बन्ध छ । पश्चिम नेपालको मुख्य आर्थिक र राजधानी नगरीका रुपमा वर्षौंदेखि स्थापित धनगढी त्यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र पनि हो । तर खै किन कुन्नि ? मलाई यो शहर अलि यौवन तुहिँदै गएको पाकोजस्तो लाग्न थालेको छ । राजमार्ग चौराहादेखि मोहना नदीको किनारसम्म बस्ती क्षेत्र । यही चौराहादेखि क्याम्पस अगाडिसम्मको एकलाइनको लमतन्न फैलिएको बजार ।

हसनपुर, चटकपुर, एलएन (लक्ष्मीनारायण मन्दिर) चौक पछाडिको क्षेत्रमा अधिकांश सरकारी कार्यालय । धनगढीको अधिकांश बस्तीमा नयाँ मानिस, पुराना घर । सुदुरपश्चिमका पहाडबाट सम्भवतः सबैभन्दा बढी जनस्थानान्तरण हुने शहर पनि धनगढी नै हो । ओछ्यानमा पल्टिएर यिनै कुरा सोच्दै कुन बेला निदाएँ पत्तै भएन ।

कैलालीको गोदवारी क्षेत्र । तस्बिर : गगय अयडी

व्यापारिक केन्द्र बन्दै अतरिया र देवभूमि गोदावरी
भोलिपल्ट बिहान (जेठ ८ गते)

करिब नौ बजेतिर हामीले धनगढीबाट पहाडतिरको यात्रा प्रारम्भ गरेका थियौँ । धनगढीमा गर्मी पर्याप्त हुने गर्दछ । साथीहरूका अनुसार हिजोदेखि यहाँ गर्मी अझै बढेको छ । आज बिहानदेखि नै सूर्यको ताप अधिक छ । तर करिब दस किलोमिटरको दूरीमा रहेको अतरिया र गोदावरी कट्नेबित्तिकै वातावरणमा अचानक परिवर्तन आएको अनुभव भयो । गर्मीको अनुभव कम भइरहेको थियो । अतरिया सुदूरपश्चिमकै केन्द्रका रूपमा विकसित हुँदैछ ।

सुदूरपश्चिमका सन्दर्भमा यो अर्को ट्रान्जिट नगर हो । अतरियाबाट पूर्व, पश्चिम, उत्तर र दक्षीणतर्फ सडक सञ्जालको विस्तार भएको छ । यहीँबाट पश्चिममा महेन्द्रनगरसम्म, पूर्वमा काठमाडौं काँकडभिट्टासम्म, दक्षिणमा धनगढी र उत्तरमा सुदूरपश्चिमका सबै पहाडी जिल्लासम्म जान सकिन्छ । यसै कारण पनि पछिल्लो समय अतरिया विस्तारै एक व्यापारिक केन्द्रका रूपमा विकसित भइरहेको छ । मैले हेर्दाहेर्दै यो ठाउँ अकल्पनीयरूपमा विकसित भएको छ ।

पहिला यो ठाउँमा दुईचार वटा समान्य पसल हुने गर्दथे । तर अहिले स्तरीय बजारले आधुनिक स्वरूप ग्रहण गरिरहेको छ । ठूला स्तरीय होटेल छन् । सपिङ मल र कम्प्लेक्स छन् । व्यवस्थित बसपार्क छ । रेडियो स्टेशन सञ्चालनमा छ । क्रमशः मानिसको व्यस्तता बढिरहेको छ । यो अवस्थाको लाभ यहाँका स्थानीयले कति उठाउन सकेका छन्, त्यो त अध्ययनकै विषय हो तर एउटा कुरा के चाहिँ निश्चित हो भने पहाडबाट ओरालो लागेका बस्तीका मानिसको उपस्थिति अहिले यहाँ बढेको अनुभव गरिएको छ । अतरियाका बस्तीमा नयाँ अनुहारहरू थपिने क्रम जारी छ र जग्गाजमिनको भाउ बढेको बढै छ ।

अतरिया कटेपछि गोदावरी आउँछ । गोदावरी यस क्षेत्रको अर्को महत्त्वपूर्ण स्थल हो । स्थानीयका अनुसार यहाँ सत्ययुगमा देवसभाको आयोजना हुने गर्दथ्यो । गोदावरीको सडकको दुवैतर्फ अनेकौं देवदेवीका स्थान मन्दिर छन् । गोदावरीको जङ्गललाई यहाँ निकै पवित्र मानिन्छ । बेलाबखत यहाँ धार्मिक अनुष्ठान, मेला, समारोहहरू आयोजित भइरहन्छन् । संघीय व्यवस्थाको आगमनपछि २०७५ मा अतरिया–गोदावरी क्षेत्रलाई सुदूरपश्चिम प्रदेशको राजधानीका रूपमा प्रस्ताव गरिए पनि त्यसअनुसारको संरचना निर्माणको कार्य भने अझै प्रारम्भ हुन सकेको छैन ।

खानीडाँडा बजार । तस्बिर : गगन अयडी

हिल स्टेशन खानीडाँडामा चिया र भातकाँडामा भात

गोदावरीबाट पहाड उक्लिन सुरु हुनेबित्तिकै हावामा केही चिसो अनुभव हुन लागेको थियो । मात्र करिब १५–२० किलोमिटरको दूरीमा वातावरणमा यति धेरै परिवर्तन सायद नेपालबाहेक विश्वको कुनै ठाउँमा पनि सम्भव हुँदैन होला । गोदावरीभन्दा केही माथि खानीडाँडा भन्ने ठाउँ आउँछ । यो ठाउँ यस क्षेत्रमा ‘हिल स्टेशन’का रूपमा परिचित छ । धनगढी र महेन्द्रनगरमा जब अत्यधिक गर्मीको अनुभव हुने गर्दछ, यहाँका सम्भ्रान्त र आर्थिकरुपले सम्पन्न व्यक्तिहरू खानीडाँडा आउँछन् । दिउँसोभरिको समय व्यतीत गर्छन् र साँझ परेपछि फर्कन्छन् । हामीले खानीडाँडामा थोरै विश्राम गर्दै चिया खायौँ र पुनः अगाडिको यात्रातर्फ बढ्यौं ।

दिउँसोको करिब एक बजे हामी डडेलधुरा जिल्लाको सदरमुकामसँगै जोडिएको भातकाँडा नामक स्थानमा आइपुगेका थियौं । यहाँ जाडो महिनामा हिउँ पर्ने गर्दछ । भनाइ छ– यहाँ यति चिसो हुन्छ कि पकाएको भात थोरै समयमा तत्कालै चिसिन्छ र भात काँडाजस्तै हुन्छ । त्यसैले यस स्थानलाई भातकाँडा भनिएको हो । यसको सत्यताको पुष्टि त मैले गरेको छैन तर आजको वातावरणका आधारमा भन्नुपर्दा जेठ महिनामा मैले लगाएको पातलो ज्याकेट मलाई नराम्रो लागेको थिएन ।

मेरा लागि यात्राको खास रोमाञ्च त अब थपिँदै थियो । भातकाँडा डडेलधुरासम्मको यात्रा त मैले पहिले पनि गरेको हुँ । अब हामी क्रमशः बाजुरातर्फ अगाडि बढिरहेका थियौं, तर त्यहाँ पुग्न हामीले अझै दुईवटा जिल्ला डोटी र अछाम छिचोल्नु आवश्यक थियो । हाम्रो गाडी चालकलाई गन्तव्य थाहा थियो । गाडी एकतमासले दगुरिरहेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ५२ बजे

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

नवलपरासी– सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं– विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित