काठमाडौं- लामो समयदेखि बिरामी रहेका पोप फ्रान्सिसको निधन भएपछि सारा रोमन क्याथोलिक समुदायसँगै विश्व नै स्तब्ध भएको छ । ईस्टर पर्वको भोलिपल्ट सोमबार पोपको निधन भएको हो । यससँगै विश्वभरबाट शोक सन्देश आउने क्रम जारी छ । पोपलाई श्रद्धाञ्जली व्यक्त गर्न भ्याटिकस्थित सेन्ट पिटर बसिलिकाअगाडि हजारौँ मानिसहरु भेला भएका छन् ।
उनको अन्तरिम सँस्कारको प्रारम्भीक प्रक्रिया चाँडै शुरु हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि आइतबार मात्रै ईस्टरका अवसरमा पोपले सेन्ट पिटर स्क्वायरमा हजारौँ मानिसलाई सम्बोधन गरेका थिए । त्यसबेला उनले ‘प्यारा दाजुभाइ दिदीबहिनीहरु, ईस्टरको शुभकामना’ भनेका थिए । हालै अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग पनि उनले भेटवार्ता गरेका थिए ।
उनको निधनसँगै नयाँ पोप चयनको लामो र जटिल प्रक्रिया पनि शुरु भएको छ । उनको निधनसँगै नयाँ पोप चयन चुन्ने बेलासम्म कार्डिनलहरुको समूहले रोमन क्याथोलिक चर्च सञ्चालन गर्नेछ । नयाँ पोप चयनका लागि क्याथोलिक धर्मगुरुहरुले चुनाव चुनाव गर्ने परम्परा छ ।
उनको सोमबार बिहान स्थानीय समयअनुसार ७ बजेर ३५ मिनेटमा भ्याटिकनस्थित आफ्नै निवास कासा सान्टा मार्थामा निधन भएको ‘होली सी’ले पुष्टि गरेको छ । होली सीको एपोस्टोलिक च्याम्बरका क्यामेरलेङ्गो कार्डिनल केभिन फरेलले पोपको निधन भएको पुष्टि गरेका हुन् । संसारको सबैभन्दा सानो मुलुकको रुपमा परिचित भ्याटिकनको शासन सञ्चालन गर्ने धार्मिक सरकारलाई ‘होली सी’ भन्ने गरिन्छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–
‘सबैभन्दा प्रिय दाजुभाइ दिदीबहिनीहरु, गहिरो दुःखका साथ मैले हाम्रा पवित्र पिता फ्रान्सिसको निधन भएको घोषणा गर्नुपर्छ । यसै बिहान ७ः३५ बजे रोमका विशप, फ्रान्सिस, आफ्ना पिताको गृहमा फर्किनुभयो । उहाँको पूरै जीवन प्रभु र उहाँको गिर्जाघरको सेवामा समर्पित थियो । उहाँले हामीलाई निष्ठा, साहस र सर्वव्यापी प्रेमपूर्वक विशेषगरी सबैभन्दा गरिब र सीमान्तकृतहरुको पक्षमा सुसमाचारका मूल्यहरु सिकाउनुभयो । प्रभू येशूको असल शिष्यका रुपमा उहाँको यो उदाहरणप्रति कृतज्ञता प्रकट गर्दै हामी पोप फ्रान्सिसको आत्मा असीम दयावान् एकमात्र र त्रीय ईश्वरप्रति समर्पण गर्दछौँ ।’
८८ वर्षे पोप लामो समयदेखि निमोनिया र फोक्सोको संक्रमणबाट पीडित थिए । ब्रोङ्काइटिस भएपछि पछिल्लो पटक गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डेका दिन उनी इटालीको अगोस्टिनो जेमेली पोलिक्लिनिक अस्पतालमा भर्ना भएका थिए । पछि फेब्रुअरी १८ का दिन उनलाई दोहोरो निमोनिया भएको चिकित्सकले पुष्टि गरेका थिए । ३८ दिनको अस्पताल बसाइपछि उनी भ्याटिकनस्थित कासा सान्टा मार्था फर्केका थिए ।
शोक सन्देशको वर्षा
उनको निधनले संसारभर शोकको लहर फैलिएको छ । विश्वभरका नेताहरूले उनको विनम्रता, करुणा र मानवताप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै श्रद्धासुमन अर्पण गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोप फ्रान्सिसले सधैं युक्रेन र त्यहाँका जनताको शान्तिका लागि प्रार्थना गर्नुभएको सम्झना गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई बुद्धिमान, न्यायप्रिय र धार्मिक सहकार्यका पक्षपाती व्यक्तित्वका रूपमा वर्णन गरेका छन् । त्यसैगरी, बेलायती प्रधानमन्त्री केर स्टार्मरले पोपको नेतृत्व कठिन समयमा पनि साहसी र विनम्र रहँदै आएको बताएका छन् । बेलायती नरेश चाल्र्स तृतीयले उनीप्रति गहिरो श्रद्धा व्यक्त गर्दै भनेका छन्, ‘उहाँले मानिस र प्रकृतिप्रतिको प्रेममार्फत धेरैको जीवनमा गहिरो प्रभाव पार्नुभयो ।’
अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेले वैचारिक भिन्नता हुँदाहुँदै पनि पोपको सौम्यता र बुद्धिमत्ताबाट आफू प्रेरित भएको बताएक छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनलाई सधैँ पीडित र कमजोरहरुको पक्षमा उभिने करुणामय व्यक्तित्वका रुपमा स्मरण गरेका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भनेकी छिन्, ‘यो मानवजातिका लागि गहिरो क्षतिको घडी हो ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पोप फ्रान्सिस करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतिक रहेको बताएका छन् । उनले भनेका छन्, “उहाँसँगको भेट स्मरणीय रह्यो र उहाँको समावेशी तथा समग्र विकासप्रतिको दृष्टिकोणले मलाई गहिरो प्रेरणा दिएको छ ।”
इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगले पोपले यहूदी समुदायसँगको सम्बन्ध मजबुत पार्न महत्वपूर्ण योगदान दिएको स्मरण गरेका छन् । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले पनि पोपलाई प्यालेस्टाइनी जनताको सच्चा मित्र भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । स्पेन, जर्मनी, इजिप्ट, केन्या, फिलिपिन्सलगायत विभिन्न देशका नेताहरूले पनि पोप फ्रान्सिसप्रतिको आफ्नो सम्मान, माया र प्रेरणालाई गहिरो भावनाका साथ अभिव्यक्त गरेका छन् ।
को हुन् पोप फ्रान्सिस ?

तत्कालीन पोप बेनेडिक्ट सोह्रौँले राजीनामा दिएपछि होर्गे मारियो बेर्गोग्लियो सन् २०१३ को मार्च १३ मा पोप फ्रान्सिसका रुपमा २ सय ६६ औँ सर्वोच्च धर्मगुरु चयन भएका थिए । बेर्गोग्लियोको जन्म सन् १९३६ मा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको राजधानी बुएनोस एरिजमा भएको थियो । उनका बाबुआमा इटालीका आप्रवासी थिए । उनीहरु इटालीको फासिवादी सत्ताको दमनबाट भागेर अर्जेन्टिना पुगेका थिए । आमाबाबुका ५ सन्तानमध्ये उनी जेठा छोरा हुन् । हजुरआमा रोसाले नै उनलाई प्रार्थाना गर्न सिकाएकी थिइन् ।
उनी सानै उमेरदेखि उनी धार्मिक गतिविधिमा संलग्न हुँदै आएका थिए । उनी प्रायः नियमित रुपमा चर्च जान्थे । १७ वर्षको उमेरमा चर्चमा रहँदा आफूले पहिलो पटक धार्मिक प्ररणा पाएको उनले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । सन् १९५८ मा उनी ‘जेजुइट’ भनिने क्याथोलिक धार्मिक अभियानमा संलग्न भएका थिए । यही बेलादेखि उनी निमोनियाबाट पीडित हुन थालेका थिए । निमोनियाका कारण उनको दायाँ फोक्सोको माथिल्लो भाग हटाइएको थियो ।
अर्जेन्टिनामा जन्मेकाले पनि होला, सानैदेखि उनी फुटबल खेलप्रति आकर्षित थिए । उनी स्थानीय सान लोरेन्जो फुटबल क्लबका समर्थक थिए । सानोमा उनी ट्याङ्गो नृत्य नाच्न रुचाउँथे । युवा अवस्थामा उनले स्थानीय नाइटक्लबमा बाउन्सर र फ्लोर स्विपरको काम गरेका थिए । पछि उनले रसायनशास्त्र अध्ययन गरे । उनले स्थानीय कारखानामा पनि काम गरेका थिए ।
सन् १९६९ मा उनी औपचारिक रुपमा धर्मगुरु बनेका थिए । सन् १९७३ मा केबल ३६ वर्षको उमेरमै उनी अर्जेन्टिनाको जेजुइट प्रमुख बन्न सफल भएका थिए । सिभिलिटा क्याथोलिकालाई दिएको अन्तरवार्तामा उनले भनेका थिए– ‘अधिनायकवादी स्वभाव र हतारो गर्ने शैलीका कारण म समस्यामा परेको थिएँ र मलाई उग्र रुढिवादीको आरोप पनि लागेको थियो ।’
सन् १९८६ मा उनी जर्मनी भ्रमणमा पुगेका थिए । त्यसपछि उनी अर्जेन्टिना फर्केर कोर्दोबामा सेवा गर्न थाले । पछि सन् १९९२ मा तत्कालीन पोप जोन पल द्वितीयले उनलाई ब्युनर्स आयर्सको विशप नियक्त गरेका थिए । त्यसको ६ वर्षपछि उनी आर्चविशप बने र सन् २००१ मा उनी कार्डिनल बनेका थिए ।
त्यसबेलासम्म उनले क्याथोलिक दुनियाँमा आफूलाई स्थापित गराइसकेका थिए । सन् २००५ मा पोप जोन पल द्वितीयको निधन भयो । त्यसबेला नयाँ पोप चयनका लागि भएको चुनावमा बेर्गोग्लियोले दोस्रो धेरै मत पाएका थिए । यद्यपि त्यसबेला जर्मनीका योसेफ आलोइस राट्जिङ्गर पोप बेनेडिक्ट सोह्रौँका रुपमा सर्वोच्च धर्मगुरु चयन भएका थिए ।
कस्तो रह्यो फ्रान्सिसको कार्यकाल ?

पोपमा चयन हुँदैखेरी फ्रान्सिसले इतिहास बनाइसकेका थिए । उनी अमेरिका तथा दक्षिणाी गोलार्धको प्रतिनिधित्व गर्ने प्रथम पोप हुन् । त्यसैगरी, सन् ७४१ यताकै गैरयुरोपेली मूलका पहिलो पोप हुन् । सिरियामा जन्मेका पोप ग्रेगोरी तृतीयको सन् ७४१ मा निधन भएको थियो ।
मूलधारका क्याथोलिक इसाईहरुले लामो समयदेखि जेजुइट धार्मिक व्यवस्थालाई शंकाको दृष्टिले हेर्दै आएका थिए । त्यसैगरी, पोप बेनेडिक्ट सोह्रौँले सन् २०१३ मा राजीनामा दिएपछि इसाईहरुले युवा उमेरका पोप पाउने अपेक्षा गरेका थिए । तर, अपेक्षाको विपरीत ७० वर्ष उमेर समूहका बेर्गोग्लियो नयाँ पोप चुनिए । उनी जनावरप्रमी पनि मानिन्छन् । जनावरप्रतिको प्रेमकै कारण उनले १३ औँ शताब्दीका इसाई सेन्ट तथा पशुपंक्षीलाई प्रेम गर्ने असिसीका सेन्ट फ्रान्सिसको नामबाट पोप बनेका थिए ।
उनी सामाजिक न्यायको मामिलामा पनि निकै उदार मानिन्छन् । उनले रोमन क्याथोलिक चर्चलाई उदार बनाउने प्रयास पनि नगरेका होइनन् । आफ्ना उपदेशहरुमा उनले सामाजिक समावेशिताको आह्वान गरेका थिए । समाजका विपन्न सदस्यको कल्याण गर्न नसक्ने सरकारहरुको उनी आलोचना गर्थे ।
उनले भनेका थिए, ‘मलाई गरिब चर्च र गरिबहरूको हेरविचार गर्ने चर्चको चाहना छ ।’ उनले सादा जीवन बिताउने व्यक्तिको छवि बनाएका थिए । उनले पोपले पाउने विलासी गाडी पनि त्याग गरेका थिए । उनले अन्य कार्डिनलहरुसँगै बसको प्रयोग गर्थे । उनी प्रायः हवाइ जहाजमा यात्रा गर्दा इकोनमी क्लासको टिकट लिन्थे ।
पोपका रूपमा उनले पूर्वी अर्थोडक्स चर्चसँगको झण्डै हजार वर्ष पुरानो विवाद समाधानको प्रयास गरेका थिए । रोममा अवस्थित रोमन चर्च र कन्स्ट्यान्टिनोपोलमा रहेको चर्चबीच विवाद भएपछि सन् १०५४ मा इसाई धर्मका दुई शाखाको विभाजन भएको थियो ।
कतिपय मामिलामा भ्याटिकनका रुढिवादीहरुबाट उनले प्रतिरोधको सामना गर्नुपर्यो । सन् २०२२ मा निधन हुनुअघिसम्म पूर्वपोप बेनेडिक्ट सोह्रौँ भ्याटिकनका रुढिवादीमाझ लोकप्रिय नै थिए । उनको कार्यकालको सबैभन्दा ठूलो मुद्दा भने क्याथोलिक चर्चमा रहेको बालयौन दुर्व्यवहारका प्रकरणहरु थिए । उनलाई चर्चमा व्याप्त बालयौन दुव्र्यवहारका मुद्दा व्यवस्थापन गर्न नसकेको आरोप पनि लाग्दै आएको थियो ।
अब नयाँ पोप कसरी चयन गरिन्छ ?
पोप फ्रान्सिसको निधनपछि अब उनको अन्तिम सँस्कारको प्रक्रिया शुरु भएको छ । उनको अन्तिम सँस्कार सम्पन्न हुन ४–५ दिन लाग्ने अपेक्षा गरिएको छ । पोपको अन्तिम सँस्कार निकै लामो र जटिल हुने गर्छ तर, उनले यसअघि नै आफ्नो अन्तिम सँस्कारलाई सामान्य राख्न आग्रह गरेका छन् । उनको चाहनाअनुसार उनको शवलाई सेन्ट पिटर बसिलिकाको उच्च स्थानमा राखिने छैन । आम जनताले अब उनको शव बिर्को खोलिएको कफिनमै रहेको अवस्थामा दर्शन गर्न पाउनेछन् ।

अब संसारभरका कार्डिनलहरु भ्याटिकनमा नयाँ पोप चयन गर्न भेला हुनेछन् । पुनर्जागरणकालका प्रसिद्ध इटालियन चित्रकार माइकलएन्जेलोले चित्र कोरेको सिस्टिन च्यापलमा यो सभाको आयोजना गर्ने परम्परा छ । परम्परागत रुपमा पोपको निधन भएको १५ दिनपछि मात्रै कार्डिनलको सभा आयोजना गरिन्छ । त्यसपछि कार्डिनलहरुले नयाँ पोप चयन गर्छन् । पोपको निधन भएको १५ देखि २० दिनभित्र नयाँ पोप चयनको प्रक्रिया सम्पन्न हुन्छ ।
हाल संसारभर २ सय ५२ जना कार्डिनलहरु छन् । यी सबै कार्डिनलहरु पोपले नियुक्त गरेका हुन्छन् । यद्यपि केबल १ सय ३५ जनालाई मात्रै नयाँ पोप चुन्ने अधिकार रहेको बीबीसीले उल्लेख गरेको छ । ८० वर्षमाथिका कार्डिनलले नयाँ पोप चयनको बहसमा सहभागिता जनाउन पाउँछन् । यद्यपि उनीहरु मतदान प्रक्रियामा भने सहभागी हुनेछैनन् ।
धार्मिक रुपमा रोमन क्याथोलिक धर्म अपनाउने जो कोही पोप बन्न पाउँछन् । तर, व्यवहारमा भने कार्डिनलहरु मध्येबाटै नयाँ पोप छान्ने गरिन्छ । ऐतिहासिक रुपमा युरोपेली र विशेषगरी इटालियन मूलका धर्मगुरु नै पोप बन्ने गरेका छन् । बीबीसीका अनुसार इतिहासमा २ सय ६६ जनाले पोपको जिम्मेवारी पाएका छन् । त्यसमध्ये २ सय १७ जना इटालियन मूलका छन् ।
सिस्टिन च्यापलमा आयोजना हुने सभामा सहभागी कार्डिनलहरु नयाँ पोपको चयन हुन्जेलसम्म बाहिरी संसारको सम्पर्कबाट बाहिरै रहन्छन् । उनीहरुलाई फोन, इन्टरनेट, समाचारपत्रको पहुँच दिइँदैन । नयाँ पोप चयन गर्न मताधिकार प्राप्त कार्डिनलहरुको दुई तिहाईभन्दा एक मत आवश्यकता पर्छ । सभा बसेको दिन एक पटक गोप्य मतदान हुनेछ भने त्यसपछि हरेक दिन दुई पटक मतदान हुनेछ । यो प्रक्रिया केही दिन लम्बिनसक्छ ।
संसारलाई नयाँ पोप चयन भए नभएको जानकारी दिन सिस्टिन च्यापलको चिम्नी प्रयोग गरिन्छ । अझै पनि नयाँ पोप चयन भइनसकेको सन्देश दिन चिम्नीबाट कालो धुवाँ निकालिन्छ । त्यसैगरी, नयाँ पोप चयन भएको सन्देश दिन च्यापलको चिम्नीबाट सेतो धुवाँ निकाल्ने चलन छ । चिम्नीबाट सेतो धुवाँ निस्केको केही घण्टापछि नयाँ पोपले बार्दलीबाट दर्शन दिने चलन छ । त्यसपछि वरिष्ठ कार्डिनलहरुले ल्याटिन भाषामा ‘ह्याबेमस पापाम’ अर्थात् ‘हामीलाई नयाँ पोप प्राप्त भयो’ भन्ने चलन छ । नयाँ पोपले आफूले रोजेको नयाँ नाम राख्ने चलन छ ।
पोप भनेको के हो ?
पोप भन्नाले रोमन क्याथोलिक इसाईको सर्वोच्च धार्मिक पद हो । पोपलाई भ्याटिकन सिटीको राष्ट्रप्रमुख पनि मान्ने गरिन्छ । हाल विश्वमा ४ अर्ब जनसङ्ख्याले इसाई धर्म मान्दै आएका छन् । यीमध्ये झण्डै आधा अर्थात् १ अर्ब ४० करोडभन्दा धेरै रोमन क्याथोलिक सम्प्रदायका इसाई छन् । रोमन क्याथोलिकबाहेक प्रोटेस्टेन्ट र अर्थोडक्स इसाईले पोपलाई सर्वोच्च धर्मगुरु मान्दैनन् ।
पोपको पद रोमन सभ्यतासँग जोडिएको विश्वास गरिन्छ । इसाई धर्मको प्रदुर्भाव हुनुअगावै रोममा ‘पोन्टिफस म्याक्सिमस’ अर्थात् सर्वोच्च धर्मगुरु नामक पदको स्थापना गरिएको थियो । रोमन अधिराज्यका दोस्रा राजा नुमा पोम्पिलियसले ‘पोन्टिफस म्याक्सिमस’ पदको स्थापना गरेको किंवदन्ती छ । अझै पनि पोपलाई पोन्टिफस म्याक्सिमस भन्ने गरिन्छ ।
रोमन साम्राज्यमा इसाई धर्मले मान्यता पाउनुअघि रोमन अधिराज्य, गणतन्त्र र रोमन साम्राज्यकालको लामो समयसम्म पोन्टिफस म्याक्सिमस रोमन धर्मको सर्वोच्च पद थियो । तर, रोममा इसाई धर्मले मान्यता पाएपछि भने पोन्टिफस म्याक्सिमस रोमन क्याथोलिक इसाई धर्मको सर्वोच्च पदको रुपमा स्थापित भयो ।
सन् ८०० को क्रिसमस डे अर्थात् डिसेम्बर २५ मा फ्र्याङ्कहरुका राजा सार्लमेनले तत्कालीन पोप लियो तृतीयबाट श्रीपेच पहिरिएका थिए । यस घटनापछि युरोपमा पोपको अधिकार ह्वात्तै बढेर गएको थियो । पोपको आर्शिवाद पाएका सार्लमेनलाई सोहीबेला पवित्र रोमन साम्राज्य (होली रोमन इम्पायर) का सम्राट घोषित गरिएको थियो ।
यससँगै युरोपमा पोप र सम्राटको द्वैध शासन शुरु भएको विश्वास गरिन्छ । पवित्र रोमन साम्राज्यका सम्राटले पोपबाट शासन सञ्चालनको धार्मिक अख्तियारी पाउने र बदलामा सम्राटले आफ्नो साम्राज्यमा धर्मको रक्षा गर्ने दोहोरो शासन व्यवस्था स्थापित थियो । मध्ययुगमा ‘पेपल स्टेट’ अर्थात् पोपको राज्य नामक राज्यले मध्य इटालीमा शासन सञ्चालन गरेको थियो । हाल रोममा अवस्थित भ्याटिकन सिटीलाई सोही पोपको राज्यका उत्तराधिकारीका रुपमा हेर्ने गरिएको छ ।
प्रतिक्रिया