युवा संघलाई कस्तो बनाउने ? यस्तो छ विनय शाहले कोरेको खाका | Khabarhub Khabarhub

युवा संघलाई कस्तो बनाउने ? यस्तो छ विनय शाहले कोरेको खाका


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

धनगढी- इन्जिनियर पढेका विनय शाहलाई अवसर र जागिरको कुनै कमी थिएन । न परिवारबाट कुनै पेशा व्यवसाय गर्न रोकतोक नै थियो । चाहेको रहर परिवारकै आम्दानीबाट गर्न सक्थे । शैक्षिक योग्यता र क्षमताले रोजेकै अवसरमा जोडिन सक्थे । सुख सयल युक्त सुविधाको व्यक्तिगत जीवन बिताउन कहीँ कतैबाट अवरोध थिएन । र, असम्भव पनि । तर उनले संघर्ष र सेवाको जीवन रोजे । त्यो हो राजनीति ।

विनयका लागि राजनीति रोज्नु बाध्यता थिएन, बरू रहर जाग्यो । जिन्दगीमा अरुका लागि केही गर्नु पर्ने सोचकै कारण उनले इन्जिनियर पढ्दै गर्दा पोखराबाटै राजनीतिक जीवन थाले । जतिबेला उनको उमेर २० कटेको थिएनन् । आफैँले निर्णय लिए । र अनेरास्ववियुको सदस्य बने । अनेरास्ववियुबाटै विद्यार्थी राजनीति सुरु गरे ।

राजनीतिमा लागेको पनि विद्यार्थी जीवनदेखिको समय जोड्दा उनलाई दुइए दशक नै बिताइसके । हाल नेकपा एमाले निकट राष्ट्रिय युवा संघको केन्द्रीय सचिव छन् । नेकपाकालीन समयपछिको प्रदेश संरचनामा सुदूरपश्चिम प्रदेशको संस्थापक अध्यक्ष सहीत केन्द्रीय सचिवसम्म पुगेका छन् ।

दुई कार्यकाल सचिव भइसकेका विनयलाई नवौँ महाधिवेशनबाटै महासचिव हुने, नभए उपमहासचिव बन्ने धोको थियो । उनले प्रयास पनि गरे, पुराना अनुहार मिलाउनु पर्ने अवस्था आएपछि फेरि सचिवमै दोहोरिए र सुदूरपश्चिम प्रदेशको इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । फेरि यतिबेला राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनको चर्चा सुरु भएको छ । महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुँदैछ ।

महाधिवेशन नजिकिएसँगै नेतृत्व लिन नेताहरु पुनः दौडमा लागि परेका छन् । त्यही दौडमा छन्, विनय शाह । संगठनमा लागेका सबैको योगदान, योग्यता, क्षमता समान नभएपनि कम कोही कसैको हुँदैन । तर योग्यता र क्षमतामा पनि श्रेष्ठता र आकर्षण कमैमा हुन्छ, तीन अनुहारको सूचीको अग्रभागमा विनय शाह पनि छन् ।

शाह यो पटक महासचिव बन्ने लक्ष्यमा छन् । आफ्नै एजेण्डा, योजना र प्रतिवद्धता सहीत उनले महासचिवको उम्मेदवारी समेत अनौपचारिक घोषणा गरिसकेका छन् । शाह नाम जस्तै क्षमता र संस्कार अनि सक्रियतामा विनय नै छन् । जुन शैली र व्यवहारले बहुसंख्यक युवाको रोजाइ हुन्, विनय शाह ।

राष्ट्रिय युवा संघमा नेता हुन्, ४० वर्षे हदबन्दी छ । विनय अझै अर्को कार्यकालका लागि योग्यछन् । उनी यो पटक महासचिव र अर्को पटक केन्द्रीय अध्यक्ष भएर युवा संघलाई सबै युवाको आस्था र आकर्षणको केन्द्र बनाउन चाहन्छन् । राजनीति प्रति युवामा बढेको निराशामा आशा भर्ने योजना उनीसँग छ । राजनीति रहरले रोज्ने क्षेत्र बनाउने इच्छाशक्ति सहीतको प्रतिबद्धता छ ।

राजनीति प्रति निराशा बढ्यो, युवाहरूको रोजाइ नै बनेन । नयाँ पुस्ताले राजनीतिलाई घृणा गर्ने र गालीले सराप्ने स्थिति छ । ‘उनले भने–राजनीति रोज्ने रहरको क्षेत्र बनाउने लक्ष्य र उदेश्य बोकेर नेतृत्व लिन खोजिएको हुँ । पदमा बस्न र परिचय बनाउन मेरो आफ्नो योग्यता नै काफी छ ।’

अंग्रेजी भाषामा विनयले राम्रो दख्खल राख्छन् । युवा संघको विदेश विभागकै प्रमुख भएर उनले काम गरेका छन् । दुई दर्जन बढी देश पुगेको अनुभव उनीसँग छ । युवासंघमा अध्यक्षमा ५ र महासचिवमा उम्मेदवारी छ । त्यसको बलियो आकांक्षी हुन्, विनय । उनले आफ्नो उम्मेदवारीलाई बलियो मात्रै नभई, युवाको चाहना र समयको आवश्यकताको रुपमा ब्याख्या गर्ने गरेका छन् ।

महाधिवेशन संघारमै पुगेका बेला युवा संघको अध्यक्ष र महासचिवको बन्ला भन्ने चासो एमाले वृत्तमा छ । यसपटक एमालेमा विगतभन्दा फरक किसिमको परिवेश छ । यसअघिका महाधिवेशनमा जस्तो जम्बो पदाधिकारी र केन्द्रीय समिति अब बन्ने छैन । पार्टीले नै नौ सदस्यीय पदाधिकारी र १५१ सदस्य केन्द्रीय कमिटी बनाउन निर्देशन दिएको छ ।

त्यही फ्रेमभित्र कमिटी बनाउनु पर्ने बाध्यता छ । नौ सदस्यीय पदाधिकारीमै अटाउने अनुहार ५० बढी छन् । सहभागि हुने करिब १९ सय प्रतिनिधि संख्याबाट १५१ सदस्यीय कमिटी बनाउनु पर्ने विषय सहज छैन । यही प्रतिस्पर्धाका बीच पनि आफूलाई अब्बल सावित गर्ने संकल्पमा देखिएका छन्, विनय शाह । अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय छ ।

विनयको पुर्ख्यौली घर अछाम हो । तर उनी कैलालीको धनगढीलाई भूगोल बनाएर राजनीति गर्छन् । २०७७ सालमा एमाले–माओवादी दुवै पूर्ववत् अवस्थामा फर्किएपछि तीन महिनाका लागि बचनसिंहलाई अध्यक्ष बनाइयो । त्यो समय सिंगो सुदूरपश्चिमको कमाण्ड सम्हालेका थिए, विनय शाहले । जुन काममा उनी सफल भए । भीम रावलको दबदबा भएको क्षेत्रमा विनयको युवा कमाण्ड भरलाग्दो र रहर लाग्दो थियो ।

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीति र अन्य क्षेत्रमा न्यून प्रतिनिधित्व देखिएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत मुलधारमा ल्याउन खोजेको पात्र हुन्, विनय । विदेशका कार्यक्रम र युवा संघका महत्वपूर्ण कार्यक्रमको सहजीकरण, सहभागी र सञ्चालका लागि खोजीको पात्र पनि हुन् उनी ।

युवा पुस्ताको असल नेतृत्व गर्नसक्ने भन्दै उनलाई महासचिव बनाउन सुदूरपश्चिमबाट सिंगो प्रतिनिधि र पार्टी नेताको दबाब देखिन्छ । सुदूरपश्चिमबाट सक्षम युवा नेताको परिचय बनाउन लागेको विनय यो पटक महासचिव र अर्को पटक अध्यक्ष बन्ने इच्छाशक्तिसहित सक्रिय छन् ।

२०६० मा अनेरास्ववियुको सदस्यका रूपमा राजनीति सुरु गरेका उनले पोखरा विश्वविद्यालयको अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म बनेका थिए । त्यसपछि एसिया स्टुडेन्ट्स एसोसिएसनको संयोजक, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रदेश अध्यक्ष, विदेश विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।

शाह नीति तथा दृष्टिकोणको रुपमा जनताको बहुदलीय जनवादलाई जेन जी पुस्ता माझ प्रविधि–मैत्री मोड्युलद्वारा विस्तार गर्ने मान्यता राख्दछ्न् भने मार्क्सवादलाई अझै प्रगतिशील विज्ञानका आधारमा परिभाषित गर्ने नीतिलाई पक्षपोषण गर्ने गरेका छन् ।

संगठनलाई नीति निर्माण गर्ने नेता उत्पादनको फ्याक्ट्री बनाउने, रिपोर्टिङ र मूल्यांकन प्रणाली अनिवार्य हुनेगरी व्यक्तिगत र कमिटीको मार्किङ गर्ने र डिजिटल डासबोर्ड बनाई पारदर्शी बनाइने योजना उनको छ ।

संगठनको सदस्यता प्राप्ति र नवीकरण प्रणाली अझै प्रभावकारी र पारदर्शी बनाउन डिजिटल बनाउने, युथ फोर्स विभागलाई अझै अधिकार सम्पन्न बनाई मिलिटरी संरचना अनुरूप विस्तार गर्ने, प्रशिक्षण प्रणाली अझै सुधार गरी पाठ्यक्रम तयार गर्ने र मूल्यांकनको प्रमुख आधार बनाउनु पर्नेमा उनको जोड छ ।

युवा परिषदलाई दोस्रो सर्वोच्च निकायमा स्थापित गर्न अझै विशेष प्राथमिकतामा राख्नु पर्ने, विदेश विभागलाई अझै अधिकार सम्पन्न बनाउने, र राज्यले युवा नीतिको अवधारणलाई लागु गर्नु पर्ने एजेण्डा सहीत विनयले नेतृत्वमा दाबी गरेका हुन् ।

अन्तर्राष्ट्रिय शान्ति प्रयासमा युवाको सक्रियता, छिमेकी राष्ट्रका युवाबीच आपसी समझदारी र सहकार्य, विश्व स्वयम सेवि युवा दस्ता बनाएर आपतकालीन राहत तथा विकास कार्यहरूमा युवा सहभागि बढाउनु पर्ने मान्यता उनको छ ।

नेपाली कला, संगीत, र संस्कृति प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने, नेपाली युवालाई यूएन, एएसइएएन र इयू जस्ता संस्थाहरूमा इन्टर्नसिपका अवसर उपलब्ध गराउने, युथ डिप्लोमेसी पेलेटफर्म निर्माण गरी युवाले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय मुद्दामा सहभागिता जनाउन सक्ने वातावरण बनाउने, युवा नेतृत्व विकास र जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधित्व सशक्त बनाउने र ग्लोबल नेपाली युथ नेटकर्व गठन गरी विदेशमा रहेका नेपाली युवाबीच समन्वय र सहकार्य विस्तार गर्ने योजना विनयले अघि सारेका छन् ।

युवा उद्यम र उत्पादनमा प्राथमिकता राख्ने गरेका उनले प्रविधि, उद्यमशीलता र उत्पादन नीतिमा युवा अटाउनु पर्ने मान्यता राख्छन् । प्रविधिमा अब्बल बनाउन फ्रि कोडिङ-डिजिटल मार्केटिङ क्याम्प र १० दिने अनलाइन र अफलाइन तालिमको योजना उनीसँग छ । ग्रामीण विद्यालयमा “प्रविधि मेरो साथीसँग” देश व्यापी अभियान सञ्चालन गर्ने प्रतिवद्धता उनको छ ।

युवा उद्यमशीलता अभियान, ‘युवा उद्यम मेला’ व्यवसाय सञ्चालनको निःशुल्क कानुनी, लेखा र मार्केटिङ परामर्श केन्द्र पनि युवा संघ मार्फत नै सञ्चालन गरि उत्पादन केन्द्रित युवा परिचालन मार्फत बाँझो जमिनमा सामूहिक खेतीको लागि ’एक पालिका एक उत्पादन’ नीतिलाई संगठनले कार्यान्वयन गर्ने उनको प्रतिबद्धता उल्लेख छ ।

‘सर्वश्रेष्ठ युवा उद्यमी’ पुरस्कार हरेक वर्ष ७ प्रदेशबाट ७ युवालाई दिने, वस्त्र, खाद्य उद्योगमा युवा समूह परिचालन गर्ने, ‘एक गाउँ, एक उत्पादन’लाई डिजिटल बजारसँग जोड्ने, राष्ट्रिय युवा इनोभेशन च्यालेन्ज”ः प्रविधिमा नयाँ आविष्कार नीति लिनेमा उनको जोड छ ।

योग्यताको सम्मान र अनुभवको हस्तान्त्रणका लागि पनि विनय शाहको उम्मेदवारी आवश्यक रहेको युवा संघकै प्रतिनिधीको साझा मत देखिन्छ । चुनाव नहुने त होइन भन्ने आशंकामा युवाहरु छन् । सर्वसम्मतको नाममा टिका लगाउने अवस्था आए, पार्टी नेताको सूचीमा नपरिने डरपनि विनय सहीतका उम्मेदवार युवाहरुमा उत्तीकै छ ।

व्यक्ति हाबी हुने, आन्तरिक प्रतिस्पर्धा रोक्ने र नेतृत्व नजिक भएकै कारण पद पाउने कुरामा उनी विश्वास गर्दैनन् । भन्छन्, ‘लडाइँ विधि बसाउन हो, विधि ठिक छ र कार्यान्वयन भयो भने नेतृत्व जस्ले लिए पनि केही फरक पर्दैन । यहाँ व्यक्ति हाबी हुने प्रथाको अन्त्य गर्न मेरो उम्मेदवारी हो, उनले थपे ।

कुनै बेलाको रहर लाग्दो, भर लाग्दो र डर लाग्दो संगठन राष्ट्रिय युवा संघ आफ्नो साख गुमाउने अवस्थामा पुग्नु र संगठनमा युवा आकर्षण घट्नु दुखत विषय हो । यो विधि कार्यान्वयन नहुँदाको परिणाम हो । काम गर्ने, संगठन बनाउने, भूगोलमा खट्नेको मूल्याकन नै हुन छोड्यो, व्यक्ति पुजा र नेता वरिपरि घुम्नेहरु नै नेता हुने अवस्था आएपछि अरुले विस्तारै टाढिन खोजेका हुन्, उनीहरुलाई फर्काएर फेरि युवाको आस्थाको संगठन बनाउने संकल्प सहीत उम्मेदवारी दिएको दाबी विनयको छ ।

युवा संघका अध्यक्षका लागि सबैभन्दा बलियो दाबेदार उपाध्यक्ष महाराज गुरुङ र महासचिव सुमन पुरीको देखिन्छ । वर्तमान अध्यक्ष क्षितीज थेबे सर्वसम्मत भएमात्रै अध्यक्ष बन्ने दाउमा छन् । महाराज एमालेका नेता पार्वत गुरुङका नातेदार पर्छन् भने पुरी एमाले नेता एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीका नातेदार हुन् । महाधिवेशन गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ६ : ४२ बजे

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता

दश करोड बढीका भन्सार छलीका सामान बरामद

झापा – झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे

दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ